प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ pp. ८-९
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • “आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ pp. ८-९

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“म हिंस्रक स्वभावको थिएँ”

इसा लानोनेनको वृत्तान्तमा आधारित

  • जन्म मिति: १९६०

  • जन्म स्थान: फिनल्याण्ड

  • विगतमा: हेभी मेटल गायक

मेरो विगत:

हामी समुद्रनजिकैको टर्कु सहरमा बस्थ्यौं। हाम्रो टोलमा निम्न आयस्रोत भएका मानिसहरू बस्थे। बुबा बक्सिङ च्याम्पियन हुनुहुन्थ्यो। भाइ र म पनि बक्सिङ भनेपछि हुरुक्कै हुन्थ्यौं। स्कूलमा कसैले निहुँ खोज्यो भने मेरो मुख होइन, हातै चल्थ्यो। किशोरावस्थामा पुगेपछि म एउटा कुख्यात ग्याङको सदस्य भएँ। त्यसपछि त झन्‌ ठूलठूलो झगडा पर्न थाल्यो। म हेभी मेटलतिर आकर्षित भएँ र रकस्टार बन्‍ने सपना देख्न थालें।

मैले ड्रम-सेट किनें र एउटा म्युजिक ब्यान्ड बनाएँ। म ब्यान्डको मुख्य गायक भएँ। स्टेजमा पुगेपछि म जथाभाबी उफ्रन्थें, कराउँथें। हाम्रो ब्यान्ड असाध्यै जङ्‌गली पाराको थियो। तर मानिसहरूले बिस्तारै हामीलाई निकै मन पराउन थाले। हामीले ठूलठूलो कन्सर्ट गर्न थाल्यौं। केही गीत रेकर्डिङ गऱ्‍यौं। यसमध्ये अन्तिम गीतले निकै चर्चा पायो। सन्‌ १९८० दशकको अन्ततिर ब्यान्डको प्रचारप्रसार गर्न अमेरिका गयौं। त्यहाँ छँदा न्यु योर्क र लस एन्जलस्‌मा कन्सर्टहरू गऱ्‍यौं। यसले गर्दा साङ्‌गीतिक क्षेत्रका हस्तीहरूसित राम्रो चिनजान भयो।

हुन त गीत गाउन रमाइलो लाग्थ्यो तर म खोक्रो महसुस गर्थें। मेरो जीवनको कुनै अर्थ छैन जस्तो लाग्थ्यो। साङ्‌गीतिक क्षेत्रमा हुने प्रतिस्पर्धाले गर्दा निराश भएँ अनि आफ्नो छाडा जीवनदेखि वाक्कै भइसकेको थिएँ। आफू खतम भएकोले नरकको अग्निकुण्डमा तड्‌पिनुपर्ला भन्‍ने डर थियो। थरीथरीका धार्मिक पुस्तकमा जीवनको अर्थ खोज्न थालें। भगवान्‌लाई कहिल्यै खुसी बनाउन सक्दिनँ जस्तो लाग्थ्यो। तैपनि उहाँलाई व्यग्र प्रार्थना गर्थें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

म हुलाक कार्यालयमा काम गर्थें। एक दिनको कुरा हो, मसँगै काम गर्ने एक जना व्यक्‍ति यहोवाका साक्षी रहेछन्‌ भनेर थाह पाएँ। मैले तिनलाई तीनथुप्रो प्रश्‍न सोधें। तिनले सबै प्रश्‍नको चित्तबुझ्दो जवाफ दिए, त्यो पनि बाइबलबाटै। त्यसपछि म तिनीसित बाइबल अध्ययन गर्न राजी भएँ। केही हप्ता अध्ययन गरिसकेपछि हाम्रो ब्यान्डलाई अमेरिकामा एल्बम निकाल्ने एकदमै आकर्षक प्रस्ताव आयो। यस्तो सुनौलो मौका आफ्नो हातबाट गुम्न दिनु हुँदैन जस्तो लाग्यो।

पहिला एउटा एल्बम निकाल्छु अनि त्यसपछि बाइबलले भनेझैं गर्छु भनेर अध्ययन सञ्चालकलाई बताएँ। उहाँले यसो गर, उसो गर केही भन्‍नुभएन; मत्ती ६:२४ मा येशूका शब्दहरू पढ्‌नू मात्र भन्‍नुभयो। त्यस पदमा यसो भनिएको छ: “कोही पनि दुई मालिकको दास बन्‍न सक्दैन।” येशूका यी शब्दहरूको अर्थ बुझेपछि म नाजबाफ भएँ। तर केही दिनपछि भने मेरो कुराले अध्ययन सञ्चालक नाजबाफ हुनुभयो। मैले भनें, ‘मैले ब्यान्ड छोडें। म येशूले भन्‍नुभएअनुसार गर्न चाहन्छु।’

बाइबलले मेरा कमीकमजोरीहरू ऐनाले जस्तै छर्लङ्‌गै देखाइदियो। (याकूब १:२२-२५) म हिंस्रक स्वभावको, घमन्डी र असाध्यै महत्त्वाकाङ्‌क्षी रहेछु भनेर बुझें। म छाडा बोली बोल्थें, झगडा गर्थें, चुरोट खान्थें र बेस्सरी रक्सी पिउँथें। मेरो जीवन बाइबलको शिक्षासित पटक्कै मिल्दैन भनेर थाह पाएपछि साह्रै निराश भएँ। तैपनि आवश्‍यक परिवर्तन गर्न तयार थिएँ।—एफिसी ४:२२-२४.

“स्वर्गमा बस्नुहुने हाम्रो बुबा कृपालु हुनुहुन्छ र पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन चाहनुहुन्छ”

पहिला गरेका नराम्रा कामहरू सम्झँदा म असाध्यै दोषी महसुस गर्थें। तर मेरो अध्ययन सञ्चालकले निकै मदत गर्नुभयो। उहाँले मलाई यशैया १:१८ का यी शब्दहरू देखाउनुभयो: “तिमीहरूका पाप सिन्दूरे रङ्‌गका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌।” बाइबलको यो र अरू पदहरू पढेपछि स्वर्गमा बस्नुहुने हाम्रो बुबा कृपालु हुनुहुन्छ र पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन चाहनुहुन्छ भनेर ढुक्क हुन सकें।

यहोवालाई चिनेपछि उहाँप्रतिको प्रेम बढ्‌दै गयो। मैले उहाँलाई आफ्नो जीवन समर्पण गर्ने निर्णय गरें। (भजन ४०:८) रूसको सेन्ट पिटर्सवर्गमा सन्‌ १९९२ मा आयोजित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा मैले बप्तिस्मा गरें।

मैले कसरी लाभ उठाएको छु?

मैले यहोवाका उपासकहरूमाझ थुप्रै असल साथी पाएको छु। हामी बेलाबेलामा जमघट गर्छौं अनि सुमधुर सङ्‌गीतको मजा लिन्छौं, यो परमेश्‍वरको वरदान हो। (याकूब १:१७) मेरो लागि एउटा अनमोल उपहार मेरी प्यारी श्रीमती क्रिस्टिना हुन्‌। हामीले जीवनका अनेकन्‌ उकाली-ओराली सँगै पार गरेका छौं। म उनीसित आफ्नो दुःखसुख सबै बाँड्‌छु।

म यहोवाको साक्षी नबनेको भए सायद मरिसक्थें। पहिले एकपछि अर्को समस्यामा परिरहन्थें, एउटा सुल्झन नपाउँदै अर्को आइहाल्थ्यो। तर अहिले मेरो जीवन अर्थपूर्ण भएको छ, सबै कुरा राम्ररी चलिरहेको छ। (w13-E 04/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने