हामी भिन्नै छौं भनेर तिनीहरूले बुझ्नुपर्छ
१ गत वर्ष ३,००,००० भन्दा बढी व्यक्तिहरू बप्तिस्मा लिएर हामीसित सामेल भए। परमेश्वरको संगठनमा सामेल हुने इच्छा जाग्नेगरि यिनीहरूले यहोवाका साक्षीहरूमा त्यस्तो के देखे? अरू धर्मका मानिसहरूभन्दा हामी किन भिन्नै देखिन्छौं? त्यसका केही सुस्पष्ट कारणहरू यसप्रकार छन्:
—हामी व्यक्तिगत विचारधाराहरू होइन बाइबलका कुराहरू पालन गर्छौं: हामी येशू ख्रीष्टले भन्नुभएझैं “आत्मा र सत्यतामा” यहोवा परमेश्वरलाई पुज्छौं। जसको अर्थ धार्मिक झूटलाई त्याग्नु र परमेश्वरको लिखित वचनअनुसार गर्नु हो।—यूह. ४:२३, २४; २ तिमो. ३:१५-१७.
—मानिसहरू हामीकहाँ आऊन् भनेर पर्खंदैनौं बरु, हामी नै तिनीहरूकहाँ जान्छौं: ख्रीष्टले दिनुभएको प्रचार गर्ने तथा सिकाउने आदेश हामीले पालन गरेका छौं अनि इमानदार मानिसहरू कहाँ छन् भनी धुइँपत्ता लगाएर हामी उहाँको नक्कल गर्छौं। हामी तिनीहरूलाई घर-घरमा, सडकमा वा जहाँ-जहाँ तिनीहरूलाई भेट्टाउनसक्छौं, त्यहीं-त्यहीं खोज्छौं।—मत्ती ९:३५; १०:११; २८:१९, २०; प्रेरि. १०:४२.
—सबैलाई निश्शुल्क बाइबल शिक्षा दिन्छौं: परमेश्वरको सेवामा वर्षेनी एक अरबभन्दा बढी घण्टा बिताउँदै हामी आफ्नो श्रम तथा साधन सित्तैंमा खर्च गर्छौं। कुनै पक्षपात नगरी हामी हर प्रकारका मानिसहरूसित बाइबल अध्ययन गर्छौं।—मत्ती १०:८; प्रेरि. १०:३४, ३५; प्रका. २२:१७.
—मानिसहरूलाई आध्यात्मिक मदत दिन हामीले राम्रो तालिम पाएका छौं: बाइबलको व्यक्तिगत अध्ययन तथा मण्डलीका सभाहरू, सम्मेलन तथा अधिवेशनहरूमा पाइने निर्देशनहरूद्वारा हामीले निरन्तर अनमोल ईश्वरतान्त्रिक शिक्षा प्राप्त गरिरहेका छौं। अनि यो शिक्षाले अरूलाई आध्यात्मिक उज्यालो दिन हामीलाई मदत गर्छ।—यशै. ५४:१३; २ तिमो. २:१५; १ पत्रु. ३:१५.
—हामी सच्चाइलाई गम्भीरतासाथ लिन्छौं अनि आफ्नो दैनिक जीवनमा प्रयोग गर्छौं: परमेश्वरप्रतिको प्रेमले गर्दा हामी उहाँको इच्छाबमोजिम आफ्नो जीवनमा काँटछाँट गर्छौं। ख्रीष्टको जस्तो हाम्रो नयाँ व्यक्तित्वले अरूलाई सच्चाइप्रति आकर्षित गर्छ।—कल. ३:९, १०; याकू. १:२२, २५; १ यूह. ५:३.
—हामी अरूसित शान्तसँग बस्ने र काम गर्ने अथक प्रयास गर्छौं: ईश्वरीय गुणहरू खेती गरेको हुँदा यसले हामीलाई बोल्दा र काम गर्दा होस पुऱ्याउन मदत गर्छ। मानिसहरूसित व्यवहार गर्दा हामी ‘शान्तिको खोजी गर्छौं र त्यसको पछि लाग्छौं।’—१ पत्रु. ३:१०, ११, नयाँ संशोधित संस्करण; एफि. ४:१-३.
२ यहोवाको संगठनमा मसीही जीवनशैली अपनाउनेहरूको नमुना देखेर मानिसहरू सच्चाइ ग्रहण गर्न प्रेरित हुन्छन्। हाम्रो व्यक्तिगत नमुनाले हामीलाई चिन्ने तथा हामीलाई विचार गर्नेहरूमाथि यस्तै प्रभाव पारोस्।