स्वच्छताले परमेश्वरको आदर गर्छ
१ मोशाको व्यवस्थामा स्वच्छता कायम गर्न कडा नियमहरू थिए। त्यसले गर्दा इस्राएल अरूभन्दा भिन्नै शारीरिक तथा आध्यात्मिक स्वच्छता माग गरिएको जाति बन्न पुग्यो। (लेवी ११:३५, ३६; १५:१-११; यशै. ५२:११) यस स्वच्छ अवस्थाले परमेश्वरको आदर गऱ्यो र त्यस राष्ट्रलाई स्वस्थ रहन पनि मदत पुऱ्यायो।
२ त्यस्तैगरि आज पनि स्वच्छता यहोवाका जनहरूको चिनारी हो। यसले यहोवाका जनहरूलाई सामूहिक तवरमा त चिनाउँछ तर व्यक्तिगत तवरमा पनि के यो हाम्रो चिनारी हो? व्यक्तिगत सरसफाइ र स्वच्छताप्रति हामीले कत्तिको ख्याल राख्छौं भन्ने कुराले नै हामी यहोवाका आवश्यकताहरूप्रति कत्तिको मूल्यांकन गर्छौं भनी जाहेर गर्छ।
३ हाम्रो घरको रूपरंगबारे के भन्न सकिन्छ? के त्यसले गर्दा अरू व्यक्तिहरूले हामीले सुनाउने राज्य समाचारप्रति नकारात्मक दृष्टिकोण राख्छन्? पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्ने कुरा त गर्छौं तर हाम्रो घरचाहिं भद्रगोल र हाम्रो बगैंचामा जथाभावी झारपात तथा घाँसहरू बढिरहेको देखेर के कसै-कसैले हाम्रो समाचारमा शंका गर्न सक्छन्? हाम्रो घर भद्रगोल छ अथवा अस्वस्थकर बानीहरूले गर्दा दुर्गन्धित छ भने, के हामीले “परमेश्वरको राज्य अन्तर्गत नयाँ संसारलाई सुहाउने खालका बानीहरू” विकास गर्दैछौं भन्न मिल्छ?— om पृष्ठ १३०-१.
४ हामीले क्षेत्र सेवकाईमा प्रयोग गर्ने सवारी साधनबारे के भन्न सकिन्छ? हाम्रो सवारी साधनको रूपरंगले हाम्रो प्रचार कार्यलाई बाधा नपुऱ्याओस् भनेर के राम्ररी सफा गरिएको छ? हाम्रो पहिरन, किताब राख्ने झोला र व्यक्तिगत कोरीबाटी कस्तो छ? के ती सुग्घर र भद्र छन् ताकि त्यसले कुनै अपमान नल्याओस्? बराबर नुहाएर र लुगाफाटो धोएर आफू तथा आफ्ना कपडाहरूलाई स्वच्छ राख्नु व्यावहारिक कुरा हो।
५ एक जना भाइको लापर्वाहीले गर्दा उनको व्यक्तिगत स्वास्थ्य वा वरिपरिको वातावरण मण्डलीको लागि बदनामीको कारण भएमा के गर्न सकिन्छ? शायद उनको उमेर र अशक्तताले गर्दा उनलाई मायालु सहयोग मात्र चाहिएको हुन सक्छ। यदि त्यसो हो भने तिनलाई मदत दिनु दया देखाएको हुनेछ। कसै-कसैले आफ्नो समस्या चालै नपाएको हुन सक्छ; दयालु सल्लाहले उनलाई आफ्नो परिस्थिति सुधार्न उत्प्रेरित गर्न सक्छ। सफाइको सन्दर्भमा सधैं नै नराम्रो उदाहरण कायम गर्ने व्यक्तिहरू मण्डलीमा विशेष अवसरहरू प्राप्त गर्न योग्य हुन सक्दैनन्। तर यस सिलसिलामा आफ्नै व्यक्तिगत स्तर अथवा प्राथमिकताहरू स्थापना गर्नदेखि प्राचीनहरू होसियार हुनुपर्छ।
६ हाम्रो राज्यभवनमा नयाँ इच्छुक व्यक्तिहरूलाई आध्यात्मिक भोजको आनन्द उठाउन निम्तो दिइन्छ। प्राय: हामी निम्तो दिन इच्छुक हुन्छौं किनभने भवन एकदमै आकर्षक र सफा-सुग्घर हुन्छ। यद्यपि, त्यस्तै सफा राख्न सफाइ गर्नुपर्ने हुन्छ। तपाईंको भवनमा यताउता हेर्नुहोस्। के मेचहरू, भुईं र भित्ताहरू सफा छन्? के शौचालयमा सधैं राम्रोसँग सफा गरिन्छ? फोहोर गर्दा अथवा रंगहरू उप्केको भित्ता सधैं हेर्ने बानी लाग्यो भने छिट्टै नै त्यस्ता कुराहरू हाम्रो लागि ग्रहणयोग्य हुन थाल्छ। तर प्रथम पटक आउने आगन्तुकहरूलाई यसले नराम्रो छाप पार्न सक्छ। मनमोहक र आकर्षक भवन बनाइराख्न हामीले यथाशक्य गर्नुपर्छ र सफाइ वा पुनर्निर्माण गर्नु पर्दा हामीले सकेजति गर्नुपर्छ।
७ एक वचन पनि नबोलिकन हाम्रो व्यक्तिगत रूपरंग, हाम्रो घर, सवारी साधन र राज्यभवनको सरसफाइले हामी परमेश्वरको महिमा गर्न सक्छौं। हाम्रो असल उदाहरण ठोकरको कुनै कारण हुनेछैन बरु त्यसले हाम्रो उपासना स्वच्छ र सत्य छ भन्ने प्रमाण दिनेछ।—१ कोरि. १०:३१, ३२; याकू. १:२७.