स्थानीय प्रचलनहरू तथा साँचो उपासना
१ मानिसहरू मित्रैलो भएको कारण अक्सर हामीलाई तिनीहरूको परम्परागत प्रचलन तथा उत्सवहरूमा भाग लिन निम्तो दिन्छन्। त्यस्ता निम्तोहरू बच्चाको जन्म, विवाह समारोह वा मृत्युसित सम्बन्धित दुःखदायी अवसरहरूमा आउन सक्छन्। बेग्लै विश्वास भएका साथी वा नातेदारहरूले यी उत्सवहरूमा भाग लिनको लागि निम्तो दिंदा एक जना मसीहीले कस्तो अडान लिनुपर्छ?
२ हाम्रो समाजमा सामान्य देखिने कुनै खास प्रचलनमा उपस्थित हुने वा नहुने भनी निर्णय गर्नुअघि यसमा मुछिएका सम्पूर्ण कुराहरूलाई विचार गर्नु सधैं बुद्धिमानी हुनेछ। हामीले यस्ता कुराहरू विचार गर्नुपर्छ: यस प्रचलनको सुरुवात कसरी भयो वा अहिले यसको अर्थ कस्तो छ? कतै यो परमेश्वरको वचनको शिक्षा विपरीत पो छ कि? हामीले दर्शकको रूपमा उपस्थित हुने निर्णय गऱ्यौं भने, कतै हाम्रो विश्वासको सम्झौता गर्नुपर्ने खतरा हुन्छ कि? कुनै प्रचलनहरूमा भाग लिंदा वा त्यसबाट अलग बस्दा अरूको अनादर वा अनावश्यक ठोकरको कारण पो हुने हो कि?
३ नवजात शिशु: बच्चा जन्मँदा परिवारका सबै जना खुसी हुन्छन् तर साथी वा नातेदारहरूले बच्चा जन्मिएको केही दिनपछि नै नामाकरण वा न्वरानका लागि निम्तो पाउने आशा गर्न सक्छन्। यस समारोहमा पुरेतले बच्चा जन्मिएको मितिको आधारमा बनाइने जन्मकुण्डलीलाई ध्यानमा राख्दै हिन्दू धर्मशास्त्रले बताएअनुसारको धार्मिक कर्मकाण्ड गर्छन्।
४ प्रायजसो बच्चा सात महिनाको भएपछि अर्को उत्सव, “पास्नी” वा अन्नप्राशनको लागि निम्तो पठाइन्छ। ठाउँअनुसार रीतिथिति फरक-फरक भए तापनि यो उत्सव सामाजिक नभई सधैं धार्मिक हुन्छ र कहिलेकाहीं कर्मकाण्ड गर्न वा मन्त्रहरू पाठ गर्न पैसा दिएर पुरेतलाई बोलाइन्छ। मसीहीजगत्का कुनै-कुनै समुदायमा भने स्थानीय पादरीले त्यस्ता सबै कामहरू गर्ने गर्छन्।
५ बाइबलकालीन समयमा बच्चाको नाउँ राख्नुलाई ठूलो महत्त्व दिइन्थ्यो र उसले आमाको दूध खान छोडेको दिन आनन्दसाथ ठूलो उत्सव मनाइन्थ्यो। (लूका १:५९; २:२१; उत्प. २१:८) तथापि, माथि दिइएका विवरणहरूबाट न्वरान तथा अन्नप्राशन साँच्चै धार्मिक रीति वा पूजा हुन् र यसमा उपस्थित हुनेहरूले कर्मकाण्ड गरेको हेर्छन् वा यसमा भाग लिन्छन् भन्ने कुरा प्रस्ट हुन्छ। यसमा गैरशास्त्रीय विचारधारा तथा प्रचलनहरू समावेश हुन्छन् र त्यहाँ उपस्थित हुनेहरूलाई प्रसाद खान तथा अर्कै धर्मको पादरी वा पुरेतसँग संयुक्त प्रार्थनामा भाग लिन आग्रह गर्न सक्छन्। प्रकाश १८:४ मा दिइएको आज्ञा मनमा राख्दै एक जना मसीहीले यस्तो कार्यमा भाग लिन सक्दैनन्।
६ विवाह: सामान्यतया सबैभन्दा धेरै पाइने निम्तो भनेको विवाह उत्सव तथा विवाह भोजको हो। प्रायजसो साथीहरू तथा अलि टाढाका नातेदारहरूले गर्नुपर्ने भनेकै स्वागत समारोहमा उपस्थित हुनु, नवविवाहित दम्पतीलाई भेटघाट गर्नु र विवाह भोजमा भाग लिनु मात्र हो। पुरेतले त्यही ठाउँमा विभिन्न कर्मकाण्डहरू गर्ने भए तापनि साइत हेरेर गरिने भएकोले प्रायजसो यी रीतिथितिहरू सामाजिक भेटघाटको बेलामा नपर्न सक्छन् र त्यसकारण अतिथिहरूलाई यसमा भाग लिन त्यत्ति जोड गरिंदैन। तथापि, परिवारको नजिकका नातेदारहरूले अक्सर विवाहको “ढोगभेटमा” भाग लिनुपर्ने हुन्छ, जसमा धार्मिक रीतिथितिहरूमा भाग लिनेदेखि लिएर खास अर्थ गुमाइसकेका तर अहिले भने विवाहमा परम्पराको रूपमा मात्रै रहिरहेका नाउँ मात्रका प्रचलनहरूमा भाग लिने इत्यादि हुन सक्छ। यहोवाबाहेक अरू कुनै पनि देवताको उपासना, झूटा धार्मिक विश्वास वा दृष्टात्माको डर तथा यसलाई शान्त गराउने प्रचलनसित सम्बन्धित सबै कुरादेखि हामी अलग रहन चाहन्छौं।
७ मृत्युसित सम्बन्धित प्रचलनहरू: यस्तो समयमा समानुभूति र प्रेमले हामीलाई शोकाकुल मित्र तथा प्रियजनहरूसँग हुन र तिनीहरूलाई सन्त्वना दिन उत्प्रेरित गर्छ। तथापि, सच्चाइमा नभएका हाम्रो परिवारका थुप्रै सदस्यहरूले हामी पनि अन्त्येष्टिमा उपस्थित भएको वा त्यसमा गरिने कामहरूमा भाग लिएको चाहलान्। सम्भवतः मानिस मरेको दिन लोग्ने मानिसहरू मलामी गएको र पछि खरानी जम्मा गरेर गंगा वा अरू कुनै नदीमा बगाउने समयमा अस्थिसञ्चयका लागि गएको आशा गरिन्छ। नजिकका नातेदारहरूले चाहिं विशेष लुगा, खाना र धार्मिक अनुष्ठानसहित अझ केही समयको लागि शोक मनाउनुपर्ने हुन सक्छ। प्रायजसो १३ औं दिनमा श्राद्ध गरेपछि अन्त्येष्टि क्रिया सिद्धिन्छ। धेरैजसो अवस्थामा त्यसपछि परिवारले सदाझैं भोजन खान थाल्छ र नातेदार तथा शुभेच्छुकहरूलाई मृतकको आत्माप्रति श्रद्धा व्यक्त गर्नको लागि निम्तो दिइन्छ। पूजा सकिएपछि हुने श्राद्धको भोज खानको लागि निम्तो पाउनु सामान्य कुरा हो।
८ सफा अन्तस्करण राख्ने: माथि बताइएका सबै अवसरहरूमा वेदका मन्त्रहरू उच्चारण गरिन्छन् तथा पुरेत, ब्राह्मण वा पुरुष नातेदारले आत्मा अमर हुन्छ भन्ने विश्वासमा आधारित कर्मकाण्डहरू गर्छन्। चर्च जाने परिवारको पनि नामाकरण, विवाह तथा अन्त्येष्टिजस्ता समारोहहरू हुन सक्छन् र यी मसीहीजगत्का पादरीहरूले गर्ने गर्छन्।
९ एक जना साँचो मसीहीले अरू देवताहरूको उपासना गरिने, दुष्टात्माहरूलाई शान्त पारिने तथा आत्माको अमरत्वमा आधारित पारिवारिक उत्सवमा भाग लिने दबाबको सामना गर्नुपऱ्यो भने नि? यस्ता उत्सवहरूमा भाग लिनको लागि पत्नी, बुहारी वा हुर्किसकेको छोरालाई परिवारले कडा दबाब दिन सक्छ।
१० हो, मसीहीहरूले नामानको उदाहरण विचार गर्न सक्छन्। कोर रोग निको भइसकेपछि तिनी यहोवाबाहेक अरू कुनै पनि देवताको उपासना नगर्न कटिबद्ध थिए। तथापि, तिनको काममा राजालाई यताउता जानको लागि सहयोग गर्नु पनि समावेश भएकोले तिनी राजासँगै झूटा देवता रिम्मोनको मन्दिरमा जानुपर्थ्यो। तिनले ढोग्नको लागि राजालाई सहयोग पनि गर्नुपरेको हुन सक्छ। यसकारण, तिनले यहोवासँग क्षमा मागे र आफू विरुद्ध खडा नहुनको लागि बिन्ती गरे। यहोवाका साँचो उपासक भइसकेका नामानले झूटा देवताको उपासना गरेका थिएनन्; त्यहाँ जाने आज्ञा पाएको कारण मात्र तिनी त्यहाँ गएका थिए।—२ राजा ५:१-१९.
११ त्यसै गरी हामी पनि यी उत्सवहरूमा उपस्थित भए तापनि झूटो धर्मको कुनै पनि काममा सहभागी हुनु नपर्ने महसुस गरौंला। त्यसो गर्नु या नगर्नु, त्यो उसकै व्यक्तिगत निर्णय हो। तिनीहरूले आफ्नो पति वा आमाबाबुका इच्छाहरूको सम्मान तथा यहोवाप्रतिको आज्ञाकारिता र परमेश्वरको वचनद्वारा प्रशिक्षित अन्तस्करणको कुरा सुन्नेबीचको द्वन्द्वलाई सुल्झाउनुपर्छ।—१ पत्रु. ३:१६; एफि. ६:१.
१२ तपाईंलाई अरूले देख्न सक्छन् र तपाईंको निर्णय थाह नपाईकन तिनीहरू तपाईंले पूरै रीतिथितिमा भाग लिइरहनुभएको छ वा कमसेकम ती उत्सव मनाउनुको कारणमा तपाईं सहमत हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्न सक्छन् भनी नबिर्सनुहोस्। प्रेरित पावलले प्रोत्साहन दिएअनुसार गर्नु कत्ति बुद्धिमानी हो: “यसैले कि, जुन जुन कुराले ख्रीष्टका दिनमा तिमीहरूलाई सच्चा र निर्दोषी तुल्याउनेहुन्छन्।”—फिलि. १:१०.
१३ हाम्रो धर्मशास्त्रीय अडानबारे नातेदारहरूलाई बताउने कोसिस गर्नु के बुद्धिमानी हुनेछैन र? निम्तो पाउनुभन्दा पहिले नै उनीहरूलाई बताउने मौका मिल्छ र रानी एस्तरको उदाहरण अनुकरण गर्दै अरू मानिसहरू आरामसँग बसिरहेको वा शान्त भएको बेलामा कुरा गर्नु राम्रो हुन्छ। त्यसपछि कौशलतासाथ यस्ता उत्सवहरूमा सहभागी नभई हामी कसरी सफा अन्तस्करण राख्न सक्छौं भनी बताउनुका साथै हाम्रो विश्वासबारे साक्षी दिने कोसिस गर्न सक्छौं। साथै, हामी उपस्थितचाहिं भयौं तर त्यहाँ हुने कुनै रीतिथितिहरूमा भाग लिएनौं भने, परिवारका अरू सदस्यहरूलाई अप्ठ्यारो महसुस हुन सक्छ भनेर पनि बताउन सकिन्छ।—एस्त. ५:१-८.
१४ कुनै प्रार्थना वा धार्मिक पूजाआजा बाइबल शिक्षा विपरीतका हुन् भनी थाह पाउँदा-पाउँदै एक जना साँचो मसीहीले जानाजानी त्यसमा भाग लिन सक्दैनन्। न त तिनी मसीही स्तरको सीमा पार नगरीकनै धर्मत्यागी कार्यहरूको कति नजिक पुग्न सकिंदो रहेछ भनेर जान्न चाहन्छन्। तिनी यस धर्मशास्त्रीय आज्ञाको अधीनमा छन्: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? . . . कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा? . . . यसकारण, ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ।’ ”—२ कोरि. ६:१४-१७.
१५ यस्ता धार्मिक अवसरहरूमा उपस्थित नभएर हामीले आफ्ना नाता-कुटुम्बहरूको बेवास्ता गरिरहेका छौं भन्ने भान पार्न चाहँदैनौं। परिवारप्रति चासो र स्नेह देखाउन सकिने अन्य अवसरहरूप्रति हामी सजग हुनुपर्छ। भर्खरै आमाबाबु बनेकाहरूलाई उपहार दिनु नयाँ जन्मेको बच्चाप्रति चासो देखाउने राम्रो तरिका हो र यस्तो उपहार दिनका लागि हामीले कुनै खास मौका कुरेर बस्नुपर्दैन। विवाहको तयारीको लागि मदत तथा काम गरेर अनि अतिथि तथा नातेदारहरू आउँदा तिनीहरूलाई स्वागत गरेर हामी धार्मिक रीतिथितिहरूमा भाग नलिइकनै विवाहमा हाम्रो पनि चासो छ भनी देखाउन सक्छौं। कसैको मृत्यु भएको कारण अरू विभिन्न रीतिथितिमा व्यस्त हुँदा हामीले मदत गर्न सक्ने थुप्रै व्यावहारिक तरिकाहरू हुन सक्छन्। अतिथि तथा भेटघाटका लागि आउनेहरूको हेरविचार गर्नु वा तिनीहरूको बसोबासको प्रबन्ध मिलाउनुपर्ला, सदाझैं खानेकुरा खाएर स्कूल जाने बच्चाहरूको लागि खाना पकाइदिन सकिन्छ। कानूनी र पञ्जीकरणको काममा व्यावहारिक मदत दिन सकिन्छ। त्यसो गर्दा हामी अन्नप्राशन, श्राद्ध वा अरू धार्मिक समारोहहरूमा सहभागी भएनौं भन्दैमा मात्र परिवारले हामीलाई निष्ठुर व्यक्ति ठान्ने छैन।