परिचालक निकायबाट पत्र
प्रिय भाइबहिनीहरू,
‘तपाईंहरूलाई परमेश्वर हाम्रा पिता, र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति’ होस्। (१ कोरि. १:३) सास हुने जति सबैले यहोवालाई उहाँले पाउनुपर्ने महिमा दिने समयको हामी उत्कट प्रतीक्षामा छौं! (भज. १५०:६) त्यस महान् दिनको प्रतीक्षा गर्दै हामी परमेश्वरको राज्यको सुसमाचार उद्घोषणा गर्ने तथा चेला बनाउने काममा लागिरहन्छौं।
यस पृथ्वीमा भइरहेको यहोवाका कार्यहरूमध्ये सुसमाचार प्रचारकार्य अहिलेको प्रमुख कार्य हो। (मर्कू. १३:१०) यस कार्यमा यहोवाको चासो राम्रोसँग बुझेको हुनाले यो कार्य पूरा गर्न हामी यहोवालाई प्रार्थनामा मदत माग्छौं किनभने प्रत्येक मानिससित छुडौतीको प्रबन्धबाट लाभ उठाउने मौका छ। (प्रका. १४:६, ७, १४, १५) हो, हामी चुनौतीहरूको सामना गर्छौं तर यो सेवकाई पूरा गर्न ‘माथिबाट शक्ति पाएकोमा’ हामी कत्ति कृतज्ञ छौं!—लूका २४:४९.
गत सेवा वर्षलाई पुनरावलोकन गर्नुका साथै आफ्ना सेवकहरू मार्फत यहोवाले पूरा गर्नुभएका कार्यहरूबारे चिन्तन गर्नु सन्तोषजनक हुन्छ। पवित्र आत्मा पाएर बलवन्त भएको कारण परमेश्वरका जनहरूले विश्वव्यापी रूपमा घृणामाथि विजय हासिल गर्दै ख्रीष्टको जस्तै प्रेम प्रदर्शन गरेका छन्। यस किसिमको प्रेम हाम्रा अधिवेशनहरूमा छर्लङ्ग देखिएको थियो। सन् २००३ को जून महिनादेखि डिसेम्बर महिनासम्ममा, एक सयभन्दा बढी मुलुकका प्रतिनिधिहरू छवटा महादेशमा आयोजित ३२ वटा अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भएका थिए। जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूमा मिसनरी, अन्तरराष्ट्रिय सेवक तथा विदेशी भूमिमा सेवारत बेथेल सेवकहरूको अन्तरवार्ता लिइएको थियो।
यी अधिवेशनहरूमा हामीले “सी द गुड ल्याण्ड” र लर्न फ्रम द ग्रेट टिचर प्रकाशनहरू प्राप्त गऱ्यौं। साथै, २००४ सेवा वर्षको अन्ततिर संशोधित पाइनियर सर्भिस स्कूल पाठ्यपुस्तक प्रयोग गर्ने योजना छ भनेर पनि घोषणा गरियो। क्रमिक रूपमा, स्कूलमा भाग लिइसकेका लामो समयदेखि अग्रगामी गर्दै आएकाहरूले नयाँ-नयाँ अग्रगामीहरूसँगै कक्षामा भाग लिनेछन्।
ईश्वरीय समर्थन र मानव उदारताले गर्दा विशेष गरी सीमित स्रोतसाधन भएका मुलुकहरूमा थुप्रै राज्यभवनहरू निर्माण गर्न सम्भव भएको छ। विश्वव्यापी रूपमा आध्यात्मिक आहारको खाँचो बढिरहेको हुनाले थुप्रै मुलुकहरूमा शाखाहरूलाई विस्तार गर्ने काम भइरहेको छ। पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्! भन्ने पुस्तिका अहिले २९९ भाषामा उपलब्ध हुनुका साथै जम्माजम्मी १३ करोड ९० लाख प्रति छापिन्छ; ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तक १६१ भाषामा ९ करोड ३० लाखभन्दा बढी प्रति उपलब्ध छन् र परमेश्वर हामीबाट के चाहनुहुन्छ? भन्ने पुस्तिका २६७ भाषामा २० करोडभन्दा बढी प्रति छापिएका छन्।
गत सेवा वर्षको दौडान पानीको बप्तिस्माद्वारा आफ्नो समर्पण जाहेर गर्ने २,५८,८४५ जनालाई हामी हार्दिक स्वागत गर्छौं! परमेश्वरको राज्यलाई समर्थन गर्नुभएकोमा तपाईं शैतानको घृणाको विशेष तारो बन्नुभए तापनि आफ्नो सामनेमा राखिदिएको दौड दौडिनुहुँदा यसले तपाईंलाई यहोवाको आशिष् र आध्यात्मिक सुरक्षा प्राप्त गर्ने विशेष व्यक्ति पनि बनाएको छ। (हिब्रू १२:१, २; प्रका. १२:१७) हो, “तेरो रक्षा गर्ने कहिल्यै उँघ्नुहुनेछैन” भन्ने कुरामा विश्वस्त हुनुहोस्।—भज. १२१:३.
“जागा रहो . . . तिमीहरू पनि तयार रहो” भन्ने २००४ को वार्षिक पद एकदमै समयसापेक्ष छ। (मत्ती २४:४२, ४४) परमेश्वरको वचनमा मसीहीहरूलाई मरेतुल्य यस रीतिरिवाजको अस्थायी बासिन्दाहरूको रूपमा वर्णन गरिएको छ। (१ पत्रु. २:११; ४:७) तसर्थ, आफ्नो जीवनलाई सरल राख्न र आफ्नो हृदयलाई होसियारीसाथ जाँच्न हामीले आध्यात्मिक कुरामा ध्यान केन्द्रित गर्नु खाँचो छ। आफ्नो रीतिरिवाजमा सम्मिलित गराएर “अजीङ्गरजस्तै पशु” हामीलाई निल्न चाहन्छ।—प्रका. १२:९.
आफ्नो सजगतालाई कायम राख्न दिनहुँ बाइबल पढ्नु अत्यावश्यक छ। यसले हामीलाई आफ्नो समर्पणको सन्दर्भमा ‘हाम्रो हो चाहिं हो’ हुन र “हाम्रा शुरूको विश्वासलाई अन्तसम्मै थामिराख्न” मदत गर्न सक्छ। (याकू. ५:१२; हिब्रू ३:१४) दिनहुँ बाइबल पढाइले हामीलाई यो संसार परमेश्वरका अपरिवर्तनीय स्तरहरूदेखि कति टाढा तर्किसकेको छ भन्ने कुरा सम्झिन मदत गर्न सक्छ। (मला. ३:६; २ तिमो. ३:१, १३) बाइबलको ज्ञानले हामीलाई “धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरू[बाट]” टाढै बस्न र यहोवाप्रति विश्वासी रहन मदत गर्न सक्छ।—२ पत्रु. १:१६; ३:११.
आमाबाबुहरू हो, आफ्ना छोराछोरीलाई यहोवाको शिक्षा र चेतावनीमा पालनपोषण गर्नुहुँदा, के तपाईंले उनीहरूलाई आध्यात्मिक लक्ष्यहरू राख्न अनि ‘जागा रहन’ मदत गरिरहनुभएको छ? (एफि. ६:४) आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा बुद्धिमान् मानिस येशूले आफ्नो भविष्यप्रति जस्तो दृष्टिकोण राख्नुभएको थियो, के तपाईंले पनि उनीहरूलाई आफ्नो भविष्यप्रति त्यस्तै दृष्टिकोण राख्न प्रशिक्षण दिइरहनुभएको छ? आजसम्म बाँचेकाहरूमध्ये येशू महान् सिकर्मी, आविष्कारक वा चिकित्सक बन्न सक्नुहुन्थ्यो तर त्यसो नगरी उहाँले पूर्ण-समय सेवकाईलाई अँगाल्नुभयो। उहाँको उदाहरणले तपाईंलाई आफ्ना छोराछोरीलाई उनीहरूको जीवनमा राज्य गतिविधिहरूलाई प्राथमिकता दिन मदत गर्न उत्प्रेरित गरोस्।
‘राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार’ गर्ने हाम्रो जिम्मेवारी पूरा गर्न “ठूलो भीड[ले]” हामीलाई मदत गरेकोमा परिचालक निकायद्वारा प्रतिनिधित्व गरिएको विश्वासी दास वर्ग हार्दिक कृतज्ञताले ओतप्रोत भएको छ। (प्रका. ७:९; मत्ती २४:१४, ४५) प्रिय भाइबहिनीहरू, ‘तपाईंहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तपाईंहरूले देखाउनुभएको छ’ सो उहाँले बिर्सनुहुन्न भन्ने यहोवाको आश्वासनलाई नबिर्सनुहोस्। (हिब्रू ६:१०) रोचक अनुभवहरू पढ्नुका साथै त्यसपछिका पानाहरूमा तपाईंहरूको संयुक्त प्रयासको परिणाम हेर्नुहुँदा, विश्वव्यापी रूपमा साक्षी दिने यस कार्यमा तपाईंले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ भन्ने कुरा मनमा राख्नुहोस्।
निरन्तर “आफ्नो दृष्टि प्रतिफलतिर” लगाइरहनुका साथै कुनै पनि मानव वा भूतप्रेतद्वारा आफूलाई यस प्रतिफलबाट वञ्चित हुन नदिएर तपाईंले साहसी भई भविष्यको सामना गर्न सक्नुहोस्। (हिब्रू ११:२६; कल. २:१८) हो, जीवनको पूर्णता प्राप्त गर्न उहाँलाई प्रेम गर्ने सबै जनालाई उहाँले मदत गर्नुहुनेछ भन्ने कुरामा निर्धक्क हुँदै यहोवामाथि भरोसा राख्नुहोस्।—यूह. ६:४८-५४.
यहोवाको महिमाको प्रशंसा गर्न तपाईंहरू सँगसँगै सेवा गर्न पाएकोमा हामी औधी आनन्दित छौं भन्ने कुरामा विश्वस्त हुनुहोस्।
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय