परिचालक निकायको पत्र
यहोवाका प्रिय सँगी साक्षीहरू:
तपाईं प्रिय भाइबहिनीलाई यो पत्र लेख्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। हामी तपाईंहरूप्रति प्रेरित यूहन्नाले जस्तै महसुस गर्छौं, जसले सँगी विश्वासीहरूलाई “साँचो प्रेम” गर्छु भने र तिनीहरू “सत्यमा चलेको”-मा आनन्दित भए। (२ यूह. १, ४) ओहो! सत्य थाह पाउनु हामी सबैको लागि कत्ति आशिष्को कुरा! यो सत्यले हामीलाई महान् बेबिलोन र परमेश्वरलाई अनादर गर्ने यसको शिक्षा अनि प्रचलनदेखि जोगाएको छ। परमेश्वरप्रति आज्ञाकारी भएकोले हामी मायालु, कृपालु र दयालु मानिस बन्न सकेका छौं। यसै सत्यले गर्दा परमेश्वरसामु सफा अन्तस्करण राख्न र अनन्त जीवनको आशा पाउन सम्भव भएको छ।
हामीलाई दिनहुँ डोऱ्याइ दिने र बलियो पार्ने यहोवाको आत्मा पाएकोमा पनि हामी कत्ति आभारी छौं! हालै सम्पन्न “परमेश्वरको आत्माको डोऱ्याइअनुसार हिंड्नुहोस्” जिल्ला अधिवेशनबाट यहोवाले आज हामीलाई कसरी आफ्नो आत्माद्वारा मायालु डोऱ्याइ दिइरहनुभएको छ र हामीलाई बलियो पारिरहनुभएको छ, तपाईंले बुझ्न सक्नुभयो भनी हामी पक्का छौं। संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गएकोले आउनै लागेको अत्यन्तै डरलाग्दो दिनमा यहोवाको डोऱ्याइ पाउन उहाँको शक्तिशाली आत्मामा भर पर्नु अत्यावश्यक छ।
विश्वासको खातिर कठोर परीक्षाहरू सहेका भाइबहिनीको रोमाञ्चक उदाहरण यरबूक-मा पढ्दा तपाईंहरूको मनै छोएको छ भनेर हामी विश्वस्त छौं। यसरी परीक्षा भोग्ने वफादार व्यक्तिमध्ये धेरैजसोले बप्तिस्मा लिएको केही समय मात्र भएको वा बप्तिस्मा नै नलिएको कुरा थाह पाउँदा हामी छक्क पर्छौं। उनीहरूले देखाएको वफादारिता र धार्मिकताप्रति उनीहरूले लिएको अडानको कारण हामी उनीहरूलाई असाध्यै माया गर्छौं। हामीमाथि जस्तोसुकै दुःखकष्ट आइपरे तापनि परमेश्वरको राज्यप्रति वफादार भइरहने हाम्रो संकल्पलाई उनीहरूको उत्कृष्ट उदाहरणले बलियो बनाउँछ।—१ थिस्स. १:६-८.
प्रिय भाइबहिनीहरू, पारिवारिक बन्धनलाई प्रेममा कस्न तपाईंहरूले आर्थिक वा अन्य किसिमका समस्या भोग्नुपरेको छ भनेर हामीलाई थाह छ। तपाईंहरूमध्ये कतिलाई नियमित र वफादार भएर राज्य प्रचारकार्य र मण्डलीका अन्य क्रियाकलाप पूरा गर्नसमेत धौ-धौ परिरहेको छ। हो, त्यसैकारण व्यग्र प्रार्थना र छलफलपछि हामीले जनवरी १, २००९ देखि मण्डलीका सभाहरूमा केही छाँटकाँट गऱ्यौं। हामीलाई विश्वास छ, यो प्रबन्धको पूर्ण सदुपयोग गर्दै तपाईंहरूले व्यक्तिगत र पारिवारिक अध्ययन गर्न अझ धेरै समय बिताउनुहुनेछ।
यस वर्ष विभिन्न सम्मेलन र अधिवेशनमा थुप्रै जना बप्तिस्माको लागि योग्य भएको देख्न पाउँदा हामीलाई खुसी लागेको छ। तिनीहरूमध्ये कति त उमेरमा सानै थिए। सत्यको कदर गर्ने छोराछोरी हुर्काएकोमा र तिनीहरूलाई कलिलो उमेरमै यहोवाको सेवामा आफूलाई अर्पण गर्न प्रोत्साहन दिएकोमा तपाईं आमाबाबुको पनि तारिफ गर्नैपर्छ। हाम्रा छोराछोरीले स्कूलमा थुप्रै चुनौती सामना गर्नुपर्छ। तैपनि बप्तिस्माको लागि योग्य भएकोले तिनीहरूले घरमा राम्रो प्रशिक्षण पाएका रहेछन् भनेर देखाउँछ।—भज. १२८:१-६.
बाइबल अध्ययनको संख्यामा भएको प्रशंसनीय वृद्धिलाई पनि हामी बिर्सन सक्दैनौं। यस वृद्धिमा हाम्रा मेहनती मिसनरीहरू र विशेष अग्रगामीहरूको योगदान ठूलो छ। तिर्खाएकाहरूलाई ‘जीवनको पानी सित्तैमा लिन’ “आउनुहोस्” भनेर निम्तो दिने महत्त्वपूर्ण काम विश्वव्यापी तवरमा पूरा गर्न तपाईं हाम्रा प्रिय भाइबहिनीहरूले गरेको प्रयासको हामी परिचालक निकायका सम्पूर्ण सदस्यहरू औधी कदर गर्छौं। (प्रका. २२:१७) गत वर्ष बप्तिस्मा लिएर आफ्नो समर्पण जाहेर गरेका २,८९,६७८ जनालाई हाम्रो विश्वव्यापी भाइचारामा हामी हार्दिक स्वागत गर्छौं।
प्रेरित यूहन्नाले लेखेका यी शब्दहरू हामीले आफूलाई सम्झाइरहनु उचित हो: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्नेचाहिं सधैंभरि रहिरहन्छ।” (१ यूह. २:१७) यसबाहेक हामी यो संसार ‘बितेर जाने’ समयको असाध्यै नजिक बाँचिरहेका छौं भनेर सम्झिरहनु पनि उचित हो। परमेश्वरको इच्छा गर्न र ‘जागा रहिरहन’ आफ्नो सम्पूर्ण ध्यान लगाउनु कत्ति बुद्धिमानी हो! (मत्ती २४:४२) त्यसो गऱ्यौं भने हामी कहिल्यै पछुताउनुपर्ने छैन र हामीले यहोवाको माया र कृपा पाउन सक्नेछौं।—यशै. ६३:७.
यरबूक-मा भएका थुप्रै मुलुकका जुर्मुऱ्याउने विवरणहरूले तपाईंहरू सबैलाई राज्य गतिविधिलाई पहिलो स्थानमा राख्न प्रोत्साहन दिनेछ भनेर हामी आशा गर्छौं। तपाईंहरूलाई हामी सधैं आफ्नो प्रार्थनामा सम्झिरहन्छौं र असाध्यै माया गर्छौं भनेर विश्वस्त पार्न चाहन्छौं। यहोवाले तपाईंहरूमाथि प्रशस्त आशिष् वर्षाऊन्।
तपाईंका भाइहरू,
यहोवाका साक्षीहरूको परिचालक निकाय