परिचालक निकायको पत्र
यहोवाका प्रिय सँगी साक्षीहरू,
अहिलेको समय कस्तो रोमाञ्चकारी छ! हामी अत्यन्तै रमाएका छौं! स्वर्गमा बस्ने हाम्रा बुबा यहोवाबारे विस्तृत साक्षी दिने काममा “काँधमा काँध मिलाएर” तपाईं प्रिय भाइबहिनीहरूसँगै सेवा गर्न पाउँदा हामीलाई निकै रमाइलो लागेको छ।—सप. ३:९, NRV; यूह. १४:१२.
यहोवाको सेवामा हामी आनन्दित छौं भन्नुको अर्थ हामीलाई कुनै साह्रोगाह्रो छैन भन्ने होइन। गत सेवा वर्ष तपाईंहरूमध्ये कतिले भूकम्प, बाढी, आँधीबेहरी र ज्यानै जोखिममा पर्ने डरलाग्दा प्रकोपले गर्दा दुःख भोग्नुपऱ्यो। (मत्ती २४:७) थुप्रै भाइबहिनी रोग र उमेरले गर्दा थला पर्दै हुनुहुन्छ। “प्रसववेदना” जस्तै बढ्दै गइरहेको दुःख हामी सबैले भोग्नै पर्छ। (मत्ती २४:८) आर्मेनिया, एरिट्रिया, दक्षिण कोरियालगायत थुप्रै देशमा हाम्रा भाइबहिनी आफ्नो ख्रीष्टियन विश्वासको खातिर थुनामा परेका छन्।—मत्ती २४:९.
यस्ता समस्याहरू आए तापनि सकारात्मक मनोवृत्ति राख्न हामीलाई कुन कुराले मदत गरेको छ? सन् २०१० को वार्षिक पदले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सम्झाएको थियो: ‘प्रेमले सबै कुरा सहन्छ। प्रेम कहिल्यै टल्दैन।’ (१ कोरि. १३:७, ८) हो, हाम्रो आपसी प्रेम र यहोवाप्रतिको प्रेमले गर्दा हामीले धैर्य गर्न सक्यौं।
हामीले नथाकीकन र एक भएर प्रचार गरेको देख्दा आफूलाई ख्रीष्टियन भनेर दाबी गर्नेहरू छक्क परेका छन्। तिनीहरू हाम्रो विश्वास र हाम्रो शिक्षासित सहमत नभए तापनि कोही-कोहीले तुरुन्तै यस्तो उद्गार व्यक्त गरेका छन्: “ओहो! हामीले गर्नुपर्ने काम तपाईंहरूले पो गरिररहनुभएको छ!” दिनदिनै प्रचार गर्न यहोवाका साक्षीहरूलाई सक्षम बनाउने एउटा कारण के हो? यसको जवाफ पनि प्रेम नै हो। स्वर्गका हाम्रा बुबाले चाहेझैं हामी पनि कोही नाश नहोस् भन्ने चाहन्छौं। (२ पत्रु. ३:९) गत सेवा वर्षमा ७५ लाख ८ हजार ५० जना प्रकाशक पुगेको रेकर्डले पनि सबै जनाले पश्चात्ताप गरून् भन्ने हाम्रो इच्छा छ भन्ने कुरा देखाउँछ। यति धेरै सदस्य प्रचार गर्न आफै अग्रसर भएको अर्को कुनचाहिं धार्मिक सङ्गठन छ?
यशैयाको यो भविष्यवाणी पूरा भइरहेको देख्दा हामी प्रोत्साहित भएका छौं: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्।” (यशै. २:२-४) यहोवाको भवनमा ओइरिएका मानिसहरूमध्ये गत सेवा वर्षमा बप्तिस्मा गरेका २ लाख ९४ हजार ३ सय ६८ जना पनि हुन्। यी प्यारा भाइबहिनीलाई हाम्रो परिवारमा स्वागत छ! तिनीहरूलाई हाम्रो शत्रु दियाबल सैतानविरुद्ध लड्न मदत गरिरहन हाम्रो ख्रीष्टियन प्रेमले हामीलाई घचघच्याओस्।—१ पत्रु. ५:८, ९.
मङ्गलबार, मार्च ३०, २०१० मा स्मरणार्थमा भेला भएका १ करोड ८७ लाख ६ हजार ८ सय ९५ जनाको शिखर सङ्ख्याले हामीसँगै मिलेर यहोवाको उपासना गर्ने लाखौं त अझै बाँकी नै छन् भनेर देखाउँछ। यहोवाले अहिलेसम्म यो दुष्ट युगको अन्त्य नगरेकोमा हामी कत्ति खुसी छौं! त्यतिन्जेल हाम्रो प्रेमले हामीलाई धैर्य गर्न मदत गर्छ।—२ थिस्स. ३:५.
सन् २०१० मा संसारका थुप्रै ठाउँमा भएको “यहोवासित नजिक भइरहनुहोस्!” जिल्ला अधिवेशनले हाम्रा स्वर्गका बुबा यहोवासित हाम्रो सम्बन्ध बलियो बनायो। भजनरचयिताले भनेका यी शब्दहरू कत्ति अकाट्य छन्: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभु नै हुनुहुन्छ।” (भज. १४४:१५) भविष्यमा जस्तोसुकै अवस्था आओस् यहोवा हाम्रो छेवैमा हुनुहुन्छ भनेर हामी ढुक्क छौं भने जेसुकै होस् डराउनुपर्ने कुनै कारण छैन। (भज. २३:४) चाँडै नै यहोवाले आफ्नो छोरामार्फत “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ। (१ यूह. ३:८) हामी त्यो दिन उत्सुकतासाथ पर्खिरहेका छौं! त्यतिन्जेल व्यस्त भइरहन हामीसँग प्रशस्त काम छ।—१ कोरि. १५:५८.
हाम्रो प्रार्थनामा तपाईंहरूलाई “अटुट रूपमा” समावेश गर्छौं भनेर ढुक्क हुनुहोस्। (रोमी १:९) ‘आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नुहोस् अनि प्रभु येशू ख्रीष्टको कृपाले तपाईंहरूका निम्ति अनन्त जीवन पाउने बाटो खुलोस् भनी आशा गर्नुहोस्।’—यहू. २१.
हामी तपाईंहरू सबैलाई माया गर्छौं।
तपाईंका भाइहरू
यहोवाका साक्षीरूको परिचालक निकाय