युवा जनहरू सोध्छन् . . .
गुँद सुँघ्नु के यसले मलाई वास्तवमा क्षति पुऱ्याउन सक्छ?
“असाध्यै रमाइलो हुन्छ—कार्टुन चित्रहरू हेरेजस्तै।” मास्को, रूसकी १३ वर्षीया स्फीटा त्यसो भन्छिन्।a तर स्फीटाले यत्तिको उत्सुक भएर सबैभन्दा नयाँ चलचित्र अथवा भिडियोबारे कुरा गरिरहेकी होइनन्। सारा संसारभरि हजारौं जवानहरूबीच लोकप्रिय, लागू पदार्थ दुरूपयोगको अनुभवबारे उनले बताइरहेकी हुन्—त्यो हो, गुँद सुँघ्नु।
हुनत, गुँद, केही जवानहरूले सुँघ्ने थुप्रै कुराहरूमध्ये एक हो। उदाहरणको लागि, बेलाइतमा दुरुपयोग गरिने पदार्थहरूमध्ये सुगन्धित बास्नाहरू, लाइटरको ग्यास र “अन्य २० देखि ३० प्रकारका सामान्य घरेलु उत्पादनहरू हुन्” भनी यङ्ग पीपल नाउ पत्रिकाले भन्छ। यसमा “पीडा कम गर्ने स्प्रेहरू, काठमा लगाउने पालिसहरू र पङ्कचर मर्मत गर्ने औजारहरू” समावेश छन्। भनौं भने, केही जवानहरूले आगो निभाउने ग्याँसहरू समेत सुँघ्छन्! यसकारण यो हानिकारक तर लोकप्रिय बानीलाई विशेषज्ञहरूले भनेझैं “घुलनशील पदार्थको दुर्व्यसन” अथवा “प्रज्वलनशील पदार्थको दुर्व्यसन” भन्नु बढी उपयुक्त हुन्छ।
तिनीहरूले चाहे गुँद अथवा काठमा लगाउने पालिसको दुरूपयोग गरिरहेका होऊन्, सुँघ्नेहरूले एकै प्रकारका परिणामहरू खोज्छन्। तिनीहरू “मद्यपानले मात्तिंदा हुने अनुभवजस्तै ‘उन्मत्त’ हुन चाहन्छन्” भनी एउटा स्रोतले बताउँछ। यी घुलनशील पदार्थहरू कोकेनजस्ता कडा लागू पदार्थहरूभन्दा सस्तो र सजिलै पाउन सकिन्छ। बेलाइतको न्यु साइन्टिस्ट पत्रिकाले यसरी रिपोर्ट गऱ्यो: “ग्वाटेमालाका सडकका केटाकेटीहरू र उत्तरी अमेरिकाका आदिबासीहरू साथसाथै बेलाइतका होस्टेलहरू र घरबारविहीनहरू सुत्ने ठाउँहरूमा बस्ने जवानहरू, गरीब तथा घरबारविहीनहरूका लागि घुलनशील पदार्थहरू पुनः लागू पदार्थहरू भएका छन्।” बेलाइतका १० किशोरकिशोरीमध्ये १ ले घुलनशील पदार्थहरू सुँघिसकेको छ भनी केही विशेषज्ञहरू भन्छन्। अनि त्यसका असरहरू हानिकारक सिवाय अरू केही हुँदैन।
“घुलनशील पदार्थबाट आउने वाफहरू फोक्सोले सोस्छ र छिट्टै मस्तिष्कसम्म पुग्छ” भनी ड्रग मिस्युज पुस्तिकाले बताउँछ। घुलनशील पदार्थहरूले केन्द्रीय स्नायुप्रणालीलाई असर गर्छ र मद्यले जस्तै क्षणिक आनन्द दिन्छ। यी प्रयोग गर्ने केही व्यक्तिहरूमा यसले क्षणिक भ्रान्ति पनि पैदा गर्छ—तर त्यस्ता सबै अनुभवहरू स्फीटाको जस्तो आनन्ददायी भने हुँदैन। चौध वर्षको उमेरमै गुँद सुँघ्न थालेका लक्का जवान डेभिड यसो भन्छन्: “मैले मुसै मुसाहरू देखें। ती हजारौं थिए र ठूलाबाट साना मुसाहरू निस्किरहेका थिए। तिनीहरूले मेरो साथीलाई खाइरहेको जस्तो मलाई लाग्यो।” सत्र वर्षको उमेरमा गुँद सुँघ्न थालेका काजुहिको नाम गरेको जापानी जवान सम्झन्छन्: “मैले जमिन फाटिरहेको र जनावरहरूले मलाई आक्रमण गरिरहेको देखें।”
त्यसो भए, केही जवानहरूको लागि घुलनशील पदार्थहरू सुँघ्नु किन यत्तिको आकर्षक भएको? तेह्र वर्षको उमेरमा गुँद सुँघ्न थालेका ली यसो भन्छन्: “मुख्यतया मानिसहरूले यसो गर्नुको कारण वास्तविकताबाट भाग्न हो।” हो, केही जवानहरूका लागि घुलनशील पदार्थहरू सुँघेर उन्मत्त हुनु समस्याहरू बिर्सने एउटा माध्यम हो। अरू भने रोमाञ्चित हुन खोज्छन्: तिनीहरूको विचारमा डरलाग्दो भ्रान्ति रमाइलो तर्साउने चलचित्र हेर्नु सरह हो। आयरलैण्डको स्वास्थ्य मन्त्रालयले यसो भन्छ: “अन्य कारणहरूमा कौतूहलता, सङ्गी साथीहरूको दबाब, नाउँ कमाउने प्रयास, न्यून आत्म-सम्मान र अपूर्णताका भावनाहरू हुन सक्छन्।”
आकस्मिक मृत्यु
जतिसुकै आकर्षक भए तापनि, घुलनशील पदार्थहरू सुँघ्नु एउटा डरलाग्दो बानी हो! सन् १९९० मा यसको कारण १४९ वटा मृत्यु भए र यसले कहिलेकाहीं मिनेटभरमै ज्यान लिन्छ। यसलाई “सुँघ्नाले हुने आकस्मिक मृत्यु” भनिन्छ। उदाहरणको लागि, रेचेलले टाइप गर्दा गल्ती सच्याउन प्रयोग गरिने झोल सधैं आफ्नो बाहुलामा खन्याउने गर्थिन् र स्कूलमा सुँघ्थिन्। एकदिन बसमा यात्रा गर्दा उनले त्यो सुँघिन्। उनी बसबाट ओर्लिन् र लडिन्। एकछिनको लागि उठिन् तर पुनः ढलिन् र मरिन्! रेचेल १५ वर्षकी थिइन्।
विशेषगरि डरलाग्दो तथ्य के हो भने, घुलनशील पदार्थहरू प्रथम पटक दुर्व्यसन गर्नेबित्तिकै त्यसले तपाईंको ज्यान लिन सक्छ! घुलनशील पदार्थहरूको दुर्व्यसन विरूद्ध लड्न स्थापना भएको रि-सल्भ नामक बेलाइती जनकल्याण संस्थाको रिपोर्टअनुसार “सन् १९७१ देखि १९८९ बीच घुलनशील पदार्थको दुरूपयोगले मर्नेहरूमध्ये १८% प्रथम पटक ‘सुँघ्नेहरू’ थिए।” मर्नेहरूमा सबैभन्दा कम उमेरको नौ वर्षीय केटो थियो। मद्यपानको दुर्व्यसनजस्तै घुलनशील पदार्थको दुर्व्यसनले पनि ‘साँपलेझैं डस्न र कोब्रा साँपलेझैं ठुँग्न’ सक्छ।—हितोपदेश २३:३२.
घुलनशील पदार्थको प्रभावमा हुँदा घट्ने दुर्घटनाको कारण पनि सुँघ्नेहरू मर्न सक्छन्। केही व्यक्तिहरू भवनहरूबाट खसेका अथवा डुबेका छन्। केही भने अचेत भएर आफ्नै बान्तामा निस्सासिएका छन्। टाउकोलाई प्लाष्टिकको झोलाले छोपेर सुँघ्दा पनि कोही कोही मरेका छन्; झोला नै झिक्न नसकिने गरी तिनीहरू मात्तिए अनि गुम्सिएर मरे। अझ अरू कतिपय त घुलनशील पदार्थहरूले आगो समात्दा जलेर मरेका छन्।
शारीरिक प्रदूषण र अन्य खतराहरू
त्यस्ता भयानक परिणामहरू सबैले नभोग्ने भए तापनि एक विशेषज्ञ यसरी लेख्छन्: “नियमित दुर्व्यसनीलाई उसले आफ्नो शरीर ‘प्रदूषित’ गरिरहेको छ भनेर थाहा हुन्छ र छाती दुख्ने, असन्तुलन, स्मरणशक्तिको ह्रास तथा आफूलाई थाहै नभएका थुप्रै लक्षणहरू अनुभव गर्छ।” ली (सुरुमा उल्लिखित) सम्झन्छन्: “मैले यस्तो टाउको दुखाइ जिन्दगीमा कहिल्यै अनुभव गरेको थिइनँ।” घुलनशील पदार्थहरूको सुँघाइले मृगौला र कलेजोलाई बिगार्न, मानसिक अवरोध ल्याउन र निराश तुल्याउन सक्छ भनी री-सल्भ नामक सङ्गठनले भन्छ।
त्यसपछि नैतिक खतराहरू पनि छन्। आफ्नो बानीलाई कायम गर्न सुँघ्ने केही व्यक्तिहरू चोर भएका छन्। जापानको डेली योमुरी मा प्रकाशित यो रिपोर्टलाई ध्यान दिनुहोस्: “एउटी किशोरीको हत्यामा दोषी ठहराइएका तीन जवानमध्ये एकले त्यो केटीको हत्यामा संलग्न हुँदा [घुलनशील पदार्थको] प्रभावमा भएको हुँदा उसलाई कुनै प्रकारको ग्लानि महसुस नभएको [बताए]।”
अन्ततः, घुलनशील पदार्थहरूको दुरूपयोगले ती पदार्थहरूमा मानसिक निर्भरता बढाउँछ अर्थात् दुर्व्यसनी बनाउन सक्छ। स्कटल्याण्डको ग्लास्गो हेरल्ड पत्रिका यसो भन्छ: “घुलनशील पदार्थहरू दुरुपयोग गर्नेहरूमध्ये झन्डै १०% जति दुर्व्यसनीहरू भए।” यसले भावनात्मक तथा आध्यात्मिक वृद्धिलाई बाधा पुऱ्याउनु सिवाय अरू केही गर्दैन। पहिलो कोरिन्थी १४:२० मा बाइबलका शब्दहरूलाई ध्यान दिनुहोस्: “समझमा केटा-केटी नहोओ, . . . तर समझमा मानिस होओ।” यस सम्बन्धमा एक व्यक्ति कसरी हुर्कनु सक्छ? हिब्रू ५:१४ मा बाइबल यसरी वर्णन गर्छ: “खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” आफ्ना ज्ञानेन्द्रियहरूको विकास गर्न दुर्व्यसनी असफल हुन्छ। उसले समस्याहरू सामना गर्नुको सट्टा लागू पदार्थद्वारा उत्प्रेरित अचेतन अवस्थाको सहायता लिएर समस्याहरूबाट उम्किन खोज्छ। दुर्व्यसनी भइसकेकाहरू “किशोरकिशोरी हुँदा नै फँस्ने हुनाले हुर्केर वयस्क हुन सक्दैनन् भनी यङ्ग पीपल नाउ पत्रिकाले भन्यो।”
कहिल्यै प्रयोग नगर्नुहोस्!
घुलनशील पदार्थहरू सुँघ्ने केही साथीहरूबारे तपाईंलाई थाहा होला र त्यसबारे कौतूहल हुनु स्वाभाविक हो। तर बाइबल यसो भन्छ: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) आफ्नो शरीरलाई दूषित पार्ने अथवा क्षणिक मात्र भए पनि आफ्नो मनमाथि नियन्त्रण गुमाउन लगाउने वस्तुलाई परीक्षण गरेर किन हेर्ने? परमेश्वरको वचनले “जागा रहौं” भन्ने सल्लाह दिन्छ। (१ थिस्सलोनिकी ५:६) यस पद्यांशको अक्षरसः अर्थ, “हामी भद्र होऔं” हो। आफ्नो सोच्ने क्षमताहरूलाई प्रदूषित गर्नुको सट्टा एक मसीहीले होशियारीपूर्वक त्यसको सुरक्षा गर्छ।—हितोपदेश २:११; ५:२.
काजुहिको भन्छन्: “त्यस्तो बानी सुरु गरेकोमा नै म पछुताउँछु।” त्यो कुरालाई समर्थन गर्दै ली भन्छन्: “त्यो मूर्खता हो। यो असाध्यै खतरनाक कुरा हो।” आफूमाथि आउन सक्ने अचाक्ली पीडा र दुःखबाट जोगिनुहोस् र घुलनशील पदार्थ सुँघ्ने बानी सुरु नै नगर्नुहोस्।” बाइबलले भनेझैं व्यवहार गर्नुहोस्: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.
हुनत यो सल्लाह पालन गर्न त्यति सजिलो नहोला। घुलनशील पदार्थहरूको दुर्व्यसनी बन्ने सामान्य कारणमध्ये एक, “सङ्गी साथीहरूको दबाब” हो। जवान डेभिड भन्छन्: “मेरो दाइले गर्दा म गुँद सुँघ्न आकर्षित भएँ।” काजुहिको थप्दै भन्छन्, “मेरा साथीहरूले मलाई यसो गर्न सिकाए।” हो, १ कोरिन्थी १५:३३ ले भन्छ, “खराब सङ्गतले भला चालचलनलाई बिगार्दछ।” साथीहरूको कारण आफ्नो जीवन किन बिगार्ने? स्वर्गमा हुनुहुने हाम्रो पिता, यहोवा परमेश्वरले यसरी आग्रह गर्नुहुन्छ: “हे मेरो छोरो, पापीहरूले तँलाई फकाउन खोजे तिनीहरूसँग नजा।”—हितोपदेश १:१०, न्युव
लागू पदार्थ सेवन गर्न अरूले तपाईंलाई दबाब दिइरहेको छ भने बुद्धिमानीपूर्वक आफ्नो आमाबाबुलाई थाहा दिनुहोस्। नाइँ भन्ने तपाईंको कटिबद्धतालाई उहाँहरूले सुदृढ पार्न सक्नुहुन्छ। अर्कोतिर, समस्याहरूबाट दबिएर अथवा त्यसबाट विह्वल भएर शायद घुलनशील पदार्थहरूको दुर्व्यसन गर्न तपाईं लोभिनु होला। तपाईंको आमाबाबु अथवा अरू कोही परिपक्व, समानुभूतिशील वयस्कसित आफ्ना समस्याहरूबारे कुरा गर्नु भएमा तनावमुक्त हुन तपाईंले अत्युत्तम मदत पाउन सक्नुहुन्छ। तपाईंलाई डोऱ्याइ चाहिएको छ, लागू पदार्थद्वारा उत्प्रेरित छुटकारा होइन। सहनको लागि तपाईंले प्रार्थनाको प्रबन्धबाट फाइदा उठाउन सक्नुहुन्छ। भजनरचयिताले भने: “हर बखत [परमेश्वरमानै] भरोसा गर्, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ।”—भजनसंग्रह ६२:८.
घुलनशील पदार्थहरू सुँघ्नु रोमाञ्चकारीजस्तो देखिन सक्छ तर त्यसले तपाईंका समस्याहरू समाधान गर्दैन। निस्सन्देह, त्यसले तपाईंको जीवन बिगार्छ। त्यसकारण चङ्खो हुनुहोस्। कहिल्यै त्यसको प्रयोग नगर्नुहोस्। (g94 6/22)
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ १३-मा भएको चित्र]
साथीहरूको दबाबले तपाईंलाई कहिल्यै पनि खतरनाक बानी बसाल्न नलोभ्याओस्