युवा जनहरू सोध्छन् . . .
मैले आमाबुबाको कुरा किन मान्नुपर्छ?
स्टानलाई ईश्वरभीरू आमाबुबाले हुर्काएका थिए। तर १६ वर्षको भएपछि उसले विद्रोह गऱ्यो। स्टान यसरी वर्णन गर्छ: “म मानिसहरूसित भेट्न चाहन्थें र तिनीहरूबाट स्वीकृत हुन चाहन्थें। अरू मानिसहरूसित भएका सबै थोक मसित पनि भएको म चाहन्थें।” स्टानको विचारमा यी कुराहरू प्राप्त गर्न उसले लागू पदार्थ ओसार-पसार गर्नुपर्थ्यो। स्वभाविकत उसले आफ्नो चालचलन र घरमा ल्याउने पैसाबारे झूटो बोल्नु पर्ने हुन्थ्यो। “म विवेकशून्य भइसकेको थिएँ” स्टान सम्झन्छ।
एघार वर्षको उमेरमा जोनले मसीहीको हैसियतमा बप्तिस्मा लिए। “तर सच्चाइ मेरो हृदयमा थिएन,” ऊ स्वीकार्छ। “मेरो परिवारले चाहेको भएर मैले बप्तिस्मा लिएको थिएँ। क्याम्पसमा पुगेपछि म अनियन्त्रित भएँ। रक सङ्गितले पनि ममा नराम्रो असर पाऱ्यो। मैले सर्फिङ्ग गर्न थाले र बाइबलको सिद्धान्तहरूअनुसार जीवन नबिताउने जवानहरूसित समुद्रको किनारमा निकै समय बिताउन थालें। त्यहाँ प्रशस्त लागू पदार्थहरूको प्रयोग गरिन्थ्यो।” अहिलेसम्म उसले जे जति सिकेको थियो, त्यसको ठीक विपरीत जीवनशैली अपनाउन केही समयमै उसले आफ्ना आमाबुबाको घर छोड्यो।
तिनीहरू विद्रोह किन गर्छन्
जवानहरूले आफ्नो क्षमतालाई जाँच्नु र केही हदसम्म स्वाधीन हुनु सामान्य कुरा हो। तर विद्रोही, हिंस्रक र आत्मविनाशी हुनु यसको ठीक विपरीत हो। कुन कुराले यसलाई प्रवर्धन गर्छ? कारणहरू धेरै र भिन्दा भिन्दै छन्। जोन व्याख्या गर्छन्: “जवानीमा तपाईं मोजमस्ती गर्न चाहनु हुन्छ। रमाइलो गर्न खोज्नु हुन्छ।” तथापि, अनुभवको कमीले गर्दा जवान व्यक्तिहरूले सधैं सही निर्णय गर्न सक्दैनन्। (हिब्रू ५:१४) तसर्थ, बुद्धिमान आमाबुबाले आफ्ना छोराछोरीहरूमाथि व्यवहारिक प्रतिबन्धहरू लगाउँछन्। यो रोक्काप्रति केही नौजवानहरू आक्रोशित हुन्छन्।
दुःखको कुरा, आफ्ना ईश्वरभीरू आमाबुबाबाट पाएको तालिमलाई समेत केही जवानहरूले दुत्कारेका छन्। (एफिसी ६:१-४) येशूले मसीही जीवन “साँघुरो” र “असजिलो” हुन्छ भन्नुभएको थियो। (मत्ती ७:१३, १४) त्यसकारण आफ्ना साथीसंगीहरूले गरेजस्तै कामकुराहरू अक्सर मसीही जवानहरूले गर्न सक्दैनन्। (१ यूहन्ना ५:३) वास्तवमा यी नियमहरूले जवानहरूलाई विवाह पूर्व गर्भ रहनु, लागू पर्दाथको दुव्यर्सन र लैङ्गिक सर्सङ्गद्वारा सर्ने रोगहरू जस्ता समस्याहरूबाट जोगाउँछ। (१ कोरिन्थी ६:९, १०) तर केही जवानहरू यसलाई बुझ्न चाहँदैनन्; तिनीहरूको विचारमा बाइबलका नियमहरूले तिनीहरूको जीवनपद्धति निसासिदिएको छ।
ताडना दिने, मन बहलाउने र रमाइलो गर्ने विषयमा आमाबुबाहरू अति नै अरठ्ठो छन् भनेर जवानहरूले महसुस गरेका छन् भने तिनीहरू झन् रुष्ठ हुन्छन्। “मेरो विचारमा मेरो आमाबुबा हामीसित निकै कठोर हुनुहुन्छ,” एउटी जवान केटीले खेद प्रकट गरिन्। हो, अन्य मसीही आमाबुबाले छूट दिएका कामकुराहरू तपाईंका आमाबुबाले गर्न नदिंदा साह्रै दिक्क लाग्छ। (कलस्सी ३:२१) केही जवानहरूले आफ्नो चिडचिडापनलाई अनाज्ञाकारी भएर प्रकट गर्छन्।
अर्कोतिर, आफ्ना आमाबुबाहरूले ईश्वरीय सिद्धान्तहरूप्रति आदर नदेखाउँदा पनि केही जवानहरू विचलित हुन्छन्। “बुबा जड्याँहा हुनुहुन्थ्यो,” जोन सम्झन्छन्। “उहाँको अति पिउने बानीले गर्दा उहाँ र आमाबीच भनाभन भइरहन्थ्यो। उहाँबाट उम्किन आमा र हामीहरू धेरै पटक घर सरिसक्यौं।” मतवालाहरू र दुव्यर्सनीहरूले आफ्ना छोराछोरीहरूको आवश्यकताहरू पूरा गर्नै सक्दैनन्। त्यस्ता घरहरूमा नौजवानले दिनहुँ गाली र लाज भोग्नु परिरहेको हुन सक्छ।
आफ्ना आमाबुबाले त्यागेकोले वा बेवास्ता गरेकोले अन्य जवानहरू विरोध गर्छन्। शायद विरोध गर्नु तिनीहरूलाई आमाबुबाको ध्यानाकर्षण गर्नु वा उनीहरूलाई दुःख दिनु जस्तो लाग्दो हो। “मेरा आमाबुबा मसित हुनु भएको एक क्षण पनि मलाई सम्झना छैन,” धनाढ्य परिवारकी टेलर नामक जवान केटी भन्छिन्। “मेरो कोही भाइबहिनी छैन, त्यसकारण मेरा आमाबुबा धेरैजसो मसित नहुनेहुँदा उहाँहरूले सधैं मलाई धेरै पैसा थमाइदिनु हुन्थ्यो।” देखभालको कमीले गर्दा टेलर नाइट-क्लबहरू धाउन र रक्सी पिउन थालिन्। पिएर सवारी हाँकेकोले पक्राउमा नपरूञ्जेल उनका आमाबुबाले उनको केही समस्या छ भन्ने कुरा महसुसै गरेनन्।
यसको अतिरिक्त प्रेरित पावलले मसीहीहरूको समूहलाई सम्बोधन गर्दा संकेत गरेको परिस्थिति पनि हुन्छ: “तिमीहरू राम्रैसँग दौड़िरहेका थियौ, र सत्यलाई मान्न छोड़नू भनेर कसले तिमीहरूलाई रोक्यो?” (गलाती ५:७) अक्सर खराब संगत नै समस्या बनेर बसेको हुन्छ। (१ कोरिन्थी १५:३३) “म खराब संगतमा परें,” इलिजाबेथ नामक किशोरी भन्छिन्। साथीहरूको दबावले गर्दा आफूले “धूम्रपान गर्न थालेको र लागू पदार्थको कुलतमा लागेको” तिनी स्वीकार्छिन्। तिनी अझै यसो भन्छिन्: “व्यभिचार गर्नु त सामान्य कुरा थियो।”
विद्रोह गर्नु किन मूर्खता हो
शायद तपाईंले पनि आफैलाई चिढ्याउने वा दबाब दिने खालको परिस्थितिमा पाउनु हुन्छ होला। यसो हेर्दा आफ्ना आमाबुबाको विरोध गरेर आफूलाई जे मनलाग्यो त्यही गर्नु रहरलाग्दो देखिएला। तर धर्मी मानिस अय्यूबले चेताउनी दिएझैं: “होशियार हुनुहोस्, क्रोधले तपाईंलाई घृणास्पद [कामहरू] गर्न नलोभ्याओस्। दुष्ट कामतिर नफर्कनु होस्।”—अय्यूब ३६:१८-२१.
घृणास्पद, हिंस्रक आचरणको कारण तपाईंका आमाबुबाले प्रतिक्रिया त व्यक्त गर्लान्, तर त्यो राम्रो हुनेछैन। सम्भवतः उहाँहरूले तपाईंमाथि झन् बन्देज लगाउनेछन्। यसको अलावा दुःख दिने व्यवहारले तपाईंका आमाबुबालाई निकै चोट पुऱ्याउनेछ। (हितोपदेश १०:१) के यो माया गरेको हो? के यसले साँच्चै तपाईंको परिस्थितिमा सुधार ल्याउनेछ? तपाईंको कुनै वैद्य गुनासो छ भने उहाँहरूसितै कुरा गर्नु अझ बुद्धिमानी हुन्छ।a शायद तपाईंसित गर्नुहुने व्यवहारमा केही काँटछाँटहरू गर्न उहाँहरू पनि इच्छुकै हुनुहुन्छ होला।
तपाईंले ध्यान दिनु पर्ने अर्को कुरा, तपाईंको व्यवहारले परमेश्वरमाथि गर्न सक्ने असर हो। ‘परमेश्वरमाथि?’ तपाईं सोध्नु होला। हो, आमाबुबाको विरोध गर्नु भनेको परमेश्वरकै विरोध गर्नु हो। किनकि आफ्ना आमाबुबालाई आदर गर्नू भनेर आज्ञा दिनुहुने उहाँ नै हुनुहुन्छ। (एफिसी ६:२) यसप्रकारको अनाज्ञाकारीप्रति परमेश्वरले कस्तो महसुस गर्नुहुन्छ होला? इस्राएल राष्ट्रको विषयमा बाइबल यसो भन्छ: “कतिपल्ट तिनीहरू उजाड़-स्थानमा उहाँको विरुद्धमा वागी भए।” परिणाम के भयो? “[तिनीहरूले परमेश्वरलाई] दुःखित तुल्याए!” (भजनसंग्रह ७८:४०) हो, आमाबुबाहरूले अतिनै बन्देजहरू लगाउँदा उहाँहरूसित दुःखी हुनु स्वभाविक हो। तर तपाईंलाई प्रेम गर्नुहुने र तपाईं सधैं जीवित रहेको हेर्न चाहनुहुने यहोवा परमेश्वरको हृदयलाई के तपाईं साँच्चै दुःखी तुल्याउन चाहनुहुन्छ?—यूहन्ना १७:३; १ तिमोथी २:४.
“स्वतन्त्रताको” मोल ठूलो
राम्रै कारणले गर्दा हामीले हाम्रो मायालु परमेश्वरको कुरा सुन्नु पर्छ। “स्वतन्त्रता[का]” झूटा बाचाहरूको भ्रममा नपर्नुहोस्। (२ पत्रुस २:१९ तुलना गर्नुहोस्।) केही जवानहरूले कुकर्मको सजायँ पाउँदैनन् जस्तो तपाईंलाई लाग्ला। तर भजनरचयिताले यस्तो चेताउनी दिए: “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो। किनकि तिनीहरू चाँड़ैने घाँसझैं काटिनेछन्, र हरियो झारझैं ओइलाउनेछन्।” (भजनसंग्रह ३७:१, २) विद्रोह गर्ने जवानहरूले तिनीहरूले पाएको तथाकथित स्वतन्त्रताका लागि ठूलो मोल तिर्नु पर्ने हुन्छ। बाइबलमा गलाती ६:७ ले यसो भन्छ: “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”
सुरुमा उल्लेख गरिएको स्टानलाई विचार गर्नुहोस्। उसले आशा गरे जस्तै नैतिक तवरले आफ्ना पतित साथीहरूबीच ऊ लोकप्रिय भयो। “मैले स्वीकृत भएको महसुस गरें,” ऊ सम्झन्छ। तथापि, छिटै रमाइलो परिस्थिति नराम्रो हुन थाल्यो। ऊ भन्छ: “मैले गोली खाएँ, पुर्पक्षका लागि म समातिएँ र अहिले झ्यालखानामा थुनिएको छु। र आफैलाई म यो मात्रै सोध्न सकिरहेको छु, ‘के म यसैको योग्य थिएँ त?’”
“स्वतन्त्रता” खोज्ने जोनलाई के भयो? लागू पदार्थ बोकेर हिंडेको कारण पक्राउ परेपछि ऊ मसीही मण्डलीबाट निकालियो। त्यसपछि त ऊ झनै विकृत व्यवहारमा धस्दै गयो। “पैसाको लागि मैले गाडी चोर्न थालें,” जोन स्वीकार्छ। “म ज्यादै हिंस्रक थिएँ।” अपराधीक गतिविधीहरूबाट जोनले निकै पैसा कमायो। तर ऊ सम्झन्छ: “तर मैले ती जम्मै पैसा बेफ्वाँकमा उडाएँ। हामीले प्रयोग गर्ने लागू पदार्थको मात्रा पत्याउनै नसकिने थियो।” जोन कहिले झगडा गरिरहेको, चोरिरहेको वा पिइरहेको हुन्थ्यो भने कहिले प्रहरीदेखि भागिरहेको हुन्थ्यो। “करिबन ५० पल्ट म समातिएँ। तर अक्सर तिनीहरूले मलाई अपराधी ठहऱ्याउन सक्दैनन् थिए, तर एक पल्ट त म वर्षदिनको लागि थुनामा परें। हो, स्वतन्त्र मानिस हुनुको सट्टा जोनले आफैलाई ‘शैतानको गहीरा गहीरा कुराहरू[मा]’ धस्दै गरेको पाए।—प्रकाश २:२४.
इलिजाबेथको विषयमा पनि यस्तै भन्न सकिन्छ। संसारिक साथीहरूसितको अत्यधिक सङ्गतले गर्दा अन्तमा तिनी पनि थुनामा परिन्। तिनी स्वीकार्छिन्: “म गर्भवती समेत भए तर लागू पदार्थको अत्यधिक प्रयोगले मेरो गर्भ तुहियो। लागू पदार्थ नै मेरो जीवन थियो। अर्को चोटी फेरि नशाले उन्मत्त हुनु नै मेरो जीवनको उद्देश्य हो, जस्तो मलाई लाग्यो। अन्तमा मैले आफ्नो डेरा पनि गुमाएँ। म आफ्नो आमाबुबाको घर फर्किन सकिनँ, र लाजले गर्दा, यहोवासित मदत माग्न सक्ने स्थितिमा पनि म थिईनँ।”
दुःखदायी परिणाम भोग्न ईश्वरीय सिद्धान्तहरू तिरस्कार गर्ने जवानहरूका यस्तै अनगिन्ती उदाहरणहरू दिन सकिन्छ। बाइबलले यस्तो चेताउनी दिन्छ: “तिमीलाई ठीक लागेको बाटोले तिमीलाई मृत्युमा पुऱ्याउन सक्छ।” (हितोपदेश १४:१२, टुडेज् इङ्गलिश भर्शन) त्यसकारण आफ्ना आमाबुबासित राम्रो सम्बन्ध कायम गर्ने र विद्रोह होइन तर चित्त नबुझेका बन्देजहरूको विषयमा छलफल गर्ने कोसिस गर्नुमा नै बुद्धिमानी हुनेछ।
उसो भए समयमै यो जानकारी नपाएर खराब आचरणमा फसिसकेका जवानहरूले के गर्ने? आफ्नो आमाबुबा र परमेश्वरसित फेरि सम्बन्ध सुधार्न सकिने के कुनै तरिका छ? हाम्रो आउँदो अंकले यी प्रश्नहरूलाई केलाउनेछ। (g94 12/22)
[फुटनोट]
a यससम्बन्धमा थुप्रै लेखहरूले मदतकारी जानकारी प्रदान गरिसकेको छ। उदाहरणको लागि अवेक! जनवरी ८, १९८५, अगस्त ८, १९९२ र नोभेम्बर ८, १९९२ मा भएका “जवान व्यक्तिहरू सोध्छन् . . . ” भन्ने लेखहरू हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको चित्र]
आफ्ना आमाबाबुसित विद्रोह गर्दा बढी “स्वतन्त्रता” पाइएला, तर के तपाईंले त्यसका परिणामहरू विचार गर्नुभएको छ?