विश्व-स्वास्थ्य परिस्थिति—बढ्दो असमानता
ब्राजिलका ब्यूँझनुहोस्! संवाददाताद्वारा
सोमालियामा सन् १९७७ तिर अली माओ मालिनलाई बिफर लाग्दा तिनी अस्पतालमा भर्ना हुनुको साथै तिनको नाउँ मुख्य समाचारमा समेत उल्लेख भएको थियो। शताब्दीयौंसम्म लाखौं मानिसहरूको ज्यान लिने बिफर अब पूरै पृथ्वीबाट निर्मूल भइसकेको छ भनी विश्व स्वास्थ्य संगठनले तिनको उपचारपछि सन् १९८० मा घोषणा गरे। अली नै त्यो रोगको शिकार हुने अन्तिम व्यक्ति हो भनेर दाबी गरियो।
सन् १९९२ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा प्राप्त भएका अन्य उपलब्धिहरूको रिपोर्ट गऱ्यो: सन् १९८० दशकको दौडान विकासोन्मुख राष्ट्रहरूमा अझ धेरै मानिसहरूले सफा पिउने पानी र सफा-सुग्घर बस्न चाहिने सुविधाहरू प्राप्त गर्न सके। यसबाहेक अल्प विकसित देशहरूमा अत्यधिक जनताले स्थानीय स्वास्थ्य सेवा प्राप्त गर्न सके। फलस्वरूप गत दशकको दौडान केही ठाउँहरूमा बाल मृत्युदर घट्यो।
भयावह तथ्यहरू
तथापि, नोक्सानी तथा सम्भावित खतराहरूले गर्दा यी उपलब्धिहरू धमिलिएका छन्। केही भयावह तथ्यहरूलाई विचार गर्नुहोस्।
एचआइभी/एड्स—संसारभरि १,७०,००,०००भन्दा धेरै मानिसहरू एड्स रोगको भाइरस एचआइभी-बाट संक्रमित छन्। गत एक वर्षमा मात्र ३०,००,००० अर्थात् प्रतिदिन झन्डै ८,००० मानिसहरू संक्रमित भए। दश लाखभन्दा बढी केटाकेटीहरू एचआइभी-बाट संक्रमित भएका छन्। हालैका दशकहरूमा बाल मृत्युदर घटाउन प्राप्त गरिएका सबै उपलब्धिहरूलाई एड्सद्वारा केटाकेटीहरूमा हुने मृत्युदरले विफल तुल्याउन सक्छ। र एसिया महादेशमा जस्तै थुप्रै ठाउँहरूमा यो महामारी भर्खरै मात्र द्रुत गतिमा बढ्न थालेको छ। एड्स एन्ड डिभेलपमेन्ट-अनुसार (एड्स र विकास) एचआइभी संक्रमित ८० प्रतिशत मानिसहरू विकासोन्मुख देशहरूमा छन्।
क्षयरोग (टिबी)—गत दुइ दशकहरूमा त्यति ध्यान नदिइएको भए तापनि क्षयरोगले फेरि एक पटक पूरै संसारलाई सताइरहेको छ। प्रतिवर्ष ३० लाख मानिसहरूको ज्यान लिने यो रोग, घातक संक्रामक रोगहरूमध्ये अग्रपंक्तिमा आउँछ। यो रोगले गर्दा मर्नेहरूमध्ये ९८ प्रतिशत विकासोन्मुख मुलुकहरूका थिए। झन् डरलाग्दो कुरा, एचआइभी संक्रमित मानिसहरूलाई क्षयरोग लाग्न थालेदेखि झनै विध्वंसकारी नतिजाहरू देखिएका छन्। सन् २००० सम्ममा वर्षेनी दश लाख एचआइभी संक्रमित मानिसहरू क्षयरोगले मर्ने आशंका गरिएको छ।
अर्बुद रोग—अहिले विकसित मुलुकहरूमा भन्दा विकासोन्मुख देशहरूमा अर्बुद रोगीहरू धेरै छन्।
हृदय रोग—“हामी हृदय रोगको विश्वव्यापी विपत्तितिर लम्किरहेका छौं,” विश्व स्वास्थ्य संगठनका डा. इभान डायरफासले यसप्रकार चेताउनी दिए। हृदय रोगले अब केवल औद्योगिक राष्ट्रहरूलाई मात्र सताएको छैन। उदाहरणको लागि, ल्याटिन अमेरिकामा संक्रामक रोगहरूले भन्दा हृदय रोगले गर्दा दुइ तीन गुना बढी मानिसहरू मर्नेछन्। रगत जमेर धमनी बन्द हुने र हृदयघातजस्ता रोगहरू केही वर्षभित्र सबै विकासोन्मुख देशहरूमा मृत्युको मुख्य कारण बन्नेछ।
उष्णकटिबन्धीय रोगहरू—विश्व स्वास्थ्य संगठनले यस्तो चेताउनी दिन्छ: “उष्णकटिबन्धीय रोगहरू द्रुत गतिमा बढेको जस्तो देखिन्छ। अमेरिका महादेशका मुलुकहरूमा हैजा फैलिरहेको छ . . . पहेंलो ज्वरो र डेंग ज्वरोको महामारीले त्योभन्दा धेरै मानिसहरूलाई असर गरिरहेको छ र औलो झन् झन् चर्कंदैछ।” टाइम पत्रिका यसो भन्छ: “संसारका गरिब राष्ट्रहरूमा संक्रामक रोगहरूको प्रतिरोध अहिल्यै विकराल स्थितिमा छ।” चालीस वर्षअघि औलो रोग अधिकांश क्षेत्रमा उन्मूलन भइसक्यो भनेर सोचिएको भए तापनि त्यस रोगले मात्र वर्षेनी २० लाख मानिसहरूको ज्यान लिइरहेको छ।
झाडाबान्ता—विकासोन्मुख राष्ट्रहरूमा रोग लागेर मर्ने केटाकेटीहरूको संख्या निकै भयावह छ। संक्रमण अथवा कुपोषणले गर्दा वर्षेनी झन्डै ४०,००० केटाकेटीहरू मर्छन्; झाडाबान्ताले गर्दा मात्र हरेक आठ सेकेन्डमा औसतन एउटा बच्चा मर्छ।
स्वास्थ्य र गरिबीको सम्बन्ध
स्वास्थ्यसम्बन्धी यो विवरणले हामीलाई के बताउँछ? एक जना स्वास्थ्य विशेषज्ञ यसो भन्छन्: “विकासोन्मुख देशहरूले द्विपक्षीय समस्या भोग्छन्। अझै उन्मूलन हुन नसकेका उष्णकटिबन्धीय रोगहरूका साथै भर्खर देखा पर्न थालेका आधुनिक चिरकालीन रोगहरू तिनीहरूले सामना गर्नु परिरहेको छ।” नतिजा? अचिभिंग हेल्थ फर अल बाइ द यर टु थाउजन्ड (सन् २००० भित्रमा सबै- लाई स्वस्थ जीवन प्राप्त गर्ने) नामक पुस्तकअनुसार चिन्ताजनक “भौगोलिक असमानता” प्रष्ट देखिएको छ। त्यसैकारण चालीसवटा अफ्रिकी तथा एसियाली मुलुकहरूमा प्राप्त हुने स्वास्थ्य सुविधा “विश्वका अन्य भागहरूसँग समानुपातिक रूपमा वृद्धि भइरहेको छैन।” वास्तवमा स्वास्थ्य भिन्नता निकै ठूलो छ र त्यो बढ्दैछ।
विभिन्न कारणहरूले गर्दा यो भिन्नता बढेको भए तापनि वर्ल्ड हेल्थ (विश्व स्वास्थ्य) पत्रिकाअनुसार नराम्रो स्वास्थ्यको मुख्य कारण “गरिबी हो।” (हितोपदेश १०:१५ तुलना गर्नुहोस्।) प्रायः गरिबीकै कारण मानिसहरू सर-सफाइ, पर्याप्त सफा पानीको अभाव र अपुग स्थानमा कोचिएर दरिद्र जीवन बिताउँछन्। यी तीन तत्त्वहरूले स्वास्थ्यमा हानि पुऱ्याउने मात्रै नभई वास्तवमा रोगहरूसमेत प्रवर्धन गर्छ। यसबाहेक कुपोषणले शरीरको रोग प्रतिरोधक क्षमतालाई कमजोर पार्छ। अतः धमिरोले काठ खाएजस्तै गरिबीले कसरी स्वास्थ्यमा प्रभाव पार्छ भनेर शायद तपाईंले बुझ्नुभयो होला।
घातक रोगहरूले घर संक्रमित हुँदा, अंगभंग र बच्चाहरूको मृत्यु हुँदा गरिबहरू बढी प्रभावित हुन्छन्। यी केही उदाहरणहरू विचार गर्नुहोस्: दक्षिण अफ्रिकामा आय स्रोत धेरै हुने इलाकाहरूमा भन्दा गरिब क्षेत्रहरूमा क्षयरोग लागेका घटनाहरू सय प्रतिशत बढी छन्। ब्राजिलको सीमा क्षेत्रका धनी इलाकाहरूमा भन्दा खान लाउन धौ-धौ पर्ने क्षेत्रहरूमा निमोनिया र इन्फ्लुएन्जाले छ गुना बढी मानिसहरू मरिरहेका छन्। भारतका निर्धन परिवारहरूमा हुने बाल मृत्युदर धनी परिवारहरूमा भन्दा दश गुना बढी छ। यो पीडादायी परिस्थितिको कारण प्रष्ट छ: ‘गरिबी तपाईंको स्वास्थ्यको लागि हानिकारक छ!’
त्यसैकारण संसारका फोहर बस्तीहरूमा बसोबास गर्ने एक अरबभन्दा बढी मानिसहरू निराश हुनु कुनै अनौठो कुरा होइन। गरिबी नियन्त्रण बाहिर भइसकेको छ नै, तर भयावह स्थितिले गर्दा तिनीहरू झनै रोगको शिकार हुनपुगेका छन्। गरिबीका कुप्रभावहरूले तपाईं पनि पीडित हुनुहुन्छ भने, स्वस्थ र अस्वस्थ जीवनका दुःखदायी पक्षमा आफू निस्सहाय भएको तपाईं महसुस गर्नुहुन्छ होला। यद्यपि, गरिब होस् वा नहोस्, आफ्नो र आफ्ना बालबच्चाहरूको स्वास्थ्यको हेरविचार गर्न केही कदमहरू चाल्न सकिन्छ। ती कदमहरू के के हुन्? यसबारे अर्को लेखले केही सुझावहरू प्रस्तुत गर्छ। (g95 4/8)