जूवा खेल्ने कुलतको विवशतामा परेकाहरू यथार्थमा सधैं हार्छन्
“जूवा खेल्ने कुलतको विवशतामा परेकाहरू मतवालापन र लागू पदार्थको दुर्व्यसनीजस्तै रोगीहरू हुन्,” भनी फ्रान्सका मनोवैज्ञानिक झाँ आडे भन्छन्। तिनले भने, “यो लागू पदार्थबिनाको दुर्व्यसन हो र धेरै मानिसहरूले आफू दुर्व्यसनी भएको महसुस गर्दैछन्।” जूवा खेल्ने कुलतको विवशतामा परेकाहरू निकै पैसा हारिसक्दा पनि अझै जूवा खेलेर आफूले हारेको पैसा क्षतिपूर्ति गर्ने धुनमा हुन्छन्। “यी हरुवाहरूले आफ्नो निराशा छिट्टै बिर्सिहाल्छन्। तर केहीलाई भने जूवा खेल्ने चाहना यति उग्र हुन्छ, त्यसले तिनीहरूको जीवन नै भताभुंग पार्नसक्छ,” फ्रान्सका एक पत्रकारले लेखे। “अब उप्रान्त जूवा खेल्नेछैनन् भनेर तिनीहरूले सधैं भनिरहेका हुन्छन् तर झन् झन् कुलतको दास बनिरहेका हुन्छन्। तिनीहरू जूवाको दुर्व्यसनमा फँसिसकेका हुन्छन्।”
दक्षिण अफ्रिकाका एक जुवाडेले यो मानी लिए: “तपाईं जुवाडे हुनुहुन्छ भने रुलेट वा ब्ल्याकज्याक खेल्दा तपाईंलाई अरू कुनै पनि कुराको परबाह हुँदैन। तपाईंको शरीरमा रौंहरू ठाड्ठाडो हुन थाल्छन् र पाँच पैसा छउञ्जेल त्यो चक्का वा तासमा बाजी लगाउनुहुन्छ। . . . उत्तेजित हुँदा तास वा संख्यालाई हेर्दै आफूले बाजी जिती पो हालिएला कि भनेर म निकै दिनसम्म आँखा झिमिक्क नगरी जागा बस्न सक्छु।” तिनले अन्तमा यसो भने: “एक दुइ सय वा हजार रुपियाँको बाजी खेलेर चित्त बुझाउन नसक्ने मजस्तै थुप्रै मानिसहरू छन्। आफूसित भएको सर्वस्व नसिद्धिएसम्म हामी खेलिरहन्छौं र हाम्रो पारिवारिक सम्बन्ध छिन्नभिन्न हुन्छ।”
न्यु योर्कस्थित, सेन्ट जोन्स् विश्वविद्यालयका समाजशास्त्री, प्राध्यापक, हेन्री आर. लास्योरले भने, चाहे जितोस् वा हारोस् जूवा खेल्ने इच्छा यति तीव्र हुन्छ, “धेरैजसो जुवाडेहरू कैयौं दिनसम्म केही नखाई, नसुती जाग्राम बस्छन् र शौचालयसमेत जाँदैनन्। जूवामा चुर्लुम्म डुबेर तिनीहरूले अरू सबै कामकुरा बिर्सन्छन्। पर्खिरहुञ्जेल एक प्रकारको ‘रोमाञ्च’ पनि हुन्छ। अनि प्रायजसो हत्केला पसिना पसिना हुन्छ, मुटुको धड्कन बढ्छ र वाक्वाक् लाग्न थाल्छ।”
एक भूतपूर्व जुवाडेले मानी लिए, तिनको चिरकालीन लतको उत्प्रेरक तत्त्व जित्ने चाहना होइन तर जूवा खेल्ने उत्तेजनाले गर्दा आउने “रोमाञ्च” हो। तिनले भने, “जूवा खेल्दा असामान्य हिंस्रक भावनाहरू जाग्छन्। तपाईं प्रतिफलको प्रतिक्षामा रुलेट चक्का घुमिरहेको हेरिरहनुहुँदा तपाईंको मथिंगल नै भारी भएर बेहोश होलाजस्तै हुन्छ।” फ्रान्सेली जुवाडे आन्द्रे यसो भन्दै सहमति व्यक्त गर्छन्: “तपाईंले घोडदौडमा १०,००० फ्रेन्च फ्रांक बाजी लगाउनुभएको छ र १०० मिटर जति दौड अझै बाँकी छ भने तपाईंकी पत्नी वा आमा मरेको खबर सुनाए पनि तपाईंलाई केही मतलब नै हुँदैन।”
ठूलो धनराशि हार्दा पनि जूवा खेलिरहन सक्नुको कारण आन्द्रे बताउँछन्। तिनले बैंक तथा साथीभाइबाट सापटी लिन्थे र अचाक्ली ब्याज दरमा ऋण लिन्थे। तिनले चेक चोर्थे तथा हुलाक सेवाको बचत खाताको जालसाजी गर्थे। तिनले जूवाघरमा एक्लै बसिरहेकी स्त्रीहरूलाई फकाएर तिनीहरूको क्रेडिट कार्ड लिएर भाग्थे। एक फ्रान्सेली पत्रकारले यसो भने, “त्यो हदसम्म पुगिसकेपछि आन्द्रेले पैसा चुक्ता गर्न सक्ला कि नसक्ला भनेर वास्तासमेत गर्दैन। आफ्नो कुलतले गर्दा तिनी भौंतारिन्थे।” पछि तिनले अपराध गर्न थाले र जेलमा परे। फलतः तिनको विवाह भताभुंग भयो।
प्रायजसो अवस्थामा जूवा खेल्ने कुलतको विवशतामा परेकाहरूले लागू पदार्थको दुर्व्यसनी र मतवालाहरूले जस्तै आफ्नो जागिर, व्यापार, स्वास्थ्य र अन्ततः परिवारसमेत वास्ता नगरेर जूवा खेलिरहन्छन्।
फ्रान्सका धेरैजसो शहरहरूमा हालै जूवाघरहरू खोलिन थालेका छन्। अन्य व्यापारहरू असफल हुँदा पनि यी जूवाघरहरूको व्यापार फस्टाइरहेका छन्। साहूहरू भन्छन्, जुवाडेहरूले अक्सर आफूसित भएको सबै हार्छन् र त्यसपछि घरसम्म पुग्न पेट्रोल किन्नको लागि औंठी, घडी, लुगाफाटा र अन्य मूल्यवान् चीजबीजहरू सट्टापट्टा गर्छन्। संयुक्त राज्यका केही तटवर्ती क्षेत्रहरूमा नयाँ जूवाघरहरू खुलेका छन्। कहिलेकाहीं त्यस्ता जूवाघरहरू एकै ठाउँमा तीन चारवटा वा त्योभन्दा बढी जूवाघरहरू लहरै हुन्छन्।
कोही भने आफ्नो जूवा खेल्ने कुलतले गर्दा अपराधीसमेत भएका छन्। प्राध्यापक लेस्योरले अहिलेसम्म गरिएका अध्ययनबाट के पत्ता लगाए भने, “जूवा खेल्ने कुलतको विवशतामा परेका जुवाडेहरूको विभिन्न प्रकारका खराब बानीव्यहोराहरू हुन्छन् . . . चेकको जालसाजी, अरूको सम्पत्ति हिनामिना गर्ने, चोरी, सशस्त्र डकैती, बाजी ठोक्ने, जालझेल, ठग्ने, चोरेका मालतालहरू बेच्ने इत्यादि।” यस अलावा जुवाडेहरूले आफ्ना मालिकहरूबाट चोरी गरेर श्वेत अपराध गर्छन्। जूवा खेल्ने कुलतको विवशतामा परेका जुवाडेहरूलाई शिक्षा दिने तथा उपचार गर्ने संगठनका निर्देशक, गेरी टी. फुल्करको भनाइअनुसार ती हजारौं जुवाडेहरूमध्ये ८५ प्रतिशतले आफ्नो मालिकहरूबाट चोरी गरेको स्वीकारे। तिनले भने, “वास्तवमा, पूर्णतया आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने यसरी विवशतामा परेर जूवा खेल्नेहरूले गर्ने नोक्सानी मतवाला वा लागू पदार्थको दुर्व्यसनीले गर्ने नोक्सानभन्दा निकै गम्भीर हुन्छ।”
अन्य अध्ययनहरूको निष्कर्षअनुसार जेलमा नपरेका दुइ तिहाइ तथा जेलमा परेका ९७ प्रतिशत जुवाडेहरूले जूवा खेल्ने पैसा जुटाउन वा ऋण चुक्ता गर्न अवैध काममा संलग्न भएको मानी लिए। संयुक्त राज्यको गल्फ कोस्टका शहरहरूमा जूवा खेल्नु कानुनी मान्यताप्राप्त व्यापार हो र त्यो प्रचुर मात्रामा छ। त्यहाँ सन् १९९३ मा १६ वटा बैंकहरू लुटिए र त्यो गत सालभन्दा चारगुना बढी थियो। एक जुवाडेले जूवा खेल्नको लागि आठ वटा बैंकहरूबाट कुल ८९,००० डलर लुटे। ऋणदाताहरूलाई ऋण तिर्न बाध्य भएका जुवाडेहरूले बन्दुक तेर्साएर अन्य बैंकहरू लुटेका छन्।
द न्यु योर्क टाइम्स यसो भन्छ, “जूवा खेल्ने विवशतामा परेका जुवाडेहरूले आफ्नो बानी छोड्ने प्रयास गर्दा धूम्रपान गर्नेहरू वा लागू पदार्थका दुर्व्यसनीहरूले आफ्नो दुर्व्यसन छोड्दाजस्तै लक्षणहरू अनुभव गर्छन्। तथापि, जूवा खेल्ने बानी छोड्नुभन्दा अरू बानी छोड्न सजिलो हुनसक्छ भनी जुवाडेहरूले मानी लिन्छन्। एक व्यक्तिले यसो भने, “हामीमध्ये केही मतवाला र लागू पदार्थको दुर्व्यसनी पनि थियौं तर त्योभन्दा जूवा खेल्ने बानीबाट छुटकारा पाउनु साह्रै कठिन हुन्छ भन्ने कुरामा हामी सबै सहमत छौं।” हार्भड विश्वविद्यालयको सेन्टर फर अडिक्शन स्टडीजका डा. हावर्ड शेफरले भने, जूवा खेल्ने कुलतको विवशतामा परेका जुवाडेहरूमध्ये त्यो लतलाई त्याग्न चाहने कम्तीमा ३० प्रतिशतले “झरंग रीस उठ्ने वा पेट दुख्ने, निद्रा नलाग्ने, उच्च रक्त चापजस्ता लक्षणहरू महसुस गर्छन्।”
सं.रा.अ., मेरील्याण्ड, बाल्टिमोरस्थित नेशनल सेन्टर फर पाथोलोजिकल ग्याम्ब्लिंगका निर्देशक डा. भालेरी लोरेन्जले भने, तिनीहरूले बाजी लगाउने कुलतलाई नछोडे तापनि यी विवश “जुवाडेहरूले स्वास्थ्यसम्बन्धी समस्याहरू भोग्छन्: टाउको दुख्ने बिमारी, श्वासप्रश्वाससम्बन्धी समस्या, निस्सासिएको महसुस हुने पीडा, मुटुको धड्कनमा असमानता र हातगोडा लाटो हुने इत्यादि हुन्।”
केहीले आत्महत्या गर्छन्। मृत्यको कारक तर सामान्यतया “असांघातिक दुर्व्यसन” भनेर चिनिने दुर्व्यसनले ज्यान लिंदा योभन्दा भयावह अरू के हुनसक्छ र? उदाहरणको लागि, एउटा अमेरिकी प्रान्तमा हालै जूवाघरहरू खुलेका छन्। द न्यु योर्क टाइम्स म्यागजिन-को रिपोर्टअनुसार “त्यस ठाउँमा जूवाघरहरू खुल्ने बित्तिकै आत्महत्या दर दोब्बर हुनुको कारण बुझ्न सकिएको छैन। तर यसो हुनु जुवाडेहरूको वृद्धिले गर्दा हो भनी मानी लिन कोही पनि स्वास्थ्यकर्मी तयार थिएनन्।” दक्षिण अफ्रिकामा हप्ता दिनभित्र तीन जना जुवाडेले आत्महत्या गरे। वैध तथा अवैध तरिकाले जूवा खेल्दा वास्तवमा कति जनाले आत्महत्या गरे, त्यो संख्या भने थाह लगाउन सकेको छैन।
पेन्चिसले च्यापेझैं समात्ने यस कुलतबाट उम्किन आत्महत्या गर्नु असाध्यै दुःखदायी कुरा हो। केही त्यो लतबाट कसरी उम्के, त्यसबारे यसपछिको लेखमा छलफल गरिनेछ।
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
जूवाघरहरूमा व्यापार फस्टाउँदा अपराध पनि फस्टाउँछ