के मैले खेलकुद टोलीमा भाग लिनुहुन्छ?
“टोलीमा हुनु त्यस्तो के ठूलो कुरा हो र?” सेभेन्टीन पत्रिकाको एउटा लेखमा सोधिएको थियो। त्यस लेखले यस्तो जवाफ दियो: “तपाईंहरू एउटै लक्ष्य प्राप्त गर्न काम गर्नुहुनेछ। यसो गर्दा तपाईंहरू घनिष्ठ मित्र हुन सक्नुहुन्छ। समूहमा भएको समस्या समाधान कसरी गर्ने, लचकदार तथा विचारशील कसरी हुने र सम्झौता कसरी गर्ने जस्ता एकअर्कासित अन्तरक्रिया गर्ने कुशलता पनि सिकिन्छ।”
यसर्थ, संगठित खेलकुदमा भाग लिनु रमाइलो र कसरत मात्र होइन यसका फाइदाहरू पनि छन् जस्तो देखिन्छ।a टोली खेलकुदमा भाग लिंदा व्यक्तित्व पनि विकास हुन्छ भन्ने दाबी कसै कसैले गरेको छ। त्यसैकारण युवा बेसबल लिगले यस्तो आदर्श वाक्य अपनाएको छ: “व्यक्तित्व, साहस, वफादारी।”
तर समस्या के छ भने, संगठित खेलकुदहरू सधैं यस्ता उच्च विचारअनुरूप चल्दैनन्। बालखेलकुद (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “सजिलै अरूको प्रभावमा पर्ने केटाकेटीहरू कहिलेकाहीं अपशब्द बोल्न, ठग्न, झै-झगडा गर्न, धम्क्याउन र अरूलाई चोट पुऱ्याउन सिक्छन्।”
जस्तोसुकै अवस्थामा पनि जित्नैपर्ने?
“खेल जित्न मानिसले ज्यानै बाजी लगाउनु खेलकुदको नराम्रो पक्ष हो” सेभेन्टीन पत्रिकाको एउटा लेख स्वीकार्छ। यो बाइबलका निम्न शब्दहरू विपरीत छ: “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” (गलाती ५:२६) साथीहरूबीच अलिकता प्रतिस्पर्धात्मक खेल खेल्नु चाखलाग्दो र रमाइलो हुनसक्छ, तर अचाक्ली मात्राको प्रतिस्पर्धी भावनाले शत्रुता उत्पन्न हुन्छ र खेलको रमाइलोपन नै हराउँछ।
उच्च माध्यमिक विद्यालयका भूतपूर्व फुटबल खेलाडी जन सम्झन्छन्: “हाम्रो प्रशिक्षक निकै सनकी थिए। तिनी सधैं चिच्याइरहन्थे, कराइरहन्थे . . . अभ्यास गर्न जान मलाई अत्यास लाग्थ्यो। . . . मलाई आफू यातना शिविरमा छु जस्तै लाग्थ्यो।” यद्यपि, सबै प्रशिक्षकहरू दुर्व्यवहार गर्ने खालका हुँदैनन्, तर धेरैजसोले जित्नैपर्ने बाध्यता महसुस गराउँछन्। एक लेखकले यस्तो निष्कर्ष सुनाए, “अधिकांश खेलाडीहरू . . . जित्नैपर्ने अचाक्ली बाध्यताको कारण प्रतिस्पर्धा गर्दा पाइने आनन्दबाट विमुख हुन पुगेका छन्।” यसको परिणाम के हुनसक्छ?
साइन्स न्युज-ले गरेको सर्वेक्षणअनुसार कलेजमा फुटबल वा बास्केटबल खेल्ने नौजवानहरूमध्ये “१२ प्रतिशतले मनोभावनात्मक वेदना, शारीरिक वेदना, लागू पदार्थ वा मद्यपान त्याग्न गाह्रो हुनु, मानसिक तथा शारीरिक दुर्व्यवहार र पढाइमा कमजोर हुनु जस्ता पाँच समस्याहरूमा कम्तीमा दुइ समस्या भोगेको बताए।” त्यसैगरि अन द मार्क पुस्तकले यस्तो रिपोर्ट दिन्छ: “संगठित खेलहरूसित सम्बन्धित लगभग प्रत्येकले हर स्तरका खेलकुदहरूमा लागू पदार्थ नै सबैभन्दा ठूलो समस्या हो भनेर स्वीकारेका छन्।”
नैतिक सम्झौताहरू
जित्नैपर्ने दबाबको कारण जवान खेलाडीले निष्पक्ष तथा इमानदार हुनुपर्ने स्तरहरूसित पनि केही हदसम्म सम्झौता गरिरहेको हुन्छ। खेलकुदमा तपाईंको बच्चा (अंग्रेजी) नामक पुस्तकले यस्तो अवलोकन गर्छ: “आधुनिक खेलकुद जगतमा जित्नु राम्रो मात्रै होइन तर एक मात्र स्वीकार्य चीज पनि हो। हार्नु भनेको नराम्रो मात्र होइन अस्वीकार्य हो।”
अर्को कठोर वास्तविकता: प्रतिद्वन्दीलाई घाइते बनाउन खेलाडीहरूलाई प्रशिक्षकहरूले अक्सर अत्यधिक दबाब दिन्छन्। साइकलजिकल टुडे पत्रिकाको एउटा लेखले यसो भन्यो: “राम्रो खेल प्रदर्शन गर्न तपाईं खराब हुनुपर्छ भनेर अधिकांश खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरू विचारधारा राख्छन्।” एक पेशेवर फुटबल खेलाडी आफ्नो वास्तविक व्यक्तित्वबारे यसो भन्छन्: “मिजासिलो, अरूको विचार गर्ने र मित्रैलो।” तर खेल मैदानमा ओर्लेपछि तिनी वनको बाघ बन्छन्। खेल मैदानमा आफ्नो व्यवहारबारे तिनी यसो भन्छन्: “म नीच र खराब हुन्छु। . . . म अत्यन्त मन नपर्दो र दुष्ट हुन्छु। मैले मुक्का हान्न लागेको व्यक्तिलाई म रत्तिभर पनि आदर देखाउँदिन।” प्रशिक्षकहरूले अक्सर यसप्रकारको प्रवृत्ति देखाउन प्रोत्साहन दिन्छन्।
बाइबलले मसीहीहरूलाई यसरी प्रोत्साहित गर्छ: “पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनयी, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) अरूलाई चोट पुऱ्याउन, पछार्न तथा अंगभंग गर्न सुऱ्याउने कुराहरू दिनदिनै सुन्नुपर्ने भयो भने के तपाईं माथि उद्धृत गुनहरू खेती गर्न सक्नुहुन्छ? सोह्र वर्षीय रोबर्ट यसरी स्वीकार्छन्: “मैले संगठित खेलहरू खेलेको छु। आफू जितुञ्जेल कसलाई चोट पुऱ्याइरहेको हो, मतलबै हुँदैन।” अहिले तिनी बप्तिस्माप्राप्त मसीही हुन्। तिनको दृष्टिकोण बदलिसक्यो। तिनी भन्छन्: “म फेरि कहिल्यै त्यसो गर्नेछैन।”
शारीरिक अभ्यास वा शारीरिक चोट?
शारीरिक क्षतिलाई पनि बेवास्ता गर्नुहुन्न। हो, रमाइलो गर्न साथीभाइसित खेल्दा पनि खेलकुद जोखिमपूर्ण हुनसक्छ। तर पेशेवर खेलाडीहरूले जस्तै खेल प्रदर्शन गर्न जवानहरूलाई प्रशिक्षण दिइएको छ भने खतरा झन् धेरै हुन्छ।
खेलकुदमा तपाईंको बच्चा (अंग्रेजी) नामक पुस्तकले यसो भन्छ: “पेशेवर खेलाडीहरूलाई पनि चोटपटक लाग्नसक्छ। तर तिनीहरू निकै सिपालु र शारीरिक तवरमा तन्दुरुस्त, परिपक्व हुन्छन्। तिनीहरू जानाजानी क्षति मोल्न तयार हुन्छन् र यसो गरे बापत तिनीहरूलाई ठूलो रकम पनि दिइन्छ। यसको अतिरिक्त तिनीहरूले सर्वोत्कृष्ट तालिम, उत्तम साधन पाएका हुन्छन्। साथै हर समय तम्तयार रहने चिरपरिचित टोली चिकित्सक पनि तिनीहरू सँगसँगै हुन्छन्। तर . . . विद्यार्थीहरूले त्यस्ता सुविधाहरू पाएका हुँदैनन्।” मसीहीहरूलाई “आफ्नो शरीरलाई, पवित्र र परमेश्वरलाई मन पर्ने, जिउँदो बलिदान गरी दिइहाल” भनिएको छ। (रोमी १२:१) आफ्नो शरीरलाई अनावश्यक वा अचाक्ली क्षति हुनदिनुअघि एकछिन विचार गर्नुपर्छ जस्तो तपाईंलाई लाग्दैन?
विचार गर्नुपर्ने अन्य तत्त्वहरू
शारीरिक क्षति निकै कम देखिए तापनि संगठित खेलकुदले निकै समय बर्बाद गर्छ। अभ्यास गर्दा त्यसले तपाईंको सामाजिक जीवन अस्तव्यस्त बनाउने मात्र होइन अध्ययन र गृह कार्य गर्न छुटाएको समय पनि खान्छ। अतिरिक्त क्रियाकलापहरूमा भाग लिने कलेजका अरू विद्यार्थीहरूको तुलनामा खेलाडी विद्यार्थीहरू “पढाइमा अलि कमजोर” हुन्छन् भन्ने रिपोर्ट साइन्स न्युज गर्छ। अझ योभन्दा महत्त्वपूर्ण कुरा के हो भने, खेलकुद टोलीमा भाग लिनाले बाइबलमा भनिएको “उच्च कुरा” अर्थात् आध्यात्मिक कुराहरू हासिल गर्न गाह्रो हुन्छ। (फिलिप्पी १:१०) अतः आफैलाई सोध्नुहोस्, ‘म टोलीमा भर्ती भएँ भने सभाहरूमा पो उपस्थित हुन नपाइने हो कि अथवा प्रचार कार्यमा पो बाधा पुऱ्याउने हो कि?’
यसको अतिरिक्त नैतिकता, राम्रो मिजासको बोलीवचन वा प्रतिस्पर्धाबारे तपाईंको जस्तै दृष्टिकोण नभएका जवान तथा वयस्कहरूसित बिताइने प्रशस्त समयका सम्भाव्य नतिजाहरू राम्ररी तौलनुहोस्। “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ,” भनेर बाइबलले चेताउनी दिन्छ। (१ कोरिन्थी १५:३३) उदाहरणका लागि, द न्यु योर्क टाइम्स्-मा प्रकाशित विशेष लेखमा यस्तो लेखिएको थियो: “लकर-रूम . . . पुरुषहरूले आइमाईको अंगप्रत्यंगको कामूक वर्णन गर्ने, यौन सम्बन्ध कायम गर्न सफल भएकोमा गौरवान्वित ठान्ने र आइमाईहरूलाई कुट्ने-पिट्ने विषयका ठट्यौलीहरू भन्ने ठाउँ हो।” त्यस्तो वातावरणमा बस्न रुचाउनुभयो भने तपाईंको आध्यात्मिकता के होला?—तुलना गर्नुहोस् याकूब ३:१८.
बुद्धिमानी निर्णय गर्ने
खेलकुद टोलीमा भर्ती हुन के तपाईं विचार गर्दै हुनुहुन्छ? उसो भए माथि छलफल गरिएका कुराहरूले तपाईंलाई त्यसो गर्नुअघि सोचविचार गर्न मदत गर्नेछ होला। निर्णय गर्नुअघि अरूलाई कस्तो लाग्छ त्यो पनि विचार गर्नुहोस्। (१ कोरिन्थी १०:२४, २९, ३२) हो, संसारभरि परिस्थिति भिन्दाभिन्दै भएकोले कुनै ठोस नियमहरू बनाउन सकिंदैन। कतैकतै विद्यार्थीहरूलाई खेलकुदमा अनिवार्य भाग लिन लगाइन्छ। तपाईं दोधारमा हुनुहुन्छ भने आफ्नो आमाबाबु वा कुनै परिपक्व मसीहीसित कुरा गर्नुहोस्।
धेरै मसीही जवानहरूले टोली खेलकुदमा भाग नलिने कठिन निर्णय गरेका छन्। तपाईं खेलाडी हुनुहुन्छ र खेलकुदबाट निकै आनन्द उठाउनुहुन्छ भने यसो गर्नु सजिलो हुँदैन! शिक्षकशिक्षिका, प्रशिक्षक तथा आमाबाबुहरूले दिने दबाबले झन् कुण्ठित पार्नसक्छ। जवान जिमी यसरी स्वीकार्छन्: “नखेल्नु त आफैसित संघर्ष गरेजत्तिकै हुन्छ। मेरो बुबा विश्वासमा हुनुहुन्न र आफ्नो जमानामा उहाँ उच्च माध्यमिक विद्यालयको निकै कुशल खेलाडी हुनुहुन्थ्यो। त्यसैले टोलीमा भर्ना नभएकोमा मलाई कहिलेकाहीं निकै अप्ठ्यारो लाग्छ।” तापनि विश्वासमा भएको आमा वा बुबा अनि मण्डलीका परिपक्व मसीहीहरूको सहयोग पाएर तपाईं आफ्नो निर्णयमा दृढ हुन सक्नुहुन्छ। जिमी भन्छन्: “म मेरी आमाप्रति कृतज्ञ छु। खेलकुदमा भर्ना हुन दिइएको दबाबले गर्दा कहिलेकाहीं म निकै खिन्न हुन्छु। तर मैले जीवनमा प्राप्त गर्नुपर्ने वास्तविक लक्ष्य सम्झाउन उहाँ हर समय तयार हुनुहुन्छ।”
टोली खेलकुदले खेलाडीलाई सहयोगी हुन र समस्या समाधान गर्न सिकाउला। तर ती सिक्न सकिने प्रशस्त मौका मसीही मण्डलीभित्रै संगत गरेर पाउनुहुनेछ। (तुलना गर्नुहोस् एफिसी ४:१६) टोली खेलकुद रमाइलो पनि हुनसक्छ तर रमाइलो गर्न टोलीमा नै हुनुपर्छ भन्ने केही छैन। घरआँगनमा वा स्थानीय पार्कमा मसीही साथीभाइहरूसित केही खेलहरू खेलेर पनि रमाइलो गर्न सकिन्छ। परिवार मिलेर कतै बाहिर घुम्न जाँदा पनि स्वास्थकर खेल खेल्ने मौकाहरू पाइन्छन्। “आफ्नो मण्डलीका साथीभाइहरूसित खेल्न पाउनु निकै रमाइलो हुन्छ,” १६ वर्षीय ग्रेग भन्छन्। “रमाइलो गर्न मात्र खेलहरू खेलिएको हुन्छ र आफ्ना साथीहरूसित सँगै बस्न पनि पाइन्छ!”
यो साँचो हो, जित्ने टोलीमा हुँदा अनुभव गरिने रोमाञ्च आफ्ना साथीभाइहरूसित खेल्दा पक्कै पनि हुनेछैन। तर नबिर्सनुहोस्, “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) ईश्वरीय भक्ति खेती गर्नुहोस् र परमेश्वरको नजरमा तपाईं साँच्चैको विजेता हुनुहुनेछ!
[फुटनोट]
a ब्यूँझनुहोस्! (अंग्रेजी) फेब्रुअरी २२, १९९६ अंकमा प्रकाशित “युवा जनहरू सोध्छन् . . . टोली खेलकुदहरू—के ती मेरोलागि असल छन्?” हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]
“हाम्रो प्रशिक्षक निकै सनकी थिए। तिनी सधैं चिच्याइरहन्थे, कराइरहन्थे . . . अभ्यास गर्न जान मलाई अत्यास लाग्थ्यो”
[पृष्ठ २४-मा भएको चित्र]
अरूलाई अक्सर घाइते बनाएर भए पनि प्रशिक्षकहरूले जित्नैपर्ने अचाक्ली दबाब दिन्छन्