लाइम रोग के तपाईं खतरामा हुनुहुन्छ?
एड्सको निकै चर्चा परिचर्चा भइरहेकोले लाइम रोगको नाउँसमेत लिइएको पाइँदैन। यद्यपि, लाइम रोग व्यापक रूपमा फैलिंदैछ। वास्तवमा केही वर्षअघि द न्यु योर्क टाइम्स म्यागाजिन-ले यो रोगलाई “[अमेरिकामा] एड्सपछि अत्यन्त द्रुत गतिमा फैलिरहेको सरुवा रोग” भन्यो। अन्य राष्ट्रबाट प्राप्त प्रतिवेदनअनुसार यो रोग एसिया, युरोप र दक्षिण अमेरिकामा पनि फैलिरहेको छ।
लाइम रोग के हो? यो कसरी फैलिन्छ? के तपाईं खतरामा हुनुहुन्छ?
किर्नु, हरिण अनि तपाईं
लगभग २० वर्षअघि संयुक्त राज्यको उत्तरपूर्वमा पर्ने कनेटिकट्स्थित लाइम भन्ने गाउँ र त्यस वरपर रहस्यमयी ढंगमा बातका रोगीहरू धमाधम बढ्न थाले। अधिकांश रोगी केटाकेटीहरू थिए। बातले च्याप्दा सर्वप्रथम तिनीहरूमा डाबर देखा पऱ्यो अनि तिनीहरूको टाउको र जोर्नी कटकटी दुख्न थाल्यो। केही समयमै आफ्नो “पति र दुइ सन्तान बैसाखीको भरमा हिंड्नु परेको” एउटी स्थानीय निवासीले बताइन्। तुरुन्तै त्यस क्षेत्रका ५० भन्दा बढी मानिसहरूलाई त्यस्तै भयो र यसको केही वर्षमै हजारौं हजार त्यस रोगका लक्षणहरूले पीडित भए।
यो रोग अरू रोगहरूभन्दा भिन्नै भएकोले अनुसन्धानकर्ताहरूले यसलाई लाइम रोग भन्ने नाउँ दिए। यो रोगको कारण? किर्नुमा पाइने बोर्रेलिया बुर्गदोर्फेन अर्थात् कर्क खोल्ने पेच आकारको ब्याक्टेरिया। यो कसरी फैलिन्छ? वनमा डुल्दा संक्रमित किर्नु मानिसमा सर्नसक्छ। त्यो किर्नुले त्यस मानिसको छालालाई छेंड्छ र त्यस बिचरो डुलुवाको शरीरमा त्यो ब्याक्टेरिया पठाउँछ। ती किर्नुहरू हरिणको शरीरबाट यत्रतत्र सर्ने अनि तिनीहरूले भोजन तथा प्रणय मिलन गर्ने भएकोले थुप्रै हरिणहरू भएका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्ने अधिकांश मानिसहरूमा लाइम रोग बढ्दो मात्रामा देखा पर्नु अचम्मको कुरा होइन।
लक्षण तथा समस्याहरू
लाइम रोग लाग्दा सबैभन्दा पहिलो लक्षण छालामा सानो रातो थोप्लाजस्तो डाबर देखा पर्न थाल्छ (यसलाई इर्थेमा माइग्रेन्स अथवा इएम भनिन्छ)। केही दिन वा हप्तादिन जतिपछि यो सांकेतिक थोप्ला बढेर सिक्का जत्रो चक्का, त्रिकोण वा अण्डाकारको हुनसक्छ वा ढाडभरि फैलिनसक्छ। डाबरको साथै ज्वरो आउन, टाउको दुख्न, घाँटी कक्रक्क पर्न, जीउ दुख्न र रिंगटा लाग्न थाल्छ। समयमै उपचार गरिएन भने यस रोगबाट संक्रमित अधिकांश मानिसहरूको जोर्नी निकै दुख्न र सुन्निन थाल्छ। अनि महिनौंसम्म यस्तै भइरहनसक्छ। उपचार नगर्ने २० प्रतिशतभन्दा धेरै रोगीहरू दीर्घकालीन बात रोगले पीडित हुन्छन्। यो रोगले स्नायु प्रणालीलाई पनि असर गर्नसक्छ र हृदयसम्बन्धी समस्याहरू देखिनसक्छन्। तर यो त्यत्ति धेरै देखा परेको छैन।—यस लेखको पेटी हेर्नुहोस्।
अरू सरुवा रोगहरूजस्तै यो रोग लाग्दा सुरुमा ज्वरो आउने भएकोले धेरैजसो विशेषज्ञहरूले लाइम रोग खुट्याउन गाह्रो भएको विचार पोखेका छन्। यसबाहेक, प्रत्येक ४ संक्रमित व्यक्तिहरूमध्ये १ मा लाइम रोग खुट्याउनसक्ने एक मात्र लक्षण अर्थात् डाबर देखा पर्दैन। अनि किर्नुको टोकाइ अक्सर कष्टरहित हुने हुँदा रोगीले आफूलाई किर्नुले टोकेको हो वा होइन, त्यो पनि बताउनसक्दैन।
रगत जाँच्ने हाल उपलब्ध प्रतिजीवी त्यत्ति भरपर्दो नभएकोले यो रोग खुट्याउन झन् गाह्रो भएको छ। बिरामीको शरीरमा वाह्य वस्तुले अतिक्रमण गर्दा रोगप्रतिकार प्रणालीले पत्ता लगाउँछ र उसको रगतमा भएको प्रतिजीवीले यो जानकारी दिन्छ। तर अतिक्रमण गर्ने त्यो वाह्य वस्तु लाइम रोगको जीवाणु नै हो भनेर कुनै कुनै परीक्षणबाट किटान गर्न सकिंदैन। त्यसकारण परीक्षण गर्दा बिरामीलाई लाइम रोग लागेको देखिए तापनि वास्तवमा ती अन्य संक्रमणका लक्षणहरू हुनसक्छन्। त्यसैले रोग खुट्याउँदा बिरामीलाई किर्नुले टोकेको थियो वा थिएन, बिरामीमा देखा परेका चिह्नहरू अन्य रोगका लक्षणहरू पो हुन् कि भनेर पक्का गर्ने सुझाउ संयुक्त राज्यको नेशनल इन्स्टिच्युट अफ हेल्थ-ले (एनआइएच) चिकित्सकहरूलाई दिएको छ।
उपचार तथा रोकथाम
समयमै रोग पत्ता लाग्यो भने प्रतिजीवी दिएर सफलतापूर्वक बिरामीको उपचार गर्नसकिन्छ। तुरुन्तै उपचार गराएमा रोग चाँडै र पूर्णतया निको हुनेछ। उपचार गरेको केही महिना बितिसकेपछि पनि थकाइ लाग्ने, जीउ कटकटी दुख्ने हुनसक्छ तर बिस्तारै यी लक्षणहरू हराउँदै जानेछन्, थप प्रतिजीवी लिनु आवश्यक पर्नेछैन। तथापि, “एक चोटि रोगोपचार गर्दैमा पछि लाइम रोग बल्झनेछैन भन्ने ग्यारेन्टी दिन सकिंदैन” भनेर एनआइएच चेताउनी दिन्छ।
त्यसोभए के सधैंभरि यो रोगदेखि डराउँदै बस्ने? अनुसन्धानकर्ताहरूले लाइम रोग हटाउनसक्ने प्रयोगात्मक खोप पत्ता लगाएको घोषणा संयुक्त राज्यको येल युनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रकाशित गऱ्यो। यो खोपले “दुइटा काम गर्छ।” एकातिर यसले लाइम रोगका अतिक्रमण गर्ने जीवाणुहरूलाई हमला गर्ने तथा मार्ने प्रतिजीवी उत्पन्न गर्न मानव रोग प्रतिरोध क्षमतालाई उत्प्रेरित गर्छ भने अर्कोतिर यसले खोप लगाएको व्यक्तिलाई टोक्ने किर्नुमा रहेको जीवाणु खतम गर्छ।
सन् १९७५ मा लाइम रोग पत्ता लगाउने अनुसन्धानकर्ताहरूमध्ये एक डा. स्टेभन इ. मलाविस्टाले “यो खोपको परीक्षण नै मानिसहरूलाई लाइम रोगका सम्भाव्य गम्भीर परिणामहरूबाट जोगाउन हामीले गरेको प्रयत्नद्वारा पत्ता लगाएको ठूलो आविष्कार हो” भने। लाइम रोगको कारण घुमफिर गर्न डराउनेहरूलाई “यस खोपले किर्नुको डरबिना वनमा डुल्न मदत गर्नेछ” भन्ने वैज्ञानिकहरूको आशाबारे द न्यु योर्क टाइम्स-ले टिप्पणी गरेको छ।
त्यतिञ्जेल तपाईं स्वयंले पनि यो रोगको रोकथाम गर्न केही कदम चाल्न सक्नुहुन्छ। एनआइएच यसरी सल्लाह दिन्छ: स्याउँस्याउँती किर्नु हुने ठाउँहरूमा बाटोको बीचबाट हिंड्नुहोस्। लामो पाइन्ट, बाहुले कमिज र टोपी लगाउनुहोस्। पाइन्टलाई मोजाभित्र छिराउनुहोस् र खुट्टा टम्म ढाक्ने जुत्ता लगाउनुहोस्। हलुका रंगको लुगा लगाएको खण्डमा किर्नु सजिलै भेटाउन सकिन्छ। कीरा भगाउने असरदायी तरिका लुगा र छालामा तरल पदार्थ दल्नु हो तर ती तरल पदार्थले विशेषगरि केटाकेटीमा प्रतिकूल असर पार्नसक्छ। “लाइम रोगग्रस्त इलाकाहरूमा विशेषतया गर्भवती स्त्रीहरू सतर्क हुनुपर्छ” भनेर एनआइएच चेताउनी दिन्छ। “किनकि त्यो गर्भको शिशुलाई सर्नसक्छ” र परिणामस्वरूप गर्भ तुहन वा मृत बच्चा जन्मनसक्छ।
घरभित्र छिरिसकेपछि आफू र आफ्नो बच्चालाई किर्नु परेको छ कि छैन जाँच्नुहोस्। विशेषगरि शरीरमा रौं भएका ठाउँहरू जाँच्नुपर्छ। अनि जाँच्दा होशियारीसाथ जाँच्नुहोस्। किनभने अपरिपक्व किर्नु एकदमै सानो बिन्दु जत्रो मात्र हुन्छ र त्यसलाई धूलोको कण भन्ठान्ने गल्ती तपाईं गर्न सक्नुहुन्छ। घरपालुवा जन्तुहरू छन् भने तिनीहरूलाई पनि घरभित्र छिर्न दिनुअघि जाँच्नुहोस्। तिनीहरूलाई पनि लाइम रोग लाग्नसक्छ।
किर्नु कसरी निकाल्ने? सोझै नांगा औंलाहरूले त होइनन् तर बोधो चिम्टाले निकाल्नुपर्छ। किर्नुले छाला नछोडेसम्म त्यसको टाउको नेर चिम्टाले किर्नु नफुत्कने गरी बिस्तारै तान्नुहोस् तर त्यसको शरीरलाई भने नचेप्टाउनुहोस्। त्यसपछि टोकेको ठाउँ वरिपरि रोगनाशकले राम्ररी पुछ्नुहोस्। सरुवा रोगका अमेरिकी विशेषज्ञ डा. ग्यारी वर्मजर भन्छन्, २४ घण्टाभित्र किर्नु निकालेमा लाइम रोगबाट बच्न सकिन्छ।
वास्तवमा बग्रेल्ती किर्नु भएका क्षेत्रहरूमा पनि लुलालंगडा बनाउने खालको लाइम रोग सर्ने सम्भावना निकै कम हुन्छ। यद्यपि, सानोभन्दा सानो कुरामा पनि सतर्क भएमा यो सम्भावना अझ कम हुनेछ। के यी सुरक्षात्मक कदम चाल्नु आवश्यक छ र? लाइम रोगले पीडित व्यक्तिलाई नै सोध्नुभए कसो होला?
[पृष्ठ २१-मा भएको पेटी]
लाइम रोगका लक्षणहरू
प्रारम्भिक संक्रमण:
○ डाबर
○ मांशपेशी तथा जोर्नी कटकटी दुख्नु
○ टाउको दुख्नु
○ घाँटी कक्रक्क पर्नु
○ अचाक्ली थकाइ लाग्नु
○ ज्वरो आउनु
○ अनुहारमा पक्षाघात हुनु
○ मेनिन्जाइटिस
○ कहिलेकाहीं जोर्नीहरू दुख्नु र सुन्निनु
त्यति धेरै देखा नपर्ने लक्षणहरू:
○ आँखा सुन्निनु
○ लट्ठिनु
○ स्वासप्रस्वासको गति तीव्र हुनु
पछि देखा पर्ने संक्रमण:
○ क्षणिक वा दीर्घकालीन बात
त्यति धेरै देखा नपर्ने लक्षणहरू:
○ स्मरणशक्ति क्षीण हुनु
○ ध्यानकेन्द्रित गर्न गाह्रो हुनु
○ मनस्थिति वा सुत्ने बानी परिवर्तन हुनु
संक्रमण भएको बेला भिन्नाभिन्नै समयमा यीमध्ये एक वा एकभन्दा धेरै लक्षणहरू देखा पर्नसक्छन्।—नेशनल इन्स्टिच्युट अफ हेल्थद्वारा प्रकाशित लाइम रोग—तथ्य र चुनौती (अंग्रेजी).
[पृष्ठ २२-मा भएको चित्र]
वनमा डुल्दा तपाईं खतरामा पर्न सक्नुहुन्छ
[पृष्ठ २३-मा भएको चित्र]
किर्नु (ठूलो गरी देखाइएको)
[स्रोत]
Yale School of Medicine
[पृष्ठ २३-मा भएको चित्र]
किर्नु (वास्तविक आकारको)