युवाहरू सोध्छन् . . .
म कसरी परमेश्वरको मित्र बन्नसक्छु?
“वफादारी।” “समर्पित भक्ति।” यी पदावलीहरू प्रायः मानिसहरूले आफ्नो अति मिल्ने मित्रसितको घनिष्ठता वर्णन गर्न चलाउँछन्। यस अद्भुत ब्रह्माण्डको महान् सृष्टिकर्तासितको घनिष्ठता वर्णन गर्न पनि यी अभिव्यक्तिहरू चलाइन्छ र तपाईं पनि परमेश्वरको व्यक्तिगत मित्र बन्न सक्नुहुन्छ भनेर के तपाईंलाई थाह छ? हो, बाइबलले ईश्वरीय भक्तिबारे बताउँछ। यसमा आज्ञाकारिता मात्र नभई परमेश्वरसितको व्यक्तिगत घनिष्ठता पनि समावेश छ र यो घनिष्ठता मूल्यांकनले भरिएको हृदयको कारण मात्र सम्भव हुनसक्छ।
यस श्रृंखलाको अघिल्ला लेखहरूले त्यस्तो घनिष्ठता सम्भव मात्रै होइन लाभकारी पनि छ भनी देखाइसकेका छन्।a तर परमेश्वरसित यस्तो व्यक्तिगत मित्रता गाँस्ने पो कसरी? यो जन्मजात वा ईश्वरभक्त आमाबाबुबाट वंशानुगत पाउने कुरा होइन। बरु, यो त यथाशक्य प्रयास गरेपछि मात्र पाइने कुरा हो। प्रेरित पावलले जवान तिमोथीलाई भने, “आफैलाई भक्तितर्फ साधन गर।” हो, खेलाडीले प्रशिक्षणमा दिलोज्यान लगाएझैं तिमोथीले पनि त्यस्तै गर्नुपरेको थियो! (१ तिमोथी ४:७, ८, १०) परमेश्वरको मित्र हुन चाहनुहुन्छ भने तपाईंले पनि त्यस्तै गर्नुपर्छ। तर तपाईंले कसरी प्रशिक्षण लिन थाल्न सक्नुहुन्छ?
व्यक्तिगत तवरमा परमेश्वरको ज्ञान लिने
ईश्वरीय भक्ति हृदयबाट निस्किने हुँदा तपाईंले आफ्नो हृदयलाई परमेश्वरको ज्ञानले भर्नुपर्छ। अपसोचको कुरा, ५०० भन्दा बढी युवायुवतीहरूलाई “एक्लै बसेर तपाईं कत्तिको बाइबल पढ्नुहुन्छ?” भनी सोध्दा ८७ प्रतिशतभन्दा बढीले “कहिलेकाहीं,” “ज्यादै कम” वा “पढ्दै पढ्दिन” भने। स्पष्टतः, धेरै जवानहरूलाई बाइबल पढ्न झ्याउलाग्दो र पट्टाइलाग्दो लाग्छ। तर बाइबल पढ्नु पट्टाइलाग्दो नै हुन्छ भन्ने छैन! विचार गर्नुहोस्: किन केही जवानहरू खेलकुदको भएभरको तथ्यांकहरू वा मन पर्ने गीतका बोलहरू कण्ठस्थ पार्छन्? किनभने तिनीहरू ती कुराहरूमा चासो राख्छन्। त्यसरी नै, तपाईं बाइबल अध्ययनमा भिज्नुभयो भने यो चाखलाग्दो हुनसक्छ। (१ तिमोथी ४:१५) प्रेरित पत्रुसले यस्तो आग्रह गरे: “छलरहितको आत्मिक दूधको तृष्णा गर।” (१ पत्रुस २:२) हो, तपाईंले धर्मशास्त्रप्रति यस्तो चासो विकास गर्नुपर्छ। यसको लागि प्रयास त गर्नुपर्ला तर त्यो खेर जाने छैन।b
एउटा फाइदा त के हो भने, परमेश्वरको वचन तथा यसमा आधारित साहित्यहरू पढ्दा र अध्ययन गर्दा हामीले “परमप्रभुको शोभा” थाह पाउनसक्छौं। (भजन २७:४) अम्बर नामकी एउटी जवान मसीहीले सम्पूर्ण बाइबल पढ्ने लक्ष्य राखिन्। पूरै पढ्न तिनलाई झन्डै एक वर्ष लाग्यो। अम्बर भन्छिन्: “मेरो जीवनमा यसलाई जति समय खर्च गरेर प्रयास गर्नुपर्ने तर धेरै इनामहरू पाइने कुरा शायद कमै होला। पढिरहेको बेला यहोवाले मलाई बुबाले काखमा राखेर सिकाइरहनुभएको जस्तो लाग्यो। मैले यहोवाबारे यति धेरै कुराहरू सिकें कि ती कुराहरूले गर्दा उहाँसँग झन् घनिष्ठ हुनसकें र जीवनभर उहाँको भय मान्ने चाहना पनि जाग्यो।”
तपाईंले बाइबल पढ्नुहुँदा परमेश्वरले निकै चोटि वफादारीपूर्वक आफ्ना मित्रहरूलाई सहारा दिनुभएको थाह पाउनुहुनेछ। (भजन १८:२५; २७:१०) उहाँका स्तरहरू सधैं सर्वोत्तम छन् र ती हाम्रै भलाइको निम्ति हुन् भनेर थाह पाउनुहुनेछ। (यशैया ४८:१७) प्रेम, बुद्धिजस्ता परमेश्वरका अतुलनीय गुनहरूबारे पढ्दा उहाँको नक्कल गर्न प्रेरित हुनुहुनेछ। (एफिसी ५:१) तर आफूले पढेको कुरा मनन नगरेसम्म त्यस्ता जानकारीले हृदयलाई प्रेरित गर्न सक्दैन। पढ्दै जाँदा आफैलाई सोध्नुहोस्: ‘यहोवाबारे मैले यसबाट के सिक्नसक्छु? मेरो सोचाइ र कार्यमा यो कसरी लागू गर्नसक्छु? मैले पाउनसक्ने मित्रहरूमध्ये परमेश्वर नै सबैभन्दा असल हुनुहुन्छ भनी यसले कसरी देखाउँछ?’
व्यक्तिगत अध्ययन तथा मण्डलीमा गरिएको अध्ययनबाट तपाईंले परमेश्वरबारे हासिल गर्नुहुने ज्ञानले अर्को तरिकामा पनि उहाँसित घनिष्ठ हुन मदत दिन्छ। एउटा फ्रान्सेली उपदेश यसो भन्छ: “साँचो मित्रहरूको एउटै सोचाइ हुन्छ।” तर तपाईं कसरी परमेश्वरले जस्तै “सोच्न” सक्नुहुन्छ? जवान डेनिस भन्छन्: “तपाईंले जत्ति बढी कुनै विषयबारे पढ्नु र अनुसन्धान गर्नुहुन्छ त्यति नै त्यसबारे यहोवाको दृष्टिकोण जान्नुहुनेछ। यसो गर्दा कुनै पनि विषयमा उहाँको दृष्टिकोण कस्तो छ थाह पाउन मदत हुन्छ।”
असल आचरण अत्यावश्यक
उहाँको नैतिक स्तरहरूअनुरूप चल्नेहरूलाई मात्र परमेश्वरले मित्रको रूपमा छान्नुहुन्छ। हितोपदेश ३:३२ ले यसो भन्छ: “सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र हुन्छन्।” असल आचरण राख्न खोज्ने युवायुवतीले “आफ्नो पूरा मनले होशियारीसँग परमप्रभु . . . परमेश्वरको व्यवस्था पालन” गर्ने कोसिस गर्छन्। (२ राजा १०:३१) त्यस्तो आज्ञाकारी आचरणले मानिसलाई परमेश्वरसित कत्तिको घनिष्ठ बनाउँछ त? येशू ख्रीष्टले भन्नुभयो: “मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग बास गर्नेछौं।” (यूहन्ना १४:२१-२४) कस्तो हृदयग्राही कुरा! कल्पना गर्नुहोस् त, ब्रह्माण्डको सबैभन्दा महान् दुइ व्यक्तिहरूले मानवहरूबारे निरन्तर विचार र ख्याल राख्नुहुन्छ! यहोवाकै व्यवस्थाअनुसार हिंड्नुभयो भने उहाँहरूले तपाईंको पनि ख्याल राख्नुहुनेछ।
सोझो हुनुको अर्थ तपाईं सिद्ध हुनुपर्छ भनेको हो त? पटक्कै होइन! कमजोरीको कारण गल्तीहरू हुँदैमा ‘परमेश्वरका आज्ञाहरूको गोरेटोलाई’ त्यागेको हुँदैन। (भजन ११९:३५) बाइबलले राजा दाऊदबारे के भन्छ विचार गर्नुहोस्। परमेश्वरको वफादार मित्र भए तापनि कमजोरीहरूको कारण तिनले गम्भीर गल्तीहरू गरे। तैपनि यहोवाले तिनलाई “इमान्दारी र सोझोपनामा” हिंड्ने व्यक्ति भन्नुभयो। (१ राजा ९:४) राजा दाऊदले जुनसुकै गल्ती गर्दा पनि सधैं साँचो हृदयले पश्चात्ताप गरे र परमेश्वरलाई प्रसन्न तुल्याउन भरसक गरे।—भजन ५१:१-४.
परमेश्वरलाई प्रेम गरे तापनि समय समयमा सही कुरा गर्न कत्तिको गाह्रो हुन्छ भनी दाऊदलाई थाह थियो। त्यसैकारण तिनले परमेश्वरलाई यस्तो बिन्ती गरे: “सत्यतामा मेरो अगुवा हुनुहोस्।” हो, तिनले परमेश्वरको चित्त नदुखोस् भनेर साँचो डर वा भय खेती गरे। त्यसैकारण दाऊदले यसो भन्न सके: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” (भजन २५:५, १४) यो अस्वास्थ्यकर भय होइन तर सृष्टिकर्ताप्रति गहिरो श्रद्धा र उहाँलाई अप्रसन्न तुल्याउने स्वास्थ्यकर भय हो। यस्तो ईश्वरीय भय नै असल आचरणको जग हो। उदाहरणका लागि, जोसुवा नाउँ गरेको जवान मसीहीको उदाहरणलाई विचार गर्नुहोस्।
जोसुवालाई आफ्नै कक्षाकी केटीले प्रेमपत्र दिइन्। जोसुवालाई पनि उनी मन त पर्थ्यो तर अविश्वासीहरूसित संगत गर्दा अनैतिकतातर्फ डोऱ्याउने र यहोवासितको मित्रतामा धक्का पुग्नसक्ने कुरा उनले महसुस गरे। त्यसैले जोसुवाले तिनलाई उसप्रति कुनै चासो छैन भनेर प्रष्टैसित बताए! त्यस परिस्थितिलाई कसरी सँभाले त्यसबारे पछि तिनले आमालाई बताए। तर आमाले विचारै नगरी प्याच्च भनिन्: “ओह! जोसुवा उसको चित्त दुख्यो होला!” जोसुवाले यस्तो जवाफ दिए: “तर, आमा यहोवाको भन्दा उसकै चित्त दुखाउनु बेस।” ईश्वरीय भय र आफ्नो स्वर्गमा हुनुहुने मित्रलाई अप्रसन्न तुल्याउने डरले तिनलाई असल आचरण कायम राख्न प्रेरित गऱ्यो।
असल संगति छान्नुहोस्
लीन नाउँ गरेकी एक केटी बरोबर समस्यामा फसिरहन्थिन्। कारण? तिनको संगत खराब थियो। (प्रस्थान २३:२; १ कोरिन्थी १५:३३) समाधान के थियो त? नयाँ साथीहरू भेट्टाउने! लीन अन्तमा यसो भन्छिन्: “तपाईंका साथीहरूले यहोवालाई प्रेम गर्छन् भने तिनीहरूले तपाईंको अन्तस्करणलाई सचेत राख्न र समस्याबाट अलग रहन मदत दिन्छन्। गलत कार्यहरूलाई तिनीहरूले घृणा गर्दा तपाईंले पनि त्यस्तै गर्न सिक्नुहुनेछ।”
वास्तवमा, परमेश्वरसितको मित्रतामा सबैभन्दा ठूलो बाधा पुऱ्याउने कुरा नै खराब साथीहरू हुनसक्छ। अठाह्र वर्षीया आन स्वीकार्छिन्: “संगतिले तपाईंलाई ठूलो असर पार्छ। ढिलो-चाँडो तपाईं पनि तिनीहरूजस्तै हुनुहुनेछ। तिनीहरूले तपाईंलाई तिनीहरूकै सोचाइमा ढाल्छन्। तिनीहरू अक्सर यौनबारे कुराकानी गर्लान्। तपाईंलाई खुलदुली लाग्ला। कस्तो होला भनी तपाईं सोच्न थाल्नुहोला।” आनले आफ्नो तीतो अनुभवबाट सिकेको शिक्षा यही थियो। तिनी भन्छिन्: “हो, खराब संगतिको परिणाम यस्तै हुन्छ। म अनैतिकतामा फसें र १५ वर्षमा गर्भवती भएँ।”
अन्ततः, आनले बाइबलको यो कुरा कत्ति साँचो रहेछ भनी बुझ्न थालिन्: “जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) हो, आन संसारको मित्र हुन चाहन्थिन् र भइन् पनि। तर यसले एकपछि अर्को वेदनाहरू सिवाय अरू केही दिएन। खुशीको कुरा आनको घैंटामा घाम लाग्यो। आफ्नो जीवनशैलीबारे पश्चात्ताप गरिन् र आफ्नो आमाबाबु तथा मण्डलीका प्राचीनहरूको मदत खोजिन्। अनि आफ्नोलागि नयाँ मित्रहरू पनि छानिन्। (भजन १११:१) निकै मेहनत गरेपछि मात्र आन पुनः परमेश्वरको मित्र हुनसकिन्। निकै वर्षपश्चात् तिनी यसो भन्छिन्: “यहोवासँग अहिले मेरो सम्बन्ध धेरै घनिष्ठ छ।”
व्यक्तिगत बाइबल अध्ययन, मनन, असल आचरण तथा स्वास्थ्यकर संगति कायम गरेर तपाईं पनि परमेश्वरको मित्र हुन सक्नुहुन्छ। तथापि, त्यस्तो मित्रतालाई कायम राख्नु अर्कै कुरा हो। कठिनाइ र व्यक्तिगत कमजोरीहरूको बावजूद तपाईं कसरी परमेश्वरको मित्र भइरहन सक्नुहुन्छ? यस श्रृंखलाको पछिका लेखहरूले यसबारे छलफल गर्नेछ।
[फुटनोटहरू]
a जुलाई २२ र नोभेम्बर २२, १९९५ को ब्यूँझनुहोस्! (अंग्रेजी) हेर्नुहोस्।
b हाम्रो अगस्त ८, १९८५ अंकमा (अंग्रेजी) “युवा जनहरू सोध्छन् . . . बाइबल किन पढ्ने?” हेर्नुहोस्।
[पृष्ठ १३-मा भएको चित्र]
के मेरा मित्रहरूले परमेश्वरसित मित्रता गाँस्न मदत गर्नेछन्?