नियोजित अपराधले तपाईंलाई
कसरी असर गर्छ
जापानको ब्यूँझनुहोस्! संवाददाताद्वारा
माफिया गिरोहको डनले (नेता) नयाँ सदस्यको औंला तीखो सुइरोले घोच्छ। त्यस औंलाबाट निक्लेको रगत कुनै “सन्तको” चित्रमा तपतप चुहाइन्छ। तत्पश्चात् त्यो चित्र जलाइन्छ। अनि त्यो नेताले त्यस जवान व्यक्तिलाई यसो भन्छ, ‘यस संगठनको कुनै पनि गोप्य कुराको पोल खोलिस् भने, यस सन्तलाई जस्तै तँलाई पनि जलाइनेछ।’
इटालीमा ओमेर्ता भनिने भेद नखोल्ने वाचाको कारण नियोजित अपराधबारे धेरै वर्षसम्म मानिसहरूले थाहै पाएनन्। तथापि, अपराधी गिरोहका केही सदस्यहरूले पोल खोलिदिएकोले हाल विश्वभरिको शीर्षसमाचार नै अपराधी गिरोहहरू भइरहेका छन्। यी पोल खोल्ने पेन्टीटी वा माफिया गिरोह त्याग्नेहरूले दोषी ठह्राएको प्रमुख व्यक्ति जुलियो आन्द्राओटी थिए। तिनी सात पटक इटालीको प्रधानमन्त्री भएका थिए र अहिले माफियासित लसपस भएको अभियोगमा तिनको जाँचपड्ताल गरिंदैछ।
अपराधी संगठनहरूका जाल जहींतहीं फिंजिएको छ। जस्तै, इटाली र संयुक्त राज्यमा माफिया गिरोह, जहाँ यसलाई कोसा नोस्ट्रा पनि भनिन्छ; दक्षिण अमेरिकामा लागू पदार्थ बेचबिखन गर्ने संगठनहरू; चीनमा ट्राइड्हरू; जापानमा याकुजा। तिनीहरूको दुष्ट क्रियाकलापले हामी सबैलाई असर गर्छ र महँगो भाउबेसाहामा जीवन निर्वाह गर्नुपर्ने हुन्छ।
भनिन्छ, माफियाले संयुक्त राज्यको न्यु योर्क शहरमा अपराधी गिरोहलाई पाँच भागमा विभक्त गर्छ अनि तिनीहरूलाई धुत्न, सुरक्षाको ग्यारेन्टी दिन, अत्यधिक ब्याजमा ऋण दिन, जुवा, लागू पदार्थको बेचबिखन अनि वेश्यावृत्ति गर्न लगाएर अरबौं रुपियाँ कमाउँछ। फोहर मैला उठाउने श्रमिकहरूको संगठन, ढुवानी, निर्माणकार्य, खानेकुरा वितरण र कपडा उद्योगमाथि माफियाले नियन्त्रण जमाएको आरोप छ। श्रमिक संगठनमाथि तिनीहरूको प्रभुत्व भएको हुँदा तिनीहरूले श्रमिकहरूबीचको झैझगडालाई समाधान गर्नसक्छन् वा कुनै परियोजना नै रोक्नसक्छन्। उदाहरणका लागि, निर्माण कार्य भइरहेको ठाउँमा एक दिन बुल्डोजर चल्दैन भने अर्को दिन जमीन खन्ने मेशिनको ब्रेकले काम गर्दैन अनि परिचालन गर्ने इञ्जिनियरहरू “कामै नगरी” त्यसै समय बिताउँछन्। त्यस गिरोहले घूस मागेको होस् या ठेक्का, तिनीहरूको माग पूरा गर्न निमार्णकर्त्ता राजी नभएसम्म यस्ता घटनाहरूले झन् झन् उग्र रूप लिंदै जान्छन्। वास्तवमा, “अपराधी गिरोहलाई घूस दिंदा तुरुन्तै ढुवानी हुनुका साथै श्रमिकहरूसित राम्रो सम्बन्ध राख्न सकिन्छ र सस्तो ज्यालामा श्रमिकहरू पाइन्छ भनी व्यापारीहरू आश्वस्त हुनसक्छन्” भनेर टाइम पत्रिकाले प्रतिवेदन दिन्छ।
कोलम्बिया, मेडिलिन शहरको लागू पदार्थ बेचबिखन गर्ने संगठनका नेता, पाब्लो एस्कोबारको सन् १९९३ मा गोली हानी हत्या नहोऊञ्जेल त्यहाँको लागू पदार्थ बेचबिखन गर्ने दुइ गिरोहबीच प्रतिस्पर्धा चल्थ्यो। त्यस हत्यापछि काली शहरको अपराधी संगठन कोकिन व्यापारको सर्वेसर्वा बन्यो। सन् १९९४ भित्र संयुक्त राज्यमा मात्र अरबौं रुपियाँ कमाएर सम्भवतः यो गिरोह सबैभन्दा ठूलो नियोजित अपराधी संगठन बन्न पुग्यो। तर त्यसलाई सञ्चालन गर्ने व्यक्ति होसे सान्ताक्रुस लोन्डोन्यो सन् १९९५ मा गिरफ्तार हुँदा त्यस गिरोहमाथि ठूलो धक्का पुग्यो। तथापि, त्यस्ता नेताको भार सँभाल्न अर्को उत्सुक व्यक्ति तयार भइराखेको हुन्छ।
साम्यवादी सरकार ढलेपछि रूसको माफिया गिरोह अन्तरराष्ट्रिय जगत्मा देखा पर्न थाल्यो। परिणामस्वरूप, “रूसका सबै व्यापारले एक न एक तरिकामा माफियाको सामना गर्नुपऱ्यो” भनेर एक व्यापारीले भनेको कुरा न्युजवीक-मा उद्धृत गरियो। न्यु योर्कको ब्राइटन बिचमा समेत रूसी माफियाले पेट्रोलको गाह्रो तथा ठगी अवैध धन्धाद्वारा रातारात प्रशस्त नाफा कमाइरहेको रिपोर्ट छ। गाडीका मालिकहरूले बढी दाम तिरेर त्यस्ता पेट्रोल किन्छन् र सरकारले कर पाउँदैन। रूसी गिरोहहरूले पूर्वी युरोपमा वेश्यावृत्ति गर्ने बजारै खोलेका छन्। तिनीहरूले गरेका धेरैजसो अपराधहरूका लागि तिनीहरूलाई मुद्दा नै लगाइँदैन। हातहतियारले पूर्ण सुसज्जित यी भूतपूर्व खेलाडी र अफगान युद्धमा परेका भूतपूर्व योद्धाहरूको सामना गर्न कसले पो हिम्मत गर्नसक्ला र?
पूर्वी मुलुकहरूमा पनि परिस्थिति त्यस्तै छ। जापानमा मनोरञ्जन व्यापार गर्नेहरूले स्थानीय याकुजा गिरोहलाई कदर नगरेसम्म र पैसा नदिएसम्म हर प्रकारका कठिनाइ भोग्नुपर्छ। यहाँ पनि बारमा र वेश्याहरूलाई समेत सुरक्षाको ग्यारेन्टी दिएर तिनीहरूबाट पैसाको माग गरिन्छ। यसबाहेक, याकुजाले आफ्नै कम्पनीहरू सञ्चालन गरेर, ठूल-ठूला व्यापारीबाट पैसा धुतेर अनि विश्वभरिका अपराधी संगठनहरूसित हातेमालो गरेर जापानको अर्थव्यवस्थामा हात हालेको छ।
हङकङ र ताइवानका अपराधी संगठनहरूले पनि सारा संसारमा हाँगाबिंगा फिंजाइरहेका छन्। तिनीहरू ट्राइड्स नाउँले चिनिन्छन् तर तिनीहरू कसरी सञ्चालित हुन्छन् भनेर केही पत्ता लागेको छैन। तिनीहरूको जरा केलाउने हो भने १७ औं शताब्दीमा आइपुग्छौं, जतिबेला चिनियाँ भिक्षुहरू चीनलाई नियन्त्रण गर्ने म्यानचुरीयनहरूको विरुद्धमा एकजूट भएका थिए। ती ट्राइड्हरू लाखौंको संख्यामा छन्। तैपनि, भनिन्छ हंगकङका ट्राइड्हरू विशेष अपराध वा एकपछि अर्को अपराध गर्न अस्थायी संगठनहरू गठन गर्छन् ताकि प्रहरीले तिनीहरूको पत्ता लगाउन नसकोस्। तिनीहरूले हिरोइनको व्यापार गरेर अरबौं रुपियाँ कमाउँछन् र हङकङलाई जाली क्रेडिट कार्ड बनाउने केन्द्र बनाएको छ।
वुलियम क्लिन्कनेक आफ्नो पुस्तक नयाँ जातीय गिरोहहरू-मा (अंग्रेजी) संयुक्त राज्यभित्र भइरहेको अपराधबारे यसरी लेख्छन्: “नियोजित अपराधको नयाँ जगत्मा संलग्न जातीय झुन्डहरूमध्ये चिनियाँ गिरोहहरूको जस्तो उज्ज्वल भविष्य अरू कसैको छैन। . . . चिनियाँ अपराधी गिरोहहरूले देशभरि नै शहरहरूहुँदो चाँडचाँडो शक्ति आर्जन गरिरहेका छन्। तिनीहरू न्यु योर्कको माफियापछि दोस्रो स्थानमा आउँछ।”
हङकङमा फस्टाउँदै गरेको अर्को अवैध व्यापारबारे संयुक्त राज्यको कानुन विभागका एक अधिकारी यसो भन्छन्: “विदेशीहरूलाई गैरकानुनी ढंगले देशभित्र भित्राएर नियोजित अपराधले आफ्नो असली अनुहार देखाएको छ।” केही अधिकारीहरूको अनुमानअनुसार १०,००,०० चिनियाँहरू वर्षेनी अवैधरूपमा संयुक्त राज्यमा प्रवेश गर्छन्। गैरकानुनी रूपमा भित्राइएको प्रवासीले आफूलाई घुसाउने व्यक्तिहरूलाई कम्तीमा पनि १५,००० अमेरिकी डलर दिनुपर्छ। तिनले त्यस रकमको बढी भाग त्यस देशमा पुगेपछि चुक्ता गर्नुपर्छ। त्यसैले, ती थुप्रै प्रवासीहरूको आकाश छुने आकांक्षाहरू कम ज्यालामा काम गर्नुपर्ने बाध्यता र वेश्यालयहरूको तीतो अनुभवसितै माटोमा मिल्छ।
तपाईं अपराधी क्रियाकलापहरूमा मुछिनु नभएकोले आफूलाई नियोजित अपराधले असर गरेको जस्तो नलाग्ला। तर के यो सत्य हो? निकै महादेशहरूमा लागू पदार्थको दुर्व्यसनी थुप्रै छन् र दक्षिण अमेरिकाबाट ल्याइएका लागू पदार्थ किन्न तिनीहरू अपराधहरू गर्छन्। नियोजित अपराधले सार्वजनिक सेवाका ठेक्काहरू आफूसित सम्बन्धित कम्पनीहरूलाई दिइएको छ कि छैन पक्का गर्छ। परिणामस्वरूप, नागरिकहरूले बढी पैसा तिर्नुपर्छ। नियोजित अपराधबारे जाँचपड्ताल गर्ने राष्ट्रपति आयोगले एक पटक के बतायो भने, “नियोजित अपराधले चोरी, धुत्ने काम, घूस, मूल्य निर्धारण र खरीद बिक्रीमा छेकथुन गरेर मूल्यमा हेरफेर ल्याउँछ।” अनि उपभोक्ताहरू माफियालाई “अत्यधिक दाम” तिर्न बाध्य हुन्छन्। तसर्थ, अपराधका प्रभावहरूबाट कोही पनि बच्न सक्दैन। हामी सबै आर्थिक चपेटामा पर्छौं।
तर आज नियोजित अपराध किन फस्टाउँछ?
[पृष्ठ ५-मा भएको पेटी]
माफिया—यसको सुरुआत
“मध्य युगको अन्ततिर सिसिलीमा माफियाको सूत्रपात भयो। सम्भवतः सेरासिन, नर्मोन र स्पेनीहरूजस्ता विभिन्न विदेशी बिजेताहरूको शासन हटाउन कटिबद्ध भएर एक गोप्य संगठनको रूपमा यसको उत्थान भएको थियो। माफियाका सदस्यहरू साना साना थुप्रै निजी सेनाहरू वा माफी-बाट आएका थिए र माफिया सुरुआत हुनुको श्रेय यसै सेनालाई जान्छ। सिसिलीमा नियम कानुन नै नभएको स्थितिमा जग्गा धनीहरूले डाकूहरूबाट आफ्नो टाढाको सम्पत्ति रक्षा गर्न ती सेना प्रयोग गर्थे। अठारौं र उन्नाइसौं शताब्दीको दौडान यी निजी सेनाका बलिया बदमाशहरू स्वयं संगठित भई शक्तिशाली बने। तिनीहरू जग्गा मालिकहरूको विरुद्ध उठे अनि अन्नबालीको सुरक्षा गरे वापत जमिन मालिकहरूबाट पैसा धुतेर थुप्रै सम्पत्तिको सर्वेसर्वा बने।” (द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका) अरूलाई सुरक्षाको ग्यारेन्टी दिंदै पैसा धुत्नु नै तिनीहरूको कार्यप्रणाली सञ्चालन गर्ने तरिका भयो। तिनीहरूले संयुक्त राज्यमा आफ्ना तौरतरिकाहरू चलाए। त्यहाँ तिनीहरू जुवा, श्रमिकहरूलाई चलाएर स्वार्थ पूरा गर्ने, उच्च ब्याज दरमा ऋण दिने, लागू पदार्थको ओसारपसार र वेश्यावृत्तिमा संलग्न भए।