पुनः प्रमोदवनतर्फ
मानिसजातिको प्रमोदवनको लालसा, सानो अनि ठूलो दुवै खालका प्रमोदवनहरू बनाउन तिनीहरूले गरेको प्रयत्नलाई विचार गर्दा अहिलेसम्म पूरै पृथ्वी साँच्चै प्रमोदवन भइसक्नु पर्ने हो। तर भएको छैन।
मानिसजातिले लोभलाई बढी ध्यान दिएकोले त्यसो भएको हो। किनभने लोभले वातावरण अनि विभिन्न प्रकारका जीवजन्तुको विनाशको वास्ता गर्दैन। भौतिक धनसम्पत्ति नै सबै कुरा हो भनेर विश्वास गर्ने थुप्रै मानिसहरू यो पृथ्वी कुनै दिन अदनको बगैंचाजस्तो हुनेछ भन्ने आशा गर्दैनन्। बरु, तिनीहरू मृत्युपछि स्वर्गमा पाइने जीवनलाई प्रमोदवनको एक मात्र आशाको रूपमा लिन्छन्। तथापि, यस्तो विचारधाराले प्रमोदवनको लालसा कहिल्यै पूरा हुनेछैन अनि परमेश्वरले यो पृथ्वीलाई मानिसजातिको मूर्ख्याइँ अनि लोभको शिकार बन्न छाड्नुभएको छ भन्ने बोध गराउँछ। तर के त्यस्तो विचारधारा ठीक हो त? मानिसजातिको भविष्य कस्तो छ? अनि त्यस्तो भविष्य साकार हुन्छ कहाँ?
प्रमोदवन—स्वर्ग कि पृथ्वीमा?
झन्डै २,००० वर्षअघि आफू नजीकै अर्को शूलीमा झुन्डाइएको पश्चात्तापी चोरलाई येशू ख्रीष्टले यसो भन्नुभएको थियो: “तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४३, NW ) त्यतिबेला, के येशूले त्यो चोर उहाँसँगै स्वर्ग जानेछ भन्न खोज्नुभएको थियो? थिएन।
त्यस अपराधीले स्वर्ग जाने विचारसमेत गरेका थिएनन् होला। किन? किनभने तिनको समयमा हिब्रू धर्मशास्त्र लेखिसकिएको हुँदा त्यो चोर पक्कै पनि भजन ३७:२९ जस्ता शास्त्रपदहरूसित परिचित थिए होलान्। त्यहाँ यो लेखिएको छ: “धर्मात्माहरूले देश [पृथ्वी] अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” येशूले पनि त्यही कुरा यसो भन्दै सिकाउनुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।” (मत्ती ५:५) यो शास्त्रपद प्रभुको प्रार्थनासित पनि मेल खान्छ। जहाँ यो लेखिएको छ: “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
परमेश्वरले मानव परिवारको लागि स्वर्ग होइन तर पृथ्वी सृष्टि गर्नुभएको थियो भनेर बाइबलले सिकाउँछ। “उहाँले त्यो [पृथ्वी] व्यर्थको वस्तु सृष्टि गर्नुभएन। उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो,” भनेर उहाँको वचनले बताउँछ। (यशैया ४५:१८) तर कतिञ्जेल? “त्यो कहिल्यै नडग्मगाओस् भनेर, जसले पृथ्वीको जग बसाल्नुभयो।” (भजन १०४:५) हो, यो “पृथ्वी चाहिं सदा सर्वदै रहिरहन्छ।”—उपदेशक १:४.
परमेश्वरको सेवा गर्ने लाखौं मानिसहरूका निम्ति उहाँले यो पृथ्वीलाई सधैंभरि तिनीहरूको घर बनाउने उद्देश्य राख्नुभएको छ। परमेश्वरको वचन बाइबलले कसरी यसबारे टिप्पणी गर्छ, ध्यान दिनुहोस्। भजन ३७:११ यस्तो अगमवाणी गर्छ: “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” तर कतिञ्जेल? त्यसको जवाफ भजन ३७:२९ ले यसरी दिन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” त्यतिबेला यो शास्त्रपद पनि पूरा हुनेछ: “तपाईले [परमेश्वरले] आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” मतलब, उहाँको इच्छाअनुरूप मेल खाने इच्छालाई परमेश्वरले पूरा गर्नुहुनेछ।—भजन १४५:१६.
तर परमेश्वरको इच्छाअनुसार चल्न नचाहनेहरूलाई चाहिं के हुनेछ नि? हितोपदेश २:२१, २२ यस्तो घोषणा गर्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैं फ्याँकिनेछन्।”
पुनःस्थापित प्रमोदवन
अब चाँडै, परमेश्वरले यस दुष्ट संसारको न्याय गर्नुहुनेछ। (मत्ती २४:३-१४; २ तिमोथी ३:१-५, १३) तर मानिसहरूको “ठूलो भीड़[लाई]” चाहिं जोगाएर आफूले बनाउन लाग्नुभएको नयाँ संसारमा प्रवेश गराउनुहुनेछ।—प्रकाश ७:९-१७.
त्यसपछि, परमेश्वरले आफ्ना मानव प्रजाहरूलाई पूरै पृथ्वी प्रमोदवनरूपी घरमा परिणत गर्ने आनन्ददायी काम सुम्पनुहुनेछ। त्यसबारे बाइबल यस्तो प्रतिज्ञा गर्छ: “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। . . . उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्।”—यशैया ३५:१, ६.
फल्दैफुल्दै जाने त्यस प्रमोदवनमा भोक, गरिबी, फोहर बस्ती, घरबारविहीन मानिस वा अपराधग्रस्त इलाका केही हुनेछैन। “पृथ्वीमा . . . प्रशस्तगरी अन्न हुनेछ।” (भजन ७२:१६) “खेतमा भएका रूखहरूले फल दिनेछन्, भूमिले आफ्नो फसल दिनेछ।” (इजकिएल ३४:२७) “तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन।” (यशैया ६५:२१, २२) “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.
कोही कोही किन स्वर्ग जान्छन्
निस्सन्देह, अधिकांश मानिसहरू पार्थिव प्रमोदवनमै बस्ने लालसा व्यक्त गर्छन्। त्यो स्वाभाविक हो किनभने परमेश्वरले मानिसहरूको मनभित्र स्वर्गमा बस्ने इच्छा कहिल्यै हाल्नुभएको थिएन। वास्तवमा, स्वर्गीय जीवन कस्तो हुन्छ भनेर तिनीहरू कल्पनासमेत गर्न सक्दैनन्। उदाहरणका लागि, प्याट भन्ने त्यस्तै एउटा चर्चका समर्पित सदस्यले चर्च अफ इंगल्याण्डका सेवकसँग कुराकानी गर्दै यसो भनिन्: “मैले स्वर्ग जाने विचार कहिल्यै गरेकी छैन। अनि म जान पनि चाहन्नँ। त्यहाँ गएर मैले के गर्ने?”—भजन ११५:१६ तुलना गर्नुहोस्।
हो, सीमित संख्याका मानिस अर्थात् १,४४,००० मात्र स्वर्ग जान्छन् भनेर बाइबलले सिकाउँछ। (प्रकाश १४:१, ४) यसबाहेक बाइबलले तिनीहरू स्वर्ग जानुको कारण पनि बताउँछ: “तिनीहरूलाई हाम्रा परमेश्वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्।” (प्रकाश ५:९, १०) आफ्नो राजा येशू ख्रीष्टसँग मिलेर यिनीहरूले “राज्य” अर्थात् मसीहीहरूले प्रार्थना गर्ने गरेको पृथ्वीको नयाँ स्वर्गीय सरकार खडा गर्छन्। यो सरकारले पृथ्वी अनि मानवजाति पुनः आफ्नो प्रारम्भिक स्थितिमा नपुगुञ्जेल त्यसको निगरानी गर्नेछ।—दानियल २:४४; २ पत्रुस ३:१३.
तथापि, मानिसहरूसित स्वर्ग जाने स्वाभाविक इच्छा नहुनेहुँदा परमेश्वरको आत्माले यी १,४४,००० लाई आफ्नो “माथिको बोलावटको” बोध गराउन “गवाही” दिने विशिष्ट काम गर्छ। (रोमी ८:१६, १७; फिलिप्पी ३:१४) स्पष्ट छ, बाँकी सबै चाहिं सधैंभरि पार्थिव प्रमोदवनमै रहने हुँदा तिनीहरूलाई त्यस कुराको बोध गराउन पवित्र आत्मा चाहिंदैन।
आध्यात्मिक प्रमोदवनले पार्थिव प्रमोदवनको बाटो तयार पार्छ
कुनै व्यक्ति कसरी पार्थिव प्रमोदवनको लागि योग्य हुनसक्छ? येशूले त्यसको जवाफ यसरी दिनुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) शान्तिपूर्ण मानव सम्बन्धलाई परमेश्वरको ज्ञानसित जोड्दै यशैया ११:९ यसो भन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ४८:१८ तुलना गर्नुहोस्।
तथापि, यो ज्ञान दिमागी ज्ञान होइन। व्यक्तिविशेषको व्यक्तित्व त्यो ज्ञानले भिजेको हुनुपर्छ र “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” जस्ता धार्मिक फलहरू त्यसले फलाएको हुनुपर्छ। (गलाती ५:२२, २३) यहोवाका साक्षीहरू त्यस्ता गुनहरू खेती गर्ने प्रयत्न गर्छन्। फलतः तिनीहरूले अहिल्यै स्वास्थ्यकर आध्यात्मिक प्रमोदवनको आनन्द उठाउन पाएका छन्।—यशैया ६५:१३, १४.
पाप र भ्रष्टताको दलदलमा झन्झन् धसिंदै गइरहेको यो संसारको आध्यात्मिक अवस्थाभन्दा तिनीहरूको आध्यात्मिक अवस्था कत्ति भिन्न छ! यो दुष्ट संसार अब चाँडै नाश हुन लागेको छ। तर त्यो समय नआउञ्जेल यहोवाका साक्षीहरू तपाईंलाई तिनीहरूले आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनको भ्रमण गर्न, अझ भनौं भने निरीक्षण गर्न आमन्त्रित गर्छन्। अदृश्य स्वर्गीय राजा येशूले कसरी नयाँ संसारका भावी प्रजाहरूलाई साघुँरो बाटोहुँदो पार्थिव प्रमोदवन अनि अनन्त जीवनसम्म पुऱ्याउँदै हुनुहुन्छ आफै आएर हेर्नुहोस्।—मत्ती ७:१३, १४; प्रकाश ७:१७; २१:३, ४.
[पृष्ठ ८-मा भएको चित्र]
यो संसारको विनाशबाट बच्ने मानवजातिले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने मौका पाउनेछन्