तिनीहरू त्यसैलाई भन्थे मनोरञ्जन
रंगमञ्चको वातावरण उत्तेजित थियो। पुरातन रोमको एक अत्यन्तै रोमाञ्चकारी दृश्य हेर्न हजारौं हजार मानिसहरू जम्मा भएका थिए। ध्वजापताका, गुलाफका फूल तथा ठूलठूला रंगीबिरंगी तस्बिरहरूले रंगशाला सजधज थियो। फोहराहरूबाट निस्केको सुगन्धित पानीले गर्दा चारैतिर मगमग बास्ना फैलिएको थियो। धनीमानीहरू चाहिं भव्य पहिरनमा सजिएका थिए। जनसमूहको कल्याङकुलुङको बीचबीचमा गलल्ल हाँसेको आवाज सुनिन्थ्यो तर यस्तो ख्यालठट्टाले अब तुरुन्तै हुन लागेको विभत्स घटनाको कुनै आभास दिंदैन थियो।
ट्युबा बजाएको आवाजसँगसँगै रंगमञ्चमा दुइ जना तरवारबाज पनि देखा पर्थे। जंगली जनावरले जस्तै प्रतियोगीहरूले एकअर्कालाई छियाछिया पार्दा त्यहाँ उपस्थित विशाल जनसमूह उन्मत्त हुन्थे। दर्शकवृन्दको चर्को होहल्लाले गर्दा तरवार बजेको आवाज राम्ररी सुनिंदैनथियो। अकस्मात्, असाध्यै चलाखीपूर्ण ढंगमा प्रतिद्वन्द्वीलाई जमीनमा ढालिन्थ्यो। यसरी उत्तानो परेको तरवारबाजको जीवन अब दर्शकहरूको मुठीमा हुन्थ्यो। दर्शकहरूले रुमाल हल्लाएको खण्डमा उसको ज्यान बच्थ्यो। स्त्री तथा केटीहरूलगायत जनसमूहको बुढीऔंलाको इशारा मात्र पनि उसलाई मार्न पर्याप्त हुन्थ्यो। छिनभरमै त्यो लाशलाई घिसार्दै रंगशालाबाट बाहिर लगिन्थ्यो, छताछुल्ल भएको रगतलाई बालुवाले पुरिन्थ्यो र भीड अझै अर्को संहार हेर्न छटपटिन्थ्यो।
पुरातन रोमका धेरैजसो मानिसहरूका लागि त्यही नै मनोरञ्जन थियो। रोम: सुरुको हजार वर्ष (अंग्रेजी) पुस्तक यसो भन्छ, “नीतिनियमहरूलाई अत्यन्तै महत्त्वपूर्ण ठान्ने व्यक्तिहरूले समेत कुनै विरोध जनाउँदैनथे।” अनि यस्तो तरवारखेल रोमका पतित मनोरञ्जनहरूमध्ये एउटा उदाहरण मात्रै हो। रक्तपिपासु दर्शकहरूको प्यास बुझाउन जलसैनिक युद्धहरू पनि देखाइन्थ्यो। सार्वजनिक स्थानहरूमा मृत्युदण्ड दिइन्थ्यो र दोषी अपराधीलाई खाँबामा पाता कसेर जंगली जनावरहरूलाई लुछाचुँड गर्न लगाइन्थ्यो।
यत्तिको रक्तपात मन नपराउने दर्शकहरूले भने रोममा विविध नाटकहरू हेर्नसक्थे। प्रहसनहरू दिनहुँका घटनाहरूमा आधारित छोटो नाटकहरू हुन्थे र “मुख्य विषय चाहिं व्यभिचार तथा प्रेमालापहरू” हुने गर्थ्यो भनी लुड्भीक फ्रेडलान्डरले पुरातन साम्राज्यमा रोमी जीवनशैली (अंग्रेजी) नामक पुस्तकमा लेखे। “असाध्यै छाडा बोली र अभद्र ठट्यौली अनि बेसोमती हाउभाउ गरिन्थ्यो। सबैभन्दा घीनलाग्दो त बाँसुरीको धुनमा नाचिने छाडा नाचहरू थिए।” द न्यु इन्साइक्लोपीडिया ब्रिटानीका-अनुसार “रोमी साम्राज्यको समयका प्रहसन कार्यक्रमहरूमा मञ्चमा साँच्चै व्यभिचार गरिरहेका दृश्यहरू देखाइन्थे भन्ने प्रमाण पाइन्छ।” त्यसकारण फ्रेडलान्डरले त्यस्ता प्रहसनहरूलाई “अत्यन्तै अनैतिक तथा छाडा व्यंग्य प्रदर्शन” भनेर ठीकै भनेका थिए। तिनले अझ यसो पनि भने: “एकदमै पतित तथा घटिया दृश्यहरूको सबैभन्दा बढी तारिफ गरिन्थ्यो।”a
आज नि? के मनोरञ्जनप्रति मानिसको रुचि फरक भएको छ? यसपछिको लेखमा प्रस्तुत केही प्रमाणहरू विचार गर्नुहोस्।
[फुटनोट]
a नाटकहरूलाई अझ जीवन्त बनाउन कहिलेकाहीं मञ्चमा नै मृत्युदण्ड पनि दिइन्थ्यो। रोमको सभ्यता (अंग्रेजी) नामक पुस्तक यस्तो टिप्पणी गर्छ: “मृत्युदण्ड पाएको अपराधीले त्यस कहालीलाग्दो घडीमा नायकको भूमिका निर्वाह गर्नु कुनै अनौठो कुरा थिएन।”