तपाईं लाभदायक मनोरञ्जनको आनन्द उठाउन सक्नुहुन्छ
मनोरञ्जनले दिने आनन्दलाई बाइबलले निन्दा गर्दैन नता मनोरञ्जन समयको फजुल खर्च नै भन्ठान्छ। त्यसको विपरीत उपदेशक ३:४ अनुसार “हाँस्ने एउटा समय” छ, “नाच्ने एउटा समय” छ।a पुरातन इस्राएलमा परमेश्वरका जनहरूले संगीत, नाचगान र खेलकुदलगायत विभिन्न प्रकारका मनोरञ्जनहरूबाट आनन्द उठाउँथे। येशू पनि विवाह भोजमा र अर्को पटक “ठूलो भोज[मा]” नजानुभएको होइन। (लूका ५:२९; यूहन्ना २:१, २) अतः रमाइलो गर्नुमा बाइबलले कुनै आपत्ति जनाउँदैन।
तथापि, अहिलेको अधिकांश मनोरञ्जनले परमेश्वरलाई मन नपर्ने आचरणको प्रशंसा गर्ने हुँदा प्रश्न उठ्छ, आफूले छानेको मनोरञ्जन लाभदायक छ भनी कसरी पक्का गर्न सकिन्छ?
होशियारीपूर्वक छनौट गर्नुहोस्
कुनै पनि प्रकारको मनोरञ्जन छान्दा मसीहीहरू बाइबल सिद्धान्तहरू पालन गर्ने इच्छा गर्छन्। उदाहरणका लागि, भजनरचयिता दाऊदले यसप्रकार लेखे: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ।” (भजन ११:५) अनि पावलले कलस्सीहरूलाई यसरी लेखे: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, . . . रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग।”—कलस्सी ३:५, ८.
आजका प्रायजसो मनोरञ्जनले यस प्रेरित सल्लाहको खुलेआम विद्रोह गर्छ। कसै कसैले आपत्ति जनाउँदै यसो भन्लान्, ‘चलचित्रमा देखाएको जस्तो त म कहिल्यै गर्दिनँ।’ त्यसो नहोला। तर तपाईंलाई मनपर्ने मनोरञ्जनले तपाईं कुन प्रकारको व्यक्ति बन्दै हुनुहुन्छ भनी नदेखाए तापनि तपाईं कस्तो व्यक्ति हुनुहुन्छ भनेर चाहिं केही हदसम्म झल्काउनसक्छ। उदाहरणका लागि, हामी कस्तो प्रकारका व्यक्तिहरू हौं भनी देखाउनसक्छ, “अत्याचार निको मान्ने,” ‘व्यभिचार, अशुद्धपना, लोभ, फोहर बोली’ मन पराउने वा साँच्चै “खराबीलाई घृणा” गर्ने।—भजन ९७:१०.
पावलले फिलिप्पीहरूलाई यस्तो लेखे: “जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.
तर के यो शास्त्रपदको मतलब, अपराधसित सम्बन्धित कथावस्तु भएको हरेक चलचित्र, पुस्तक वा टिभी कार्यक्रम स्वतः खराब हुन्छ भनेको हो त? अथवा प्रहसन कार्यक्रमहरू “आदरणीय” हुँदैन भनेर त्यस्तो कार्यक्रम एउटै पनि हेर्न नहुने हो र? होइन किनभने सन्दर्भले देखाएअनुसार पावलले मनोरञ्जनबारे नभई मनको झुकाउबारे बताइरहेका थिए र त्यो यहोवालाई प्रसन्न तुल्याउने कुराहरूमा केन्द्रित हुनुपर्छ। (भजन १९:१४) तर जे होस्, पावलको कुराले हामीलाई कस्तो प्रकारको मनोरञ्जन छाने बेस हुन्छ भनेर मदत दिनसक्छ। फिलिप्पी ४:८ को सिद्धान्त चलाउँदै हामी आफूलाई यस्ता प्रश्नहरू सोध्नसक्छौं, ‘मैले छानेको मनोरञ्जनले गर्दा के म अपवित्र कुराहरूमा मन डुलाइरहन्छु?’ त्यसो हो भने तुरुन्तै छाँटकाँट गरिहाल्नुपऱ्यो।
तर मनोरञ्जनका फाइदा बेफाइदा केलाउँदा मसीहीहरूको ‘व्यवहारिकता सबै मानिसहरूलाई थाह’ हुनुपर्छ। (फिलिप्पी ४:५, NW) स्पष्ट छ, साँचो मसीहीहरूलाई पटक्कै नसुहाउँदो मनोरञ्जनहरू पनि छन्। त्यसबाहेक अन्य पक्षहरूमा हरेक व्यक्तिले होशियारीपूर्वक निर्णय गर्नुपर्छ, जसले गर्दा तिनी परमेश्वर र मानिससामु सफा अन्तस्करण लिएर खडा हुन सक्नेछन्। (१ कोरिन्थी १०:३१-३३; १ पत्रुस ३:२१) स-साना कुराहरूमा पनि अरूलाई केरकार गर्न थाल्नु वा के गर्नु हुन्छ, के गर्नु हुँदैन भनी मनोमानी नियमहरू बनाउनु उचित हुनेछैन।b—रोमी १४:४; १ कोरिन्थी ४:६.
आमाबाबुको भूमिका
मनोरञ्जनको सन्दर्भमा आमाबाबुले एकदमै निर्णायक भूमिका खेल्छन्। पावलले लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) तसर्थ, आमाबाबुले आफ्ना छोराछोरीका भौतिक मात्र नभई आध्यात्मिक तथा भावनात्मक आवश्यकताहरू पनि पूरा गर्नुपर्छ। यसमा लाभदायक मनोरञ्जनको प्रबन्ध गर्नु पनि समावेश छ।—हितोपदेश २४:२७.
कहिलेकाहीं पारिवारिक जीवनको यस पक्षलाई बेवास्ता गरिएको हुन्छ। नाइजेरियामा कार्यरत मिसनरीले यसो भने, “दुःखको कुरा, केही आमाबाबुहरूलाई मनोरञ्जन समयको बर्बादी जस्तो लाग्छ। परिणामस्वरूप, केही केटाकेटीहरू अलपत्र पर्छन् र तिनीहरू कुसंगतमा परेर गलत प्रकारको मनोरञ्जन गरिरहेका हुन्छन्।” आमाबाबु हो, यसो हुन नदिनुहोस्! आफ्ना छोराछोरीले साँच्चै स्फूर्तिदायी मनोरञ्जन पाइरहेका छन् कि छैनन्, पक्का गर्नुहोस्।
तर यहाँ होशियारीको खाँचो पर्छ। मसीहीहरू “परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” मानिसहरूजस्तो हुनु हुँदैन। (२ तिमोथी ३:१-४) हो, मनोरञ्जनको आफ्नै स्थान छ। यसले हामीलाई स्फूर्ति दिनुपर्छ, हामी त्यसको दास भने हुनु हुँदैन। त्यसकारण, केटाकेटी तथा वयस्कहरूलाई सही परिमाणमा सही प्रकारको मनोरञ्जन चाहिन्छ।—एफिसी ५:१५, १६.
अन्य क्रियाकलापहरूबाट आनन्द उठाउनुहोस्
प्रायजसो लोकप्रिय मनोरञ्जनले मानिसहरूलाई जाँगरिलो हुनुको साटो अल्छी हुन सिकाउँछ। उदाहरणका लागि, टेलिभिजनलाई लिनुहोस्। टिभी बन्द गरेपछि के गर्ने (अंग्रेजी) पुस्तक यस्तो टिप्पणी गर्छन्: “[टेलिभिजन] एउटा त्यस्तो साधन हो जसले हामीलाई अल्छी बनाउँछ: मनोरञ्जन र भनौं भने सिक्ने कुरासमेत हामीले कुनै प्रयास नगरी स्वतः प्राप्त हुने कुराजस्तो देखाउँछ।” निस्सन्देह, त्यस्तो निष्क्रिय मनोरञ्जनको पनि आफ्नै ठाउँ छ। तर यसले हाम्रो निकै समय खान्छ भने अन्य रमाइला मौकाहरू खोसिरहेको हुन्छ।
“टिभी लोकप्रिय हुनुभन्दा अघिको पुस्ताको मान्छे” ठान्ने लेखक जेरी मान्डर, बाल्यावस्थामा कहिलेकाहीं आफूलाई असाध्यै पट्टाइलागेका क्षणहरू यसरी वर्णन गर्छन्, “पट्टाइ लाग्नुको सँगसँगै असाध्यै पीर पनि लाग्थ्यो। यस्तो नरमाइलो लाग्थ्यो कि केही न केही गरूँ भन्ने विचार गर्थें। साथीलाई बोलाएर घरबाहिर जान्थें। बल खेल्थें, पढ्थें। र त्यो पनि नभए केही गर्थें। ती क्षणहरू सम्झँदा कस्तो लाग्छ भने, पट्टाइ लागेको अर्थात् ‘केही कामै नभएको’ क्षणबाट नै कुनै सृजनशील कार्य निस्केको होला।” मान्डर यस्तो टिप्पणी गर्छन्, अहिलेका केटाकेटीहरू पट्टाइ लाग्यो कि अरू केही उपाय नै नसोची हतपत टिभी खोलिहाल्छन्। तिनी भन्छन्, “पट्टाइ लागेपछि हुने चिन्ता र सृजनशीलतालाई टिभीले तुरुन्तै निसासिदिन्छ।”
तसर्थ, अल्छी भएर बस्नुको साटो आफूले पनि भाग लिनुपर्ने गतिविधिहरू बढी इनामदायी हुन्छन् भनी धेरैले अनुभव गरेका छन् र तिनीहरूले त्यत्तिको रमाइलो होला भनेर कल्पनासमेत गरेका थिएनन्। अरूसँगसँगै ठूलो स्वरले पढ्नु पनि रमाइलो हुँदो रहेछ भनी कसै कसैले अनुभव गरेका छन्। अरू कतिपय भने कुनै सोखमा मन लगाउँछन्, जस्तै कुनै बाजा बजाउनु वा चित्र कोर्नु। साथै लाभदायक जमघटहरूको आयोजना गर्ने मौका पनि छँदैछ।c (लूका १४:१२-१४) घरबाहिर गरिने मनोरञ्जनका पनि फाइदाहरू छन्। स्वीडेनका ब्यूँझनुहोस्! संवाददाता यस्तो टिप्पणी गर्छन्: “केही परिवारहरू क्याम्पिंग त कोही माछा मार्न जान्छन् वा जंगलको यात्रा, डुंगामा टहल्ने, डाँडाहरूतिर घुम्न जाने इत्यादि कार्यहरू गर्छन्। यसो गर्दा स-साना केटाकेटीहरू रमाएर तिनीहरूको भुइँमा खुट्टै हुँदैन।”
मनोरञ्जनमा भ्रष्ट तत्त्वहरू देखेर हामी छक्क पर्नुपर्ने कुनै कारण छैन। प्रेरित पावलले बताएअनुसार “अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्।” (एफिसी ४:१७) तसर्थ, तिनीहरूलाई मनोरञ्जनजस्तो लाग्ने प्रायजसो कुराहरू “शरीरका कामहरू” हुनु कुनै अचम्मको कुरा होइन। (गलाती ५:१९-२१) तथापि, मसीहीहरूले मनोरञ्जनको गुणस्तर तथा परिमाणसम्बन्धी उचित निर्णयहरू गर्न आफूलाई प्रशिक्षण दिनसक्छन्। तिनीहरूले पारिवारिक रूपमा मनोरञ्जन गर्ने योजना बनाउनसक्छन् र वर्षौंपछिसम्म पनि मीठो सम्झना रहिरहने स्फूर्तिदायी नयाँ गतिविधिहरूको प्रबन्ध गर्नसक्छन्। हो, तपाईं लाभदायक मनोरञ्जनबाट आनन्द उठाउन सक्नुहुन्छ!
[फुटनोटहरू]
a “हाँस्ने” भनी अनुवाद गरिएको हिब्रू शब्दका अन्य रूपहरू “खेल्नु,” “कुनै प्रकारको आमोदप्रमोद प्रदान गर्नु,” “उत्सव मनाउनु,” वा “रमाइलो गर्नु” हो।
b थप जानकारीका लागि, मार्च २२, १९७८, पृष्ठ १६-२१ र डिसेम्बर ८, १९९५, पृष्ठ ६-८ ब्यूँझनुहोस्! (अंग्रेजी) हेर्नुहोस्।
c सामाजिक जमघटहरूबारे धर्मशास्त्रीय निर्देशनको लागि नोभेम्बर १, १९९२, पृष्ठ २४-२८ र अक्टोबर १, १९९६, पृष्ठ १८-१९ प्रहरीधरहरा हेर्नुहोस्।
[पृष्ठ ९-मा भएको चित्र]
लाभदायक मनोरञ्जन इनामदायी हुनसक्छ