बाइबलको दृष्टिकोण
के बाइबल र विज्ञान मेल खान्छ?
हवाईजहाज र परमाणु बमदेखि लिएर जीन प्रक्रियाद्वारा कोषिकाहरू हेरफेर गर्ने तथा भेडाको नक्कल उतार्ने कार्य भइसकेको हाम्रो यो २० औं शताब्दी, विज्ञानले आधिपत्य जमाएको युग भएको छ। वैज्ञानिकहरूले मानिसलाई चन्द्रमाको धरातलमा उतारे, बिफरको उन्मूलन गरे, खेतीपातीमा आमूल परिवर्तन ल्याए र विश्वभरिका अरबौं मानिसहरूका लागि तुरुन्तै जानकारी आदानप्रदान गर्नसक्ने सुगमता प्रदान गरे। त्यसैकारण, मानिसहरू विज्ञानको पछि पछि लाग्नु कुनै अचम्म होइन। तर वैज्ञानिकहरूले बाइबलबारे केही बताउन चाहेमा नि? अनि बाइबलले चाहिं विज्ञानबारे के भन्छ?
के चमत्कारहरू अवैज्ञानिक हुन्?
आजभोलि पाइने इन्साइक्लोपीडिया बताउँछ, “विज्ञानप्रति झुकाउ भएका मानिसहरू ‘कारण र परिणाम’-को सम्बन्धमाथि आस्था राख्छन्। सबै थोकका स्वाभाविक कारणहरू हुन्छन् भनेर तिनीहरू विश्वास गर्छन्।” बाइबल विद्यार्थीहरू पनि प्रमाणित वैज्ञानिक सिद्धान्तहरू स्वीकार्छन्। तथापि, हालसम्म हासिल गरिएको ज्ञानअनुसार वैज्ञानिक तवरमा व्याख्या गर्न नसकिने चमत्कारी घटनाहरूबारे बाइबलले प्रायः बताएको छ भनेर तिनीहरू स्वीकार्छन्। जस्तै, यहोशूको समयमा सूर्य टक्क अडिएको र येशू पानीमाथि हिंड्नुभएको घटनालाई उदाहरणको रूपमा लिन सकिन्छ। (यहोशू १०:१२, १३; मत्ती १४:२३-३४) तथापि, परमेश्वरको अद्भुत शक्तिद्वारा यी चमत्कारहरू भएका हुन् भनेर बाइबलमा वर्णन गरिएका छन्।
यो कुरा महत्त्वपूर्ण छ। यदि बाइबलले मानिसहरू ईश्वरीय मदतबिना पानीमाथि हिंड्नसक्छन् वा कुनै कारणबिनै सूर्यको गति रोकिनसक्छ भनेर ठोकुवा गऱ्यो भने त्यो कुरा विज्ञानसित विरोधाभासपूर्ण देखिनसक्छ। तथापि, यी सब परमेश्वरको शक्तिले गरेको हो भनेर बाइबलले भन्छ भने त्यो कुरा विज्ञानसित विरोधाभास हुँदैन। किनभने विज्ञान त्यो हदसम्म विकास भएको छैन।
विज्ञानसित बाइबल विरोधाभासपूर्ण छ?
अर्कोतर्फ, ती घटनाहरूबारे के भन्न सकिन्छ जसमा बाइबलले मानिसहरूको जीवनमा हुने सामान्य घटनाहरू छलफल गर्छ वा वनस्पति, पशुपक्षी वा प्राकृतिक घटनाबारे बताउँछ? चाखलाग्दो कुरा, टिप्पणीहरूको प्रसंग विचार गर्ने हो भने यस्ता घटनाहरू चिरपरिचित वैज्ञानिक तथ्यहरूसित विरोधाभास भएको कुनै प्रमाणित उदाहरण दिन सकिंदैन।
उदाहरणका लागि, हजारौं वर्षअघिका मानिसहरूको ज्ञान प्रतिबिम्बित गर्ने कवितात्मक भाषा बाइबलमा बारम्बार चलाइएको छ। यहोवाले आकाशलाई पिटेर वा पगालेर “धातुको कडा ऐनाजस्तै बनाउनसक्नुहुन्छ” भनेर अय्यूबको पुस्तकमा बताइएको छ। यसरी आकाश उज्ज्वल ज्योति परावर्तन गर्ने ऐनाजस्तै हो भनेर ठीकसित वर्णन गरिएको छ। (अय्यूब ३७:१८) “थाम्ने खाँबाहरू” वा “जगको ढुंगा” भएको पृथ्वीलाई शाब्दिक अर्थमा नलिएझैं माथि उल्लिखित कुरालाई पनि शाब्दिक अर्थमा लिनु पर्दैन।—अय्यूब ३८:४-७.
थुप्रै टिप्पणीकारहरूले यस्ता उदाहरणहरू अक्षरसः प्रयोग गरेका हुनाले यो महत्त्वपूर्ण छ। (हेर्नुहोस् २ शमूएल २२:८; भजन ७८:२३, २४) दि एंकर बाइबल डिक्शनरी-बाट उद्धरित निम्न कुराजस्तै बाइबलले पनि सिकाउँछ भनेर तिनीहरू निष्कर्षमा पुगेका छन्।
“मानवजाति बसिरहेको पृथ्वी असीमित पानीमाथि तैरिरहेको गोलो, ठोस वस्तु सम्भवतः चक्काजस्तो छ भन्ने दृष्टिकोण राखिएको देखिन्छ। पानीको त्यो तल्लो भाग बराबरको असीमित पानी आकाशमा पनि छ, जुन पानी आकाशका छिद्र तथा कुलोहरूबाट वर्षाको रूपमा तल वर्षिन्छ। चन्द्र, सूर्य र अरू चम्किला ज्योतिहरू पृथ्वीमाथि गुम्बज आकारमा चलहल नहुनेगरि राखिएका छन्। यो बनावट पूजाहारीको विवरणको चिरपरिचित ‘आकाश’ (राकिया) हो।”
निस्सन्देह, यो विवरण आधुनिक विज्ञानसित मेल खाँदैन। तर आकाशबारे बाइबलले दिने शिक्षाको के यो निष्पक्ष मूल्यांकन हो? कदापि होइन। दि इन्टरनेशनल स्टान्डर्ड बाइबल इन्साइक्लोपीडिया बताउँछ कि हिब्रू ब्रह्माण्डका यस्ता विवरणहरू “वास्तवमा पु[रानो] नि[यमका] वास्तविक भनाइमा भन्दा अँध्यारो युगको दौडान युरोपमा व्याप्त धारणाहरूमा बढी आधारित छन्।” यी मध्यकालीन धारणाहरू कहाँबाट आए? पश्चिमी विज्ञानका प्रारम्भ-मा (अंग्रेजी) लिन्डबर्ग के बताउँछन् भने, ती धारणाहरू मुख्यतः पुरातन युनानी दार्शनिक अरस्तुको ब्रह्माण्डशास्त्रमा आधारित छन् र मध्यकालमा तिनकै धारणाबाट धेरैजसो शिक्षादीक्षा दिइन्थ्यो।
परमेश्वरले २० औं शताब्दीका वैज्ञानिकलाई चित्त बुझ्ने भाषामा बाइबल लेख्न लगाउनु निस्सन्देह बेकार र दिक्कलाग्दो कुरा हुनेथियो। बाइबलले वैज्ञानिक सूत्रहरू समेट्नुको साटो ती बाइबल लेख्ने मानिसहरूकै दैनिक जीवनमा भइरहने कुराहरूसित सम्बन्धित सुस्पष्ट दृष्टान्तहरू समावेश गरेको छ। र चलाइएका त्यस्ता दृष्टान्तहरूले आजसम्म पनि उत्तिकै प्रभाव पारिरहेका छन्।—अय्यूब ३८:८-३८; यशैया ४०:१२-२३.
उच्चत्तर स्रोतबाट ज्ञान
तथापि, चाखलाग्दो कुरा के हो भने, बाइबलकालीन मानिसहरूले नबुझेका वैज्ञानिक ज्ञानलाई झल्काउने केही उल्लेखहरू पनि बाइबलमा पाइन्छन्। “परमेश्वरले आकाश-मण्डललाई फैलाउनुभयो, र अन्तरिक्षमा पृथ्वीलाई झुण्डाउनुभयो” भनेर अय्यूब बताउँछन्। (अय्यूब २६:७) पृथ्वी “अन्तरिक्षमा” झुण्डिएको छ भन्ने धारणा, पृथ्वी हात्ती वा समुद्री कछुवामाथि अडेको छ भन्ने अधिकांश पुरातन मानिसहरूको मिथ्याभन्दा कता हो कता फरक छ। मोशालाई दिइएको व्यवस्थामा त्यतिबेलाको स्वास्थ्यसम्बन्धी ज्ञानभन्दा सरसफाईका धेरै उच्चस्तरीय आवश्यकताहरू दिइएका छन्। कोर लागेको शंका गरिएको मानिसलाई अलग्गै राख्ने विधि र मृत मानिसलाई नछुनू भन्ने निषेधाज्ञाले निस्सन्देह थुप्रै इस्राएलीको ज्यान जोगायो। (लेवी १३; गन्ती १९:११-१६) त्यसको विपरीत, अश्शूरीहरूको स्वास्थ्योपचार विधिलाई “धर्म, शकुनविद्या तथा प्रेतवादको मिश्रण” भनेर वर्णन गरिएको छ जसमा कुकुरको मल र मानिसको पिसाब पनि प्रयोग गरिन्थ्यो।
सृष्टिकर्ताद्वारा प्रेरित पुस्तकबाट कुनै पनि व्यक्तिले प्रत्याशा गरेअनुसार बाइबलमा वैज्ञानिक प्रमाणसहित स्पष्ट र सही पूर्वजानकारी दिइएको छ। तैपनि, यसमा भएभरको वैज्ञानिक प्रमाणहरू छैनन् किनकि पुरातन मानिसहरूका लागि ती अर्थहीन हुनुका साथै अन्योलमा पार्ने कुरा हुनेथियो। चिरपरिचित वैज्ञानिक तथ्यहरूसित मेल नखाने त्यस्तो कुनै कुरा बाइबलमा पाइँदैन। अर्कोतर्फ, अहिलेसम्म प्रमाणित नभएका वैज्ञानिक सिद्धान्तहरूसित मेल नखाने कुराहरू बाइबलमा थुप्रै छन्। जस्तै, विकासवादको सिद्धान्त।
[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]
‘अन्तरिक्षमा पृथ्वीलाई झुण्डाउनुभयो’ भनेर अय्यूबले भने अनि तिनका समकालीनहरूलाई यो थाह थिएन
[पृष्ठ २४-मा भएको चित्रको स्रोत]
NASA