प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ८/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यप्रतिको धारणा
  • “इमानदार” जालसाजी
  • जापानमा फेरि मानिसहरूलाई नै काममा लगाइँदैछ
  • सुक्दै गएको समुद्र
  • एकदम प्रभावकारी औषधी पत्ता लाग्यो?
  • धूम्रपान गर्ने युरोपेलीहरू
  • कीटनाशक औषधीबाट खतरा
  • चर्को आवाजले वाक्क?
  • रगतबिनाको उपचार
  • संसारमा सबैभन्दा बढी कैदीहरू भएको देश
  • पुनः प्रयोगमा ल्याउनु बुद्धिमानी हो
  • स्वास्थ्यकर भोजन छान्‍नु
    ब्यूँझनुहोस्‌!—१९९७
  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने
    ब्यूँझनुहोस्‌!—१९९९
  • पौष्टिक आहारा तपाईंले पाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ८/८ पृ. २८-२९

विश्‍वदर्शन

भविष्यप्रतिको धारणा

एक्काइसौं शताब्दी नजीकिंदै जाँदा भविष्यसम्बन्धी मानिसहरूको धारणा फरक फरक देखिएको छ। न्युजवीक पत्रिकाको सर्वेक्षण टोलीले आउँदो शताब्दीबारे मानिसहरूको के आशा छ भनेर सोधपुछ गऱ्‍यो। तिनीहरूमध्ये ६४ प्रतिशत जतिले अन्तरिक्ष यात्रीहरू मंगल ग्रहमा पुग्नेछन्‌ भन्‍ने अनुमान गरे। लगभग ५५ प्रतिशत चाहिं ब्रह्‍माण्डको अन्य ग्रहहरूमा मानिसहरू बसोबास गर्ने आशा गरे। वैज्ञानिकहरूले एड्‌सको उपाय पत्ता लगाउलान्‌ भन्‍नेहरूमा ७० प्रतिशत थिए भने, ७२ प्रतिशतले क्यान्सरको उपचार निस्केला भन्‍ने अपेक्षा गरे। यत्ति धेरै आशावादी नहुने हो भने, अन्तरवार्ता दिने ७३ प्रतिशतले धनी र गरिबबीचको भिन्‍नता झन्‌ झन्‌ बढ्‌ने झलक पाए अनि ४८ प्रतिशतले बितेको १०० वर्षमा भन्दा बढी युद्धहरू हुने अड्‌कल लगाए। तिनीहरूमध्ये ७० प्रतिशत जतिले विश्‍वको भोकमरी मानिसले हटाउन सक्नेछैन भन्‍ने लख काटे।

“इमानदार” जालसाजी

ग्राहकहरूले गरेका जालसाजीको कारण अर्जेन्टिनाका बिमा संस्थाहरूले वर्षेनी लगभग २० करोड अमेरिकी डलर घाटा सहनु परिरहेको छ। परिणामस्वरूप, मोटरहरूको बिमा शुल्क अन्य देशहरूको तुलनामा ३० प्रतिशत बढेको छ। अम्बिटो फाइनान्सेरो समाचारपत्रका अनुसार “त्यहाँ भएका आधाभन्दा बढी जालसाजीहरू ‘इमानदार नागरिक’ भनौंदाहरूले नै गरेका छन्‌।” त्यहाँका ४० प्रतिशत बिमा नीति निर्धारकहरूले नै कुनै न कुनै तरिकामा आफ्नो बिमा संस्थाको रकम हिनाबिना गरेका छन्‌। उक्‍त अखबार अन्तमा भन्छ, ठगिएको महसुस गर्ने असन्तुष्ट उपभोक्‍ताहरूले बिमा संस्थाहरूसँग बदला लिन त्यस्तो धोखापूर्ण काम गरेको कुरा प्रस्ट हुन्छ।

जापानमा फेरि मानिसहरूलाई नै काममा लगाइँदैछ

फार इस्टर्न इकोनोमिक रिभ्यू पत्रिका भन्छ, “जापानी उद्योगहरूमा एउटा ठूलो हेरफेर भइरहेछ। जापानका कलकारखानाहरूले मानिसको सट्टा मेशिनबाट कार्य दक्षता हासिल गरिरहेको दुइ दशक भइसक्यो। अब फेरि मानिसहरूलाई नै काममा लगाइँदैछ। केही ठूल-ठूला उत्पादक कम्पनीहरूले साँच्चि नै यन्त्रमानवको जमातलाई पन्छाएर मानिसहरू भर्ना गर्दैछन्‌।” किन? किनभने मानिससँग भएको एउटा खूबी ती यन्त्रमानवसँग छैन। त्यो हो—परिवर्तनसँगसँगै आफूलाई ढाल्न सक्नु। खासगरि, जब कुनै वस्तुको ढाँचा परिवर्तन हुन्छ, त्यतिखेर मानिसले चाँडै त्यसैअनुसार काम गर्नसक्छ भने, यन्त्रमानवलाई उक्‍त काममा दुरुस्त गराउन महिनौं लाग्छ। एन इ सी कारखानाका अध्यक्ष तोमियाकी मिजुकामी भन्छन्‌, “पहिले पहिले हामी मानिसहरूलाई यन्त्रमानवहरूभन्दा कम कुशल कामदारको रूपमा लिन्थ्यौं। तर अहिले हामीले मानिसहरूको कार्यकुशलता प्रयोगमा ल्याउनुपर्छ भनेर बुझेका छौं। यन्त्रमानवको प्रयोग पनि राम्रै थियो तर अहिले मानिसहरूको प्रयोग नै निकै छरितो पायौं।” उदाहरणका लागि, एन इ सी कम्पनीमा फोनहरू जोरजार गर्ने काम यन्त्रमानवले भन्दा मानिसले ४५ प्रतिशत दक्षतापूर्वक गर्नसक्छन्‌। मानिसहरूलाई मेशिनलाई जत्ति ठाउँ पनि चाहिंदैन। साधारण प्रकारका मेशिनहरू भएमा मर्मत गर्ने मानिस र मर्मत खर्च पनि थोरै लाग्छ। उक्‍त पत्रिका यसो भन्छ, “दुइ तीन वर्षसम्म मेशिनहरू कम प्रयोग गरेर हेरेपछि थुप्रै खर्च वचत भएको र उत्पादन क्षमता पनि बढेको उत्पादकहरू दाबी गर्छन्‌।”

सुक्दै गएको समुद्र

मृत सागर सुक्दैछ। यस सम्बन्धमा यु. एस. न्यूज एण्ड वर्ल्ड रिपोर्ट यसो भन्छ, “पृथ्वीमा सबैभन्दा कम पानी भएको समुद्र (अर्थात्‌, विश्‍वका समुद्रहरूको पानीको साधारण तहभन्दा ४१० मिटर तल भएको), मृत सागरको पानीको सतह दिनप्रतिदिन घट्‌दैछ।” किन? यस समुद्रको पानीको मुख्य स्रोत भनेकै यर्दन नदी हो। तर यर्दन नदीको पानी नै वाष्पीकरण भएर सुक्नु, यसमै आधारित थुप्रै सिंचाइ पद्धतिहरू र बाँध बाँधेर उक्‍त नदीको पानी अन्तैतिर तर्काउनु पनि मृत सागर सुक्नुका कारणहरू हुन्‌। साथै, “खनिज पदार्थ निकाल्न मृत सागरको पानीलाई वाष्पीकरण गर्ने पोखरीतर्फ पानी तर्काउने रासायनिक कलकारखानाहरूले गर्दा यस समुद्रको पानी द्रुत गतिले सुकिरहेको छ।” सन्‌ १९५० दशकको मध्यदेखि मृत सागरको पानीको सतह २० मिटर घटीसकेको छ। यस समस्याको निराकरण गर्न लाल समुद्रबाट १९० किलोमिटर लामो नहर बनाएर पानी ल्याउने योजना विवादास्पद रहेको छ। त्यो योजना पूरा गर्न लाल समुद्रको पानीलाई १२० मिटरको उँचाइमा चढाएर ५३० मिटर तल खसालेर मृत सागरमा पुऱ्‍याउनुपर्ने हुन्छ।

एकदम प्रभावकारी औषधी पत्ता लाग्यो?

न्यू योर्क टाइम्स-ले बताएअनुसार, “सन्तुलित भोजनमा चिल्लो पदार्थको मात्रा कम, प्रशस्त फलफूल अनि तरकारीहरू समावेश गर्दा रक्‍तचाप चाँडै घट्‌ने र औषधीले भन्दा पनि प्रभावकारी काम गर्ने कुरा अब पत्ता लागेको छ।” राष्ट्रिय मुटु, फोक्सो तथा रगत रोग संस्था अन्तर्गत प्रिभेन्सन साइन्टिफिक रिसर्च ग्रुपका नेता, डा. डेनिस सिमोन-मोर्टन भन्छन्‌, अध्ययनले देखाएअनुसार “त्यस्तो प्रकारको भोजनले थुप्रै समस्याहरूबाट बचाउँछ।” अर्थात्‌, मुटुसम्बन्धी रोग रोकथाम गर्न, उच्च रक्‍तचाप कम गर्न र विभिन्‍न प्रकारका क्यान्सर निको पार्न उपयोगी हुनसक्छ। उक्‍त अध्ययनको क्रममा देशभरिका विभिन्‍न छ चिकित्सा केन्द्रहरूमा सयौं वयस्कहरूलाई भिन्‍नाभिन्‍नै किसिमका भोजन दिइयो। ती वयस्कहरूलाई तीन समूहमा विभाजन गरियो। एउटा समूहलाई “सामान्य” अमेरिकी भोजन दिइयो। दोस्रो समूहलाई फलफूल र तरकारीको मात्रा प्रशस्त अनि अरू खानाहरू चाहिं यथावतै दिइयो। तेस्रो समूहलाई पनि फलफूल र तरकारी प्रशस्त दिइयो, साथै तिनीहरूलाई चिल्लो पदार्थ, कोलेस्ट्रोल अनि प्रशोधित चिल्लो पदार्थ कम गरिएको दूध तथा दूधबाट बनेका परिकारहरू पनि दिइयो। चिकित्साको दृष्टिले हेर्ने हो भने, दोस्रो र तेस्रो दुवै समूहको रक्‍तचाप उल्लेखनीय रूपमा कम भएको थियो तर तेस्रो समूहलाई दिइएको भोजन चाहिं सर्वोत्तम साबित भयो। अति बढ्‌ता रक्‍तचाप भएका मानिसहरू जसले रक्‍तचाप कम गर्न औषधी खाइरहनुपर्छ, तिनीहरूलाई पनि तेस्रो प्रकारको भोजन दिएर हेर्दा, रक्‍तचाप कम गर्ने औषधी जत्तिकै वा त्योभन्दा पनि उक्‍त भोजन प्रभावकारी सिद्ध भयो। दोस्रो र तेस्रो समूहलाई दिइएको भोजनमा दिनहुँ नौ/दश पटक फलफूल र तरकारी समावेश थियो।

धूम्रपान गर्ने युरोपेलीहरू

जर्मनीको फ्य्रांकफर्टबाट प्रकाशित हुने नासीइच नोइ प्रेस-ले दिएको रिपोर्टअनुसार युरोपेली र चिनियाँ नागरिकहरू संसारमा सबैभन्दा बढी औसतन सुर्तीका ग्राहकहरू हुन्‌। युरोपेली संघका ४२ प्रतिशत पुरुष र २८ प्रतिशत महिलाहरू धूम्रपान गर्छन्‌। धूम्रपानको यो प्रतिशत खासगरि २५ देखि ३९ वर्षका व्यक्‍तिहरूको समूहमा बढी पाइएको छ। धूम्रपानले हरेक वर्ष जर्मनीमा १,००,००० र बेलाइतमा १,००,००० मानिसहरूको ज्यान लिन्छ। चेक गणतन्त्रका राष्ट्रपति, भात्सलाफ हाभेलले वर्षौंदेखि अचाक्ली धूम्रपान गर्दै आएको कारण फोक्सोको क्यान्सर भएर उपचार गराइयो। सुडोइच जाइटुंग-का अनुसार उक्‍त राष्ट्रपतिले धूम्रपान वा स्वास्थ्य नामक युरोपेली अभियानलाई यसो भनेर लेखे, धूम्रपान गर्ने बानी छाड्‌नसक्नेलाई म प्रशंसा गर्छु।

कीटनाशक औषधीबाट खतरा

फिलिपिन्सको अन्तरराष्ट्रिय धान अनुसन्धान संस्थाअनुसार यदि किसानहरूले कीटनाशक औषधी प्रयोग गर्न ठ्याप्पै बन्द गर्ने हो भने, धानको उत्पादनमा कुनै कमी आउनेछैन। फिलिपिन्समा भएको विश्‍व खाद्य शिखर सम्मेलनलाई धान संस्थाका वैज्ञानिकले यस्तो जानकारी दिए, बालीनालीमा बढी कीटनाशक औषधी छर्किनु भनेको औषधी बर्बाद गर्नु हो र यो आवश्‍यक नै छैन। न्यू साइन्टिस्ट पत्रिकाले बताएअनुसार किसानहरूले बेमौसममा औषधी छर्नुका साथै खासगरि मार्नै नपर्ने कीटपतंगहरूलाई पनि नाश गर्छन्‌। यसको साथसाथै, थुप्रै किसानहरू रासायनिक पदार्थहरू चलाउँदा अपनाउनु पर्ने सुरक्षा विधिहरू अपनाउँदैनन्‌, अनि औषधी छर्न त्यस्ता किसिमका पम्पहरू प्रयोग गर्छन्‌ जसले गर्दा त्यो औषधी हावामा फैलिएर श्‍वास फेर्दा शरीरमा प्रवेश गरेर हानि गर्छ। तिनीहरू औषधी माटोमा मिसाएर हातैले पनि छर्छन्‌। विश्‍व स्वास्थ्य संघले दिएको जानकारीअनुसार विश्‍वभरि प्रयोग गरिएका कीटनाशक औषधीहरूको कारण हालै वर्षेनी २,२०,००० मर्छन्‌ र ३० लाख मानिसहरूमा बिषालु पदार्थको असर देखा पर्छ।

चर्को आवाजले वाक्क?

बेलाइतको न्यू साइन्टिस्ट पत्रिकाले बताएअनुसार थोरै मात्रामै भए पनि चर्को आवाजले तपाईंलाई बिरामी पार्नसक्छ। यस तथ्यलाई ध्यानमा राखेर विश्‍व स्वास्थ्य संघले राति सुत्ने बेला असर नपर्ने भनी निर्धारण गरेको आवाजको मात्रासम्बन्धी निर्देशन संशोधन गरेको छ। विशेषगरि केटाकेटीलाई बढी खतरा हुन्छ भनेर प्राप्त तथ्यले संकेत गर्छ। एउटा अध्ययनअनुसार म्युनिकको अन्तरराष्ट्रिय विमानस्थल नजीक बसोबास गर्ने केटाकेटीमा उच्च रक्‍तचाप र एड्रिनालिनको मात्रा एकदम बढी भएको पाइयो। ती केटाकेटीको पढ्‌ने दक्षता र धेरै समयसम्म सम्झिरहने क्षमता पनि कम भएको कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाए। चर्को आवाजमा बस्ने बानी परिसक्यो भन्‍ने मानिसहरूबारे चर्को आवाजसम्बन्धी विशेषज्ञ, आर्लेन ब्रोनसाफ्ट भन्छन्‌, “तिनीहरूले आफ्नो शरीरलाई सधैं क्षति पुऱ्‍याइरहेका हुन्छन्‌। चर्को आवाज भनेको तनाउ हो र यसले अन्ततः शरीरलाई हानि नपुऱ्‍याइ छोड्‌दैन।”

रगतबिनाको उपचार

ग्लोब एन्ड मेल अखबार यस्तो रिपोर्ट दिन्छ, “रगतबाट रोग लाग्नसक्ने र रक्‍तदान गरेर राखिएका रगतहरू सजिलै उपलब्ध नहुने हुँदा सकेसम्म रक्‍तक्षेपण नगरी उपचार गराउनेतर्फ मानिसहरूको ध्यान गएको छ।” रगतरबिनाको उपचार र शल्यक्रियाको मुख्य आधार नै शल्यक्रियाको दौडान रक्‍तक्षेपण नगर्ने र रगत बग्न पनि सकेसम्म कम गर्नु हो। यस सन्दर्भमा ग्लोब यसो भन्छ, “यस्ता धेरै प्रविधिहरू खासगरेर यहोवाका साक्षीहरूलाई उपचार गर्न प्रतिपादन गरेका थिए।” विभिन्‍न अस्पतालका रगतविहीन शल्यक्रिया कार्यक्रमका सहायक तथा ओटावा मुटु संस्थाका एनेस्थेटिस्ट डा. जेम्स ए. रोब्ली यो कुरा स्वीकार्छन्‌: “मलाई लाग्छ, तिनीहरूले [यहोवाका साक्षीहरू] रगतबिनाको शल्यक्रियाप्रति हामीलाई अत्यन्तै सजग गराएका छन्‌।”

संसारमा सबैभन्दा बढी कैदीहरू भएको देश

सन्‌ १९९५ मा संयुक्‍त राज्यमा हरेक १,००,००० नागरिकहरूमध्ये ६१५ जना त कारागारमै थिए भनी सं. अ. न्यायिक विभागले बताउँछ। द वल स्ट्रिट जर्नल-ले दिएको समाचारअनुसार, यो तथ्यांक १९८५ को तुलनामा दोब्बर हो र संसारमा अरू कतै यत्तिका मानिस कारागारमा परेका छैनन्‌। नवीनतम तथ्यांकअनुसार (१९९४), रूस दोस्रोमा आउँछ। त्यहाँ प्रत्येक १,००,००० नागरिकमध्ये ५९० जना कारागारमा छन्‌।

पुनः प्रयोगमा ल्याउनु बुद्धिमानी हो

भेनेजुएला, क्याराकसबाट प्रकाशित हुने एल युनिभर्सल समाचारपत्रअनुसार, सिलाबरका बट्टाहरूलाई पुनः प्रयोगमा ल्याउँदा, नयाँ बनाउँदाभन्दा ९० प्रतिशत इन्धन शक्‍ति बचत हुन्छ। कागजलाई प्रशोधन गर्नु पर्यावरणीय दृष्टिकोणले पनि उपयुक्‍त हुन्छ। नयाँ कागज बनाउँदा जति शक्‍ति खर्च हुन्छ, कागजलाई प्रशोधन गर्दा, त्यसको आधा शक्‍ति मात्र भए पुग्छ। यसो गर्दा जल प्रदूषण ५८ प्रतिशत अनि वायु प्रदूषण ७४ प्रतिशत कम हुन्छ। सिसाका सामानहरू पुनः प्रयोगमा ल्याउनु झनै फाइदाजनक हुन्छ किनभने, सिसाका सामानहरू पटक पटक प्रयोग गर्न सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने