युवा जनहरू सोध्छन्. . . .
जहिले पनि किन मलाई मात्र दोष?
“बुबालाई समय समयमा एलर्जीहरू भइरहन्छ र त्यसमाथि उहाँ चुरोट खाने मानिसहरूसँग बसेर काम गर्नुपर्छ। कहिलेकाहीं घर फर्कंदा उहाँलाई असाध्यै दिक्क लागिरहेको हुन्छ। सामानहरू हराउनुहुन्छ अनि दोष मलाई लाउनुहुन्छ। उहाँले नै हराउनुभएको हो भनी भन्दा उहाँ झनक्क रिसाउनुहुन्छ अनि मेरो गल्ती देखाउने तिमी को हौ र भन्नुहुन्छ।”—एक किशोरी।
के तपाईंलाई परिवारमा जे भए पनि सधैं अचानो बनाइएको जस्तो लाग्छ? सबै गल्तीहरूको दोष तपाईंलाई नै थोपरेको जस्तो के तपाईंलाई लाग्छ? चौध वर्षीया जोइ त्यस्तै महसुस गर्छिन्। तिनी एकल परिवारमा बस्छिन् र अक्सर भाइबहिनीको हेरचाह गर्छिन्। जोइ यसरी गुनासो पोख्छिन्: “उनीहरूको झगडा सुरु हुँदा म तल हुन्छु। उनीहरू कस्तो बच्चाजस्तो र मूर्ख व्यवहार गर्छन्। तर बुबा घर आउनुभएपछि उनीहरू झगडा गर्दा के हेरिरहेको भनेर उल्टो मसितै जाग्नुहुन्छ।”
आमाबाबुले तपाईंको गल्ती देखाउँदै तपाईंलाई पुलपुलेको, अल्छी वा ढंग नभएको अथवा अन्य त्यस्तै नाउँ काढेर बोलाउनुहुन्छ भने कहिलेकाहीं उहाँहरूले तपाईं असफल भएको नै चाहनुभएको हो कि जस्तो लाग्नसक्छ। रामनको परिवारले उनलाई हुस्सू भन्ने गर्थ्यो तर उनलाई त्यो नाउँ सुन्नसमेत मन लाग्दैन थियो। त्यस्तैगरि, चाहे माया गरेरै भनेको किन नहोस्, तपाईंका गल्तीहरू औंल्याउन दिइएका नाउँ वा उपनाउँहरू तपाईंलाई पनि मन पर्दैन होला। नकारात्मक संज्ञाहरूले गल्तीहरू सुधार्न प्रेरित गर्नुको साटो गल्ती सानो होस् या ठूलो, दोष मेरै त हो नि भन्ने भावनालाई अत्यन्तै प्रबल बनाउनसक्छ।
विशेषगरि, पक्षपात गरेर दोष लगाउँदा चित्त दुख्नसक्छ। फ्रान्क नाउँ भएका किशोर यसो भन्छन्: “म परिवारमा माहिलो हुँ अनि दाजु वा भाइ दुवै जनाले जस्तोसुकै गल्ती गरे पनि दोष मेरै टाउकोमा आउँछ।” आफ्नो भाइबहिनी चाहिं सधैं निर्दोष र आफू भने अलिकति गल्ती भई हालेमा पनि दोषी ठहरिने जस्तो देखिएला।
आमाबाबुले किन दोष लाउँछन्
निस्सन्देह, छोराछोरीले गल्ती गर्दा आमाबाबुले सच्याउनु कुनै असामान्य कुरा होइन। किनभने ईश्वरभीरु आमाबाबुले “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने तरिकाहरूमध्ये एउटा लाभदायक र सकारात्मक ढंगमा गल्ती गर्दा सच्याउनु हो। (एफिसी ६:४) तर कहिलेकाहीं असल आमाबाबु पनि अलि बढ्तै नाटीकुटी गर्ने वा गलत निष्कर्षमा पुग्नसक्छन्। येशू जवान छँदाखेरि भएको एउटा घटनालाई सम्झनुहोस्। त्यस अवसरमा येशू हराउनुभएको थियो। पछि उहाँ परमेश्वरको मन्दिरमा बाइबलबारे छलफल गरिरहनुभएको भेटियो। उहाँलाई भेट्टाएपछि उहाँकी आमाले यसो भनिन्: “बाबु, तिमीले हामीलाई किन यसो गरेको? हेर, तिम्रा बाबु र म व्याकुल भएर तिमीलाई खोजिरहेका थियौं।”—लूका २:४८.
येशू सिद्ध हुनुभएकोले उहाँ कुनै अपराधजन्य गतिविधिमा लाग्नु होला भनेर डर मान्नुपर्ने कुनै कारण थिएन। तर अरू सबै मायालु आमाबाबुले जस्तै, उहाँकी आमाले पनि बच्चालाई आफ्नो निगरानीमा राख्नुपर्ने महसुस गरिन् र असाध्यै चिन्तित भइन्। शायद मरियमलाई आफ्नो छोरामाथि कुनै खतरा आइपर्ला भनी पीर परेको हुनसक्छ। त्यस्तैगरि, आमाबाबु छुच्चो वा कठोर हुनुभएको कारणले होइन तर तपाईंबारे चिन्ता लागेकोले उहाँहरूले कहिलेकाहीं अलि बढ्तै किचकिच गर्नुहुन्छ होला।
हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं भनेर पनि नबिर्सनुहोस्। (२ तिमोथी ३:१) जागिरको साथसाथै घरको देखभाल गर्दा तपाईंको आमाबाबु निकै तनाउमा हुनसक्छ अनि यसको असर तपाईंप्रति गरिने व्यवहारमा देखिनसक्छ। (उपदेशक ७:७ तुलना गर्नुहोस्।) एउटी मानसिक स्वास्थ्यकर्मीले यस्तो टिप्पणी गरिन्: “कुनै कुनै परिवार संकष्टबाट गुज्रिरहेको बेला आमाबाबुलाई झरंग रीस उठ्नसक्छ र साधारणतया व्यवहारिक भए तापनि विचारै नगरी निर्णय गर्नसक्छन्।”
विशेषगरि, एक्लो आमा वा बाबुले आफ्नो रीस छोराछोरीमा पोखाउने गर्छन् किनभने कामकुराबारे छलफल गर्न तिनीहरूको जीवनसाथी अर्थात् पति वा पत्नी हुँदैन। हो, केही गर्दै नगर्दा पनि आमाबाबुको रीसको झोंकमा गाली खानु कुनै रमाइलो कुरा होइन। सत्र वर्षीया लुसी यसो भन्छिन्: “मैले कुनै गल्ती गर्दा सजाय पाउनु त ठीकै हो। तर आफूले केही गल्ती नगर्दा पनि आमाको मुड खराब भयो भन्दैमा सजाय पाउनु चाहिं चित्त नबुझ्ने कुरा हो।”
अर्को कारण पक्षपातपूर्ण व्यवहार हो। साधारणतया, आमाबाबुले आफ्ना सबै छोराछोरीलाई माया गरे तापनि एउटा बच्चालाई अलि बढी माया गर्नु अनौठो कुरा होइन।a (उत्पत्ति ३७:३ तुलना गर्नुहोस्।) आफूले कम माया पाएको महसुस हुँदा चित्त दुख्नु स्वाभाविकै हो। तर, आफ्ना आवश्यकताहरू बेवास्ता गरिएको वा भाइबहिनीले गरेको गल्तीमा तपाईंलाई दोष लगाइएको जस्तो देखियो भने पक्कै पनि द्वेष उत्पन्न हुन्छ। जवान रक्सान यसो भन्छिन्, “मेरो भाइ ड्यारेन आमाको आँखाकै पुतली हो। . . . आमाले सधैं मलाई दोष लाउनुहुन्छ, ड्यारेन चाहिं सधैं निर्दोष।”
समस्याग्रस्त परिवारहरू
सुखी परिवारमा कहिलेकाहीं मात्र एकअर्कालाई दोष लाउने घटनाहरू हुनसक्छन्। तर समस्याग्रस्त परिवारमा आमाबाबुले दोष लाउने, खिज्याउने र अपमान गर्ने घटनाहरू सधैंजसो भइरहनसक्छन्। कहिलेकाहीं दोष लाउनुका साथै “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा” पनि हुनसक्छ।—एफिसी ४:३१.
आमाबाबुको त्यस्तो रीसको दोष के छोराछोरीमाथि थोपर्न मिल्छ? हो, अनाज्ञाकारी छोरा वा छोरी आमाबाबुको निम्ति “अत्यन्तै शोकको कारण” हुनसक्छ। (हितोपदेश १७:२५) तथापि, बाइबलले आमाबाबुहरूलाई यसो भन्छ: “तिमीहरूका बालकहरूलाई [शाब्दिक अर्थमा, “क्रोधित नतुल्याओ”] रीस नउठाओ।” (एफिसी ६:४) अन्य मसीहीहरूले जस्तै आमाबाबुले आत्मसंयमको खेती गर्नुपर्छ, “झगड़ा गर्नुहुँदैन।” (२ तिमोथी २:२४) त्यसकारण, आमाबाबुले आत्मसंयम खेती गर्न नसक्दा त्यसको दोष छोराछोरीमाथि थोपर्न मिल्दैन।
कुनै पनि आमाबाबुले भावनात्मक पीडा, निराशा भोगिरहेका छन् भने वा आत्मसम्मानको कमीले गर्दा जथाभावी जिब्रो चलाउलान्। यसले दाम्पत्य जीवनमा भएको समस्या वा मतवालापनको समस्यालाई पनि संकेत गर्नसक्छ। एक स्रोतअनुसार लागू पदार्थको कुलतमा परेका आमाबाबुका छोराछोरी अक्सर अचानो बन्न पुग्छन्। “तिनीहरूले गरेको कुनै कुरा पनि ठीक हुँदैन। तिनीहरूलाई ‘मूर्ख,’ ‘नालायक,’ ‘स्वार्थी’ वा त्यस्तै अरू नाउँ दिइन्छ। परिवारका अन्य सदस्यहरूले त्यस बच्चालाई ‘समस्याको’ जड ठान्छन् अनि आफ्ना अप्ठ्यारा भावना तथा समस्याहरूबाट अरू नै कुरापट्टि मन तर्किन्छ।”
बिना कारण दोष लगाउँदा
डा. क्याथलिन मकोइ यसो भन्छिन्: “बच्चालाई नाउँ दिने, होच्याउने वा जिस्क्याउने गऱ्यो भने . . . पछि किशोरावस्थामा आत्मसम्मानको कमी, निराश वा अरू कसैसित कुराकानी गर्न नसक्ने हुनसक्छ।” वा बाइबलले भनेझैं कठोर व्यवहारले बच्चालाई “रीस” उठाउन वा “खिन्न” तुल्याउनसक्छ। (कलस्सी ३:२१) आफू एकदम निकम्मा रहेछु जस्तो लाग्नसक्छ। आमाबाबुप्रति पनि नकारात्मक सोचाइहरू उत्पन्न हुनसक्छन्। उहाँहरूलाई खुशी पार्न केही गर्न सक्दिनँ र कोसिस गर्नु नै बेकार छ भन्नेजस्ता विचारहरू आउनसक्छन्। क्रोध र रोषको भावना आउनसक्छ, जसले गर्दा तपाईं सकारात्मक आलोचना र कुनै पनि अनुशासन स्वीकार्न चाहनुहुन्न।—हितोपदेश ५:१२ तुलना गर्नुहोस्।
यस्तो परिस्थितिको तपाईं कसरी सामना गर्नुहुन्छ? धेरै हदसम्म त तपाईंको आफ्नो व्यक्तिगत परिस्थितिमा भर पर्नसक्छ। व्यवहारिक भई आफ्नो परिस्थितिलाई जाँचे कसो होला? उदाहरणका लागि, सधैं तपाईंलाई नै दोष लगाएको हो त? वा तपाईंको आमाबाबुले कहिलेकाहीं बढ्तै नाटीकुटी भएर गलत कुरा भन्नुभएको पो हो कि? “धेरै कुरामा हामी चुक्तछौं” भनी बाइबलले भन्छ अनि यसमा आमाबाबु पनि समावेश छन्। (याकूब ३:२) अतः तपाईंको आमाबाबुले कहिलेकाहीं बढ्तै गनगन गर्नुभयो भन्दैमा तपाईंले पनि कचकच गर्नुपर्छ त? कलस्सी ३:१३ मा पाइने बाइबलको सल्लाह यहाँ लागू हुनसक्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”
आमाबाबुप्रति समानुभूति देखाएमा मदत मिल्नसक्छ। हितोपदेश १९:११ यसो भन्छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” यदि तपाईंको बुबा कामबाट घर फर्कंदा अलि बढ्तै बम्किनु भएमा के त्यसलाई ठूलो विवादको विषय बनाउनु आवश्यक छ र? उहाँ तनाउग्रस्त र थकित हुनुहुन्छ भन्ने कुरा बुझ्दा ‘उहाँको दोषको वास्ता नगर्न’ सहायता मिल्नसक्छ।
तर बिना कारण दोष लाउने कहिलेकाहीं मात्र हुने कुरा नभई सधैं भइरहन्छ भने नि? यस्तो परिस्थितिलाई कसरी सुधार्ने, यसबारे पछि आउने लेखले छलफल गर्नेछ।
[फुटनोट]
a हाम्रो जुलाई २२, १९८७, (अंग्रेजी) अंकमा “युवा जनहरू सोध्छन् . . . भाइबहिनीसित मिल्न किन यति गाह्रो?” लेख हेर्नुहोस्।
[पृष्ठ १५-मा भएको चित्र]
आवश्यक पर्दा आमाबाबुले सच्याउनु पक्षपाती भएको होइन