प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ पृ. ३-४
  • कठोर बोली, पिल्सिएका भावनाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कठोर बोली, पिल्सिएका भावनाहरू
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ पृ. ३-४

कठोर बोली, पिल्सिएका भावनाहरू

“ए ढंग नभएको अल्छे!”a एक जापानी स्त्रीलाई ती शब्दहरू कत्तिको दर्दनाक हुन्छन्‌ भनेर बताइरहनु पर्दैन। सानी छँदा तिनले अनगिन्ती चोटि त्यो भनाइ सुन्‍नुपऱ्‍यो। यसो भन्‍नेहरू को थिए? स्कूलका साथीहरू? दाजुभाइ दिदीबहिनी? होइन, तिनका आमाबाबु। ती दिनहरू सम्झँदै तिनी यसो भन्छिन्‌: “यसरी जथाभावी नाउँ काढेर बोलाउँदा असाध्यै चित्त दुख्थ्यो र निराश हुन्थें।”

संयुक्‍त राज्यका एक पुरुष आफ्नो बाल्यावस्था सम्झँदै भन्छन्‌, बुबा घरमा आउनुहुँदा सधैं डरले मुटु ढुकढुक गर्न थाल्थ्यो। तिनी अझ यसो भन्छन्‌, “बुबा घरमा आउनुहुँदा गाडीको आवाज सुन्‍ने बित्तिक्कै म डरले थरथर काँप्थे, त्यो मैले अझै बिर्सेको छैनँ। बहिनी कतै लुक्थिन्‌। सबै कुरा बुबाले भनेजस्तै हुनुपर्थ्यो र उहाँले भनेअनुसार भएन भने हप्कीदप्की गर्नुहुन्थ्यो।”

यसै पुरुषकी दिदी यसो भन्छिन्‌: “आमा या बुबाले हामीलाई अँगालो मार्नुभएको, म्वाइँ खानुभएको मलाई कहिल्यै थाह छैन वा ‘मलाई तिम्रो माया लाग्छ’ वा ‘श्‍याबास’ भन्‍नुभएको त मैले एक चोटि पनि सुनिनँ। अनि बच्चाले ‘मलाई तिम्रो माया लाग्छ’ भनेको सुन्‍न नपाउनु भनेको दिनदिनै ‘तिमी मलाई मन पर्दैन’ भन्‍नु जत्तिकै हो।”

कसै कसैले भन्लान्‌, यी मानिसहरूले केटाकेटी छँदा भोगेका पीडा खास ठूलो कुरा होइन। हुन त हो, केटाकेटीहरूले प्रायजसो कठोर, नमीठो वचन सुन्‍न वा दुर्व्यवहार भोग्न पर्नु कुनै अनौठो कुरा होइन। यस्तो व्यवहार असाध्यै सामान्य भएको हुँदा अखबारको मुख्य समाचार वा सनसनीपूर्ण टिभी कार्यक्रममा चर्चा गरिंदैन। यसको आन्तरिक असर बाहिर छर्लंग देखिंदैन। तर आमाबाबुले दिनहुँ छोराछोरीसित त्यस्तो व्यवहार गर्छन्‌ भने परिणाम घातक हुनसक्छ र त्यसले जिन्दगीभर अमेट छाप पार्नसक्छ।

पाँच वर्षीय केटाकेटीहरूको एउटा समूहको सन्‌ १९५१ मा अध्ययन गरिएको थियो र १९९० मा पुनः ती केटाकेटीहरूको हालखबर बुझ्ने प्रयास गरियो। ती अनुसन्धानकर्ताहरूले त्यस समूहका थुप्रै केटाकेटीहरू भेट्‌नसके जो अहिले अधबैंसे उमेरमा पुगिसकेका छन्‌। यो अध्ययनको मुख्य उद्देश्‍य थियो, बेग्लाबेग्लै प्रकारको लालनपालन पाएका बच्चाहरूमा के कस्ता चिरस्थायी असरहरू देखिन्छन्‌, सो पत्ता लगाउने। उक्‍त नयाँ अध्ययन यस्तो निष्कर्षमा पुग्यो कि जीवनसित जुझ्न नसक्ने, भावनात्मक तवरमा अस्थिर, वैवाहिक सम्बन्धमा तनाउ, मित्रतामा मनमुटाउ र जागिरमा समेत समस्या भोग्नेहरू गरिब वा धनी आमाबाबुका सन्तानहरू थिएनन्‌। नता तिनीहरूलाई भावनात्मक तवरमा असन्तुलित आमाबाबुले नै हुर्काएका थिए। बरु, तिनीहरू आमाबाबुबाट न्यानो माया वा स्नेह नपाएका केटाकेटीहरू थिए।

यी तथ्यहरू लगभग २,००० वर्षअघि लिपिबद्ध यस यथार्थको एउटा सानो झलक मात्र हो: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।” (कलस्सी ३:२१) आमाबाबुले छोराछोरीलाई मौखिक वा भावनात्मक दुर्व्यवहार गर्दा त्यसले अवश्‍य रीस उठाउँछ र तिनीहरूलाई निराश बनाउनसक्छ।

निराश बाल्यजीवन (अंग्रेजी) पुस्तकअनुसार केही समयअघिसम्म विशेषज्ञहरूको के धारणा थियो भने, बालकहरू नैराश्‍यले पिरोलिंदैनन्‌। तर समयको दौडान त्यससम्बन्धी बढी ज्ञानले अर्कै यथार्थ पत्ता लागेको छ। उक्‍त पुस्तकका लेखकहरूअनुसार बालकहरू पनि निराशाको शिकार हुनसक्छन्‌ र यो सामान्य कुरा हो। यसका कारणहरूमध्ये आमाबाबुबाट तिरस्कार र दुर्व्यवहार पनि हुन्‌। ती लेखकहरू यसो भन्छन्‌: “कोही कोही आमाबाबुले सधैंजसो बच्चाको आलोचना वा अपमान गर्ने गरेका हुन्छन्‌। अरू कतिपयले भने, आफू र छोराछोरीबीच ठूलो खाडल बनाएका हुन्छन्‌: आमाबाबुले छोराछोरीप्रति कहिल्यै प्रेम प्रकट गरेका हुँदैनन्‌। त्यस्ता आमाबाबुका छोराछोरीको अवस्था असाध्यै पीडादायी हुन्छ किनभने बच्चा होस्‌ या ठूलो, माया भनेको बिरुवालाई घामपानी जत्तिकै अपरिहार्य हुन्छ।”

आमाबाबुले कुनै धक नमानी छोराछोरीलाई खुलस्त माया प्रकट गरेका छन्‌ भने तिनीहरूले एउटा महत्त्वपूर्ण यथार्थ सिक्छन्‌। त्यो हो, छोराछोरी पनि माया पाउन योग्यका र मूल्यवान्‌ छन्‌। धेरैले यस्तो अनुभूतिलाई अहंकार, स्वार्थ भनी गलत अर्थ लगाउँछन्‌। तर कुरा अर्कै छ। यसै विषयमा एउटी लेखिकाले यसो भनिन्‌: “तपाईंको बच्चाले आफूप्रति जस्तो धारणा राख्छ, त्यसैको आधारमा साथीभाइ छान्छ, अरूसित घुलमिल हुनसक्ने वा नसक्ने हुन्छ, जीवनसाथी रोज्ने र जीवनमा के कस्ता लक्ष्यहरू हासिल गर्छन्‌ इत्यादि सबै कुरालाई असर गर्छ।” आफूबारे सन्तुलित, निःस्वार्थ दृष्टिकोण राख्नु कत्तिको महत्त्वपूर्ण छ भनी बाइबलमा लिपिबद्ध दोस्रो महान्‌ आज्ञाबाट पनि बुझ्न सकिन्छ: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३८, ३९.

कुनै पनि आमाबाबुले त्यस्तो महत्त्वपूर्ण तथा नाजुक कुरा अर्थात्‌ आफ्नो बच्चाको आत्मसम्मान तोड्‌न चाहला भनेर हामी कल्पनासमेत गर्न सक्दैनौं। तैपनि प्रायजसो किन यसै हुने गर्छ? यसलाई कसरी रोक्न सकिन्छ?

[फुटनोट]

a जापानी भाषामा नोरोमा बाका!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने