प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ पृ. ८-११
  • तपाईंका छोराछोरीलाई फल्नफुल्न मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंका छोराछोरीलाई फल्नफुल्न मदत गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उचित वातावरण
  • सराहना
  • कुराकानी
  • रीस थाम्ने
  • सुव्यवस्था तथा आदर कायम गर्ने
  • आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ पृ. ८-११

तपाईंका छोराछोरीलाई फल्नफुल्न मदत गर्नुहोस्‌

छोराछोरी हुर्काउनु पर्दा थुप्रै आमाबाबुहरू अनेकन्‌ प्रश्‍नका जवाफ पाउन यत्रतत्र भौंतारिन्छन्‌। तर वास्तवमा तिनीहरू घरैमा बसेर पनि ती जवाफहरू सजिलै पाउनसक्छन्‌। घरमा बाइबल नहुने परिवारहरू कमै मात्र होलान्‌ तर त्यो छोराछोरी हुर्काउन मदतको लागि प्रयोग गर्नुको साटो दराजमा थन्काइ राख्छन्‌।

पारिवारिक जीवनको निर्देशकको रूपमा बाइबल उपयोगी हुनसक्छ भनी आजकल थुप्रैले पत्याउँदैनन्‌। तिनीहरू बाइबललाई पुरानो जमानाको, पुरानो फेसनको र अत्यन्तै कडिकडाउ गर्ने पुस्तक भनेर त्यसको वास्तै गर्दैनन्‌। तर निष्पक्ष भएर केलाएमा बाइबल, परिवारहरूका लागि व्यवहारिक पुस्तक हो भनेर तिनीहरूले थाह पाउनेछन्‌। त्यो कसरी, आउनुहोस्‌ हामी हेरौं।

उचित वातावरण

बाइबलले पिताहरूलाई आफ्ना छोराछोरीहरू “टेबलको वरिपरि भद्राक्षका मुनाहरूजस्तै” ठान्‍नू भनी बताएको छ। (भजन १२८:३, ४) राम्ररी खेती गरिएन, उचित पोषण, माटो तथा पानी पाएनन्‌ भने कलिला बोटहरू फलदायी हुन सक्दैनन्‌। त्यसरी नै, छोराछोरी हुर्काउने कार्यमा सफल हुन परिश्रम तथा हेरचाहको खाँचो पर्छ। छोराछोरीहरू परिपक्व हुन स्वास्थ्यकर वातावरण चाहिन्छ।

त्यस्तो वातावरणको पहिलो आधारभूत तत्त्व प्रेम हो। पति र पत्नीबीच अनि छोराछोरी र आमाबाबुबीच प्रेम हुनुपर्छ। (एफिसी ५:३३; तीतस २:४) धेरैजसो परिवारका सदस्यहरू एकअर्कालाई माया गर्छन्‌ तर माया प्रकट गर्नुपर्ने खाँचो महसुस गर्दैनन्‌। यसो विचार गर्नुहोस्‌: आफ्नो साथीलाई चिठी त लेख्नुभयो तर त्यसमा ठेगाना लेख्नुभएन, टिकट टाँस्नुभएन वा पठाउनु नै भएन भने के तिनीसित पत्राचार गरेको भन्‍न मिल्छ र? त्यस्तैगरि, साँचो प्रेम हृदयलाई छुने भावना मात्र होइन तर वचन तथा कामद्वारा प्रकट हुनुपर्छ भनी बाइबलले देखाउँछ। (यूहन्‍ना १४:१५ र १ यूहन्‍ना ५:३ तुलना गर्नुहोस्‌।) आफ्नो पुत्रप्रतिको प्रेम बोलीद्वारा प्रकट गर्नुभएर परमेश्‍वरले उदाहरण बसाल्नुभयो। उहाँले यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।”—मत्ती ३:१७.

सराहना

आमाबाबुले छोराछोरीलाई त्यस्तो प्रेम कसरी देखाउनसक्छन्‌? सर्वप्रथम, तिनीहरूले के राम्रो काम गर्छन्‌, त्यो खोज्नुहोस्‌। छोराछोरीको दोष कोट्याउन सजिलो हुन्छ। तिनीहरूको अपरिपक्वता, अनुभवको कमी र स्वार्थ दिनहुँजसो देखा परिरहन्छन्‌। (हितोपदेश २२:१५) तर तिनीहरूले दिनहुँ राम्रा कामहरू पनि थुप्रै गर्छन्‌। तपाईं कुन कुरामा बढी ध्यान दिनुहुन्छ? परमेश्‍वरले हाम्रा दोषहरू केलाइरहनुहुन्‍न तर हामीले गर्ने राम्रा कामहरू सम्झनुहुन्छ। (भजन १३०:३; हिब्रू ६:१०) हामीले पनि आफ्ना छोराछोरीसित त्यस्तै व्यवहार गर्नुपर्छ।

एक युवक यस्तो टिप्पणी गर्छन्‌: “बसुञ्जेल घरमा होस्‌ वा स्कूलमा, कुनै कुरा गरेकोमा जिन्दगीमा मैले कहिल्यै पनि तारिफको एक वचन सुन्‍न पाइनँ।” आमाबाबु हो, छोराछोरीको यो आवश्‍यकतालाई कहिल्यै नलत्याउनुहोस्‌! छोराछोरीले राम्रो काम गर्दा सधैं तारिफ गरिरहनुपर्छ। यसो गऱ्‍यौं भने, पछि तिनीहरू “खिन्‍न” हुनेछैनन्‌ र म केही गर्न नसक्ने लद्दू रहेछु भन्‍ने मनोभाव उत्पन्‍न हुँदैन।—कलस्सी ३:२१.

कुराकानी

छोराछोरीलाई माया देखाउने अर्को असल तरिका याकूब १:१९ मा पाइन्छ। “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” के तपाईं छोराछोरीको मनभित्र लुकेको कुरा खोतलेर तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहुन्छ? कुरा सिध्याउन नपाउँदै तपाईंले भाषण छाँट्‌नुहुनेछ वा उसले आफ्नो भावना व्यक्‍त गर्दा रीसाउनुहुनेछ भनेर तपाईंको छोराछोरीलाई थाह छ भने, तिनीहरूले मनको कुरा मनैमा गुम्साएर राख्नसक्छन्‌। तर तपाईंले ध्यान दिएर सुन्‍नुहुनेछ भनेर तिनीहरूलाई थाह छ भने, कुरा नलुकाई खुलस्त बताउनेछन्‌।—हितोपदेश २०:५ तुलना गर्नुहोस्‌।

तर तिनीहरूले प्रकट गरेका भावना गलत रहेछन्‌ भनेर थाह छ भने नि? अब के यो रीसले चूर भएर गाली गर्ने, भाषण छाँट्‌ने वा सजाय दिने बेला हो? केटाकेटीको व्यवहारले कहिलेकाहीं “बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” हुन गाह्रो बनाउँछ। तर परमेश्‍वरले आफ्ना सन्तानसित कस्तो व्यवहार गर्नुभएको छ, विचार गर्नुहोस्‌। के उहाँले आफ्ना सन्तानहरू डरले थरथर काँपेर आफ्ना भावनाहरूसमेत बताउन नसक्ने वातावरण सृजना गर्नुभएको छ? छैन! भजन ६२:८ यसो भन्छ: “मानिस हो, हर बखत [परमेश्‍वरमा] नै भरोसा गर, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाओ, परमेश्‍वर हाम्रा निम्ति शरणस्थान हुनुहुन्छ।”

अतः सदोम र गमोरा शहर नाश गर्ने परमेश्‍वरको निर्णय सुनेर चिन्तित अब्राहाम स्वर्गमा हुनुहुने पितालाई यसो भन्‍न हिचकिचाएनन्‌: “दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कहिल्यै नहोस्‌। . . . सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्‍न र?” यहोवाले अब्राहामलाई गाली गर्नुभएन। तर उसको कुरा सुन्‍नुभयो र शान्त पार्नुभयो। (उत्पत्ति १८:२०-३३) आफ्ना सन्तानहरूको भावना सोह्रै आना बेमुनासिब र अव्यवहारिक भए तापनि परमेश्‍वर असाध्यै धीरजी र कोमल हुनुहुन्छ।—योना ३:१०–४:११.

आमाबाबुले पनि त्यस्तै वातावरण सृजना गर्नुपर्छ ताकि छोराछोरीले कुनै संकोच नमानी जस्तोसुकै संवेदनशील कुराहरू पनि व्यक्‍त गर्न सकोस्‌। अतः, तपाईंको छोरा वा छोरीले आवेगमा केही भन्दा उसको कुरा सुन्‍नुहोस्‌। गाली गर्नुको साटो उसका भावनाहरू बुझेर कारण खोतल्नुहोस्‌। उदाहरणका लागि, यसो भन्‍न सक्नुहुन्छ: ‘तिमी त फलानोसित असाध्यै रीसाएको जस्तो देखिन्छौ नि। के भयो, मलाई भन न।’

रीस थाम्ने

निस्सन्देह, यहोवा परमेश्‍वर जत्तिको कोही पनि आमाबाबु धीरजी छैन। अनि छोराछोरीले आमाबाबुको धीरजको सीमै नाघ्नसक्छ। छोराछोरी देखेर तपाईंलाई कहिलेकाहीं झनक्क रीस उठ्‌छ भने, आफूलाई खराब आमाबाबु नठान्‍नुहोस्‌। कहिलेकाहीं रीसाउनु जायजै होला। परमेश्‍वर आफ्ना असाध्यै प्रिय सन्तानसित समेत रीसाउनुहुन्छ र त्यसको राम्रै कारण हुन्छ। (प्रस्थान ४:१४; व्यवस्था ३४:१०) यद्यपि, उहाँको वचनले रीस नियन्त्रण गर्न सिकाउँछ।—एफिसी ४:२६.

कसरी? रीसले चूर भएर आँखै नदेख्दा कहिलेकाहीं दुइ चार मिनेट अर्कै कुरामा मन बहलाउनु मदतकारी हुनसक्छ। (हितोपदेश १७:१४) नबिर्सनुहोस्‌, ऊ बच्चै छ! ऊबाट वयस्कको व्यवहार वा पाको बुद्धि आशा नगर्नुहोस्‌। (१ कोरिन्थी १३:११) तपाईंको छोरा वा छोरीले त्यस्तो व्यवहार गर्नुको कारण बुझ्नुभयो भने, रीस सेलाउनसक्छ। (हितोपदेश १९:११) बदमासी गर्नु र बदमास हुनुबीच आकाश जमीनको फरक छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। बच्चालाई तिमी असाध्यै बदमास रहेछौ भनेर गाली गर्न थाल्नुभयो भने उसको मनमा यस्तो सोचाइ आउनसक्छ, ‘यसै गाली खाने उसै गाली खाने, बेकारमा किन ज्ञानी हुने?’ तर मायालु ढंगमा बच्चालाई सच्याएको खण्डमा शायद उसले अर्को चोटि त्यो गल्ती दोऱ्‍याउनेछैन।

सुव्यवस्था तथा आदर कायम गर्ने

आमाबाबुले सामना गर्ने ठूला चुनौतीहरूमध्ये केटाकेटीहरूलाई सुव्यवस्थित हुन र आदर भाव देखाउन सिकाउनु पनि हो। वर्तमान स्वच्छन्द संसारमा कतिपयले छोराछोरीलाई कुनै पनि प्रतिबन्धमा राख्नु हुँदैन भनेर सोच्लान्‌। बाइबल यसो भन्छ: “बेंत र हप्काइले बुद्धि दिन्छ, तर छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) कोही कोही “बेत” शब्द उच्चारण गर्नसमेत हिचकिचाउँछन्‌ किनभने त्यसले बाल दुर्व्यवहारलाई संकेत गर्छ भन्ठान्छन्‌। तर वास्तवमा त्यसो होइन। “बेत“ बुझाउने हिब्रू शब्दले भेडाबाख्रालाई कुट्‌न होइन तर डोऱ्‍याउन गोठालाले प्रयोग गर्ने लौरोलाई बुझाउँछ।a अतः, बेतले अनुशासनलाई बुझाउँछ।

बाइबलमा अनुशासन दिनुको मूलभूत अर्थ सिकाउनु हो। त्यसैकारण, हितोपदेशको पुस्तकमा लगभग चार चोटि ‘शिक्षा ध्यानसित सुन’ भनिएको छ। (हितोपदेश १:८; ४:१; ८:३३; १९:२७) असल गर्दा इनाम र गलत काम गर्दा दण्ड पाइन्छ भनेर केटाकेटीले सिक्नु आवश्‍यक छ। सजाय पाउँदा गलत आचरणको परिणाम कस्तो हुन्छ भनेर प्रस्टै हुन्छ भने अर्कोतिर सराहना गर्दा असल आचरणको परिणाम कस्तो हुन्छ भनेर छर्लंगै हुनसक्छ। (व्यवस्था ११:२६-२८ तुलना गर्नुहोस्‌।) सजाय दिने सन्दर्भमा आमाबाबुले परमेश्‍वरको उदाहरण अनुकरण गर्नु बेस हो किनभने उहाँले “ठीकसँग म तँलाई चेताउनी दिनेछु” भनी आफ्ना जनहरूलाई भन्‍नुभयो। (यर्मिया ४६:२८) कोही कोही केटाकेटीलाई तह लाउन स्वर अलि ठूलो पारे पुग्छ। अरू कतिपयलाई भने कडिकाउ गर्नुपर्ने हुन्छ। तर “ठीकसँग” दिइएको अनुशासनले कहिल्यै पनि बच्चाको भावनात्मक तथा शारीरिक हानि गर्दैन।

सन्तुलित अनुशासन दिनु भनेको केटाकेटीलाई प्रतिबन्ध तथा सीमाबारे सिकाउनु पनि हो। ती अधिकांश प्रतिबन्ध तथा सीमाहरू परमेश्‍वरको वचनमा खुलस्त पारिएका छन्‌। बाइबलले निजी सम्पत्तिको आदर गर्न सिकाउँछ। (व्यवस्था १९:१४) हिंसा मन पराउनु वा जानाजानी अरूको हानि गर्नु गलत हो भनेर पनि बाइबलले सीमा तोकेको छ। (भजन ११:५; मत्ती ७:१२) हाडनाताकरनीलाई निषेध गरेर यौनको सन्दर्भमा पनि सीमा तोकेको छ। (लेवी १८:६-१८) बाइबलले व्यक्‍तिगत तथा भावनात्मक सीमा बुझेर अरूलाई जथाभावी नाउँ काढेर बोलाउनु वा अन्य प्रकारको मौखिक दुर्व्यवहार गर्न पनि निषेध गरेको छ। (मत्ती ५:२२) केटाकेटीहरूलाई यी सीमा तथा प्रतिबन्धबारे वचन तथा आफ्नो उदाहरणद्वारा सिकाउनु, स्वास्थ्यकर पारिवारिक वातावरणको महत्त्वपूर्ण तत्त्व हो।

परिवारमा सुव्यवस्था तथा आदर कायम गर्ने अर्को कुञ्जी, प्रत्येक सदस्यले आ-आफ्नो भूमिका राम्ररी बुझ्नु हो। आज धेरैजसो परिवारहरूमा परिवारका सदस्यहरूको भूमिका अस्पष्ट छन्‌। केही परिवारहरूमा के हुन्छ भने, आमा या बुबाले असाध्यै गहन समस्याहरू पनि बच्चालाई बताउँछन्‌ जबकि बच्चाले त्यो समस्या बुझ्नै सकेको हुँदैन। अरू कतिपय परिवारमा भने, छोराछोरी नै घरका नाइकेहरू हुन्छन्‌ र उसले जे जे भन्यो, त्यही त्यही गर्न लाउँछन्‌। त्यो गलत हुनुको साथै हानिकारक हो। छोराछोरीको भौतिक, भावनात्मक वा आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नु आमाबाबुको दायित्त्व हो, आमाबाबुको भरनपोषण गर्नु छोराछोरीको दायित्त्व होइन। (२ कोरिन्थी १२:१४; १ तिमोथी ५:८) याकूबलाई विचार गर्नुहोस्‌। तिनले स-साना बच्चाहरूलाई गाह्रो नहोस्‌ भनेर सम्पूर्ण परिवार बिस्तारै हिंड्‌ने चाँजोपाँजो मिलाए। तिनले तिनीहरूको सीमा बुझेर त्यसअनुसार योजना बनाए।—उत्पत्ति ३३:१३, १४.

आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने

स्वास्थ्यकर पारिवारिक जीवनको सर्वमहत्त्वपूर्ण तत्त्व, आध्यात्मिकता नै हो। (मत्ती ५:३) केटाकेटीहरू आध्यात्मिक कुराहरू बुझ्न असाध्यै तेज हुन्छन्‌। तिनीहरू प्रश्‍नका पोको हुन्‌: हामी पृथ्वीमा किन छौं? पृथ्वी, जनावर, रूख तथा समुद्र कसले बनायो? मानिसहरू किन मर्छन्‌? मरेपछि के हुन्छ? असल मानिसहरू किन दुःख भोग्छन्‌? तिनीहरूले यति धेरै प्रश्‍नहरू सोध्छन्‌, भनेर साध्यै छैन। प्रायजसो यस्ता प्रश्‍नको जवाफ बुझ्न नखोज्ने त आमाबाबु पो हुन्‌।b

छोराछोरीलाई आध्यात्मिक प्रशिक्षण दिने समय निकाल्न बाइबलले आमाबाबुलाई आग्रह गर्छ। त्यसले नियमित तवरमा आमाबाबु र छोराछोरीबीच खुलस्त कुराकानी गरेर त्यस्तो प्रशिक्षण आत्मीय ढंगमा दिनुपर्छ भनी बताउँछ। आमाबाबुले छोराछोरीलाई सँगै हिंड्‌दा, घरमा बस्दा, सुत्दा र हर अवसरमा परमेश्‍वर र उहाँको वचनबारे सिकाउनसक्छन्‌।—व्यवस्था ६:६, ७; एफिसी ६:४.

बाइबलले त्यस्तो आध्यात्मिक कार्यक्रमको सुझाउ मात्र दिएको छैन। तपाईंलाई चाहिने विषयवस्तु पनि प्रदान गरेको छ। नत्रभने, माथि उल्लेख गरिएअनुसार छोराछोरीले सोध्ने प्रश्‍नको तपाईं कसरी जवाफ दिन सक्नुहुन्छ? बाइबलले ती प्रश्‍नहरूको जवाफ दिन्छ। जवाफ सुस्पष्ट अनि रोमाञ्चकारी छ। साथै, यस आशाविहीन संसारमा निकै आशा प्रदान गर्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा हो, बाइबलले प्रदान गर्ने बुद्धि छोराछोरीले बुझ्नसकेमा तिनीहरूले दृढ आधार पाउनेछन्‌, आजको गोलमाल संसारमा पनि विश्‍वसनीय डोऱ्‍याइ पाउनेछन्‌। तिनीहरूलाई ती सबै कुराहरू दिनुहोस्‌ अनि तिनीहरू अहिले र भविष्यसम्म फस्टाइरहनेछन्‌।

[फुटनोट]

a सेप्टेम्बर ८, १९९२ ब्यूँझनुहोस्‌! (अंग्रेजी) पृष्ठ २६-७ हेर्नुहोस्‌।

b विवाह र बालबच्चा हुर्काउने सन्दर्भमा पारिवारिक आनन्दको रहस्य पुस्तकमा बाइबल आधारित थुप्रै व्यवहारिक निर्देशन प्रदान गरिएको छ र यो पारिवारिक अध्ययनको रूपमा प्रयोग गर्न उपयुक्‍त छ। यो वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीले प्रकाशित गरेको पुस्तक हो।

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

कुनै खास काम गरेकोमा साँच्चै तारिफ गर्न मिल्ने अवसरहरू खोज्ने बानी बसाल्नुहोस्‌

[पृष्ठ ९-मा भएको पेटी]

छोराछोरीलाई फल्नफुल्न कसरी मदत गर्ने

• माया पाएको र मूल्यवान्‌ ठानिएको सुरक्षित वातावरण सृजना गर्नुहोस्‌

• नियमित तवरमा तिनीहरूको सराहना गर्नुहोस्‌। तोकेरै भन्‍नुहोस्‌

• ध्यान दिएर सुन्‍नुहोस्‌

• रीसले चूर हुँदा अरू कुनै कुरामा मन बहलाउनुहोस्‌

• सुस्पष्ट तथा आपसमा मेल खाने प्रतिबन्ध तथा सीमा तोक्नुहोस्‌

• बच्चाको आवश्‍यकताअनुसार अनुशासन दिनुहोस्‌

• छोराछोरीबाट अव्यवहारिक माग नगर्नुहोस्‌

• परमेश्‍वरको वचनको नियमित अध्ययनद्वारा आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नुहोस्‌

[पृष्ठ १०-मा भएको पेटी]

अरू कसैले भन्‍नुभन्दा धेरैअघि प्रदान गरिएको जानकारी

बाइबलका नीतिनियमहरूले पुरातन इस्राएलका मानिसहरूलाई पारिवारिक जीवनको आनन्द उठाउन मदत गरे अनि तिनीहरूको स्तर वरपरका राष्ट्रहरूको भन्दा उच्च थियो। इतिहासकार आल्फ्रेड एडरशीम यस्तो टिप्पणी गर्छन्‌: “हामीले परिवार र पारिवारिक जीवन भन्‍ने शब्दहरू जुन अर्थमा बुझेका छौं, त्यसअनुसार विचार गर्ने हो भने इस्राएलको सिमानाबाहिर परिवार वा पारिवारिक संरचना थियो भन्‍न पनि गाह्रै पर्छ।” उदाहरणका लागि, पुरातन रोमीहरूको व्यवस्थाले बुबाहरूलाई परिवारमाथि एकाधिकार दिएको थियो। तिनले आफ्ना छोराछोरीहरू दासको रूपमा बेच्न, मजदूरहरूको रूपमा काम गराउन वा निर्दयतापूर्वक मार्नसमेत सक्थे।

यहूदीहरूले आफ्ना छोरीहरूसित नम्र व्यवहार गरेको देख्दा केही रोमीहरू अनौठो मान्थे। वास्तवमा प्रथम शताब्दीका रोमी इतिहासकार टासिटसले यहूदीहरूप्रति घृणा व्यक्‍त गर्दै यसो भनेका थिए, तिनीहरूका प्रचलनहरू “अनुचित तथा घिनलाग्दा छन्‌।” तथापि, तिनले यो कुरा स्वीकारे: “तिनीहरू नवजात शिशुलाई मार्नु पनि हत्या ठान्छन्‌।”

बाइबलले त्योभन्दा उच्च स्तर प्रदान गरेको थियो। बाइबलले यहूदीहरूलाई छोराछोरीहरू अनमोल हुन्‌ र तिनीहरूलाई परमेश्‍वरले दिनुभएको सम्पत्ति सम्झेर त्यसैअनुरूप व्यवहार गर्नुपर्छ भनेर सिकाएको थियो। (भजन १२७:३) प्राप्त प्रमाणअनुसार थुप्रै यहूदीहरूले त्यस्तो सल्लाह पालन गरे। तिनीहरूको भाषामा समेत त्यो झल्किन्थ्यो। एडरशीमले भनेअनुसार हिब्रू भाषामा छोरा र छोरी बुझाउने बेग्लाबेग्लै शब्दहरू हुनुका साथै बाल्यावस्थाका विभिन्‍न अवस्था बुझाउने नौवटा शब्दहरू थिए। उदाहरणका लागि, स्तनपान गर्ने बालक र भर्खरै दूध छुटाएको बालकलाई बुझाउन बेग्लाबेग्लै शब्दहरू थिए। अलि हुर्किसकेका केटाकेटीलाई बुझाउन अर्कै शब्द थियो र त्यसले तिनीहरू दह्रो तथा बलियो हुँदैछन्‌ भनेर बुझाउँथ्यो। अनि हुर्किसकेका युवाहरूको लागि अर्कै शब्द थियो, जसको शाब्दिक अर्थ ‘आत्मनिर्भर हुनु’ हुन्थ्यो। एडरशीम अझ यस्तो टिप्पणी गर्छन्‌: “बाल्यावस्थाको हरेक चरणको सजीव विवरण दिने शब्द पत्ता लगाउन एक एक शब्द केलाएर हेर्ने व्यक्‍तिहरूले पक्कै पनि आफ्ना छोराछोरीहरूलाई असाध्यै माया गर्थे होलान्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने