चीता—बिरालोवर्गमध्ये सबैभन्दा छरितो
केन्याका ब्यूँझनुहोस्! संवाददाताद्वारा
घामले डढेको घाँसे चउरमा भतभती पोल्ने गर्मी थियो। हरिणको पीठको सुनौलो रंगको धर्काहरू गोधूलिका किरणमा टिलिक्क टल्किरहेका थिए, हामीले त्यसको बथानतिर दूरबीन फर्कायौं। त्यसको नजीकै, धमिराको देवलमाथि टुक्रुक्क बसेर अर्को प्राणीले आफ्ना छाउराछाउरीसँग टक लगाएर हरिणहरूलाई हेरिरहेका थिए। तिनीहरूले हरिणको बथानलाई सतर्कतासाथ नियालिरहेका थिए। अनि त्यसले हठात् आफ्नो जीउ तन्काएर बिस्तारै उठेर हरिणको बथानतर्फ लम्क्यो। आफ्नो आमा शिकारबाट फर्केर नआएसम्म कुर्नुपर्छ भनी छाउराछाउरीहरूलाई थाह भएझैं देखिन्थ्यो।
पोथ्रापोथ्री र लामा लामा घाँसहरूको झाडीमा लुक्दै त्यो चीताले आफ्नो पाइला अघि बढायो। त्यो रवाफिलो ढंगमा लमकलमक गर्दै हिंड्यो। आफ्नो शिकारको २०० मिटर जति नजीक पुगेपछि त्यो टक्क अडियो। बथानको एउटा हरिणले शिर उठाएर चीतातर्फ टुलुटुलु हेऱ्यो अनि फेरि आफ्नै धुनमा चर्न थाल्यो। चीता फेरि अघि लम्क्यो। अनि ती निष्फिक्री जनावरहरूमाथि झम्टिनुअघि ५० गज जति नजीक गएर खुम्चिएको स्प्रिङ छोडेझैं कुद्यो। हरिणको बथान तितरबितर भयो। तर आफूले ताकेको शिकारलाई चीताले खेद्न छोडेन। उग्रगतिमा दौडने हरिणलाई त्यसले चउरभरि खेद्यो।
आफ्नो शत्रुलाई अलमल्याउन त्राहित्राहि भएको हरिण टेढोमेढो गर्दै कुद्नसम्म कुद्यो। तर बिजुलीको रफ्तारमा कुद्ने चीताको सामु त्यसको छक्याउने चालको केही सीप लागेन। करिब एक मिटर जति नजीक पुगेपछि, आफ्नो शिकारलाई त्यसले अगाडिको हातले छिर्के-दाउ लगायो। तर त्यसको ताक अलि ठाउँमा परेन। आँखाको निमेषमै हरिणले सुइँकुच्चा ठोकी सकेको थियो
वाल्ल परेर चीता टक्क अडियो अनि भुइँमा थ्याच्च बसेर भोकै बसिरहेका आफ्ना छाउराछाउरीतिर नजर लगायो। छक्क परेर मैले मेरी श्रीमतीलाई पुलुक्क हेरें। किनकि हामीले चीताको तीब्र रफ्तार आफ्नै आँखाले हेर्न पायौं।
बिरालोवर्गमध्ये छरितो
चीता, हावाको रफ्तारमा दौडनसक्छ। कुद्न थालेको दुइ सेकेन्डभित्रमा नै अपत्यारिलो ढंगमा यो प्रतिघण्टा ६५ किलोमिटरको रफ्तारमा दौडनसक्छ। अनि प्रतिघण्टा ११० किलोमिटरको रफ्तारसम्म दौडनसक्छ! थलचरहरूमध्ये यो सबैभन्दा छिटो दौडने प्राणी हो। अरू प्राणीसँग तुलना गर्ने हो भने, धावक घोडा प्रतिघण्टा ७२ किलोमिटरसम्म दौडन्छ, त्यस्तै शिकारी कुकुर प्रतिघण्टा लगभग ६५ किलोमिटर दौडन्छ। तथापि, यस्तो द्रुतगतिमा चीता लामो दूरीसम्म दौडन सक्दैन।
चीताको शरीर पातलो, खुट्टा सलक्क परेका र नितम्ब लचकदार तथा घुमेको हुन्छ। यसको टाटेपाटे परेको लामो पुच्छरले चीतालाई तीब्र रफ्तारमा फनक्क फर्किदा सन्तुलन राख्न मदत दिन्छ। द्रुतगतिमा दौडिंदा यसले छ मिटरसम्म फट्को मार्नसक्छ। यसका अनौठो किसिमको खुट्टाले गर्दा यो उग्रगतिमा दौडनसकेको हो, किनकि यसको खुट्टा बिरालोको जस्तो नभई कुकुरको जस्तो छ। चीताले फट्को मार्न नंग्राहरूको प्रयोग गर्छ।
आकर्षक टाटेपाटे शरीर
चीताको मोहडा अरू प्राणीहरूको भन्दा भिन्न र सुन्दर हुन्छ। आँखादेखि मुखसम्म हल्का कालो रंगको दुइवटा धर्को कोरिएको हुन्छ जसले गर्दा यो दुःखी र उदास देखिन्छ। यसको शरीरमा मसिनो टाटेपाटे परेको कैलो रंगको भुत्ला हुन्छ भने पेटमा चाहिं सेतो हुन्छ। जन्मेको समयमा छाउराछाउरीहरू प्रायः कालो हुन्छन् र त्यसको घाँटीदेखि पुच्छरसम्म नीरंगी तथा फुस्रो रंगको लामा लामा बाक्ला भुत्ला हुन्छ।
चीताले किरकिर गर्ने वा चराचुरुंगी कराएझैं चींचीं गर्ने आवाज निकाल्छ। यो आवाज दुइ किलोमिटरको दुरीसम्म सुन्न सकिन्छ र त्यसले यही आवाजद्वारा आफ्ना छाउराछाउरीहरू र अरू चीतालाई सन्देश दिन्छ।
बिरालोवर्गको अन्य जनावर, सिंह र चितुवाको तुलनामा चीता कोमल र शान्त स्वभावको हुन्छ। सन्तोष भएको बेला यसले घरपालुवा बिरालोले जस्तै गुर्रगुर्र गर्ने गर्छ। मानिसहरूसँग यो सजिलैसित घुलमिल हुन्छ र यसलाई पाल्तु जनावरसरह राख्न सकिएको पनि छ। निस्सन्देह, चीता घरपालुवा बिरालो चाहिं होइन। लक्का भएपछि, यसको तौल ४५ किलोग्राम वा त्योभन्दा बढी हुनसक्छ। यसका तीखातीखा दाँत र नंग्राहरूले गर्दा यो खतरनाक हुन्छ। त्यसैले यससँग खुबै होसियार हुनुपर्छ।
जन्मँदा चीतामा शिकार गर्ने खुबी हुँदैन। त्यसलाई शिकार गर्न माउले सिकाउनुपर्छ। छाउराछाउरीलाई थुनामा राखेर पाल्यो भने, चाल मारेर शिकार खेद्ने क्षमता त्यसमा विकसित हुनसक्दैन। माउ र छाउराछाउरीहरू एकसाथ आहार खाँदा, सिंहहरूजस्तो ङ्यारङ्यारङुरङुर र बाझाबाझ नगरेर तिनीहरूले अमनसँग खान्छन्। चीताले सुखा इलाकाहरूमा रसिलो तरबुजासमेत खाने गरेको पाइएको छ।
अफ्रिकाको वन्यजन्तु संरक्षणका चीताहरू कुनै डरबिना नै घुमफिर गरेको देखेर पर्यटकहरू छक्क पर्छन्। लक्का चीता अक्सर पर्यटकहरूको मोटरको छहारीमा आएर आराम गर्छन्। साथै कारमाथि फुत्रुक्क चढेर चकित भई ऐनाबाट भित्र हेर्छ र यात्रुहरूलाई डरले आङ सिरिंङ पार्छ।
चीतालाई आमाबाबुले हेरचाह गर्छन्
माउ चीताले एक बेतमा छवटासम्म छाउराछाउरीहरू ब्याउँछे। त्यसले आफ्ना छाउराछाउरीलाई कठिन परिस्थितिमा पनि जोगाउँछे र केही महिनासम्म तिनीहरूलाई एक ठाउँदेखि अर्को ठाउँमा सार्दै लुकाएर राख्छे। तथापि, आफ्नो बच्चालाई सुरक्षित राख्न चीताले लाख प्रयत्न गरे तापनि वयस्क भइञ्जेलसम्म तीनवटा जति मात्र बाँच्छ।
छाउराछाउरीको हेरचाह गर्नु माउ चीताको निम्ति चानचुने कुरा होइन। किनकि तिनीहरू बलवान् हुन्छन् र जतिखेर पनि खेलिरहन चाहन्छन्। विश्राम गरिरहेको माउले यताउति पुच्छर घुमाउँदा छाउराछाउरीहरू चाल मारेर त्यसमा झम्टन्छन्। एकअर्कासित कुस्ताकुस्ती, टोकाटोक र खेदाखेद गर्नमै भुल्लिंदा तिनीहरूलाई कुनै पनि समयमा हमला गर्न सक्ने भक्षकहरूको पत्तै हुँदैन।
शिकारीहरूलाई नै शिकार गरिन्छ
जंगलमा सिंह, चितुवा र हुँडारलगायत अन्य थुप्रै चीताका दुश्मनहरू हुन्छन्। तथापि, यसको सबैभन्दा ठूलो दुश्मन चाहिं मान्छे नै हो। टाटेपाटे परेको यसको सुन्दर छाला लुगा र गलैंचा बनाउन तथा सजाएर राख्नको निम्ति धेरै मूल्यवान् ठानिन्छ। उग्रगतिमा दौडने यो प्राणीलाई पक्रिएको र शिकार गर्न सिकाइएको पनि छ। थुनामा राखेर पाल्दा बच्चा नजन्माउने भएकोले कुनै ठाउँमा पनि चीता आनन्दसँग बस्न पाएको छैन। सुहाउँदो बासस्थानको अभावले पनि चीतालाई बाँच्न धौधौ पारिरहेको छ। त्यसैले, पूर्वी अफ्रिकामा अहिले वन्यजन्तु संरक्षणहरूमा मात्र चीता पाइन्छ।
सन् १९०० मा ४४ देशहरूमा अनुमानित १,००,००० चीताहरू थिए। हाल २६ देशहरूमा १२,००० जति मात्र छन्, तीमध्ये धेरैजसो चाहिं अफ्रिकामा छन्। टाटेपाटे परेको यो सुन्दर चीतालाई जोगाउन हर प्रयास गरिंदैछ, तर पनि यसको संख्या दिनानुदिन घट्दै गइरहेछ।
कसै कसैको विचारमा चीतालाई लोप हुनदेखि जोगाउन गाह्रो होला। तथापि, ‘पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर्ने,’ हेरचाह गर्ने र सुरक्षा गर्ने दायित्व परमेश्वरले मानिसलाई दिनुभएको छ। यो दायित्वलाई मानिसले पूर्णतः पालन गर्ने समय नजीकै आइपुगेको छ भनेर जान्न पाउनु आश्वासनदायी कुरा हो। (उत्पत्ति १:२८) त्यो समय आएपछि भने बिरालोवर्गका सबै मनमोहक प्राणीहरू निश्चय नै यस पृथ्वीमा सधैंभरि बाँच्नेछन्। त्यसमा चीताहरू पनि हुनेछन्।