कीराहरू उड्नसक्नुको रहस्य
कीराहरू गह्रौं शरीर लिएर पातलो पखेटाको भरमा कसरी अकाशिएर उड्न सकेका होलान् भनी धेरैअघिदेखि वैज्ञानिकहरूले सोच्दै आएका छन्। यी साना प्राणीहरूले उडानसम्बन्धी प्रचलित वैज्ञानिक सिद्धान्तहरूलाई नै चुनौती दिएको जस्तो देखिन्छ। असम्भव जस्तो देखिने यो उडान कार्य कीराहरूले कसरी गर्छन्, बेलाइतको क्याम्ब्रिज विश्वविद्यालयका अन्वेषकहरूले अहिले पत्ता लगाएका छन्।
कीराहरू कसरी उड्छन्, सो अध्ययन गर्न वैज्ञानिकहरूले पुतलीको जीउमा सुतीको धागो बाँधेर त्यसलाई विण्ड टनेलमा राखे। अनि तिनीहरूले त्यस टनेलभित्र अहानिकारक धूँवा हाले र पुतलीले पखेटा चलाउँदा कतातिर धूँवा जान्छ त्यो याद गरे। त्यसपछि, तिनीहरूले सकली पुतलीले भन्दा १०० गुणा बिस्तारै पखेटा चलाउने १० गुणा ठूलो कृत्रिम पुतली बनाए र कीरा उड्नसक्नुको रहस्य सजिलैसित पत्ता लगाए। तिनीहरूले के पत्ता लगाए भने, पुतलीले तलतिर पखेटा चलाउँदा पखेटाको फेदमा भोटेक्स वा हावाको भुँवरी चल्दो रहेछ। फलतः पखेटामाथि हावाको चाप कम भएकोले पुतली हावामा उचालिन्छ। भुँवरी चल्न छाड्दा त्यो पुतली उचालिन नसकेर भुइँमा सुइँय्या झर्छ। तर त्यसो हुँदैन किनभने हावाको भुवँरी सोझै पखेटाको किनारा हुँदै पखेटाको टुप्पोसम्म जान्छ अनि तलतिर पखेटा चलाउँदा पुतलीको डेढ गुणा ओजन बराबरको उचालिने काम हुन्छ र त्यो सजिलै उड्नसक्छ।
त्रिकोण आकारको पखेटा भएको हवाईजहाजले (युनानी अक्षर ▵ जस्तै पखेटा भएकोले त्यसो भनिएको) पखेटाको टुप्पामा हावाको भुँवरी उत्पन्न गर्छ र उड्छ भनी उडानसम्बन्धी इञ्जिनियरहरूले जानिसकेका थिए। तर अहिले, कीराहरूले पखेटा तलमाथि चलाउँदा हावाको भुँवरी चल्छ र त्यसको भरमा कीराहरू उड्छन् भनेर तिनीहरूलाई थाह छ। अनि तिनीहरू यो आविष्कारलाई हवाईजहाजको पंखा र हेलिकप्टर बनाउने प्रयोगमा ल्याउन अध्ययन गर्न चाहन्छन्।