प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. १६-१७
  • जीवजन्तु निदाउनुका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवजन्तु निदाउनुका विशेषताहरू
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सुताहा जन्तुहरू
  • ‘उड्‌दा उड्‌दै’ निदाउने?
  • दिउँसो पानीमुनि सुत्नु
  • एउटा आँखा खोल्नु
  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. १६-१७

जीवजन्तु निदाउनुका विशेषताहरू

केन्याका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

सुत्नु—यस आरामदायी अवस्थामा हामी जीवनको एक तिहाइ समय बिताउँछौं। सुत्नु भनेको समयको फजुल खर्च होइन। यसले त अनेकन्‌ शारीरिक तथा मनोवैज्ञानिक आवश्‍यकताहरू पूरा गर्छ। तसर्थ, सुत्नु भन्‍ने कुरालाई परमेश्‍वरले दिनुभएको एउटा अनमोल वरदान मान्‍न सकिन्छ।—भजन १२७:२ तुलना गर्नुहोस्‌।

सुत्ने प्रक्रियाले जीवजन्तुको संसारमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु कुनै छक्कलाग्दो कुरा होइन। वास्तवमा, थुप्रै जीवजन्तुहरू आकर्षक, कहिलेकाहीं रमाइला र अक्सर अनौठो ढंगमा सुत्ने गर्छन्‌। केही उदाहरणहरू हेरौं न।

सुताहा जन्तुहरू

आफ्ना लामा लामा नंग्राहरू अकासतिर फर्काएर अफ्रिकाको मध्याह्नको उखरमाउलो गर्मीमा उत्तानो परेर सुतिरहेको सिंह देख्दा त्यो डरलाग्दो प्राणी पनि घरपालुवा बिरालोसरह पाल्न सकिन्छ जस्तो लाग्छ। तथापि, बाहिरी रूपरंग भ्रमात्मक हुन्छ। सत्रौं शताब्दीका लेखक थोमस क्याम्पियनले यसो लेखे: “निदाएको सिंह उठाउने साहस कसले गर्ला र?” हो, शिकारी जीवन यापन गर्न शक्‍तिशाली सिंहसमेत दिनमा सालाखाला २० घण्टा सुत्नुपर्छ।

ट्‌वाटारा अर्थात्‌ न्यु जील्याण्डमा पाइने छेपारोजस्तो अल्छे प्राणीलाई विचार गर्नुहोस्‌। करिब छ महिनासम्म त यो सुप्त अवस्थामा रहन्छ। भनौं भने, ट्‌वाटारा यत्ति अल्छे हुन्छ कि आहार चपाउँदा चपाउँदै भुसुक्क निदाउँछ! तर यसरी सुत्नुका फाइदाहरू पनि छन्‌। किनकि वैज्ञानिकहरूको अनुमानअनुसार कुनै कुनै ट्‌वाटारा लगभग १०० वर्षसम्म बाँच्नसक्छ!

कुम्भकर्ण नामक काल्पनिक प्राणीजस्तै अन्य प्राणीहरू पनि लामो समयावधिसम्म सुत्छन्‌। थुप्रै प्राणीहरू त यसरी सुतेरै जाडोबाट बच्छन्‌। सुप्त अवस्थामा पर्नुअघि ती प्राणीहरूले आफ्नो शरीरमा निकै बोसो जम्मा गर्छन्‌ र लामो समयावधिसम्म सुत्दा त्यसैबाट भरणपोषण हुन्छ। तथापि, सुप्त अवस्थामा रहने प्राणीहरू कठांग्रिने जाडोबाट कसरी बच्छन्‌? प्राणीजगत्‌ (अंग्रेजी) पुस्तकले बताएअनुसार, मस्तिष्कले जीवजन्तुको रगतमा रासायनिक परिवर्तन गरेर प्राकृतिक हिमप्रतिरोधक क्षमता उत्पन्‍न गर्छ। तिनीहरूको शरीरको तापक्रम घटेर कठांग्रिनुअघि नै हृदयगति सामान्यभन्दा सुस्त बन्छ र ढिलो ढिलो सास फेर्छ। फलतः गहिरो निद्राले छोप्छ र अनेकौं हप्तासम्म निद्रैमा परिरहन्छ।

‘उड्‌दा उड्‌दै’ निदाउने?

कुनै कुनै जीवजन्तुहरू त एकदमै अनौठो ढंगमा सुत्छन्‌। सुटी टर्न भनिने समुद्री चरोलाई विचार गर्नुहोस्‌ त। सुटी टर्नको बचेरा गुँड छोड्‌नेबित्तिकै समुद्रतिर उड्‌छ र त्यसपछि केही वर्षसम्म नरोकिकन उडिरहन्छ! त्यसका प्वाँखले पानी छेक्नसक्दैन साथै पानीमा बस्न अन्य टर्नहरूको जस्तो खुट्टामा जालो पनि हुँदैन। अतः त्यसले कहिल्यै पनि समुद्रमा डुबुल्की मार्दैन। त्यसले पानीमाथिबाटै स-साना माछाको शिकार गर्छ।

त्यसोभए त्यो कतिखेर सुत्छ त? पानी, आहार र उत्तर अमेरिकाका शिकारी पंक्षीहरू (अंग्रेजी) नामक पुस्तक यसो भन्छ: “तिनीहरूका प्वाँख पानीले भिजेर निथ्रुक्कै हुने हुनाले तिनीहरू समुद्रमा पक्कै पनि सुत्दैनन्‌ होला। केही वैज्ञानिकहरूको भनाइअनुसार, ती पंक्षीहरू उड्‌दा उड्‌दै सुत्नसक्छन्‌।”

दिउँसो पानीमुनि सुत्नु

के माछाहरू सुत्छन्‌ र? द वर्ल्ड बूक इनसाइक्लोपीडिया-अनुसार (अंग्रेजी) मेरुदण्ड भएका प्राणीहरूमध्ये “केवल घस्रने प्राणी, पंक्षी र स्तनपायी प्राणीहरूको मस्तिष्क तरंग हेरफेर हुन्छ र तिनीहरू राम्ररी सुत्छन्‌।” तैपनि, माछाले सुतेसरह नै विश्राम लिन्छन्‌। यद्यपि, धेरैजसोले आँखा भने बन्द गर्न सक्दैनन्‌।

कुनै कुनै माछा कोल्टे परेर सुत्छ भने कुनै चाहिं उँधोमुन्टो वा ठाडै सुत्छ। फ्लाउन्डरजस्तो चेप्टा माछाहरू जागा हुँदा समुद्रको पींधमा बस्छन्‌। सुत्दा चाहिं समुद्रको पींधदेखि केही सेन्टिमिटर मास्तिर तैरिरहन्छ।

रंगीन प्यारोट माछाले त सुत्नुअघि एउटा गजबकै काम गर्छ: यसले “एक किसिमको ओढ्‌ने” ओढ्‌छ। विश्राम गर्ने समय भएपछि यसले श्‍लेष्मा अथवा चिप्लो पदार्थ उत्पन्‍न गर्छ। यो पदार्थले त्यसको शरीर चारैतिरबाट ढाक्छ। त्यसको उद्देश्‍य? प्रकृति लेखक डग स्टीवर्ट भन्छन्‌, “सम्भवतः शत्रुले [त्यसलाई] चिन्‍न नसकोस्‌ भनेर हो।” ब्यूँझेपछि चिप्लो पदार्थको ओढ्‌नेबाट त्यो बाहिर निस्कन्छ।

त्यसैगरि सीलहरूले पनि सुत्नुअघि एउटा चाखलाग्दो काम गर्छ। यिनीहरूले आफ्नो कण्ठ बेलुनझैं फुलाउँछन्‌ र आफैंआफ जीवनरक्षक ज्याकेट बनिन्छ। फलतः पानीमा ठाडो परेर तैरिरहन्छन्‌ र सास फेर्न नाकको टुप्पो पानीबाहिर निकाल्छन्‌।

एउटा आँखा खोल्नु

निस्सन्देह, जंगलमा सुत्ने जनावरलाई भक्षकहरूको डर हुन्छ। अतः थुप्रै प्राणीहरू एउटा आँखा उघारेर नै सुत्छन्‌। मस्त निद्रामा पनि तिनीहरूको मस्तिष्क सजग हुन्छ र कुनै पनि खतरायुक्‍त आवाजप्रति तिनीहरूलाई चेतनशील बनाउँछ। अन्य प्राणीहरू भने निरन्तर यताउति निरीक्षण गरेर आफूलाई सुरक्षित राख्छन्‌। उदाहरणका लागि, हूलमा सुत्ने पंक्षीहरूले खतराजनक स्थिति जाँचबुझ गर्न समय समयमा एउटा आँखा उघारेर यताउति चियाउँछन्‌।

त्यसैगरि अफ्रिकाका हरिण वा जेब्राहरूले पनि विश्राम लिंदा एकअर्कालाई पालै पालो पहरा दिन्छन्‌। कुनै समय चाहिं सतर्क हुँदै टाउको ठाडो पारेर सबै भुइँमा लमतन्‍न पर्छन्‌। समय समयमा एउटा कोल्टे परेर हातगोडा भुइँमा पसार्दै भुसुक्क निदाउँछ। केही समयपश्‍चात्‌ अर्कोले फेरि त्यसै गर्छ।

त्यसरी नै हात्ती पनि एकै बथान भई सुत्छन्‌। तथापि, वयस्कहरू चाहिं ठिङ्‌ग उभिएरै फुस्स निदाउँछन्‌, छिन छिनमा आँखा खोल्छन्‌ अनि खतराजनक स्थिति बुझ्न नाङ्‌लोजस्तो कान ठाडो बनाएर फिंजाउँछन्‌। ती वयस्क हात्तीहरूको सुरक्षामा छावाहरू बेफिक्रीसँग लम्पसार परेर मस्त निदाउँछन्‌। आफ्नो पुस्तक हात्तीबारे संस्मरणहरू-मा (अंग्रेजी) लेखिका सिन्थीया मोस हात्तीको बथान सुतेको दृश्‍य स्मरण गर्छिन्‌: “पहिला छावाहरू, त्यसपछि वृद्धहरू र अन्ततः वयस्क ढोईहरू भुइँमा ढसमस्स बसेर निदाए। जूनको टहटह उज्यालोमा तिनीहरूलाई बडे बडेमानका खरानी रंगका फुस्रो ढुंगाहरूझैं देखिन्थ्यो। तर तिनीहरू घुरेको गहिरो तथा शान्त आवाजले भने ती ढुंगाहरू होइनन्‌ भन्‍ने आभास दिन्थ्यो।”

जीवजन्तुको सुत्ने बानीबारे अझै धेरै ज्ञान लिनु बाँकी नै छ। तर हामीले जानेका थोरै कुराहरूलाई नै विचार गर्दा, ‘सबै कुरा सृष्टि गर्नुहुनेको’ आश्‍चर्यलाग्दो बुद्धिबारे मनन गर्न तपाईं उत्प्रेरित हुनुहुन्‍न र?—प्रकाश ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने