प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. १८-१९
  • जुत्ताले दुखायो, के गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुत्ताले दुखायो, के गर्ने
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ठ्याक्क मिलेको जुत्ता, फेशन र खुट्टा
  • जुत्ता किन्दा ध्यान दिनुपर्ने कुराहरू
  • के तपाईंको जुत्ता साँच्चै आरामदायी छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. १८-१९

जुत्ताले दुखायो, के गर्ने

“मेरो जुत्ताले त मलाई माऱ्‍यो नि!” स्पष्टतया, यो असाध्यै बढाइचढाइ गरेर भनेको हो भन्‍ने कुरामा तपाईंलाई कुनै शंका छैन होला। यद्यपि, संयुक्‍त राज्यमा जुत्ताले दुखाउने समस्या असाध्यै गम्भीर भइसकेको छ जसले गर्दा खुट्टा रोगका हजारौं विशेषज्ञहरू व्यस्त छन्‌।

आफूले १४ वर्षको दौडान गरेका २,००० भन्दा बढी शल्यचिकित्सा समीक्षा गरेपश्‍चात्‌ हाड शल्यचिकित्सक डा. माइकल कफ्लीनले एउटा आश्‍चर्यजनक कुरा पत्ता लगाए। तिनी भन्छन्‌, “पत्याउनै नसकिने कुरा त के छ भने उक्‍त शल्यचिकित्सा प्रायः सबै नै आइमाईहरूका निम्ति गर्नुपरेको थियो।” किन विशेषगरि आइमाईहरूलाई जुत्ताले दुखाउने गर्छ?

ठ्याक्क मिलेको जुत्ता, फेशन र खुट्टा

जम्मा ३५६ जना आइमाईहरूसँग लिइएको सर्वेक्षणमा के पाइयो भने हरेक १० जनामध्ये ९ जनाले त प्रायः एकदमै कसिलो जुत्ता लगाउँछन्‌! आइमाईहरूका जुत्ताको बनावट पनि समस्याको एउटा कारण हो। हाड शल्यचिकित्सक फ्रान्सेस्का थम्सन बताउँछिन्‌, “सानो हिल र अगाडिपट्टि खुकुलो बनाउन मिल्ने जुत्ताको साँचो त जुत्ता उत्पादकहरूले प्रयोग गर्नै छाडे।”a

फलतः धेरै आइमाईहरूले जुत्ता नाप्दा के पाउँछन्‌ भने अगाडिपट्टि आरामदायी भए हिल असजिलो हुने; हिल आरामदायी भए अगाडिपट्टि कसिने। कतिले चाहिं खुकुलो हिल र अगाडि कसिएको जुत्ता मन पराउँछन्‌ तर त्यस्तो जुत्ता पाइलैपिच्छे फुस्किने हुन्छ।

जुत्ताको अगाडिपट्टि सानो बनाएर औंलाहरू रहने भागलाई कसिलो पाऱ्‍यो भने झन्‌ असजिलो हुन्छ। तर डिजाइनरहरूले हिललाई केही सेन्टिमिटर अग्लो बनाउँछन्‌। अग्लो हिल फेशनदार त मानिन्छ तर त्यसले गर्दा शरीरको पूर्ण भार खुट्टाका औंलाहरूको हाडमा पर्न जान्छ। अनि पहिल्यै कसिलो भइसकेका औंलाहरू रहने भागनेर खुट्टा कोचिन्छ। खुट्टा रोग विशेषज्ञ डा. डेविड ग्यारेट भन्छन्‌, “अग्लो हिल भएको आरामदायी जुत्ता त हुँदै हुँदैन।” कसै कसैको भनाइअनुसार, अग्लो हिलले खुट्टा, गोलीगाँठो, पिंडौला, घुँडा र नितम्बमा क्षति पुऱ्‍याउँछ। त्यस्तो हिलले खुट्टाका मांशपेसी र टेन्डन्‌ छोटो बनाउँछ। यसो भएको खण्डमा धावकहरू गम्भीर चोटपटकको शिकार बन्‍नसक्छन्‌।

दुखाउने जुत्ता लगाइरहँदा आइमाईका खुट्टा सधैं नै दुखिरहन्छ। वास्तवमा, वर्षौंको दौडान अर्थात्‌ वयस्क भइञ्जेलसम्म पनि खुट्टाको अघिल्लो भाग मात्र बढ्‌छ। कुर्कुच्चा भने बढ्‌दैन। डा. थम्सन भन्छन्‌, “कुर्कुच्चामा एउटा मात्र हाड हुन्छ। अनि त्यो १४ वर्षको उमेरमा जत्रो थियो ८४ वर्ष पुग्दा पनि त्यत्रै हुन्छ।” यसले गर्दा आइमाईले कुर्कुच्चादेखि औंलासम्म ठिक्क मिल्ने जुत्ता पाउन निकै गाह्रो हुन्छ।

जुत्ता किन्दा ध्यान दिनुपर्ने कुराहरू

आइमाईहरूका निम्ति ठ्याक्क मिल्ने र फेशनदार जुत्ता पाउँदै नपाइँने हुनाले खुट्टा नदुखाउन के गर्नसक्छन्‌? यसको निम्ति जुत्ता पसलदेखि नै ध्यान दिन सुरु गर्नुपर्छ। केही विशेषज्ञहरू निम्न सुझाउ दिन्छन्‌:

● साँझपख जुत्ता किन्‍नुहोस्‌ किनकि त्यस बेला तपाईंको खुट्टा अलिक फुकिएको हुन्छ।

● एउटा मात्र होइन, दुइटै जुत्ता लगाएर हेर्नुहोस्‌।

● आरामदायी हिल तथा औंलाहरू रहने भागको लम्बाइ, चौडाइ तथा उचाइ ठीक छ या छैन, पक्का गर्नुहोस्‌।

● पसलमा निकै बाक्लो कार्पेट ओछ्याइएको छ कि विचार गर्नुहोस्‌। किनकि त्यसले गर्दा टनटन कसिने जुत्ता पनि छिनभरको लागि आरामदायी महसुस हुन्छ।

● टलक्क टल्किने कडा छालाको जुत्ता वा सिन्थेटिक जुत्ता नकिन्‍नुहोस्‌। यस्ता जुत्ता नरम छाला वा भित्रपट्टि मुलायम वस्तु भएजस्तो हिंड्‌न सजिलो हुँदैन।

● अग्लो हिल भएको जुत्ता किन्‍नुहुन्छ भने पछि प्याड लगाउन छालाको इनसोल भएको हेर्नुहोस्‌। अग्लो हिल भएको जुत्ता धेरै बेरसम्म नलगाउनुहोस्‌, प्रायजसो होचो हिल भएको जुत्ता नै लगाउनुहोस्‌।

उक्‍त सुझाउहरूबाहेक, किनेको समयमा जुत्ता आरामदायी हुनुपर्छ भन्‍ने कुरालाई सधैं ध्यानमा राख्नुहोस्‌। जुत्ता लगाएपछि खुकुलो हुन्छ भनी सबैले ठान्छन्‌। तर त्यसो हुँदैन। डा. कफ्लीन यस्तो चेताउनी दिन्छन्‌, “कसिलो जुत्ता पनि लगाएपछि त फुकिएर ठिक्क भइहाल्छ नि भनेर पसलेले तपाईंलाई कहिल्यै फकाउन नदिनुहोस्‌। त्यस्ता जुत्ताले तपाईंको खुट्टा पक्कै दुखाउनेछ।”

तर अगाडि कसिलो र हिल चाहिं आरामदायी अथवा अगाडि आरामदायी र हिल चाहिं खुकुलो भएको मात्र पाइन्छ भने नि? कुन चाहिं सजिलो लाग्छ, त्यो तपाईंले नै छान्‍नुपर्छ भनी खुट्टा रोग विशेषज्ञ डा. अनु गोएल बताउँछिन्‌। तिनी भन्छिन्‌, “यसको निम्ति दुइ तरिकाहरू छन्‌। प्रथमतः अगाडिपट्टि फुकिएको जुत्ता किन्‍न सक्नुहुन्छ र आरामदायी हिल बनाउन प्याड लगाउन सक्नुहुन्छ। . . . दोस्रो कुरा चाहिं मिलेको हिल भएको जुत्ता किन्‍नु र पछि अगाडिपट्टि तन्काउनु हो। तर साधारणतया छालाको जुत्तामा मात्र यस्तो गर्न सकिन्छ।”

थुप्रै आइमाईहरू प्रतिदिन सालाखाला १५ किलोमिटर हिंडछन्‌। अतः तिनीहरूले आफ्नो जुत्ताप्रति खूबै विचार पुऱ्‍याउनुपर्छ। अमेरिकन हेल्थ नामक पत्रिका भन्छ, “खुट्टालाई निकै ध्यान दिएर, विशेषगरि ठिक्क मिल्ने जुत्ता लगाएर खुट्टा दुख्ने थुप्रै समस्याहरूबाट तपाईं बच्न सक्नुहुन्छ।”

[फुटनोट]

a “जुत्ताको साँचो” भनेको खुट्टा आकारको आकृति हो जसबाट जुत्ताको आकार ढालिन्छ।

[पृष्ठ १८-मा भएको पेटी]

खुट्टासम्बन्धी सामान्य चार समस्याहरू

सूज। सूज भनेको बूढी औंलामुन्तिर हुने गाँठो हो। यो वंशानुगत रोग होइन भने कसिलो वा अग्लो हिल भएको जुत्ताले गर्दा हुनसक्छ। कुनै तातो कुरा अथवा बरफ प्रयोग गरेर दुखाइ अलि कम गर्न सकिन्छ। तर स्थायी निवारणको लागि शल्यक्रिया गर्नैपर्छ।

औंलाहरू बांगिनु। अगाडिपट्टि खुट्टा खाँदिने जुत्ताले गर्दा औंलाहरू बांगिन्छन्‌। यस्ता बांगिएका औंलाहरू ठीक गर्न शल्यक्रिया आवश्‍यक पर्नसक्छ।

औंलाहरूमा गाँठो हुनु। यो रगडिएर अनि भारको कारण औंलाहरूमा हुने शंकुआकारको गाँठो हो। कहिलेकाहीं साँगुरो जुत्ताले गर्दा यस्तो हुन्छ। घरेलु औषधीले क्षणिक आराम प्रदान गर्नसक्छ। तर यस्ता गाँठो आएका औंलाहरू रगडिरहनबाट जोगाउन प्रायः शल्यक्रिया गर्नुपर्छ।

ठेलाहरू। खुट्टालाई घरीघरी रगडिनबाट जोगाउने यो मृत छालाको बाक्लो पाप्रा हो। तातो पानी र इप्सम नुनमा भिजायो भने त्यो नरम बन्‍नसक्छ। तर त्यसलाई कहिल्यै नकाट्‌नुहोस्‌, नत्र संक्रमण हुनसक्छ।

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

The Complete Encyclopedia of Illustration/J. G. Heck

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने