प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. १०-१२
  • के तपाईं आफ्नो कामदेखि वाक्क हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आफ्नो कामदेखि वाक्क हुनुहुन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उत्साही हुनुहोस्‌
  • यथाशक्य गर्नुहोस्‌
  • आफ्नो कामलाई “सिंगार्नुहोस्‌”
  • सिक्न नछोड्‌नुहोस्‌
  • केही अन्तिम सुझाउहरू
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. १०-१२

के तपाईं आफ्नो कामदेखि वाक्क हुनुहुन्छ?

तपाईं सम्भवतः दिनको आठ घण्टा काम गर्नुहुन्छ होला। त्यसोभए, त तपाईंलाई बित्यासै परेको होला! वाक्क लाग्दा लाग्दै पनि आठ आठ घण्टा काम गर्ने? हुन पनि २० औं शताब्दीमा कामहरू प्रायः वैरागलाग्दा नै छन्‌ जसले गर्दा कामदारले आफ्नो काममा त्यति गर्व गर्न पाउँदैन।

अतः आफ्नो काम रमाइलो बनाउनुभयो भने फाइदा तपाईंलाई नै हुन्छ। तपाईंले कामबाट सन्तुष्टि पाउनुका साथै भविष्यमा गर्नुहुने अन्य कामहरूलाई पनि बढी चाखलाग्दो बनाउने रहस्य सिक्नुहुनेछ। त्यसोभए, आउनुहोस्‌ कामलाई कसरी चाखलाख्दो बनाउन सकिन्छ, हेरौं।

उत्साही हुनुहोस्‌

कोही कोही विशेषज्ञहरूले काम रमाइलो लागेजस्तै गरी गर्न सुझाउ दिन्छन्‌। के थाह, त्यस्तो मनोवृत्ति राख्नुभएको खण्डमा तपाईंलाई साँच्चै रमाइलो लाग्छ कि।

‘तर म कहिल्यै उत्साही भएर काम गर्न सक्दिनँ!’ तपाईं भन्‍नु होला। तपाईंले एकनासले काम गरेको गरेकै गर्नुपर्ला, जस्तै पाट-पुर्जा जोड्‌ने काम वा धेरै लामो समयदेखि त्यही काम गर्दै आएकोले हुनसक्छ तपाईंलाई त्यस काममा नयाँ जोस देखाउन असम्भव लाग्छ। तथापि, मुस्कुराउने र सीधा उठ्‌ने जस्ता साधारण कुराहरूले पनि तपाईंलाई उत्साही भएर काम गर्न मदत दिनसक्छ।

आफूले गरिरहेको काममा तनमन लगाउँदा पनि मदतकारी हुनसक्छ। स्वचालित यन्त्र जस्तो नहुनुहोस्‌। अनि खाजा खाने समय, बिदाहरू वा अन्य कुनै कामबारे सोच्दै काम गर्ने नगर्नुहोस्‌। अक्सर आफूले गरिरहेको काममै पूर्णतया ध्यान लगाउनु नै बुद्धिमानी हुनेछ। नतिजा? तपाईंलाई काम रमाइलो लाग्नसक्छ र त्यसपछि त समय बितेको चालै पाउनुहुन्‍न।

तपाईं आफूलाई मनपर्ने काममा व्यस्त हुनुहुन्छ भने स्वाभाविकतः समय बितेको चालै पाउनुहुन्‍न। आफूलाई साधारणतया झर्को लाग्ने काममा पनि जबरजस्ती ध्यान दिने बानी बसाल्नुभयो भने त्यस्तै नतिजा पाउन सक्नुहुन्छ।

यथाशक्य गर्नुहोस्‌

सकेसम्म राम्रो गर्न खोज्नुहोस्‌। त्यसो गर्दा तपाईंले कामबाट सन्तुष्टि पाउन सक्नुहुन्छ। यो सल्लाह, पक्कै पनि काम झर्को लाग्ने बित्तिकै आनेकाने नगरी काम सुरुक्क छोडिदिए हुन्छ भन्‍ने लोकप्रिय विचारको विपरीत छ। तर लापर्बाही गर्ने, काम पन्छाउने र प्रयासै नगर्ने गर्दा तपाईंलाई झनै आलस्य महसुस हुनसक्छ र झनै चिन्तित र थकित होइन्छ। कामबाट सधैं लखतरान भएजस्तो, चिन्तित र थकित भएर फर्किने व्यक्‍ति काममा लगनशील नभएकोले कहिलेकाहीं त्यसो भइरहेको हुनसक्छ।

बाइबलअनुसार, कुनै काम परिश्रम साथ गर्दा फुर्सतको समय पनि आनन्ददायी हुन्छ। “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढ़ी केही छैन।” (उपदेशक २:२४) कसैलाई यो असाध्यै पुरानो उक्‍ति जस्तो लाग्ला तर अरू कतिपयले भने यो चिरकालीन सिद्धान्त लागू गरिरहेका छन्‌। साँच्चै, आफ्नो परिश्रमको फलको आनन्द उठाउनुभन्दा उत्तम कुरा अरू “केही छैन” भनेर तिनीहरू सहमत छन्‌। काम गर्दाको मजा (अंग्रेजी) नामक पुस्तकले यसरी स्वीकार्छ: “राम्ररी काम गर्दा भित्रैदेखि सन्तुष्टि महसुस हुन्छ।”

अतः सकेसम्म राम्रो गर्न परिश्रम गर्नुहोस्‌ र सम्भवतः त्यसो गर्दा अझ स्फूर्ति महसुस गर्नुहुनेछ। झारा तिर्ने हिसाबले मात्र काम गर्नुभएन भने तपाईंले अझ बढी आनन्द महसुस गर्नसक्नुहुन्छ। महत्त्वपूर्ण कामहरू पहिला गर्नुहोस्‌, त्यसो गर्दा तपाईंले खाजा खाने समय र बिदाहरूमा रमाइलो गर्न सक्नुहुनेछ अनि तपाईंको हालत कामकुरो पन्छाउँदै बस्ने मान्छेको जस्तो हुनेछैन।—एस्तर १०:२ तुलना गर्नुहोस्‌; रोमी १२:११; २ तिमोथी २:१५.

अरूसित प्रतिस्पर्धा गर्नुको सट्टा आफैलाई जित्ने प्रयास गर्नुहोस्‌। (गलाती ६:४) नयाँ स्तर, नयाँ लक्ष्यहरू बनाउनुहोस्‌। उन्‍नति गर्दै जानुहोस्‌। सधैं एउटै प्रकारको सिलाइ मात्र गर्नुपर्ने काम कसैलाई अत्यन्तै अल्छीलाग्दो लाग्ला तर एउटी स्त्रीले आफ्नो कामलाई रमाइलो बनाउन एउटा कुरा गरिन्‌। तिनले आफ्नो घण्टा घण्टाको कामको हिसाब राखिन्‌। अनि अझ धेरै गर्ने प्रयास गरिन्‌। तिनलाई आफ्नो काम साँच्चै रमाइलो लाग्छ किनभने तिनी आफ्नो क्षमताले भ्याएसम्म गर्ने प्रयास गर्छिन्‌।—हितोपदेश ३१:३१.

आफ्नो कामलाई “सिंगार्नुहोस्‌”

डेनिस टि. जाफी र सिन्थीया डि. स्कट नाउँ गरेका डाक्टरहरू यस्तो सुझाउ दिन्छन्‌: “आफ्नो कामलाई रित्तो घरको रूपमा लिनुहोस्‌। तपाईं भित्र जानुहुन्छ अनि यसको आकार र बनावट हेर्नुहुन्छ। अनि तपाईंको सृजनात्मक शक्‍तिले काम गर्न थाल्छ। तपाईं आफू काम गर्ने ठाउँको डिजाइन गर्नुहुन्छ, सिंगार्नुहुन्छ अनि त्यस स्थानलाई आफ्नो घरमा परिवर्तन गर्नुहुन्छ। आफ्नो शैलीमा डिजाइन गरेर तपाईं आफ्नो व्यक्‍तित्वको पहिचान दिनुहुन्छ।”

कुनै पनि काम दिइँदा प्रायजसो नियम तथा निर्देशनहरू दिइएको हुन्छ। तपाईंबाट आशा गरिएको काम मात्र गर्नु रित्तो घरमा केही सरसामान नराखी बसेजस्तो हुनेछ। त्यहाँ कुनै पहिचान हुँदैन। तर तपाईंले आफ्नै शैलीअनुसार गर्नुभयो भने तपाईंको काम झनै चाखलाग्दो हुनेछ। कोही दुई व्यक्‍तिले आफ्नो कामलाई एउटै प्रकारले “सिंगार्दैनन्‌।” एक जना वेटरले नियमित ग्राहकहरूलाई मन पर्ने परिकारहरू कण्ठ गर्ला। अर्को वेटर चाहिं विशेष दयालु र शिष्ट होला। दुवैले आफ्नो कामबाट आनन्द उठाउँछन्‌ किनभने तिनीहरू आफ्नो काममा दिलोज्यान दिन्छन्‌।

सिक्न नछोड्‌नुहोस्‌

कामबाट रमाइलो उठाउने अर्को तरिका पनि छ। त्यो हो, सिक्ने। तनाउमा परिवर्तन (अंग्रेजी) नामक पुस्तकले बताउँछ कि हामी हुर्कंदै जाँदा हाम्रो दिमागको जानकारी लिने क्षमता पनि बढ्‌दै जान्छ। त्यसैले हामीलाई पहिला रमाइलो लाग्ने कुरा अहिले झिंझो लाग्ने हुनसक्छ। यसको समाधान भनेकै दिमागले नयाँ जानकारीहरूको चाहना गर्दा नयाँ नयाँ कुरा सिकेर तृप्त गरिदिनु हो।

आफ्नो कामबारे अझ धेरै सिक्दा समयमा तपाईंलाई अझ आकर्षक लाग्ने काम सुम्पिनसक्छ। तपाईंलाई नयाँ काम नदिए तापनि कामबारे बढी सिक्दा मात्रै पनि तपाईंको काम अझ चाखलाग्दो र सन्तोषजनक हुनेछ। लेखक चार्ल्स क्यामेरन तथा सुजन इलुसरले यसो भने: “सिक्दा तपाईंको क्षमतामा वृद्धि भएर आत्मविश्‍वास मात्र बढ्‌ने होइन तर जीवनप्रतिको दृष्टिकोण पनि परिवर्तन हुन्छ। समस्याहरू समाधान गर्न सकिन्छ, कठिनाइहरूलाई पार गर्न सकिन्छ, डरलाई कम गर्न सकिन्छ र आफूले विचार गरेभन्दा धेरै कुरा गर्न सम्भव हुँदोरहेछ भनी अझ सिक्न सकिन्छ।”

तपाईं अझै यसो भन्‍नुहोला: ‘तर मैले मेरो कामबारे सिक्नुपर्ने जति कुराहरू छन्‌, त्यो वर्षौंअघि सिकिसकें!’ त्यसोभए, तपाईंको कामसित प्रत्यक्ष सम्बन्धित नभएका कुराहरू सिके कसो होला? उदाहरणका लागि, मानिसहरूबीचको सम्बन्धबारे वा तपाईंले चलाउनुहुने उपकरणबारे सिक्न सक्नुहुन्छ। सायद तपाईंले प्रभावकारी औपचारिक पत्रहरू कसरी लेख्ने वा बैठकहरू राम्ररी कसरी सञ्चालन गर्ने, त्यो सिक्न सक्नुहुन्छ। आफ्ना हाकिमहरूसित अझ प्रभावकारी ढंगमा कसरी व्यवहार गर्ने, त्यो पनि सिक्न सक्नुहुन्छ।

तपाईं यी कुराहरू कसरी सिक्नुहुनेछ? सायद तपाईंको कम्पनीमा यस्ता कोर्सहरू होलान्‌ जसको तपाईंले फाइदा उठाउन सक्नुहुन्छ। वा पुस्तकालयमा तपाईंलाई चाहिने पुस्तकहरू होलान्‌। कुनै कुनै जानकारीहरू त्यति महत्त्वपूर्ण नदेखिए तापनि पढ्‌ने गर्नुहोस्‌। अन्य मानिसहरू कसरी काम गर्छन्‌ र तिनीहरूको दक्षता तथा कमजोरी याद गर्दा पनि शिक्षावर्द्धक हुनसक्छ। तपाईंले आफ्ना गल्ती तथा सफलताहरूबाट पनि सिक्न सक्नुहुन्छ। किताबमा कहिल्यै नपाइने, कक्षा कोठामा नसिकाइने कुरा आफ्नो अनुभवबाट र अरूको काम हेरेर सिक्न सक्नुहुन्छ।

केही अन्तिम सुझाउहरू

तपाईंले चाल्न सक्नुहुने अर्को कदम पनि छ। अरूले मात्रै अवसरहरू पाउँछन्‌ र आफूलाई चाहिं मन पर्ने कामहरू केही पनि पाइएको छैन, अवसर नै दिइँदैन जस्तो तपाईंलाई लाग्नसक्छ। तपाईंको यस विचारसित सहमत हुने व्यक्‍तिहरूसँग यसबारे जति पनि कुरा गर्न सक्नुहुन्छ र तपाईंले भन्‍नुभएका सबै कुरा सोह्रै आना ठीक हो भनेर पक्का पनि हुन सक्नुहोला।

तर यो साँचो नहुन पनि सक्छ। आफ्नो कामबाट आनन्द उठाउने थुप्रै मानिसहरूले त्यसो गर्न सिकेका छन्‌। घर डिजाइन गर्न मन लाग्ने मान्छेलाई बस हाँक्न पनि रमाइलो लाग्नसक्छ। किन? किनभने तिनले जुनसुकै काम गर्दा पनि सृजनात्मक तरिकामा गर्ने हुँदा यसले तिनलाई आनन्द र सन्तुष्टि प्रदान गर्छ।

अतः नकारात्मक सोचाइ नराख्नुहोस्‌, ताकि काम गर्ने दिनहरू बिदाका दिनहरूको तुलनामा नरमाइला नहून्‌। विगतका असफलताहरूबारे सोच्दै अब अर्को पाली के चाहिं काम बिगार्छु होला भनी कल्पना गरेर र अरू मानिसहरूले तपाईंबारे के भन्लान्‌ भनी सोच्दै समयको फजुल खर्च नगर्नुहोस्‌। आफ्नो अगाडि भएको कामबारे सोच्नुहोस्‌। त्यसमा पूरा ध्यान लगाउनुहोस्‌। आफूलाई सबैभन्दा मनपर्ने काममा व्यस्त भएजस्तै, त्यसमा पनि एकाग्रचित्त हुनुहोस्‌। सक्दो गर्नुहोस्‌ र राम्ररी गरेको कामबाट आनन्द लिनुहोस्‌।

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

आफ्नो कामलाई बेवास्ता नगर्नुहोस्‌

हितोपदेश २७:२३, २४ मा बाइबलले यसो भन्छ: “आफ्नै भेड़ा चिन्‍न होशियार हो, र तेरा बगालहरूको राम्ररी हेर-विचार गर्‌। किनभने धन-सम्पत्ति ता सधैंको निम्ति रहँदैन, मुकुट पनि पुस्तौंसम्म रहँदैन।” यसको अर्थ के हो?

यसको अर्थ समृद्धि (धन-सम्पत्ति) र प्रतिष्ठा (मुकुट) हासिल गरे तापनि त्यो सधैंभरि रहँदैन। अतः बाइबल समयमा गोठालाले ‘बगालहरूको राम्ररी हेरविचार’ गर्नु नै बुद्धि झल्काएको हुन्थ्यो। पछिका तीन शास्त्रपदहरूले देखाएझैं त्यसको नतिजा, कामदार र तिनको परिवारका निम्ति भौतिक सुरक्षा हुन्थ्यो।—हितोपदेश २७:२५-२७.

आज नि? आज प्रायः मानिसहरू पैसा र प्रतिष्ठामा मन लाउँछन्‌ जसले गर्दा तिनीहरूलाई आफ्नो भइरहेको जागिर छोड्‌न मदत मिल्छ भन्‍ने आशा गर्छन्‌। यिनीहरूमध्ये कसैको व्यवहारिक योजनाहरू हुन्छन्‌ तर कसैको मात्र कल्पना हुन्छन्‌। दुइटै अवस्थामा हाल खाइरहेको जागिरलाई तुच्छ ठान्‍नु वा बेवास्ता गर्नु मूर्खता हो। त्यो तपाईंको सबैभन्दा भरपर्दो आयस्रोत हो र भविष्यमा पनि भइरहनसक्छ। आफ्नो “बगाल” अर्थात्‌ भरपर्दो जागिरमै पूर्ण ध्यान दिनु नै बुद्धिमानी हुनेछ। यसो गर्दा अहिले र पछि पनि भौतिक सुरक्षा पाउन सक्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने