प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ७/८ pp. १८-१९
  • के मसीही सेवकहरू कुमार रहनैपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मसीही सेवकहरू कुमार रहनैपर्छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहित वा अविवाहित?
  • कुमार रहनैपर्ने नियम कसरी बन्यो
  • के ख्रीष्टियन अगुवाहरू ब्रह्‍मचारी हुनै पर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • अविवाहित—बाधाबिना क्रियाकलाप गर्न सकिने ढोका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • परमेश्‍वरले मसीहीजगत्‌को उपासनाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ७/८ pp. १८-१९

बाइबलको दृष्टिकोण

के मसीही सेवकहरू कुमार रहनैपर्छ?

सीधै भन्‍ने हो भने, कुमार भनेको अविवाहित अवस्था हो। तथापि, द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार यस शब्द “प्रायः धार्मिक अधिकारी, धार्मिक विशेषज्ञ वा भक्‍तालु भएको कारण विवाह नगरी बसेका व्यक्‍तिविशेषहरूसित सम्बन्धित छ।” “कुमार” शब्दले “पवित्र वाचा वा परित्यागको कारण या आफ्नो धार्मिक पदवी वा धर्ममा गम्भीरतापूर्वक लागेको कारण विवाह नगरी बसेकाहरूलाई” बुझाउँछ।

संसारका प्रचलित धर्महरूमध्ये प्रायः सबैजसोले कुनै न कुनै समय आफ्ना अनुयायीहरूमाथि कुमारत्वलाई प्रतिपादन गरेका छन्‌। तैपनि क्याथोलिक धर्म जत्ति मसीहीजगत्‌का अरू कुनै पनि धर्म कुमार या कुमारी रहनुपर्ने चिनारी बन्‍न पुगेको छैन। आज, क्याथोलिक धर्ममा कुमार नै रहनुपर्ने भन्‍नेबारेमा निकै विवाद चलिरहेको छ। द विलसन क्वाटर्ली-ले यस्तो टिप्पणी गऱ्‍यो, “हालका दशकहरूमा गरिएका प्रायः सबै अध्ययनहरूले क्याथोलिक पादरीहरू विवाह नगरी बस्नुपर्छ भन्‍ने नियम १२ औं शताब्दीदेखि मात्र लागू गरिएको हो र यस्तो नियम लागू गर्नुको मुख्य कारण पादरीहरूलाई भर्ती गर्न र कायम राख्न समस्या भएकोले हो” भनी देखाउँछ। समाजशास्त्री रिचर्ड ए. शोएनहेरले बताएअनुसार “क्याथोलिक पादरीत्वमा कुमार क्याथोलिकहरूलाई सामेल गराउने धारणा विरुद्ध सम्पूर्ण इतिहास अनि सामाजिक परिवर्तनहरू नै उठेको छ।” विवाह नगरी बस्ने सन्दर्भमा बाइबलको कस्तो दृष्टिकोण छ?

विवाहित वा अविवाहित?

इतिहासको पाना पल्टाएर हेर्ने हो भने विभिन्‍न धर्मका असंख्य भक्‍त पुरुष तथा स्त्रीहरूले विवाह नगरी बस्ने छनौट गरेका छन्‌। किन? कतिपय अवस्थामा तिनीहरूले शारीरिक र भौतिक कुराहरू “दुष्टको आसन” हो भन्‍ने विश्‍वास गरेको हुँदा विवाह गरेनन्‌। सबै किसिमको यौन क्रियाकलापबाट अलग रहेको खण्डमा मात्र आध्यात्मिक शुद्धता सम्भव हुन्छ भन्‍ने धारणा यसैबाट सुरु भयो। तथापि, यो बाइबलको दृष्टिकोण होइन। बाइबलमा विवाहलाई स्वच्छ र परमेश्‍वरबाट पवित्र वरदानको रूपमा लिइन्छ। सृष्टिबारे उत्पत्तिको पुस्तकको विवरणमा विवाहलाई स्पष्टतः “राम्रो” भनिएको छ र विवाह पक्कै पनि परमेश्‍वरसित आध्यात्मिक तवरमा शुद्ध सम्बन्ध राख्न अवरोध होइन।—उत्पत्ति १:२६-२८, ३१; २:१८, २२-२४; हितोपदेश ५:१५-१९ पनि हेर्नुहोस्‌।

प्रेरित पत्रुसलगायत प्रारम्भिक मसीही मण्डलीमा अधिकारप्राप्त अन्य परमेश्‍वरका सेवकहरू विवाहित पुरुषहरू थिए। (मत्ती ८:१४; प्रेरित १८:२; २१:८, ९; १ कोरिन्थी ९:५) मण्डलीमा निरीक्षकहरू वा “बिशप” नियुक्‍त गर्ने सन्दर्भमा प्रेरित पावलले तिमोथीलाई दिएको निर्देशनबाट यो कुरा स्पष्ट हुन्छ। तिनी लेख्छन्‌: “यसकारण बिशप हुने—निर्दोष, एउटै स्त्रीका पति” हुनुपर्छ। (तेर्सो अक्षर हाम्रो; १ तिमोथी ३:२) याद गर्नुहोस्‌, “बिशप[ले]” विवाह गर्न उचित छैन भनी त्यहाँ कहीं पनि उल्लेख गरिएको छैन। पावलले “बिशप[ले]” बहुविवाह गर्नु हुँदैन मात्र भने। विवाह गरे भने एउटै स्त्रीका पति हुनुपर्छ। म्याकक्लिन्टक र स्ट्रंगको बाइबलीय धर्मवैज्ञानिक तथा धार्मिक साहित्य कोश-मा (अंग्रेजी) यसो भनिएको छ: “नयाँ नियमको कुनै पनि भागलाई पादरीहरूले सुसमाचारको पुस्तकको व्यवस्थाअन्तर्गत विवाह गर्न पाउँदैनन्‌ भन्‍ने अर्थ लाउन सकिंदैन।”

बाइबलले विवाहलाई ठूलो आदर दिन्छ तर स्वेच्छाले अविवाहित रहने छनौट गरेको छ भने त्यसको निन्दा गर्दैन। कसै कसैको निम्ति यो बढिया हुनेछ भनी बाइबलले सल्लाह दिन्छ। (१ कोरिन्थी ७:७, ८) केही पुरुष तथा स्त्रीहरू स्वेच्छाले अविवाहित रहने फैसला गर्नेछन्‌ भनी येशू ख्रीष्टले बताउनुभयो। (मत्ती १९:१२) किन? विवाहबन्धन अशुद्ध भएको कारण तिनीहरूको आध्यात्मिक उन्‍नतिमा बाधा पुऱ्‍याउँछ भनेर होइन। तिनीहरू आफूले बुझेअनुसार यस महत्त्वपूर्ण घडीमा परमेश्‍वरको इच्छामा आफ्नो सम्पूर्ण ध्यान लाउने निर्णय गरेर अविवाहित रहन्छन्‌।

कुमार रहनैपर्ने नियम कसरी बन्यो

तथापि, ख्रीष्टपछिका शताब्दीहरूमा परिवर्तनहरू हुन थाले। हाम्रो यस सामान्य युगको प्रथम तीन शताब्दीमा “विवाहित र अविवाहित दुवै सेवकहरू थिए” भनी डोमिनिकन डेभिड राइस भन्छन्‌ जसले विवाह गर्न पादरी पद छोडे। अनि एक धार्मिक लेखकले बताएझैं मसीही भनौंदाहरू “युनानी र बाइबलीय विचारका मिश्रणबाट” प्रभावित हुन थाले जसमा यौन र विवाहबारे विकृतपूर्ण विचारधारा व्यक्‍त गरिएको थियो।

निस्सन्देह, कोही कोही अझै अविवाहित नै रहे किनभने “तिनीहरू कुनै अन्य चिन्ताबिना पूर्णतया परमेश्‍वरको राज्यमा समर्पित हुन चाहन्थे।” तथापि, कतिपय चाहिं तिनीहरूले सिकेको गैरमसीही दार्शनिकहरूबाट प्रभावित भएका थिए। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका भन्छ: “पवित्रताको दृष्टिकोणबाट यौनसम्बन्ध दूषित र अमिल्दो छ भन्‍ने विचारको सँगसँगै [तथाकथित मसीही चर्चमा] कुमार रहनुपर्ने धारणा प्रबल हुन थाल्यो।”

चौथो शताब्दीमा चर्चले “विवाहित पादरीलाई यूखारिस्त मनाउने अघिल्लो रातमा यौनसम्पर्क राख्न निषेध गऱ्‍यो” भनी राइस बताउँछन्‌। अनि दिनहुँ यूखारिस्त मनाउन थाल्दा पादरीहरूले कहिल्यै यौनसम्पर्क राख्नु हुँदैन भन्‍ने स्वतः बुझियो। समय बित्दै जाँदा पादरीहरूले विवाह गर्नै नपाउने नियम बनाइयो। अतः चर्चको सेवक हुन चाहने सबै मानिसहरू कुमार नै हुनुपर्थ्यो।

प्रेरित पावलले त्यस्तो होला भनी पहिल्यै चेताउनी दिएका थिए। तिनले लेखे: “तर पवित्र आत्मा प्रष्टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌, तिनीहरूले बिहेबारी नगर्नू भन्छन्‌।”—१ तिमोथी ४:१, ३.

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” (मत्ती ११:१९) परमेश्‍वरको स्तरबाट अलग्गिनुको मुर्ख्याइँ यसका काम वा नतिजाहरूबाट स्पष्ट भएको छ। लेखक डेभिड राइसले कुमार बस्नैपर्ने सन्दर्भमा विश्‍वभरिका पादरीहरूसित अन्तरवार्ता लिए। तिनले कुरा गरेका कसैले यसो भने: “पादरी छँदा तपाईं मानिसहरूको सक्दो भलाइ गर्न खोज्नुहुन्छ तर त्यति नै बेलामा लुकीछिपी भक्‍त, राम्री महिलाहरूसित यौनसम्बन्ध राख्न इच्छुक हुनुहुन्छ।”

मत्ती ७:२० उद्धरण गर्दै राइस भन्छन्‌: “ ‘तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ,’ भनी येशूले भन्‍नुभएको थियो।” जबरजस्ती कुमार रहनुपर्दाका दुःखद्‌ नतिजाहरूबारे तिनी टिप्पणी गर्छन्‌: “जबरजस्ती कुमार रहनुपर्दा हजारौं पुरुषहरूले दोहोरो जीवन बिताइरहेका छन्‌, हजारौं महिलाहरूको जीवन बर्बाद भएको छ, हजारौं बालकहरू आफ्ना पादरी बुबाहरूबाट त्यागिएका छन्‌ र यस्तो अवस्थाको कारण पादरीहरू स्वयं भावनात्मक रूपमा कत्ति पीडित हुन्छन्‌ भनेर बताइरहनु नपर्ला।”

आदरणीय विवाह परमेश्‍वरबाट आशिष्‌ हो। जबरजस्ती कुमार रहनु आध्यात्मिक तवरमा पनि हानिकारक साबित भएको छ। अर्कोतर्फ, पवित्रता वा मुक्‍तिको लागि आवश्‍यक नभए तापनि स्वेच्छाले अविवाहित रहनु केहीको निम्ति इनामदायी हुनुका साथै आध्यात्मिक तवरमा सन्तोषजनक साबित भएको छ।—मत्ती १९:१२.

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

जीवन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने