प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ९/८ पृ. २०-२२
  • म कसरी पैसा कमाउनसक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी पैसा कमाउनसक्छु?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रथम कदम
  • जागिरको लागि निवेदन
  • आफै कामधन्दा थाल्ने
  • सन्तुलन राख्नुहोस्‌!
  • पैसा कमाउनुमा के गल्ती छ?
    ब्यूँझनुहोस्‌!—१९९७
  • कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ९/८ पृ. २०-२२

युवा जनहरू सोध्छन्‌ . . .

म कसरी पैसा कमाउनसक्छु?

“म प्रशस्त पैसा आउने जागिर खान चाहन्छु।”—टान्या।

थुप्रै युवायुवतीहरू टान्याले जस्तै विचार गर्छन्‌। “मलाई मोटरकार र लुगाफाटा किन्‍न पैसा चाहिन्छ,” सेरजो नामक जवान भन्छन्‌। “म प्रत्येक कुराका लागि मुमाबुबामाथि निर्भर हुन चाहन्‍नँ।” जवान लरी-एनले जागिर खानुको कारण पनि उस्तैउस्तै छ। “म केटी हुँ, मलाई किनमेल गर्न मन पर्छ,” तिनी भन्छिन्‌।

तसर्थ, यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट पत्रिकाअनुसार “[सं.रा.] उच्च माध्यमिक विद्यालयका ४ जनामध्ये ३ जना विद्यार्थीले स्कूल कार्यपछि र सप्ताहन्तमा जागिर खानु” कुनै छक्कलाग्दो कुरा होइन। यसले केही हदसम्म वर्तमान भौतिकवादी संसारमा व्याप्त “रूपियाँ-पैसाको [असन्तुलित] प्रेम” झल्काउँछ। (१ तिमोथी ६:१०) तथापि, पैसा कमाउन चाहने सबै युवायुवतीहरू भौतिकवादमा चुर्लुम्मै डुब्दैनन्‌।

बाइबल भन्छ, “पैसाले सुरक्षा दिन्छ।” (उपदेशक ७:१२, NW) अनि तपाईंले जवान मसीही भएर पैसा कमाउन चाहनुका अनेकन्‌ वैध कारणहरू हुनसक्छन्‌।a उदाहरणका लागि, जवान आभियनले हप्तामा दुई दिन जागिर खानुको कारण यसरी बताउँछन्‌: “यसले गर्दा अग्रगामीको हैसियतमा [पूर्ण-समय सेवक] म आफ्नो आर्थिक खर्च टार्न सक्छु।”

तपाईंले अर्ध-समय जागिर खोज्नुमा पनि यस्तै कारणहरू हुनसक्छन्‌। तपाईंले मसीही अधिवेशनमा उपस्थित हुने लक्ष्य राख्नुभएको हुनसक्छ। अथवा मण्डलीका सभाहरूमा लगाउन उपयुक्‍त हुने केही जोर लुगा चाहिएको पनि हुनसक्छ। यी सबैका लागि पैसा त चाहियो नै। हो, ‘पहिले परमेश्‍वरको राज्य खोजी गर्नेहरूलाई’ परमेश्‍वरले दिनुहुन्छ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (मत्ती ६:३३) तर यसो भन्दैमा आवश्‍यक कुराका लागि पनि पैसा कमाउनु हुन्‍न भन्‍ने होइन। (प्रेरित १८:१-३ तुलना गर्नुहोस्‌।) त्यसोभए, पैसा कमाउन आवश्‍यक भएको खण्डमा तपाईंले चाल्न सक्नुहुने केही व्यवहारिक कदमहरू के के हुन्‌ त?

प्रथम कदम

तपाईंले जागिर खाने कुरामा मुमाबुबा सहमत हुनुभएपछि प्रथमतः छिमेकी, शिक्षकशिक्षिका अनि नातेदारहरूसँग भेटघाट गरेर उनीहरूलाई जागिर खोज्दैछु भनेर अवगत गराउन सक्नुहुन्छ। उनीहरूलाई सीधै सोध्न लाज मान्‍नुहुन्छ भने किशोरावस्थामा हुँदा उनीहरूले के कस्ता काम गरे, सोध्न सक्नुहुन्छ। उनीहरूले उपयोगी कुराहरू बताउनसक्छन्‌। तपाईं जागिर खोज्दै हुनुहुन्छ भनेर जति बढी मानिसहरूलाई थाह हुन्छ, तपाईंले उति बढी कामलाग्ने जानकारी र सुझाउहरू पाउन सक्नुहुनेछ।

अर्को कदम, अखबारहरूका विज्ञापन र ठूलठूला पसल, तपाईंको स्कूल र अन्य सार्वजनिक स्थलहरूको सूचना पाटीमा आँखा घुमाउनुहोस्‌। “मैले यसै गरेर जागिर पाएँ,” डेभ नामक जवान भन्छन्‌। “मैले अखबारमा विज्ञापन हेरें, विज्ञापनदातालाई फ्याक्सद्वारा दरखास्त पठाएँ अनि फोनमा कुरा गरें।” यद्यपि, थुप्रै जागिरहरू विज्ञापन गरिएको हुँदैन भनेर के तपाईंलाई थाह छ? सेभेन्टिन पत्रिकाअनुसार “उपयुक्‍त व्यक्‍तिले खोजीनिती नगरेसम्म दसवटामध्ये तीनवटा जागिरको विज्ञापन गरिएको हुँदैन” भनी केही मानिसहरू अड्‌कल काट्‌छन्‌। त्यसोभए, तपाईं जागिरदातालाई जागिर दिऊँ दिऊँ लाग्नेगरि विश्‍वस्त गराउन सक्नुहुन्छ!

तर कसरी? ‘मेरो त अनुभव नै छैन,’ तपाईं सोच्नुहोला। फेरि तपाईंको मुमाबुबा कतै जानुहुँदा आफ्ना भाइबहिनीहरू अथवा अरूको बच्चा रेखदेख गर्ने काम गर्नुभएको छ? यसले तपाईं जिम्मेवार हुनुहुन्छ भनेर देखाउँछ। के तपाईंले बुबालाई मोटर मरम्मत गर्न मदत गर्नुभएको छ? छ भने, तपाईं यान्त्रिक विषयमा काम गर्न सक्नुहुन्छ भनेर देखाउँछ। के टाइप गर्न अथवा कम्प्युटर चलाउन जान्‍नुहुन्छ? अथवा के कुनै नवीन परियोजना विषयमा राम्रो अंक प्राप्त गर्नुभएको थियो? यस्ता सीपहरू भएको खण्डमा सम्भाव्य जागिरदाताले पत्याउँछन्‌।

आफ्ना सौख र रुचिहरू पनि बेवास्ता नगर्नुहोस्‌। उदाहरणका लागि, बाजा बजाउन जान्‍नुहुन्छ भने बाजा पसलमा काम पाउन सकिन्छ कि, पत्ता लगाउनुहोस्‌। स्पष्टतया बाजा पसलका सरसामानहरूप्रति तपाईंको रुचि छ भने ग्राहकहरूका प्रश्‍नहरूको जवाफ दिन समर्थ हुनुहुनेछ।

जागिरको लागि निवेदन

मानिलिनुहोस्‌, तपाईंलाई जागिरको लागि अन्तरवार्तामा बोलाइएको छ। आफ्नो पहिरन अनि कोरीबाटीमा ध्यान दिनुहोस्‌ किनकि तपाईंको बाह्‍य रूपले तपाईंबारे मौन साक्षी दिन्छ। तपाईंको बाह्‍य रूपले तपाईं “जिम्मेवार, सफासुग्घर, सुव्यवस्थित हुनुहुन्छ” भनेर या ठीक उल्टो कुरा बताउनसक्छ। बाइबलले मसीही आइमाईहरूलाई “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌” भनी व्यवहारिक प्रोत्साहन दिएको छ। (१ तिमोथी २:९) यही कुरा पुरुषहरूमा पनि लागू हुन्छ। चाहे जागिर जस्तोसुकै किन नहोस्‌, अन्तरवार्ता दिन जाँदा कहिल्यै अभद्र वा बेढंगी पहिरन नलगाउनुहोस्‌।

तपाईंको मनोवृत्ति र चालचलनले पनि तपाईंको विषयमा अनेकौं कुराहरू बताउँछन्‌। सुनौलो नियम व्यवहारमा उतार्नुहोस्‌: अरूले आफूलाई जे गरेको चाहनुहुन्छ, तिनीहरूलाई पनि त्यसै गर्नुहोस्‌। (मत्ती ७:१२) बोलाइएको ठीक समयमा पुग्नुहोस्‌। उत्साही र चनाखो हुनुहोस्‌। राम्रो चालचलन देखाउनुहोस्‌। तपाईं उक्‍त जागिर खान किन योग्य हुनुहुन्छ, धाक नदेखाई वा बढाइचढाइ नगरी बताउनुहोस्‌। आफ्नो कुरा स्पष्टसित भन्‍नुहोस्‌।

कुनै कुनै विशेषज्ञहरूले तपाईंले सफासँग राम्ररी लेखेर लग्नुभएको (वा अगाडि नै पठाउनुभएको) दरखास्त सिफारिस गर्छन्‌। दरखास्तमा तपाईंको नाउँ, ठेगाना, टेलिफोन नम्बर, जागिर खानुको उद्देश्‍य, शिक्षा (कुनै विशेष प्रशिक्षण लिनुभएको छ भने सो पनि), जागिरको पूर्व अनुभव (तलबी र स्वयंसेवक दुवै), विशेष दक्षता, व्यक्‍तिगत रुचि र सौख (यसले तपाईंका योग्यताहरू बताउनसक्छ) र चाहिएको खण्डमा आफ्नो विषयमा सोधपुछ गर्न सकिने व्यक्‍तिहरूको नाउँ लेख्नुहोस्‌। चाहिएको खण्डमा सम्पर्क राख्न सकिने अन्य केही व्यक्‍तिहरूको नाउँ, ठेगाना र टेलिफोन नम्बरको छुट्टै सूची बनाउन सक्नुहुन्छ। तर तिनीहरूलाई पहिल्यै अनुमति माग्न नभुल्नुहोस्‌। तिनीहरू तपाईंका दक्षता, योग्यता वा व्यक्‍तिगत गुनहरूबारे पुष्टि दिनसक्ने पूर्व जागिरदाताहरू, शिक्षक वा शिक्षिका, विद्यालय सल्लाहकार, वयस्क मित्र हुनसक्छन्‌।

आफै कामधन्दा थाल्ने

गर्नुसम्म कोसिस गरेर पनि जागिर पाउनुभएन भने नि? थुप्रै मुलुकहरूमा यस्तै हुन्छ। तर निराश नहुनुहोस्‌। तपाईं आफ्नै व्यापार थाल्न सक्नुहुन्छ। यसका फाइदाहरू नि? तपाईं आफ्नै तालिका बनाउन सक्नुहुन्छ अनि आफूले चाहेअनुसार बढी वा कम काम गर्न सक्नुहुन्छ। निस्सन्देह, आफ्नै धन्दा गर्न तपाईं आत्म-उत्प्रेरित, अनुशासित र अग्रसर हुन इच्छुक हुनुपर्छ।

तर तपाईं कस्तो व्यापार थाल्न सक्नुहुन्छ? आफ्नो टोलछिमेकबारे विचार गर्नुहोस्‌। कसैले उत्पादन नगरेका सरसामान वा कसैले नगरेका कामहरू छन्‌ कि? उदाहरणका लागि, मानिलिनुहोस्‌, तपाईं पशुप्राणीहरू मन पराउनुहुन्छ। ज्यालामा छिमेकीका पाल्तु पशु नुहाइधुवाइ गर्न वा रौंहरू काटेर चिटिक्क बनाउन सक्नुहुन्छ। अथवा तपाईं बाजा बजाउनुहोला। के अरूलाई वाद्य यन्त्र बजाउन सिकाउन सक्नुहुन्छ? अथवा झ्यालहरू धुने वा सफा गर्नेजस्ता अरूले नीच ठानेका काम पनि त गर्न सक्नुहुन्छ नि। मसीहीहरू आफ्नो हातले परिश्रम गर्न संकोच मान्दैनन्‌। (एफिसी ४:२८) नयाँ नयाँ सीप पनि सिक्न सक्नुहुन्छ। पुस्तकालयमा सम्बन्धित पुस्तकहरू हेर्नुहोस्‌ या साथीभाइसित सिक्नुहोस्‌। उदाहरणका लागि, जवान जोसुआले हातले सुन्दर लेखोट तयार पार्ने प्रशिक्षण लिए। त्यसपछि तिनले विवाह र पार्टी निमन्त्रणा कार्ड डिजाइन गरेर सानो व्यापार सुरु गरे।—“तपाईंले सृजना गर्न सक्नुहुने जागिर” पेटी हेर्नुहोस्‌।

चेताउनी: खर्च कति लाग्छ साथै ध्यान दिनुपर्ने अन्य कुराहरू अध्ययन नगरिकन हतारपतार कुनै व्यापार नथाल्नुहोस्‌। (लूका १४:२८-३०) प्रथमतः त्यसबारे आमाबाबुसँग कुराकानी गर्नुहोस्‌। साथै, व्यापार गर्ने व्यक्‍तिहरूसँग कुरा गर्नुहोस्‌। के कर तिर्नुपर्छ? के आज्ञापत्र अथवा अनुमतिपत्र प्राप्त गर्नुपर्छ? विस्तृत जानकारीका लागि स्थानीय अख्तियारवालाहरूसँग सोधपुछ गर्नुहोस्‌।—रोमी १३:१-७.

सन्तुलन राख्नुहोस्‌!

निस्सन्देह, आफूले गर्न सक्नेभन्दा बढी काम गर्नु खतरापूर्ण हुन्छ। केही जागिरे किशोरकिशोरीबारे लरी-एन यसो भन्छिन्‌: “तिनीहरू थुप्रै गृहकार्य पनि गर्दैनन्‌ तैपनि यति साह्रो थाकेका हुन्छन्‌ कि कक्षामा ध्यानै दिनसक्दैनन्‌।” हो, संसारका कुनै कुनै ठाउँमा किशोरकिशोरीका लागि परिवारको जीवन धान्‍न घण्टौंसम्म काम गर्नुबाहेक अर्को विकल्प नै हुँदैन। तर तपाईंको परिस्थिति यस्तो छैन भने किन घण्टौंसम्म काम गरिरहने? थुप्रै विशेषज्ञहरूअनुसार स्कूल पढ्‌दा हप्तामा २० घण्टाभन्दा बढी काम गर्नु भनेको अति हो र त्यसले पढाइमा धक्का पुऱ्‍याउँछ। केही विशेषज्ञहरू हप्तामा आठदेखि दस घण्टाभन्दा बढी काम नगर्ने सुझाउ दिन्छन्‌।

स्कूल कार्यपछिको काममा धेरैभन्दा धेरै समय, शक्‍ति र ध्यान लगाउनुभयो भने तपाईंको स्वास्थ्य, पढाइ र विशेषगरि आध्यात्मिकता खस्किंदै जानसक्छ। हो, वयस्कहरू मात्र “धनको धोका र अरू थोकका लालच[ले]” निस्सासिएका हुँदैनन्‌। (मर्कूस ४:१९) अतः सन्तुलन राख्नुहोस्‌। सुलेमानले अत्यधिक काम गर्ने सन्दर्भमा यस्तो चेताउनी दिए: “दुवै मुठी भएर व्यर्थको परिश्रम गरेको भन्दा एक मुठी भरिएको औ मनमा शान्ति भएको असल हो।”—उपदेशक ४:६.

हो, पैसा कमाउन आवश्‍यक पर्नसक्छ। अनि तपाईंको पैसा कमाउने विचार माथि उल्लिखित आभियनको जस्तै स्वास्थ्यकर र ईश्‍वरीय छ भने तपाईंको प्रयासलाई यहोवाले आशिष्‌ दिनुहुनेछ भनी निर्धक्क हुन सक्नुहुन्छ। यद्यपि, “अझ महत्त्वपूर्ण कुराहरू” अर्थात्‌ आध्यात्मिक कुराहरू भुसुक्कै बिर्सनेगरि कामधन्दामा चुर्लुम्म नडुब्न सजग हुनुहोस्‌। (फिलिप्पी १:१०, NW) पैसाले “सुरक्षा” प्रदान गरे तापनि तपाईंलाई साँच्चै सफल बनाउने तत्त्व चाहिं परमेश्‍वरसँगको सम्बन्ध हो।—उपदेशक ७:१२; भजन ९१:१४.

[फुटनोट]

a नोभेम्बर २२, १९९०; डिसेम्बर ८, १९९० (अंग्रेजी) र सेप्टेम्बर ८, १९९७ ब्यूँझनुहोस्‌!-को “युवा जनहरू सोध्छन्‌ . . . ” लेखहरूमा स्कूल कार्यपछि गरिने जागिरका फाइदा बेफाइदाहरू केलाइएका छन्‌।

[पृष्ठ २२-मा भएको पेटी]

तपाईंले सृजना गर्न सक्नुहुने जागिर

• झ्यालहरू सफा गर्ने

• अखबार बिक्रीवितरण गर्ने

• घर छेउछाउमा थुप्रेको हिउँ हटाउने

• बगैंचा वा चउर स्याहारसंभार गर्ने

• अरूको बच्चा देखभाल गर्ने

• पाल्तु पशुलाई खाना खुवाउने, डुलाउने वा नुहाइधुवाइ गर्ने

• जुत्ता पालिस गर्ने

• लुगाफाटा टालटुल वा ईस्त्री गर्ने

• सरसामान बनाउने र बेच्ने

• कुखुरा पाल्ने वा अण्डा बेच्ने

• टाइपिङ वा वर्ड प्रोसेसिङ गर्ने

• अरूको कामधन्दा गरिदिने

• वितरकको काम गर्ने

• संगीत वा अन्य विषयहरू सिकाउने

[पृष्ठ २१-मा भएको चित्र]

अत्यधिक काम गर्नाले तपाईंको पढाइ बिग्रनसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने