युवा जनहरू सोध्छन्. . .
म किन आमाबाबुबिना बाँच्नु परेको होला नि?
“आमाबाबुबिना मेरो जीवन कस्तो थियो? धेरै कारणहरूले गर्दा अति नै दुःखदायी थियो। आमाबाबुको स्नेह र मायाबिना हुर्कनु धेरै गाह्रो पर्छ।”—ह्वाकिन।
“आमाबाबुहरू स्कूलमा आएर रिपोर्ट कार्डमा सही गर्नुपर्ने दिन मलाई असाध्यै असह्य हुन्थ्यो। म अत्यन्त दुःखी र एक्लो महसुस गर्थें। अहिले पनि कहिलेकाहीं म त्यस्तै महसुस गर्छु।”—१६ वर्षीया आबेलिना।
लाखौं जवान मानिसहरू आमाबाबुबिना हुर्कनु आज दुःखलाग्दो कुरा हो। पूर्वी युरोपमा युद्धको कारणले हजारौं बच्चाहरू अनाथ भइरहेका छन्। अफ्रिकामा पनि एड्सले गर्दा त्यस्तै स्थिति उत्पन्न भइरहेको छ। कतिपय बच्चाहरूलाई आमाबाबुले बिना कारणै त्यागिरहेका छन्। युद्धका साथै प्राकृतिक दुर्घटनाहरूको कारणले पनि परिवारहरू छुट्टिनु परिरहेका छन्।
बाइबलकालीन समयमा पनि यस्ता घटनाहरू प्रायः भइरहन्थे। उदाहरणका लागि, अनाथहरूको दुर्दशाबारे बाइबलमा बारम्बार उल्लेख गरिएको छ। (भजन ९४:६; मलाकी ३:५) त्यतिबेला युद्ध अनि अन्य दुःखलाग्दा घटनाहरूले गर्दा पनि परिवारहरू छुट्टिन पुग्थे। जस्तै, सिरियाको लुटाहाहरूले कैद गरेर लाँदा आफ्ना आमाबाबुसित छुट्टिएकी एउटी केटीबारे बाइबलले उल्लेख गरेको छ।—२ राजा ५:२.
ती लाखौं जवान अनाथहरूजस्तै सायद तपाईं पनि अनाथ हुनुहुन्छ होला। यदि हुनुहुन्छ भने, यस्तो अवस्था कतिको पीडादायी हुनसक्छ, तपाईंलाई थाह छ। तपाईंमाथि किन यस्तो घटना आइपर्यो?
दोष तपाईंको होइन
के तपाईंलाई परमेश्वरले सजाय दिनुभएको हो जस्तो लाग्छ? या तपाईंका आमाबाबु जानीजानी मरेका हुन् भन्ने लागेर उहाँहरूसँग रिसाउनु भएको पो छ कि। सबैभन्दा पहिला, परमेश्वर तपाईंसँग रिसाउनु भएको छैन भनेर निश्चित हुनुहोस्। न ता तपाईंका आमाबाबुले जानीजानी तपाईंलाई छोडेर जानुभएको हो। मृत्यु असिद्ध मानिसजातिको दुःखदायी अवस्था हो र आफ्ना बच्चाहरू कलिला छँदै कति आमाबाबुहरू माथि यो आइपर्छ। (रोमी ५:१२; ६:२३) प्रमाणअनुसार, येशू ख्रीष्टले पनि आफ्नो अति प्रिय धर्मपिता, यूसुफको मृत्युको दुःख अनुभव गर्नुभयो।a अवश्य पनि येशूको कुनै पापले गर्दा यस्तो भएको थिएन।
यो पनि विचार गर्नुहोस्, हामी अहिले “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) यो शताब्दीमा हिंसा, युद्ध र अपराधले लाखौं मानिसहरू मरिरहेका छन्। अझ अरू चाहिं जो कोहीमाथि पनि आइपर्ने “समय र अवसर[को]” शिकार भएका छन्। (उपदेशक ९:११) तपाईंका आमाबाबुको मृत्यु जत्ति नै दुःखदायी भए तापनि त्यो तपाईंको दोष होइन। आफूलाई दोष दिनु या शोकमा डुब्नुको सट्टा परमेश्वरले प्रतिज्ञा गर्नुभएको पुनरुत्थानको आशामा ढुक्क हुनुहोस्।b येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्।” (यूहन्ना ५:२८, २९) सुरुमा उल्लेख गरिएकी आबेलिना भन्छिन्: “यहोवाप्रतिको मेरो माया र पुनरुत्थानको आशाले मलाई धेरै मदत दिएको छ।”
तपाईंलाई त्याग्ने आमाबाबु जीउँदै हुनुहुन्छ भने नि? आमाबाबुले आफ्ना बच्चाहरूको हेरचाह आफै गरोस् भन्ने परमेश्वर चाहनुहुन्छ। (एफिसी ६:४; १ तिमोथी ५:८) तर दुःखको कुरा, केही आमाबाबुले आफ्ना बालबच्चाप्रति “स्वाभाविक प्रेम[को]” कमी देखाएका छन्। (२ तिमोथी ३:३) अन्य कतिले चाहिं असाध्यै दरिद्र भएकाले, लागू पदार्थको कुलतमा लागेकाले, कैदमा पर्नु परेकाले र जँड्याहा भएकाले विवश भई आफ्ना बच्चाहरू त्यागिरहेका छन्। आफ्नो स्वार्थको लागि बच्चाहरू त्याग्ने आमाबाबु पनि नभएका होइनन्। तथापि, कारण जेसुकै होस् आफ्नो आमाबाबुसित छुट्टिनु पर्दा असह्य हुन्छ। तर यसको अर्थ तपाईं गलत हुनुहुन्छ वा आफूलाई दोषी मानेर सास्ती दिनु होइन। साँच्चै तपाईंसँग कस्तो व्यवहार गरिदैछ, त्यसको लेखा आमाबाबुले परमेश्वरलाई दिनुपर्छ। (रोमी १४:१२) निस्सन्देह, आफ्नो नियन्त्रण बाहिरको परिस्थिति जस्तै, प्राकृतिक दुर्घटना वा कुनै रोगले गर्दा तपाईंका आमाबाबु तपाईंदेखि छुट्टिनु पऱ्यो भने त्यसमा कसैको पनि दोष हुँदैन! फेरि भेट हुने आशा कुनै बेला कमै लागे तापनि यो आशा त हामीसँग छँदैछ।—उत्पत्ति ४६:२९-३१ तुलना गर्नुहोस्।
पीडादायी अनुभव
त्यतिञ्जेल, तपाईंले अनेकौं कठिन समस्या सामना गर्नुपर्ला। संयुक्त राष्ट्रको बाल कोषले गरेको युद्धमा बालकहरू भन्ने अध्ययनले यो प्रकाश पाऱ्यो: “त्यागिएका बच्चाहरू एकदमै नाजुक हुन्छन् . . . यिनीहरूले बाँच्नको लागि कठोर बाधाहरू सामना गर्नुपर्छ, सामान्य विकासका लागि मदत पाउँदैनन् र दुर्व्यवहारको शिकार हुन्छन्। आफ्ना आमाबाबु देखि बिछोड हुनु एउटा बच्चाको लागि एकदमै पीडादायी क्षति हुनसक्छ।” शायद तपाईं पनि आफ्नो आमाबाबुदेखि छुट्नु परेकोले उदास र निराश हुनुहुन्छ होला।
सुरुमा उल्लेख गरिएको ह्वाकिनलाई सम्झनुहोस्। तिनको आमाबाबु छुटे र तिनलाई, तिनको दाजु तथा दिदीहरूलाई पनि त्यागे। त्यतिबेला तिनको उमेर एक वर्ष मात्र थियो र तिनका दिदीहरूले तिनलाई हुर्काए। तिनी भन्छन्: “मेरा साथीहरूको जस्तै मेरो आमाबाबु किन हुनुहुन्न भनी म सोध्थें। र अरूको बाबुछोरा खेलेको देख्दा मलाई ऊ मेरो बुबा भए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।”
सहायता पाउनु
आमाबाबुबिना हुर्कनु जत्ति नै गाह्रो भए तापनि तपाईं असफल हुनुहुनेछैन। सहायता र सहारा पाउनु भएमा तपाईंले जीउनुका साथै उन्नति पनि गर्नसक्नुहुन्छ। यो कुरा अविश्वसनीय लाग्नसक्छ। विशेष गरेर तपाईं शोकमा चुर्लुम्मै डुब्नु भएको छ भने त विश्वास गर्न झनै गाह्रो लाग्छ। तथापि, नबिर्सनुहोस्, यस्ता भावनाहरू मनमा आउनु स्वाभाविकै हो तर यसले तपाईंलाई धेरै समयसम्म सताउनेछैन। उपदेशक ७:२, ३ मा हामी पढ्छौं: “भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो . . . सुर्त्ता हँसाइभन्दा असल हो—त्यसले अनुहारमा उदासी ल्याए तापनि समझ-शक्ति तीक्ष्ण बनाउँछ।” हो, असह्य दुःख हुँदा रुनु र शोकाकूल हुनु स्वाभाविक हो र त्यसो गर्नु मानसिक तवरमा पनि राम्रो हो। कुनै बुझ्ने साथी वा मण्डलीको परिपक्व भाइबहिनीलाई आफ्नो पीडा बताउनु मदतकारी हुनसक्छ।
हो, तपाईंलाई एक्लै बस्न मन पर्ला। तर हितोपदेश १८:१ ले यो चेताउनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” अतः कुनै दयालु र बुझ्ने व्यक्तिको सहायता खोज्नु नै असल हुनेछ। हितोपदेश १२:२५ ले भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” तपाईंको “चिन्ता[बारे]” कसैलाई बताउनु भयो भने मात्र तपाईंले “दयालु वचन” पाउनु हुनेछ।
तपाईं को सँग कुरा गर्न सक्नुहुन्छ? मसीही मण्डलीभित्रै सहायता खोज्नुहोस्। त्यहाँ तपाईंले तपाईंलाई माया गर्ने र तपाईंमा चासो राख्ने “दाजु-भाइहरू, र दिदी-बहिनीहरू र आमाहरू” भेट्टाउन सक्नुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभएको छ। (मर्कूस १०:३०) ह्वाकिन सम्झन्छन्: “मसीही भाइ-बहिनीहरूसँग संगत गर्नाले मैले जीवनलाई भिन्नै पाएँ। सभामा नियमित रूपमा भेला हुँदा यहोवाको लागि मेरो प्रेम अझ बढ्यो र उहाँको सेवा गर्ने इच्छा जाग्यो। परिपक्व भाइहरूले मेरो परिवारलाई आध्यात्मिक सहायता र सल्लाह दिए। आज, मेरा कुनै कुनै दाजु र दिदीहरू पूर्णसमय सेवकाईमा हुनुहुन्छ।”
नबिर्सनुहोस्, यहोवा “टुहुराहरूका बाबु” हुनुहुन्छ। (भजन ६८:५, ६) बाइबलकालीन समयमा टुहुराहरूसँग दयालु र न्यायपूर्ण ढंगमा व्यवहार गर्नु भनेर परमेश्वरले उहाँका मानिसहरूलाई प्रोत्साहन दिनुभयो। (व्यवस्था २४:१९; हितोपदेश २३:१०, ११) अनि आज आमाबाबु नहुने जवानहरूका लागि पनि उहाँले त्यस्तै चासो राख्नुहुन्छ। यसकारण, परमेश्वरले तपाईंको चिन्ता गर्नुहुन्छ र तपाईंलाई जवाफ दिनुहुन्छ भनी निश्चित भएर प्रार्थनाद्वारा परमेश्वरसित मदत माग्नुहोस्। राजा दाऊदले लेखे: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ। परमप्रभुको बाटो हेर्, दह्रो हो, र तेरो हृदयले साहस गरोस्।”—भजन २७:१०, १४.
यद्यपि, जवान टुहुरोले दिनहुँ अनेकौं चुनौतीहरूको सामना गर्नुपर्छ। कहाँ बस्ने? कसरी जीवन धान्ने? यी सबै चुनौतीहरूको सफलतासाथ कसरी सामना गर्न सकिन्छ, अब आउने अंकमा छलफल गर्नेछौं।
[फुटनोटहरू]
a येशूले मर्नुभन्दा अगाडि आफ्नी मुमाको स्याहार गर्ने जिम्मेवारी चेला यूहन्नालाई सुम्पनुभएको थियो। यदि तिनका धर्मपिता, यूसुफ जीवित भएका भए यस्तो गर्नुपर्ने थिएन।—यूहन्ना १९:२५-२७.
b आमाबाबुको मृत्युको दुःख कसरी सहने, जानकारीको निम्ति अगस्त २२ र सेप्टेम्बर ८, १९९४ ब्यूँझनुहोस्!-को (अंग्रेजी) “युवा जनहरू सोध्छन् . . . ” लेखहरू हेर्नुहोस्।
[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]
“यहोवाप्रतिको मेरो माया र पुनरुत्थानको आशाले मलाई धेरै मदत दिएको छ।”
[पृष्ठ १७-मा भएको चित्र]
कहिलेकाहीं तपाईं एकलो महसुस गर्नुहुन्छ होला
[पृष्ठ १८-मा भएको चित्र]
मण्डलीमा तपाईंलाई सहायता र प्रोत्साहन दिनसक्ने साथीहरू छन्