कागतबिनाको कार्यालय, कल्पना गर्नै गाह्रो
यस लेखको अन्तिम खेस्रो कम्प्युटरबाट साधारण कागतमा छाप्दा ११ पाना चाहिएको थियो।a सम्पादन प्रक्रियामा यस लेख लगभग २० चोटि छापियो। अनि संसारभरि झन्डै ८० वटा अनुवाद समूहहरूलाई पठाइयो। त्यसपछि हरेक अनुवाद समूहले लगभग छ चोटि जति अनुवादका प्रतिहरू कम्प्युटरबाट छाप्छ। यसरी यस लेख प्रकाशित गर्न प्रेसमा पठाउनुअघि जम्माजम्मी ५,००० पाना खपत भयो!
कम्प्युटर युगको थालनी सँगसँगै “कागतबिनाको कार्यालय” पनि सुरु हुनेछ भनी पूर्वानुमान गर्नेहरूको मुखमा यस्तो वास्तविकताले बुजो लगाइदिएको छ। तेस्रो लहर (अंग्रेजी) नामक पुस्तकमा भविष्यवाद आल्भिन टफ्लरले यतिसम्म भने कि, ‘कम्प्युटरबाट प्रिन्ट गर्दा इलेक्ट्रोनिक वर्ड प्रोसेसिङको सही प्रयोग हुँदैन र त्यस मेसिनको खास उद्देश्य नै लत्याउँछ।’ चाखलाग्दो कुरा के छ भने, इन्टरनेशनल बिज्नेस मेसिन कर्पोरेसन अर्थात् आइ बि एम-ले सुरुमा कम्प्युटर १९८१ मा बजारमा ल्याउँदा प्रिन्टर नै उपलब्ध गराएनन्। मानिसहरूले सबै जानकारीहरू कम्प्युटरमै पढ्न रुचाउनेछन् भनेर कसै कसैले भने। कुरा जे जुकै होस्, केही व्यक्तिहरूले “कागतको पटक्कै” प्रयोग हुनेछैन र त्यो संग्रहालय तथा अभिलेखालयको धूलोमा थन्काएर राख्ने वस्तु हुनेछ भन्ठानेका थिए।
कागत नचाहिने प्रतिज्ञा तथा वास्तविकता
तर वास्तविकता के छ भने, जुन मेसिनको प्रयोगले कागतको प्रयोग शून्य हुनेछ भन्ठानिएको थियो, उल्टै त्यही मेसिनको कारण कागतको खपत अचाक्ली बढेको छ। हालका वर्षहरूमा कागतको खपतमा वृद्धि भएको कसै कसैले अनुमान लगाएका छन्। अन्तरराष्ट्रिय तथ्यांक संस्थाका विश्लेषक स्कट म्याकक्रेडी भन्छन्: “कार्यालयहरूमा कम्प्युटर प्रयोग गरेर हामीले वर्षेनी कागतको खपत गर्ने क्षमता २५ प्रतिशतले वृद्धि गरेका छौं।” कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, इ-मेल, फोटोकपी मेसिन तथा इन्टरनेटको कारण मानिसहरू तीनथुप्रो जानकारी हासिल गर्नसक्ने भएका छन् र दिनहुँ त्यही दरमा प्रिन्ट पनि गर्ने गर्छन्। सि ए पि भेन्चर नामक कम्पनीका अनुसार संसारभरि १९९८ मा २१.८ करोड प्रिन्टर, ६.९ करोड फ्याक्स मेसिन, २.२ करोड बहुउद्देशीय मेसिन (एउटै मेसिनमा प्रिन्टर, स्क्यानर र फोटोकपीको सुविधा भएको), १.६ करोड स्क्यानर र १.२ करोड फोटोकपी मेसिनहरू थिए।
सन् १९९० मा प्रकाशित पावरसिफ्ट नाउँको पुस्तकमा टफ्लरले संयुक्त राज्यमा एक वर्षमा १३ खरब कागत खपत भएको अनुमान लगाए र त्यो परिमाण हिसाब गर्ने हो भने, ग्रान्ड क्यानयनमा १०७ पटक वाल पेपर लगाउन पुग्छ! रिपोर्टहरूअनुसार खपतको मात्रा झन् झनै बढ्दै गइरहेको स्पष्ट देखिन्छ। एउटा पत्रिकाले १९९५ मा लिएको आँकडाअनुसार संयुक्त राज्यले दिनहुँ झन्डै ६० खरब कागत खपत गर्छ र यो राख्न २७० किलोमिटर लामो दराज चाहिन्छ। सन् २००० को आगमन सँगसँगै कागतको खपत कम हुने सम्भावना कमै देखिन्छ। अझै पनि अधिकांश जानकारीहरू कागतद्वारा नै आदनप्रदान गरिन्छ।
किन कागत प्रयोग गर्न छोडिंदैन
कम्प्युटरको प्रयोग गर्न थालेपछि कागत प्रयोग गर्नुपर्दैन भन्ने पूर्वानुमान किन फेल खायो? अन्तरराष्ट्रिय कागत कम्पनीले यस्तो अनुमान लगायो: “मानिसहरू जानकारी लिन कम्प्युटर खोलिरहनुभन्दा आफ्नो हातैमा त्यो जानकारी भएको चाहन्छन्। तिनीहरू त्यसलाई छाम्न, दोबार्न, कुच्याउन, फ्याक्स पठाउन, फोटोकपी गर्न र दोऱ्याइ तेऱ्याइ हेर्न वा कागतको छेउमा कोर्न वा मज्जाले फ्रिजको ढोकामा टाँस्न चाहन्छन्। अनि त्यति मात्र कहाँ हो र तिनीहरू चहकिलो रंगहरूमा कम्प्युटरबाट प्रिन्ट गर्न चाहन्छन्।”
कागतका केही खास फाइदाहरू छन् भनी स्वीकार्न करै लाग्छ। यो ओसारपसार गर्न सजिलो, सस्तो, भरपर्दो हुनुका साथै अभिलेख राख्न सजिलो र पुनः चलाउन सकिन्छ। अनि कागतमा काम गर्दा वा पढ्दा तपाईं कति पृष्ठमा हुनुहुन्छ र कति पाना बाँकी छ थाह पाउन पनि सजिलो हुन्छ। “मानिसहरूलाई कागत मन पर्छ। तिनीहरू आफ्नो हातले छाम्न चाहन्छन्” भनी अफिसका सरसामानहरू बेच्ने कार्यालयका प्रतिनिधि ड्यान कक्स भन्छन्। एरिजोना पुस्तकालय, अभिलेखालय तथा सार्वजनिक रेकर्ड विभागका विश्लेषक जेरी मालरी भन्छन्, “मानिसहरूले कागतबिनाको कार्यालय स्थापना गर्ने प्रयास गरेका छन् तर हामीले देख्ने हजारौं कम्प्युटरहरूमा एउटा कुरा सामान्य हुन्छ। त्यो हो, तिनीहरू सबै कम्तीमा पनि एउटा प्रिन्टरसित जोडिएको हुन्छ।”
अनि नानी देखि लागेको बानी छुटाउनपनि गाह्रो हुन्छ। अहिले व्यापार जगतमा संलग्न जति पनि मानिसहरू छन्, तिनीहरूलाई कागजकै बानी लागिसकेको छ। कुनै डकुमेन्ट वा इमेल सन्देश कम्प्युटरबाट एकैछिनमा प्रिन्ट गर्न सकिन्छ र आफ्नो सुविधामा पढ्नसक्छन्। प्रायजसो कम्प्युटर सबै ठाउँमा सजिलै लग्न सकिंदैन तर कागत भने जहाँ पनि लग्न सकिन्छ, पलंगमा होस् कि बाथरूम वा समुद्री किनारा नै किन नहोस्!
अर्को पक्ष: कम्प्युटरको मदतद्वारा मानिसहरूले सजिलै आफूले चाहेजस्तो डिजाइनमा कागतपत्रहरू छाप्नसक्छन् जुन पहिले पहिले पेशेवर मानिसहरूले मात्र गर्नसक्थे। रंगीन कापीहरूदेखि लिएर ड्राफ्ट, सचित्र रिपोर्टहरू, चार्ट, लेखाचित्र, व्यापारिक बिजनेस कार्ड, पोस्टकार्ड सजिलै बनाउन सकिन्छ। यस्तो सबै गर्न धेरै वटा खेस्रो बनाउनुपर्ने हुन्छ। अनि आफ्नो काम कम्प्युटरबाट छापेर हेरेपछि फेरि अर्कै प्रकारको अक्षर र डिजाइन हालेर प्रिन्ट गर्न चाहलान्। त्यसपछि तिनले अझ थप केही हेरफेरहरू गर्लान् अनि हो तपाईंले ठीकै अड्कल काट्नुभयो, कागतको खपत अझ बढी हुनेछ!
मानिसहरूले असीमित तथ्यांक प्राप्त गर्न सकेको अर्को एउटा कारण इन्टरनेट पनि हो।b यसले गर्दा पनि कागतको खपत बढी हुन गएको हो किनभने इन्टरनेट चलाउने मानिसहरूले आफूले गरेको अनुसन्धान प्रायजसो प्रिन्ट गर्छन्।
हाल बजारमा छ्यासछ्यास्ती पाइने नयाँ नयाँ कम्प्युटर सफ्टवेयर तथा उपकरणहरू चलाउने मदतको निम्ति निर्देशन पुस्तकहरू चाहिन्छ। कम्प्युटरको व्यापक प्रयोग हुने कारण त्यस्ता निर्देशन पुस्तक तथा कम्प्युटर पत्रिकाहरू फालाफाल छन्।
कम्प्युटरमै र अझ विशेष गरी पुरानो कम्प्युटरमा पढ्नु पढ्दा अर्कै बेफाइदाहरू हुन्छन्। कोही कोही व्यक्तिहरूले कम्प्युटर प्रयोग गर्दा आँखा दुख्ने गुनासो गर्न अझै छोडेका छैनन्। पुरानो कम्प्युटरहरूमा हेर्दा आँखामा कुनै कठिनाइ नपार्नको लागि तिनीहरूको गुणस्तर दस गुणा बढाउनुपर्छ।
यसबाहेक, कोही कोही मानिसले कागतमा छापिएका अक्षरहरूलाई कम्प्युटर स्क्रीनमा देखिनेभन्दा बढी गम्भीरता साथ लिनुका साथै महत्त्वपूर्ण ठान्छन् र त्यसलाई बढी मान्यता दिन्छन्। कम्प्युटरबाट छापिएको कागतले आफ्नो काम तथा मेहनतको पुष्टि दिन्छ र प्रयोग गर्न सजिलो पनि हुन्छ। आफ्नो सुपरिवेक्षक वा सहकर्मीको हातमा कागत नै ठम्याइदियो भने त्यसले इलेक्ट्रोनिक सन्देशले भन्दा बढी ध्यानाकर्षण गर्छ र मानिसहरूले त्यसपछि के कस्तो कदम चाल्नुपर्ने हो, छिटो गर्छन्।
अनि थुप्रै मानिसहरू कम्प्युटरमा आफ्नो काम हराउला भनी डराउँछन्। अनि त्यो हुन पनि हो। हाल डकुमेन्टहरू नमेटियोस् भनेर उच्च प्रविधिहरू उपलब्ध भए तापनि आफूले गरेको सबै काम विद्युत आपूर्ति बन्द भएमा, डिस्क फेल भएमा वा एउटा गलत स्वीच थिचेमा पूरै जानसक्छन्। तसर्थ थुप्रै मानिसहरूलाई कागत नै भरपर्दो लाग्छ। इलेक्ट्रोनिक रेकर्डहरू २०० देखि ३०० वर्षसम्म मात्र सुरक्षित राख्न सकिन्छ तर कुनै पनि केमिकल प्रयोग नगरिएको कागतमा लेखिएको जानकारी निकै लामो सयमसम्म जगेर्ना गर्नसक्नु कुरा चाखलाग्दो छ। हो, इलेक्ट्रोनिक जानकारीहरूको ह्रास त्यति चाँडचाँडो नाश हुँदैन। तर नयाँ नयाँ प्रविधिहरू एकदमै द्रुत गतिमा विकास भइरहेको छ। अनि पुराना हार्डवेयर तथा सफ्टवेयरहरू कामै नलाग्ने भएपछि पुराना कम्प्युटर रेकर्डहरू पढ्न झनै गाह्रो हुन्छ।
कागतबिनाको कार्यालय बनाउने सपना पूरा हुन्छ या हुँदैन समयले नै बताउनेछ। त्यतिञ्जेल मार्क ट्वेनको कुरा यहाँ उल्लेख गर्न सकिन्छ, कागतको प्रयोग कम हुँदैछ भन्नु अलि नमिल्ने कुरा हो।
के हामीले सबै रूख स्वाहा पार्नेछौं?
एउटा रूखबाट जम्मा कति वटा कागतका पानाहरू बनाउन सकिन्छ? रूखको साइज, प्रकार तथा कागतको प्रकार तथा वजनजस्ता विभिन्न कुराहरू समावेश भए तापनि कागत बनाउने खालको एउटा रूखबाट सामान्य लेख्ने तथा कम्प्युटरमा छाप्ने १२,००० पानाहरू बनाउन सकिन्छ। तैपनि अहिले उपभोग भइरहेको कागतहरूको ठूलो मात्राले जंगललाई उजाड तथा नांगो बनाउने हो कि भन्ने प्रश्न उठ्छ। के हामी साँच्चै पर्यावरणीय संकटतिर लम्कँदैछौं?
कागत उत्पादकहरू आत्तिनुपर्ने त्यस्तो कुनै कारण देख्दैनन्। तिनीहरूले ठूलो मात्रामा कागत, कुनै कुनै देशमा ५० प्रतिशतभन्दा बढी नत्र जमिनमा त्यसै थुप्रिने काठको टुक्राटाक्री, काष्ठ उद्योगमा नचाहिने टुक्राहरू प्रयोग गरिन्छ भनी औल्याउँछन्। कागतको अत्यधिक प्रयोग अर्थात् कुनै कुनै मुलुकमा प्रयोग हुने ५० प्रतिशतजति कागत, काठको टुक्राटाक्री, काठ कारखानाबाट निस्कने टुक्राहरूबाट बनाइन्छ। यसबाट कागत नबनाइँदो हो त, जमिनमुनि त्यत्तिकै पुरिनेथियो। त्यति मात्र कहाँ हो र, दाउराका टुक्राहरू कुहिएपछि त्यसबाट मिथेन ग्याँस निस्कन्छ र यो हरितगृह ग्यासले विश्व तापक्रममा प्रतिकूल असर पार्छ। अतः कागत उत्पादकहरूले यी काठका टुक्राहरूको सदुपयोग गर्छन्। तर वातावरणविद् तथा उपभोगिता समूहहरूले कागत उद्योगलाई प्रदूषण तथा वनको दुरुपयोग गरेको दोष लगाउँछन्। कागत उत्पादन गर्न प्रयोग गरिने इन्धनले हरितगृह ग्याँसहरू निकाल्छ भनी तिनीहरू तर्क गर्छन्। नचाहिने कागतहरू जमिनमा थुप्रेपछि हरितगृह ग्याँसहरू अत्यधिक उत्पादन हुन्छ भनी तिनीहरू भन्छन्।
यद्यपि, भरपर्दो विकासको निम्ति विश्व व्यापार परिषद्द्वारा सञ्चालित अध्ययन कस्तो निष्कर्षमा पुगेको छ भने, पृथ्वीको प्राकृतिक स्रोत ह्रास नगरी कागत उत्पादनलाई कायमै राख्न सकिन्छ। एउटा कारण हो, वृक्षारोपण भनेको सधैं गर्न सकिने कुरा हो र कागत पुनः प्रयोग गर्न सकिन्छ। तैपनि, “कागत बनाउने चक्रको हरेक चरण जस्तै वन व्यवस्थापन, कागत उत्पादन, कागतको प्रयोग, पुनः चलाउने, उर्जा बचत र आखिरमा मिल्काउने सबैमा थप परिवर्तनहरू गर्नुपर्नेछ” भनी उक्त अध्ययनले जोड दियो। तैपनि, उक्त अध्ययनले कुन कुरामा जोड दियो भने, “कागत निर्माण चक्रको हरेक चरणमा थप परिवर्तनहरू गर्नु खाँचो छ। जस्तै, वन व्यवस्थापन, लोकतो र कागत उत्पादन, कागतको प्रयोग, पुराना कागतको पुनः प्रयोग, उर्जा बचत अनि अन्तिम निष्कासन।” वातावरणलाई नराम्रो असर नपर्ने तथा आर्थिक तवरमा पनि कम खर्चिलो कागत बनाउने लोकोतोको लागि कागत उद्योगले विकल्पको रूपमा गहुँको पराल, चाँडो बढ्ने रूख, मकै तथा गाँजाको प्रयोगबारे सोच्दैछन्। यी तरिकाहरू कुन हदसम्म चलाइनेछ र कत्तिको प्रभावकारी हुनेछ, त्यो त समयले नै बताउनेछ।
[फुटनोटहरू]
a यसमा सन्दर्भ र कला निर्देशनहरू पनि समावेश छन्।
b अगस्त ८, १९९७ अंकको ब्यूँझनुहोस्! पत्रिकाको “इन्टरनेट—के यो तपाईंको लागि उपयुक्त छ?” श्रृंखला हेर्नुहोस्।
[पृष्ठ २७-मा भएको पेटी]
कार्यालयमा कसरी कागतको बचत गर्ने
✔ सकेसम्म कम मात्र प्रिन्ट गर्नुहोस्। कम्प्युटर स्क्रीनमा नै पुनरावलोकन गर्ने तथा सच्याउने गर्नुहोस्। कम्प्युटरबाट छाप्ने कागतको खेस्रो कम गर्नुहोस्।
✔ धेरै लामो डकुमेन्ट प्रिन्ट गर्नुछ भने अक्षर पढ्न सकिने गरी सानो बनाएर कागतको कम खपत गर्नुहोस्।
✔ तपाईंको प्रिन्टर खोल्ने बित्तिकै एउटा पाना परीक्षणको रूपमा आफै प्रिन्ट हुन्छ भने, त्यो प्रबन्ध हटाउनुहोस्।
✔ नचाहिने कागत पुनः चलाउनुहोस्।
✔ एकातिर मात्र प्रयोग भएको कागत पुनः चलाउन राख्नुहोस्। त्यो तपाईंले खेस्रो प्रिन्ट गर्न वा पछि केही लेख्नको निम्ति प्रयोग गर्न सक्नुहुन्छ।
✔ सम्भव भएसम्म दुवैतिर प्रिन्ट वा फोटोकपी गर्नुहोस्।
✔ कार्यालय भित्रै कुनै एउटा डकुमेन्टको धेरै प्रति बनाएर बाँड्नुको सट्टा एउटै प्रति चलाउनुहोस्।
✔ कागतको प्रयोग कम गर्न कम्प्युटरबाटै फ्याक्स पठाउनुहोस्। कागतमै फ्याक्स पठाउनु परेको छ भने आवरण पृष्ठ नपठाई कागत बचाउनुहोस्।
✔ अनावश्यक इमेल सन्देशहरू प्रिन्ट नगर्नुहोस्।
[पृष्ठ २४-मा भएको चित्र]
जुन मेशिनको प्रयोगले कागतको प्रयोग शून्य हुनेछ भन्ठानिएको थियो, उल्टै त्यही मेशिनको कारण कागतको खपत अचाक्ली बढेको छ
[पृष्ठ २६-मा भएको चित्र]
कहिलेकाहीं कम्प्युटरमा भन्दा कागतमै काम गर्न सजिलो हुन्छ