प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ८/८ पृ. २२-२४
  • मेरो मुमा किन बिरामी भइरहनुभएको होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो मुमा किन बिरामी भइरहनुभएको होला?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो मुमा वा बुबा किन बिरामी हुनुभएको?
  • दुःखदायी भावनाहरू
  • तपाईं के गर्न सक्नुहुन्छ
  • तपाईंको आध्यात्मिक सन्तुलन कायम राख्ने
  • आमाबाबु मेरो विवाहमा सहमत हुनुभएन भने के गर्ने?
    ब्यूँझनुहोस्‌!—१९९८
  • आमा वा बुबाले मलाई किन माया गर्नुहुन्‍न?
    ब्यूँझनुहोस्‌!—२००२
  • आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!
    पारिवारिक आनन्दको रहस्य
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ८/८ पृ. २२-२४

युवा जनहरू सोध्छन्‌ . . .

मेरो मुमा किन बिरामी भइरहनुभएको होला?

क्यान्सरले गर्दा आलको बुबाको मृत्यु भयो।a बाइबलबाट पुनरुत्थानको आशाबारे सिकेको हुँदा आलले त्यसको सामना गर्न त सक्यो। तर आफ्नो मुमालाई पनि क्यान्सर लागेको थाह भएपछि उसलाई डर र त्रासले फेरि सताउन थाल्यो। मुमालाई पनि गुमाउनु पर्ला भन्‍ने सोचाइले मात्र पनि आललाई निकै त्रसित तुल्याउन थाल्यो। ‘मेरै मुमा बिरामी हुनुपर्छ भन्‍ने त्यस्तो के छ?’ भनेर ऊ आफैलाई सोध्ने गर्थ्यो।

“अमेरिकामा छ करोडभन्दा बढी मानिसहरूले . . . आफ्ना प्रियजनहरूको बिमारी र अशक्‍तताको सामना गर्नुपरिरहेको छ” भनी डा. लेनार्ड फेल्डार भन्छन्‌। फेल्डार अझ भन्छन्‌: “लगभग चार जना जागिरदार अमेरिकीहरू मध्ये एक जनाले बिरामी आमा वा बुबा” अथवा अरू प्रियजनको “आवश्‍यकता पूरा गर्न कुनै एक दिन छुट्ट्याउनुपर्ने थप जिम्मेवारी बेहोर्नुपर्छ।” यस्तै अवस्थामा हुनुहुन्छ भने तपाईं एक्लो हुनुहुन्‍न। तथापि, आफ्नो प्रियजन बिरामी भएको हेर्नु त्रासपूर्ण र कष्टप्रद हुन्छ। तपाईं यसको सामना कसरी गर्न सक्नुहुन्छ?

मेरो मुमा वा बुबा किन बिरामी हुनुभएको?

हितोपदेश १५:१३ यसो भन्छ: “प्रसन्‍न हृदयले मुख उज्यालो पार्छ, दुःखित हृदयले आत्मालाई चूर्ण पार्छ।” तपाईंको मुमा वा बुबा बिरामी हुनुहुँदा मनमा थुप्रै भावनाहरू ओइरनु स्वाभाविकै हो। उदाहरणका लागि, तपाईंलाई आफ्नो मुमा वा बुबाको यो दुर्दशा आफ्नो कारणले भएको जस्तो लाग्नसक्छ। हुनसक्छ, तपाईं र तपाईंको मुमा वा बुबाबीच रिसारिस भइरहन्थ्यो होला। तपाईंहरूबीच एक/दुई पटक चर्को विवाद पनि भएको हुनसक्छ। अब तपाईंको मुमा वा बुबा बिरामी हुनुभएकोले कताकता तपाईंलाई आफूले गर्दा नै यस्तो भएको महसुस हुन्छ होला। तर पारिवारिक झगडाले तनाउ ल्याए तापनि यो गम्भीर बिरामीको कारण हुनसक्दैन। मायालु मसीही परिवारमा पनि तनाउ र सानातिना मतभेद भइरहन्छ। यसकारण, मुमा वा बुबाको स्वास्थ्य समस्या तपाईंले गर्दा भएको हो भनेर दोषी भावनाको बोझ लिइरहनु आवश्‍यक छैन।

खासमा, हाम्रा प्रथम आमाबाबु, आदम र हव्वाको पापले गर्दा तपाईंको मुमा वा बुबा बिरामी हुनुभएको हो। (रोमी ५:१२) त्यो सुरुको पापको कारणले “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।”—रोमी ८:२२.

दुःखदायी भावनाहरू

तापनि, तपाईं व्याकुल वा चिन्तित हुनुहुन्छ होला। टेरीकी मुमा ल्युपस अर्थात्‌ एकदमै निस्सहाय तथा अस्तव्यस्त बनाउने रोगबाट पीडित छिन्‌। टेरी भन्छिन्‌: “म घरबाहिर हुँदा मुमालाई केही भयो कि भन्‍ने डरले मलाई सताइरहन्छ। म ध्यान दिएर कुनै काम पनि गर्न सक्दिनँ। तथापि, उहाँले पीर गर्नुहोला भनेर म आफ्नो भावनाहरू उहाँलाई बताउँदिनँ।”

हितोपदेश १२:२५ यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” यस्तो अवस्थामा जवानहरू चिन्तित हुनु असाधारण होइन। टेरीको भनाइअनुसार आफ्नो मुमाले सानोतिनो काम पनि गर्न नसकेको देख्दा तिनी साह्रै दुःखित भइन्‌। यस तनाउलाई अझ ग्रस्त पार्ने तथ्य के हो भने, जवानहरू त्यसमा पनि विशेष गरी छोरीहरूले अक्सर थप जिम्मेवारीहरू वहन गर्नुपर्छ। प्राध्यापक ब्रुस कम्पासअनुसार “केटीहरूले घरको काम र भाइबहिनीहरूको रेखदेख गर्नेजस्ता पारिवारिक जिम्मेवारीहरूको बोझ उठाउनुपर्छ। यी कामहरू तिनीहरूको क्षमताबाहिरको हुनुका साथै यसले गर्दा तिनीहरूको सामाजिक विकास पनि हुनसक्दैन।” केही किशोरकिशोरीहरू दुःखी र निराशाजनक संगीतहरू सुन्दै आफूलाई सबैबाट अलग्ग राख्छन्‌।—हितोपदेश १८:१.

मुमा वा बुबा मर्नुहुने हो कि भन्‍ने डर पनि अस्वाभाविक होइन। सन्तानको नाउँमा टेरी एक्ली हुन्‌ र तिनको मुमा मात्र हुनुहुन्छ। तिनको मुमा हरेक पटक अस्पताल जानुहुँदा, अब उहाँ जिउँदो फर्कनुहुन्‍न होला भनेर तिनी रुन्छिन्‌। टेरी भन्छिन्‌: “हामी दुई जना मात्रै थियौं। म मेरो घनिष्ठ मित्रलाई गुमाउन चाहन्‍नथें।” मार्था नाउँ गरेकी युवतीले पनि त्यस्तै भनिन्‌: “म अठार वर्षकी हुँ तर पनि मेरो मुमा वा बुबालाई गुमाउनु पर्ला भन्‍ने डरले मलाई सताउँछ।” मुमा वा बुबा बिरामी हुँदाको अरू सामान्य असरहरू अनिन्द्रो, दुस्वप्न र अरुचि आदि हुन्‌।

तपाईं के गर्न सक्नुहुन्छ

अहिले परिस्थिति जस्तै गाह्रो भए तापनि तपाईं त्यसको सामना गर्न सक्नुहुन्छ! सबैभन्दा पहिला तपाईंले आफ्ना डर र चिन्ताहरू मुमाबुबालाई बताउनुहोस्‌। तपाईंको मुमा वा बुबाको अवस्था कत्तिको गम्भीर छ? उहाँहरू निको हुने सम्भावना कत्तिको छ? मुमा वा बुबाको स्वास्थ्यमा सुधार भएन भने तपाईंको रेखदेख कसले गर्ने? जीवनमा पछि तपाईंलाई पनि त्यस्तै रोग लाग्ने कुनै सम्भावना छ कि? तपाईंको मुमाबुबालाई यस्ता विषयहरूमा कुरा गर्न गाह्रो भए तापनि तपाईंले शान्त र आदरपूर्ण तरिकामा उहाँहरूको मदत माग्नुभयो भने उहाँहरूले सक्दो मदत र आड दिन सक्नुहुनेछ।

तपाईंको सकारात्मक भावनाहरू पनि सुनाउनुहोस्‌। आफ्नो मुमा क्यान्सरले मर्न लाग्नुभएको छ भनी थाह पाएर पनि त्यसो गर्न नसकेको आल सम्झन्छन्‌। तिनी भन्छन्‌: “मलाई उहाँको कत्तिको माया लाग्छ भनेर मैले उहाँलाई भनिनँ। मैले त्यसो भनेको उहाँ चाहनुहुन्थ्यो भनेर मलाई थाह थियो। तर किशोरावस्थाको कारण यस्ता भावनाहरू पोख्न मलाई साह्रै अप्ठ्यारो लाग्थ्यो। त्यसको केही समयपछि उहाँ बित्नुभयो र अब म दोषी महसुस गर्दैछु। किनभने मौका हुँदा नै मैले उहाँलाई भनिनँ। त्यसो गरेकोमा मलाई पछुतो लागेको छ किनकि, मेरो जीवनमा उहाँ नै सबैभन्दा मुख्य व्यक्‍ति हुनुहुन्थ्यो।” तपाईंको मुमाबुबाको तपाईंलाई कत्तिको माया लाग्छ भनेर बताउन ढिला नगर्नुहोस्‌।

सम्भव भएमा तपाईंको मुमा वा बुबाको बिमारीबारे बुझ्नुहोस्‌। (हितोपदेश १८:१५) सायद तपाईंको पारिवारिक चिकित्सकले यस सन्दर्भमा तपाईंलाई मदत गर्नसक्छन्‌। उहाँको अवस्था राम्ररी बुझेमा तपाईं समानुभूतिशील, धीरजी र बुझकी हुनसक्नुहुनेछ। अनि यसले तपाईंलाई मुमा वा बुबामा हुने शारीरिक परिवर्तनहरू जस्तै कुनै खत बस्नु, कपाल झर्नु वा शारीरिक कमजोरी आदि सामना गर्न तयार पार्छ।

के तपाईंको मुमा वा बुबा अस्पतालमा हुनुहुन्छ? त्यसोभए प्रसन्‍न र प्रोत्साहनदायी अनुहार लिएर उहाँलाई भेट्‌न जानुहोस्‌। प्रसन्‍नचित्तको भएर उहाँसित कुरा गर्नुहोस्‌। तपाईंको स्कूलको काम र मसीही क्रियाकलापबारे बताउनुहोस्‌। (हितोपदेश २५:२५ तुलना गर्नुहोस्‌।) तपाईं बस्नुहुने देशमा बिरामीको लागि आफन्तहरूले खाना ल्याइदिने वा अरू काम गरिदिने चलन छ भने गुनासो नगरिकन तिनीहरूलाई सहायता गर्नुहोस्‌। सफा अनि चट्ट परेर मुमा वा बुबालाई भेट्‌न जाँदा उहाँ खुसी हुनुका साथै अस्पतालका कर्मचारी र चिकित्सकहरूमा पनि राम्रो प्रभाव पार्नेछ। यसले गर्दा तपाईंको मुमा वा बुबाको राम्ररी रेखदेख हुनसक्छ।b

के तपाईंको मुमा वा बुबा घरमै आराम गर्दै हुनुहुन्छ? त्यसोभए उहाँको रेखदेख गर्न सक्दो मदत गर्नुहोस्‌। घरको केही कामहरूमा सहायता गर्नुहोस्‌। ‘उदारचित्तसँग नझर्कीकन’ मदत गरेर यहोवाको अनुकरण गर्ने कोसिस गर्नुहोस्‌। (याकूब १:५) गुनासो नगर्ने, आशावादी र सकारात्मक झुकाउ झल्काउन सक्दो गर्नुहोस्‌।

निस्सन्देह, तपाईंको स्कूलको कामहरू पनि छ। शिक्षा लिनु महत्त्वपूर्ण भएकोले त्यसको लागि समय निकाल्ने कोसिस गर्नुहोस्‌। हुनसक्छ भने, आराम गर्न र मनोरञ्जनको लागि पनि केही समय निकाल्नुहोस्‌। (उपदेशक ४:६) यसले तपाईंलाई स्फूर्ति दिनुका साथै तपाईंको मुमा वा बुबाको अझ राम्ररी रेखदेख गर्न मदत गर्नेछ। अन्तमा, आफूलाई अरूबाट अलग्ग नराख्नुहोस्‌। सँगी मसीहीहरूले गर्ने मदतको फाइदा उठाउनुहोस्‌। (गलाती ६:२) टेरी भन्छिन्‌: “मण्डली नै मेरो परिवार भयो। मसित कुरा गर्न र मेरो मदत गर्न प्राचीनहरू जहिले पनि तयार हुन्थे। म त्यो कहिल्यै बिर्सिने छैन।”

तपाईंको आध्यात्मिक सन्तुलन कायम राख्ने

सबैभन्दा मुख्य कुरा, तपाईंको आध्यात्मिक सन्तुलन कायम राख्नु हो। बाइबल अध्ययन र अरूलाई प्रचार गर्नेजस्ता आध्यात्मिक क्रियाकलापहरूमा आफूलाई व्यस्त बनाउनुहोस्‌। (१ कोरिन्थी १५:५८) गर्मी महिनाहरूमा टेरीले सहायक अग्रगामी गरेर प्रचारको काममा अझ बढी गर्थिन्‌। तिनी अझ भन्छिन्‌: “मुमाले मलाई जहिले पनि राज्यभवनको सभाहरूको लागि तयारी गर्न र उपस्थित हुन प्रोत्साहन दिनुहुन्थ्यो। त्यसले गर्दा हामी दुवैलाई फाइदा भयो। उहाँले चाहनुभएजत्ति उहाँ सबै सभाहरूमा उपस्थित हुन सक्नुहुन्‍नथ्यो। त्यसकारण, मैले सभामा सुनेको कुराहरू उहाँलाई सुनाउन सकूँ भनेर सभामा ध्यान दिएर सुन्थें। उहाँ सभामा उपस्थित हुन नसक्नुभएको बेला मैले उहाँलाई आध्यात्मिक भोजन खुवाएको आशा गर्नुहुन्थ्यो।”

“मुमा वा बुबाको बिरामीको मानसिक चोटको बावजूद केटाकेटीहरू हुर्कन र सफल हुन सकेको देखेर छक्क पर्ने” समाज सेविकाबारे कुरा गर्दा द न्यु योर्क टाइम्स-ले यसबारे राम्ररी निचोड निकाल्यो। उक्‍त समाज सेविका भन्छिन्‌: “तिनीहरू आफूसित भएको तर आफूलाई थाह नभएको सीपहरू सिक्छन्‌ . . . तिनीहरूले यस परस्थितिको सामना गर्न सके भने तिनीहरूले अरू थुप्रै कुराहरू पनि सामना गर्न सक्नेछन्‌।”

तपाईंले पनि यो कठिन समयको सामना गर्न सक्नुहुन्छ। उदाहरणका लागि, अहिले टेरीको मुमा आफ्नो रेखदेख आफै गर्न सक्छिन्‌। समयको दौडान तपाईंको मुमाबुबा पनि निको हुन सक्नुहुन्छ। त्यतिञ्जेल तपाईंको स्वर्गमा हुनुहुने साथी, यहोवाको मदत पाउनु हुनेछ भनेर नबिर्सनुहोस्‌। उहाँ “प्रार्थना सुन्‍नुहुने” हुनुहुन्छ र तपाईंले मदतको लागि गर्नुभएको पुकारा सुन्‍नुहुनेछ। (भजन ६५:२) तपाईंले सामना गर्नसकोस्‌ भनेर उहाँले तपाईं र परमेश्‍वरको भय राख्ने तपाईंको मुमा वा बुबालाई “असामान्य शक्‍ति” दिनुहुनेछ।—२ कोरिन्थी ४:७; NW; भजन ४१:३.

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b मार्च ८, १९९१ को ब्यूँझनुहोस्‌! (अंग्रेजी) मा “बिरामीलाई भेट्‌न जाँदा—कसरी सहायता गर्ने” लेखमा थुप्रै व्यवहारिक सुझावहरू दिइएको छ।

[पृष्ठ २३-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म घरबाहिर हुँदा मुमालाई केही भयो कि भन्‍ने डरले मलाई सताइरहन्छ”

[पृष्ठ २४-मा भएको चित्र]

तपाईंको मुमाबुबाको बिमारीबारे राम्ररी बुझ्नाले तपाईंले अझ बढी सहायता गर्न सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने