बाइबलको दृष्टिकोण
जीवनसाथी कसरी रोज्ने
एउटी अविवाहित युवतीलाई यस्तो प्रश्न गरियो, “के तपाईं कहिलेकाहीं विवाहबारे सोच्ने गर्नुहुन्छ?” तिनले उत्तरमा यसो भनिन्, “सोच्छु रे? सोच्ने मात्र होइन मलाई त पीरै लाग्छ।”
त्यस युवतीको निष्कपट जवाफले कोही कोही मानिसहरू प्रेम र मित्रताको कत्तिको चाहना गर्छन् भनेर बताउँछ। थुप्रैले विवाह जोडी पाउनु जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्छन्। त्यसैकारण, संसारमा मानिसहरूलाई विवाह जोडी पाउन मदत गर्ने संस्थाहरू च्याउ उम्रेको जत्तिकै छ्यासछ्यासती छन्। तैपनि, संसारको कतिपय देशहरूमा सफल विवाहभन्दा असफल विवाहहरूको संख्या बढी छ।
पश्चिमी मुलुकहरूमा विवाह जोडी वा जीवनसाथी आफैले रोज्नु सामान्य कुरा हो। अर्कोतर्फ, एसिया र अफ्रिकाका कतिपय भागहरूमा आमाबाबुले रोजेका केटा वा केटीसित विवाह गर्ने चलन अझै छ। परिस्थिति जस्तोसुकै भए तापनि यसलाई हल्कासित लिन मिल्दैन। जीवनमा गरिने अन्य कमै निर्णयहरूले मानिस सुखी वा दुःखी हुनुमा यति धेरै फरक पारेको हुन्छ। सुखमय विवाह सबैभन्दा राम्रो र सन्तोषजनक हुनसक्छ। त्यसै गरी कलहले भरिएको बन्धन पीडा र तनाउको स्रोत हुनसक्छ।—हितोपदेश २१:१९; २६:२१.
अरू मानिसहरूजस्तै साँचो मसीहीहरू पनि आफ्नो विवाहबन्धन आनन्द र सन्तोषजनक होस् भन्ने चाहन्छन्। तर तिनीहरू परमेश्वरलाई प्रसन्न तुल्याउनुका साथै उहाँको आदर पनि गर्न चाहन्छन्। (कलस्सी ३:२३) परमेश्वर, विवाहको सृष्टिकर्ता र सुरुआतकर्ता हुनुभएकोले हाम्रा आवश्यकताहरू र हाम्रोलागि सबैभन्दा उत्तम के हुन्छ भनी उहाँलाई राम्ररी थाह छ। (उत्पत्ति २:२२-२४; यशैया ४८:१७-१९) यसबाहेक उहाँले मानिसको सुरुआतदेखि अहिलेसम्म असल तथा खराब करोडौं विवाहहरू देख्नुभएको छ। उहाँलाई के असल हुन्छ र के हुँदैन, त्यो पनि थाह छ। (भजन ३२:८) उहाँको वचन बाइबलमा मसीहीहरूलाई सबै कुरा थाह पाएर छनौट गर्ने मदतको निम्ति स्पष्ट तथा ठोस सिद्धान्तहरू दिनुभएको छ। तीमध्ये केही सिद्धान्तहरू के हुन्?
बाहिरी रूप मात्र नहेर्नुहोस्
आफैले जीवनसाथी छनौट गर्नसक्ने ठाउँहरूमा सम्भावित जोडी अनौपचारिक रूपमा साथी वा परिवार मार्फत चिनजान हुनसक्छ। अक्सर, रोमान्टिक चासो शारीरिक आकर्षणद्वारा नै सुरु हुन्छ। यो निश्चय पनि स्वाभाविक र बलियो उत्प्रेरक हो तर बाइबलले बिहे गर्ने विचार गर्दा हामीलाई बाहिरी रूप मात्र नहेर्न प्रोत्साहित गर्छ।
“सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीनै आदरणीय हुन्छिन्” भनी हितोपदेश ३१:३० बताउँछ। प्रेरित पत्रुसले यसो भने, “नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्, जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” (१ पत्रुस ३:४) हो, आफ्नो सम्भावित पति-पत्नीको आध्यात्मिक गुण जस्तै परमेश्वरप्रतिको समर्पण, परमेश्वरप्रति प्रेमका साथै तिनको मसीही व्यक्तित्व बाहिरी सौन्दर्यताभन्दा धेरै महत्त्वपूर्ण हुन्छ। सही निर्णय गर्न समय लिनु महत्त्वपूर्ण छ। एउटै आध्यात्मिक लक्ष्य भएको र परमेश्वरको आत्माका फलहरू प्रदर्शित गर्न कोसिस गरिरहेको व्यक्ति रोज्नु महत्त्वपूर्ण छ। यसले सुखमय वैवाहिक बन्धनमा निकै योगदान पुऱ्याउँछ।—हितोपदेश १९:२; गलाती ५:२२, २३.
‘प्रभुमा मात्र विवाह गरोस्’
तपाईंले विवाह गर्ने व्यक्ति र तपाईंको एउटै लक्ष्य अनि विश्वास हुनु अत्यन्तै महत्त्वपूर्ण छ। विवाह साँच्चै चुनौतीपूर्ण हुन्छ र दुवै पक्षले आफ्नो बानीबेहोरा र मनोवृत्तिमा छाँटकाँट गर्नुपर्ने हुन्छ। तपाईं र तपाईंको सम्भावित जोडीबीच जति कुराहरू सामान्य छन्, त्यति नै छाँटकाँट गर्न सजिलो हुन्छ।
यसबाट हामीले प्रेरित पावलले मसीहीहरूलाई “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ” भन्नुको कारण बुझ्नसक्छौं। (२ कोरिन्थी ६:१४) एउटै विश्वास र बाइबलका सिद्धान्तहरू नबुझ्ने मानिससित विवाह गर्दा झगडा र असहमति हुन्छ भनी पावललाई थाह थियो। ‘प्रभुमा मात्र विवाह’ गर भन्ने सल्लाह व्यवहारिक छ। (१ कोरिन्थी ७:३९) यसले परमेश्वरको सोचाइ झल्काउँछ। यसलाई पालन गर्नेहरू पछि आइपर्ने थुप्रै गम्भीर झमेला तथा समस्याहरूबाट बच्छन्।—हितोपदेश २:१, ९.
आमाबाबुले रोजेको व्यक्तिसित विवाह
आमाबाबुले रोजेको व्यक्तिसित विवाह गर्ने चलन अझै भएका ठाउँहरूमा नि? उदाहरणका लागि, दक्षिणी भारतमा ८० प्रतिशत विवाह अझै आमाबाबुले रोजेको व्यक्तिसित गरिन्छ भन्ने अनुमान कसै कसैले लाएका छन्। मसीही आमाबाबुले यो चलनअनुसार गर्नु या नगर्नु, व्यक्तिगत निर्णयको कुरा हो। कुरा जस्तोसुकै भए तापनि आध्यात्मिक मूल्यमान्यतालाई प्रथम स्थान दिंदा आमाबाबुले रोजेकाहरूसितको विवाह पनि सफल हुन्छ।
आमाबाबुले रोजेको व्यक्तिसित विवाह गर्ने पक्षमा भएका मानिसहरूको कुराअनुसार यसो गर्दा अनुभवी र परिपक्व व्यक्तिहरूले निर्णय गर्छन्। अफ्रिकाका एक मसीही प्राचीन यसो भन्छन्, “कोही कोही आमाबाबुलाई आफ्ना छोराछोरीको उमेर र अनुभवको कमीले गर्दा तिनीहरू आफ्नो सम्भावित पति-पत्नीको आध्यात्मिक परिपक्वतालाई पूर्णतया थाह पाउन सक्दैनन् जस्तो लाग्छ।” भारतका एक परिभ्रमण निरीक्षकले अझ यसो भने: “जवानहरू त्यति अनुभवी हुँदैनन् र कतिपय निर्णयहरू भावनामा बहेर गर्नसक्छन्।” आमाबाबुलाई आफ्ना छोराछोरीको आनीबानी राम्ररी थाह हुने भएकोले तिनीहरूले मात्र आफ्ना छोराछोरीको निम्ति बुद्धिमानीपूर्वक छनौट गर्नसक्छन्, भन्ठान्छन्। जवान युवक तथा युवतीको विचार बुझ्नु पनि बुद्धिमानी कुरा हुनेछ।
तथापि, आमाबाबुले बाइबल सिद्धान्तहरू बेवास्ता गरेका छन् र विवाहमा समस्याहरू खट्किन थाल्छ भने त्यसको परिणाम भोग्नुपर्ने हुन्छ। किनभने आमाबाबुले रोजेको व्यक्तिसित विवाह गर्दा आफ्नो सम्भावित विवाह जोडीलाई पहिल्यै राम्रोसित चिन्ने मौका धेरै कम हुने हुँदा समस्याहरू खडा हुनसक्छन्। भारतका एक मसीही पिता यसो भन्छन्, अनि समस्याहरू आउन थालेपछि “आमाबाबुलाई दोष थोपर्ने झुकाउ हुन्छ।”
आफ्नो छोराछोरीको निम्ति विवाह जोडी रोज्ने आमाबाबुले आफ्नो मनसाय जाँच्नु पनि बेस हुन्छ। विवाह जोडी छान्ने प्रक्रियामा भौतिक लाभ वा प्रतिष्ठा पाउने चाहना मात्रै हेरेको छ भने समस्या खडा हुनसक्छ। (१ तिमोथी ६:९) अतः विवाह पक्का गर्नुअघि आफैलाई यस्तो प्रश्न गर्नुपर्छ: ‘के यो विवाहले दुवै व्यक्तिको आनन्द र आध्यात्मिक सुस्वास्थ्य पक्का गर्छ? वा परिवारको प्रतिष्ठा बढाउन वा आर्थिक लाभ प्राप्त गर्नको लागि मात्र हो?’—हितोपदेश २०:२१.
बाइबलको सल्लाह स्पष्ट र लाभदायी छ। विवाह जोडी जसरी छनौट गरे तापनि सम्भावित जोडीको गुण र आध्यात्मिक अवस्थालाई सधैं प्राथमिकता दिनुपर्छ। यसो गर्दा विवाहको सुरुआतकर्ता यहोवा परमेश्वरको आदर हुन्छ र विवाह गर्नेहरूले पनि आफ्नो दाम्पत्य जीवन सही आध्यात्मिक जगमा सुरु गर्नसक्छन्। (मत्ती ७:२४, २५) यसले सुखी, आनन्दमय विवाहमा निकै योगदान पुऱ्याउँछ।