प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. ४-७
  • अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चीनमा यसलाई नामेट पार्ने प्रयासहरू
  • दोहोरो स्तर
  • किन यस्तो प्रभावशाली
  • के तपाईंको जीवन आन्धविश्‍वासमा जकडिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अन्धविश्‍वास—अहिले कत्तिको व्यापक छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • अन्धविश्‍वास—किन यस्तो खतरनाक?
    ब्यूँझनुहोस्‌!—१९९९
  • अन्धविश्‍वासमा जकडिएको जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. ४-७

अन्धविश्‍वास—किन अहिलेसम्म रहिरहेको?

आज पनि थुप्रै मानिसहरू कालो बिरालोले बाटो काट्यो भने अनिष्ट हुन्छ र तीन टिकट महा विकट हुन्छ भनी विश्‍वास गर्ने सायद तपाईंलाई थाहै होला। त्यस्तै कुनै पनि महिनाको १३ तारिख शुक्रबार पर्नु राम्रो होइन र कुनै पनि भवनको १३ औं तल्लामा बस्नु खतरनाक हुन्छ भन्‍ने पनि थुप्रैले विश्‍वास गर्छन्‌। यस्ता अन्धविश्‍वासहरू तर्कसंगत नभए तापनि अहिलेसम्मै व्याप्त छन्‌।

यसो सोच्नुहोस्‌। किन मानिसहरू केही अनिष्ट नहोस्‌ भनेर जन्तर लगाउँछन्‌ र आफ्नो घरको चौकोसमा तीन चोसे कीलाहरू ठोक्ने गर्छन्‌? कुनै सुस्पष्ट प्रमाण नभए पनि यस्ता कार्यहरूले तिनीहरूलाई शुभ साइत ल्याउँछ भनी विश्‍वास गरेकाले नै मानिसहरूले त्यसो गरेका होइनन्‌ र? अन्धविश्‍वासहरूको शब्दकोश पुस्तक यसो भन्छ: “अन्धविश्‍वासी मनले कुनै कुनै वस्तु, ठाउँ, जन्तु वा कार्य भाग्यशाली (शुभसाइत वा फाप्ने) ठान्छन्‌ भने अरू कतिपय अनिष्टकारी (कुसाइत, वा अनिष्टकारी हुने चिह्नहरू) हुन्छ भन्‍ने विश्‍वास गर्छन्‌।”—गलाती ५:१९, २० हेर्नुहोस्‌।

चीनमा यसलाई नामेट पार्ने प्रयासहरू

स्पष्टतः अन्धविश्‍वास नामेट पार्न हाल गरिएका प्रयासहरू विफल भइरहेका छन्‌। उदाहरणका लागि, १९९५ मा साङघाइको पिपल्स कांग्रेसले अन्धविश्‍वासलाई राष्ट्रको विगतको अवशेष मान्दै एउटा आधिकारिक सरकारी आदेश जारी गरेर त्यसलाई निषेध गऱ्‍यो। यसको उद्देश्‍य “सामाजिक अन्धविश्‍वासलाई नामेट पार्ने र अन्त्येष्टिसम्बन्धी चलनहरूलाई सुधारेर अझ सभ्य राजधानी निर्माण गर्न प्रोत्साहित गर्नु थियो।” तर परिणाम के भएको छ?

एउटा रिपोर्टअनुसार साङ्‌घाइका जनताहरू अन्धविश्‍वासमै लागिरहे। आफ्ना पुर्खाहरूका चिहानमा नक्कली नोट जलाउने चिनियाँ रीतिथितिमा लगाइएको उक्‍त सरकारी निषेधाज्ञालाई वास्तै नगरी एक मलामीले यसो भने: “हामीले १९ अरब युआन [लगभग तीन अरब अमेरिकी डलर] जलायौं।” तिनले अझ भने: “यसो गर्नु हाम्रो संस्कार हो। यसले देवताहरूलाई खुसी तुल्याउँछ।”

ग्वाङ्‌मिङ्‌ डेली नामक एउटा ख्यातिप्राप्त अखबारले “चीनमा मात्रै भावी बताउने व्यवसायीहरू ५० लाख छन्‌ जबकि विज्ञान तथा प्रविधिका व्यवसायिक कामदारहरूको संख्या १ करोड मात्र भएको” उल्लेख गर्दै सो निषेधाज्ञा प्रभावकारी हुन नसकेको टिप्पणी गऱ्‍यो। उक्‍त अखबारले अझ यसो भन्यो: “अहिले भइरहेको कार्यले त मानिसहरू भावी बताउनेहरूकै समर्थन गर्छन्‌ जस्तो देखिन्छ।”

दी इन्साइक्लोपीडिया अमेरिकाना, अन्तरराष्ट्रिय संस्करणले अन्धविश्‍वास रहिरहनुको कारणबारे यसो भन्छ: “सबै संस्कृतिहरूमा केही पुराना चलनहरू कायमै राख्ने मात्र होइन तर त्यसको नयाँ अर्थ समेत लगाइन्छ।” यस कुरालाई समर्थन गर्दै द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-को नयाँ संस्करणले यसो भन्यो: “देखेको कुरालाई मात्र मान्यता दिने आधुनिक भनौंदो अहिलेको युगमा पनि, सोधखोज गर्ने हो भने कतिपय अन्धविश्‍वास वा अतार्किक धारणाहरूमा विश्‍वास गर्ने मानिसहरू पक्कै भेटिन्छन्‌।”

दोहोरो स्तर

स्पष्टतयाः थुप्रै मानिसहरूको दोहोरो स्तर हुन्छ। तिनीहरू एक्लै हुँदा गर्ने सबै काम जनसमुदायको अगाडि स्वीकार्दैनन्‌। एक जना लेखककाअनुसार अरूको अगाडि मूर्ख नदेखिन तिनीहरू त्यसो गर्छन्‌। तसर्थ, त्यस्ता मानिसहरू आफ्ना अन्धविश्‍वासी चलनहरूलाई दिनचर्या वा बानी भन्‍न रुचाउँछन्‌। उदाहरणका लागि, खेलाडीहरू आफ्नो गतिविधिलाई खेल खेल्नुअघि गर्ने सामान्य कुराहरू मात्र हुन्‌ भन्‍न रुचाउँछन्‌।

केही समयअगाडि मात्र एक जना पत्रकारले चेन लेटरहरू अर्थात्‌ एक जना मानिसले अरू थुप्रैलाई त्यो चिठी पनि पठाउने अनुरोध गर्दै लेखिएका पत्रहरूबारे व्यंग्यात्मक टिप्पणी गरे। प्रायः त्यस्ता चिठीपत्रहरू अरूलाई पठाउने मानिसलाई भाग्यले साथ दिन्छ भने त्यस क्रमलाई तोड्‌ने मानिसहरूले नराम्रो परिस्थिति भोग्नुपर्ने हुन्छ। त्यसैले यस चेन लेटरमा उक्‍त पत्रकार पनि सामेल भएपछि तिनले यसो भने: “म अन्धविश्‍वासी भएकोले त्यसो गरिरहेको होइन भन्‍ने त तपाईंले बुझ्नुभयो होला। मलाई कुनै दुर्भाग्य भोग्ने इच्छा छैन।”

नृवंशशास्त्रीहरू तथा लोकपरम्परासम्बन्धी विशेषज्ञहरूको विचारमा “अन्धविश्‍वास” शब्दको कुनै ठोस परिभाषा छैन। तिनीहरू कतिपय बानीव्यहोरालाई अन्धविश्‍वास भन्‍न हिचकिचाउँछन्‌। तिनीहरू सरल तर “व्यापक” भनाइहरू जस्तै “जनजातीय रीतिथिति तथा विश्‍वास,” “लोकपरम्परा” वा “विश्‍वास गर्ने परिपाटी” भन्‍न रुचाउँछन्‌। डिक हाइमनले तँमाथि दुर्भाग्य आइनपरोस्‌—ठूला र सानाहरूको अन्धविश्‍वास नामक आफ्नो पुस्तकमा निष्कपट भई यस्तो टिप्पणी गरे: “पाप अनि रुघाजस्तै अन्धविश्‍वासको पक्षमा बोल्नेहरू पनि कोही छैनन्‌ तर अन्धविश्‍वासीहरू भने थुप्रै छन्‌।”

तथापि, अन्धविश्‍वास जुनसुकै नाउँले चिनिए तापनि अहिलेसम्म यथावतै छ। आजको जस्तो उच्च प्रविधियुक्‍त वैज्ञानिक युगमा पनि किन यस्तो?

किन यस्तो प्रभावशाली

कसैकसैको भनाइअनुसार मानवजातिका लागि अन्धविश्‍वासमा विश्‍वास गर्नु सामान्य कुरा हो। त्यस्तै अन्धविश्‍वास गर्ने झुकाव हाम्रो वंशाणुसार्ने जीनमा हुन्छ भनी दाबी गर्नेहरूको पनि कमी छैन। तथापि, केही अध्ययनहरूले अर्कै कुरा देखाउँछन्‌। मानिसहरूलाई सिकाइएको कुराहरूको परिणामस्वरूप तिनीहरू अन्धविश्‍वासी हुन्छन्‌ भनी प्रमाणहरूले देखाउँछ।

प्राध्यापक स्टुआर्ट ए. भाइस यसो भन्छन्‌: “अरू आनीबानीजस्तै अन्धविश्‍वासी व्यवहारहरू पनि मानिसहरूले आफ्नो जीवनमा सिक्ने कुराहरू हुन्‌।” हामीले जन्मँदै भूतप्रेत नआओस्‌ भनी ढोकाको चौकोसमा तीन चोसे कीला ठोक्न सिकेका हुँदैनौं। हामीले पछिपछि त्यसो गर्न सिक्छौं। भनिन्छ, मानिसहरूले बाल्यावस्थामा जादुमा विश्‍वास गर्न सिक्छन्‌ अनि “जान्‍नेसुन्‍ने भएर आफ्नो निर्णय आफै गर्नसक्ने” भइसकेपछि पनि अन्धविश्‍वासमा विश्‍वास गरिरहने सम्भावना हुन्छ। अनि तिनीहरूले तीनथुप्रो अन्धविश्‍वासहरू चाहिं कहाँबाट सिक्छन्‌ नि?

थुप्रै अन्धविश्‍वासहरू आफूले प्रिय मानेका धार्मिक विश्‍वासहरूसित सम्बन्धित हुन्छन्‌। उदाहरणका लागि, इस्राएलीहरूभन्दा पहिला कनानमा बसोबास गर्ने मानिसहरूको धर्ममा अन्धविश्‍वासको महत्त्वपूर्ण भूमिका थियो। जोखना हेर्ने, जादु गर्ने, शकुन अपशकुन मान्‍ने र बोक्सीविद्या, टुना-मुना गर्ने, मसान जगाउने अनि बिजुवा र झाँक्रीको काम गर्ने अनि भावी बताउने र मरेकाहरूको सोधपुछ गर्नु कनानीहरूको चलनै थियो भनी बाइबल बताउँछ।—व्यवस्था १८:९-१२.

धर्मसित सम्बन्धित अन्धविश्‍वासको लागि प्राचीन युनानीहरू चिनिन्थे। तिनीहरू पनि कनानीहरू जस्तै देववाणी, भावी बताउने अनि जादुमा विश्‍वास गर्थे। बेबिलोनीहरूचाहिं जनावरको कलेजो हेरेर के के काम गर्नुपर्ने हो थाह पाइन्छ भन्‍ने विश्‍वास गर्थे। (इजकिएल २१:२१) तिनीहरू जुवाडेहरू भनेर पनि चिनिन्थे र बाइबलले बताउने “भाग्यदेव” पुकार्थे। (यशैया ६५:११) आजसम्म पनि जुवाडेहरू अति नै अन्धविश्‍वासी मानिसहरू हुन्‌ भनेर चिनिन्छन्‌।

चाखलाग्दो कुरा, आजकाल थुप्रै चर्चहरूले जुवा खेल्न प्रोत्साहन दिएको पाइन्छ। एउटा उदाहरण, क्याथोलिक चर्च हो जहाँ बिंगोजस्ता खेलहरू खेलाइन्छ। त्यस्तो विचार व्यक्‍त गर्दै एक जुवाडेले यस्तो टिप्पणी गरे: “क्याथोलिक चर्चलाई [जुवाडेहरू अति अन्धविश्‍वासीहरू हुन्छन्‌] भनी थाह छ भनेर मलाई पक्का छ किनभने ननहरू सधैं आफ्ना चन्दा संकलन बाकसहरू लिएर धावन मार्गको छेउछाउमा बस्छन्‌। अनि हामीजस्ता क्याथोलिकहरूले ‘सिस्टरलाई’ चन्दा नै नदिई घोडदौडमा बाजी जित्ने आशा कसरी गर्नसक्छौं र? त्यसैले हामी चन्दा दिन्छौं। अनि त्यस दिन विजयी भयौं भने पछि पछि पनि निरन्तर जित्ने आशामा अझ चन्दा दिन हिचकिचाउँदैनौं।”

धर्म र अन्धविश्‍वासको घनिष्ठ सम्बन्ध छ भनी देखाउने अझ प्रमुख उदाहरण त मसीहीजगतका चर्चहरूले प्रवर्धन गरेको क्रिसमससित सम्बन्धित अन्धविश्‍वास हो। हडचूरमुनि चुम्बन गर्दा तिनीहरूको विवाह हुनेछ भन्‍ने आशाका साथै सान्ता क्लजबारे पनि थुप्रै अन्धविश्‍वासहरू छन्‌।

तँमाथि दुर्भाग्य आइनपरोस्‌ पुस्तकले “भविष्यबारे कौतूहल भएका हुनाले” अन्धविश्‍वास बढेको हो भनी बताउँछ। त्यसैले विगतको इतिहासमा झैं जनसाधारण र विश्‍वका नेताहरू दुवैले भावी बताउनेहरू अनि अरू तान्त्रिक शक्‍ति चलाउनेहरूसित सल्लाह लिन्छन्‌। नास्ता गर्नुअघि नगाउनु, चन्द्रमाको ज्योतिमा नसुत्नु पुस्तकले यसरी वर्णन गर्छ: “आफूलाई थाह भएका र नभएका दुवै किसिमका त्रासहरूबाट बच्न जन्तरमन्तरले काम गर्छ भनी मानिसहरू विश्‍वास गर्न चाहन्थे।

तसर्थ, अन्धविश्‍वासले गर्दा मानिसहरूले आफ्नो डरलाई केही हदसम्म काबूमा राख्न सकेका छन्‌। औंला खप्टाउनु, टोपीमा थुक्नु नामक पुस्तक यसो भन्छ: “[मानवजातिले] अन्धविश्‍वास गर्नुका कारणहरू प्रायः उस्तै उस्तै छन्‌। [तिनीहरूले] आफूले नियन्त्रण गर्न नसक्ने ‘भाग्य’ वा ‘संयोग’-सित सम्बन्धित परिस्थिति सामना गर्नुपर्दा अन्धविश्‍वासले [तिनीहरूलाई] सुरक्षित महसुस गराउँछ।”

विज्ञानले विभिन्‍न तरिकाले मानिसजातिको जीवन उकासेको छ तर अझै पनि मानिसहरू असुरक्षित महसुस गर्छन्‌। वास्तवमा, विज्ञानबाट उत्पन्‍न समस्याहरूकै कारण असुरक्षा बढेको हो। प्राध्यापक भाइस भन्छन्‌: “अन्धविश्‍वास र असामान्य कुराप्रतिको विश्‍वास दुवै हाम्रा संस्कृतिका पक्षहरू हुन्‌ . . . किनभने हाम्रो समकालीन संसारले हामी प्रत्येकमा अनिश्‍चितताको भाव बढाइरहेको छ।” द वर्ल्ड बुक इन्साइक्लोपीडिया यस्तो निष्कर्षमा पुग्यो: “मानिस भविष्यबारे जबसम्म अनिश्‍चित हुन्छन्‌ तबसम्म . . . अन्धविश्‍वासले तिनीहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

उसोभए संक्षेपमा भन्‍ने हो भने, अन्धविश्‍वास मानिसहरूको सामान्य डरमा गडिएको र आफूलाई मन परेका थुप्रै धार्मिक विश्‍वासहरूमा आधारित भएकोले अहिलेसम्म रहिरहेको छ। त्यसो हो भने, मानिसहरूको अनिश्‍चितताहरूको सामना गर्न मदत गर्ने भएकोले के हामी अन्धविश्‍वास फाइदाजनक छ भन्‍ने निष्कर्षमा पुग्नसक्छौं? के यो अहानिकारक छ? अथवा हामी टाढै बस्नुपर्ने खतरनाक कुरा हो?

[पृष्ठ ५-मा भएको चित्र]

चीनमा मात्रै झन्डै ५० लाख पेसेवर भावी बताउनेहरू छन्‌

[पृष्ठ ६-मा भएको चित्र]

बिंगो खेलाएर थुप्रै चर्चहरूले अन्धविश्‍वासलाई बढावा दिएका छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

हडचूरमुनि चुम्बन गर्ने जस्ता क्रिसमसका परम्पराहरू अन्धविश्‍वासमा मुछिएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने