युवा जनहरू सोध्छन् . . .
साथीले किन मेरो चित्त दुखाएको होला?
“मेरा दुई तीन जना साथीहरू थिए। . . . पछि तिनीहरूले एउटी अर्की केटीलाई साथी बनाए र म तिनीहरूकहाँ पुग्ने बित्तिकै तिनीहरू चुपचाप हुन्थे। . . . तिनीहरूले मलाई सबै कुराबाट पन्छाउन थाले। मेरो असाध्यै चित्त दुख्यो।”—करेन।a
एकदमै मिल्ने साथीहरूबीच पनि यस्तो हुनसक्छ। कुनैदिन तिनीहरू नङमासुझैं मिलेर सँगसँगै हिंड्छन्। कुनै दिन एकअर्कासँग कुराकानीसमेत गर्दैनन्। “साथी भनेको जस्तोसुकै अवस्थामा पनि भर पर्नसकिने, विश्वास गर्नसकिने र मदत माग्नसकिने मान्छे हुनुपर्छ” भनी १७ वर्षीया नोरा भन्छिन्। तर कहिलेकाहीं तपाईंको घनिष्ठ साथीले नै महा शत्रुजस्तो व्यवहार गर्न थाल्नसक्छन्।
मित्रतामा आइपर्ने बाधाहरू
राम्रो मित्रतालाई कुन कुराले बिगार्छ? सान्ड्राको एकदमै मनपर्ने टि-शर्ट साथी मेगानलाई लगाउन दिएपछि तिनीहरूबीच समस्या सुरु भयो। सान्ड्रा भन्छिन्, “उसले त्यो टि-शर्ट फर्काउँदा त मैलो न मैलो अनि बाहुला पनि अलिकता च्यातिएको थियो। मैले थाहै पाउँदिनँ होला भनेर उसले त्यसबारे केही पनि भनिन।” मेगानको त्यस्तो हेलचेक्य्राइँ देखेर सान्ड्रालाई कस्तो लाग्यो? तिनी भन्छिन्, “म रिसले आगो भएँ। उसलाई मेरा चीजबीजहरू . . . अथवा मेरो भावनाको कुनै वास्तै रहेनछ जस्तो लाग्यो।”
तपाईंको मिल्ने साथीले तपाईंलाई अप्ठ्यारोमा पार्ने कुरा गर्दा पनि तपाईंको चित्त दुख्नसक्छ। सिन्डीलाई यस्तै भयो। आफ्ना स्कूलको साथीहरूलाई आफूले त्यस पुस्तकको सारांश लेख्न अहिलेसम्म त्यो पुस्तक पढ्नै भ्याएको छैन भनिन्। यसो भन्ने बित्तिकै, उसको साथी केटले उसलाई बेसरी गाली गर्न थालिन्। “त्यत्तिका साथीहरूको अगाडि उसले मलाई लाजैमर्नु बनाइदिई। “मलाई ऊ देखेर एकदम रिस उठ्यो। त्यसपछि त कुरै अर्को भयो।”
कहिलेकाहीं आफ्नो साथीले अर्कै नयाँ साथीसित समय बिताउन थाल्दा पनि फाटो आउँछ। तेह्र वर्षीया बोनी भन्छिन्, “मेरो एक जना मिल्ने साथी अर्कै एउटा समूहको सदस्य बनिन्। त्यसपछि त उसले मलाई देखेपनि नदेखेझैं गरेर हिंड्न थाली।” अथवा तपाईंसित मित्रता गाँस्नुमा स्वार्थ लुकेको छ भनेर थाह पाएपछि पनि यस्तो हुनसक्छ। तेह्र वर्षीय जो भन्छन्, “म र बबी एकदम मिल्ने साथीहरू थियौं। म मन परेकोले नै ऊ मसित मिलेको होला भन्ठान्थें, तर मेरो बुबा विज्ञापनसम्बन्धी काम गर्नुहुने भएकोले खेलकुद तथा कन्सर्टहरूको टिकट सधैं पाउने भएकोले पो उसले मलाई साथी बनाएको रहेछ।” अहिले जो कस्तो महसुस गर्छन्? तिनी भन्छन्, “म बबीलाई अबदेखि कहिले पनि विश्वास गर्दिनँ!”
कुनै बेलाचाहिं तपाईंले गोप्य राख्न चाहनुभएका कुराहरू तपाईंको साथीले अरूलाई भन्दै हिंड्नसक्छ। उदाहरणका लागि, एलिसनले आफ्ना सहकर्मीसितको व्यक्तिगत समस्याबारे आफ्नी साथी सारालाई बताइन्। त्यसको भोलिपल्ट त्यही सहकर्मीको अगाडि साराले कुरा निकालिन्। एलिसन भन्छिन्, “ऊ त्यस्ती फतौरी होली भनेर त मैले सपनामा पनि सोचेकी थिइनँ! म रिसले चूर भएँ।” अर्की १६ वर्षीया रेचेलले आफ्नो घनिष्ठ साथीले तिनीहरू दुई बीच मात्र भएको व्यक्तिगत कुरा अरूलाई पनि बताइदिंदा त्यस्तै अनुभव गरिन्। रेचेल भन्छिन्, “मलाई एकदमै नमज्जा लाग्यो र उसले मलाई धोका दिएको जस्तै लाग्यो। ‘अब उसलाई आफ्नो कुराहरू कहिल्यै भन्दिनँ?’ मैले मनमनै सोचें।”
दुवैबीच एकअर्काको हेरविचार, भरोसा अनि आदर गर्ने मनोभाव छ भने मित्रता भावनात्मक मदतको स्रोत हुनसक्छ। तथापि, घनिष्ठ मित्रहरू बीच पनि खटपट हुनसक्छ। तैपनि बाइबलले स्पष्टसित यसो भन्छ: “कुनै कुनै साथीहरू बेफायदाको कुराको लागि मात्र असल हुन्छन्।” (हितोपदेश १८:२४) कारण जे सुकै होस्, तपाईंको साथीले धोका पाएको महसुस गर्दा ठूलो चोट पुग्नसक्छ। यस्तो किन हुन्छ?
मित्रतामा किन फाटो आउँछ
चाहे युवाहरूबीचको सम्बन्ध होस् वा वयस्कहरूबीचको कुनै पनि मानव सम्बन्ध समस्यामुक्त छैन। मसीही चेला याकूबले पनि त्यसै भनेका छन्: “धेरै कुरामा हामी चुक्तछौं। जो मानिस वचनमा चुक्तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२; १ यूहन्ना १:८) जो सुकैले पनि गल्ती गर्ने हुनाले चाँडो होस् वा ढिलो तपाईंको साथीले तपाईंको चित्त नदुखाउला भन्न सकिन्न। साथै कुनैबेला तपाईंले पनि त्यस साथीको चित्त दुखाएको तपाईंलाई यादै होला। (उपदेशक ७:२२) बीस वर्षीया लीसा भन्छिन्, “हामी सबै असिद्ध छौं। त्यसैले कुनै न कुनै बेला हामीले एकअर्कालाई रिस उठाउने कामकुराहरू गरिहाल्छौं।”
मानव असिद्धताबाहेक यसमा अरू कुराहरू पनि सामेल हुनसक्छन्। नबिर्सनुहोस्, तपाईं हुर्कंदै अनि परिपक्व हुँदै जानुहुँदा तपाईं र तपाईंका साथीको रुचिहरू पनि फरक हुनसक्छन्। तसर्थ, सुरुमा जुनसुकै कुरामा पनि सहमत हुने दुई मानिसहरूको कुरा पछि नमिल्न पनि सक्छ। एक जना किशोरीले आफ्नो सबैभन्दा मिल्ने साथीबारे यस्तो दुःख पोखिन्: “हामी एकअर्कालाई धेरै फोन पनि गर्दैनौं र कुराकानी गरिहाल्यौं भने पनि हाम्रो कुरै मिल्दैन।”
हो, एउटा कारण बेग्लाबेग्लै रुचि लिएर हुर्कनु हो। तर किन कसै कसैले आफ्नै साथीहरूको चित्त दुखाउँछन् त? प्रायजसो डाहले गर्दा हो। उदाहरणका लागि, तपाईंको सीप अनि सफलता देखेर तपाईंको साथीले रिस गर्न थालेको हुनसक्छ। (उत्पत्ति ३७:४; १ शमूएल १८:७-९ तुलना गर्नुहोस्।) बाइबल यसो भन्छ, “क्रोधले . . . हड्डी गलाउँछ।” (हितोपदेश १४:३०) यसले डाह र ईर्ष्या पैदा गर्छ। कारण जेसुकै होस्, तपाईंको साथीले चित्त दुखाउँदा तपाईं के गर्न सक्नुहुन्छ?
परिस्थिति सुधार्ने
रेचेल भन्छिन्, “सुरुमा, म त्यस व्यक्तिलाई राम्ररी नियाल्छु र उसले जानाजानी त्यसो गरेको हो कि होइन ठम्याउने कोसिस गर्छु।” कुनै शब्द वा कार्यले आफ्नो बेइज्जती भएजस्तो लागेमा भावनामा बहेर हतपत कुनै पनि कदम नचाल्नुहोस्। बरु, धीरजी हुनुहोस् र त्यसो हुनुको कारण के हो भनी राम्ररी सोच्नुहोस्। (हितोपदेश १४:२९) आफ्नो बेइज्जती भएकोजस्तो महसुस गरेर जथाभाबी व्यवहार गर्नुहुँदा मामिला सुल्झिएला र? यस्ता कुराहरू विचार गरिसकेपछि तपाईंले भजन ४:४ मा दिइएको यो सल्लाह पालन गर्न सक्नुहुन्छ: “रीस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चुपचाप रहो।” त्यसपछि तपाईंको ‘प्रेमले असंख्य पापहरू ढाक्ने’ मार्ग अपनाउन सक्नुहुन्छ।—१ पत्रुस ४:८.
तथापि, त्यस्तो चित्त दुखाउने व्यवहार त्यत्तिकै बिर्सन सक्नुहुन्न जस्तो लाग्यो भने नि? त्यस्तो बेला तपाईंले त्यही व्यक्तिलाई भेट्नु बेस हुनेछ। तेह्र वर्षीय फ्रांक भन्छन्, “तपाईंहरू दुई जना मात्र भेट्नुहोस् र के भएको हो भनेर स्पष्टसित कुरा गर्नुहोस्। यदि यसो गर्नुभएन भने एकअर्काप्रति द्वेष रहिरहन्छ।” सोह्र वर्षीय सुजनले पनि त्यस्तै महसुस गरिन्। तिनले भनिन्, “सबैभन्दा राम्रो तरिका हो, तपाईंले उसलाई भरोसा गर्नुभएको थियो तर उसको व्यवहारले निराश तुल्यायो भनेर बताउनुहोस्।” ज्याकलीन पनि व्यक्तिगत तवरमा भेट्नु नै बेस हो भन्ने सोचाइ राख्छिन्। तिनी भन्छिन्, “म त्यसबारे स्पष्टसित कुरा गर्ने प्रयास गर्छु। प्रायजसो, त्यस व्यक्तिले खुलस्त कुराकानी गर्छ र तपाईंले त्यतिनै बेला समस्याहरूको व्यवहारिक समाधान गर्न सक्नुहुन्छ।”
तर रिसको झोंकमा कुरा गर्नुहुँदैन भनेर तपाईं होसियार हुनुपर्छ। बाइबल यसो भन्छ: “तातो रीसले झगड़ा उठाउँछ, तर धीरजले झगड़ालाई मेटाउँछ।” (हितोपदेश १५:१८) त्यसैले समस्या समाधान गर्नुअघि दिमाग ठन्डा हुनदिनुहोस्। लीसा स्वीकार्छिन्, “तपाईं सुरुमा रिसले आँखै देख्नुहुन्न तर आफूलाई शान्त हुन दिनुहोस्। त्यस व्यक्तिप्रति रिस अलि कम भएपछि मात्र जानुहोस्। त्यसपछि उसलाई भेट्नुहोस् र बसेर शान्तपूर्वक छलफल गर्नुहोस्।”
यहाँ याद गर्नुपर्ने शब्द “शान्तपूर्वक” हो। नबिर्सनुहोस्, तपाईंको उद्देश्य आफ्नो साथीलाई बेसरी गाली गर्नु होइन। तपाईंको उद्देश्य त मित्रैलो ढंगमा कुरा सुल्झाउनु र सम्भव भए मित्रतालाई पहिलेको जस्तै बनाउनु हो। (भजन ३४:१४) त्यसैले तपाईंको मनमा लागेको कुरा, स्पष्टसित बताउनुहोस्। लीसा सल्लाह दिन्छिन् “तपाईं यसो भन्न सक्नुहुन्छ, ‘हाम्रो मित्रता त राम्रै थियो। के कुरा चित्त बुझेन भन त?’ उसले यसो गर्नुको कारण थाह पाउनु आवश्यक छ। त्यसो गरिसक्नु भएपछि समस्याहरूको समाधान गर्न गाह्रो हुनेछैन।”
तपाईंले अरूलाई आफू पट्टि फर्काउन त्यस व्यक्तिको विरुद्धमा कुरा काटेर अरूलाई आफ्नो पक्षमा ल्याउन खोज्ने इत्यादि गरेर बदला लिन खोज्नु एकदमै गलत हुनेछ। मसीही प्रेरित पावलले रोमीहरूलाई यसो लेखे: “कसैलाई खराबको बदला खराब नगर।” (रोमी १२:१७) साँच्चै, तपाईंलाई जतिसुकै गहिरो चोट परेको नै किन नहोस्, बदला लिंदा कुरा झनै बिग्रनेछ। नोरा भन्छिन्, “बदला लिएर केही फाइदा छैन, किनभने यसो गर्दा तपाईंहरू फेरी कहिल्यै मित्र बन्नसक्नुहुने छैन।” त्यसको विपरित, आफ्नो सम्बन्ध पहिलेजस्तै बनाउन तपाईंले सक्दो प्रयास गर्नुभयो भने “आफूले राम्रो काम गरेको महसुस गर्नुहुनेछ” भनी तिनले जोड दिइन्।
तर मेलमिलाप गर्न तपाईंले गर्नुभएको प्रयासमा साथीले वास्तै गर्दैन भने नि? त्यसो हो भने नबिर्सनुहोस्, सबै मित्रता एकैनासे हुँदैन। परिवार परामर्शदाता जुडिथ म्याक्लीज भन्छिन्, “साथी नै भए तापनि सबै जना घनिष्ठ हुँदैनन्। तपाईंहरू पनि त्यस्तै साथीहरू हुनुहुन्छ भन्ने बुझ्नुहोस्।” तैपनि तपाईंले शान्ति कायम गर्न आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको छु भनेर ढुक्क हुनसक्नुहुन्छ। प्रेरित पावलले यसरी लेखे: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”—रोमी १२:१८.
घनिष्ठ मित्रहरूबीच पनि कहिलेकाहीं संकट आउनसक्छ। यदि त्यस्तो संकट आइपर्दा पनि त्यस व्यक्तिप्रति रहेको तपाईंको दृष्टिकोण अथवा आफ्नो आत्मसम्मानमा ठेस पुग्न दिनुभएन भने तपाईं परिपक्व वयस्क बन्दै हुनुहुन्छ। कसै कसैले ‘एक अर्कालाई बेफाइदा पुऱ्याउँछन्’ तर बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ “मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ।”—हितोपदेश १८:२४.
[फुटनोट]
a यस लेखमा कुनै कुनै नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ १५-मा भएको चित्र]
जे-जसो भयो, त्यसबारे राम्ररी कुरा गरेर तपाईंले आफ्नो मित्रता जोगाउन सक्नुहुन्छ