प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ५/८ पृ. ८-९
  • तपाईं कसरी छोड्‌न सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कसरी छोड्‌न सक्नुहुन्छ
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मनबाटै चुरोट छोड्‌न तयार हुनुहोस्‌
  • चुरोट छोड्‌ने मिति तोक्नुहोस्‌
  • चट्टै चुरोट छोड्‌दा देखापर्ने लक्षणहरू सामना गर्ने
  • फेरि चुरोट पिउन सुरु नगर्नुहोस्‌
  • धूम्रपान किन छोड्‌ने?
    ब्यूँझनुहोस्‌!—२०००
  • तपाईँले विजय हासिल गर्न सक्नुहुन्छ!
    ब्यूँझनुहोस्‌!—२०१०
  • “हामीले छोड्‌न सक्यौं भने तपाईंले किन नसक्नु!”
    ब्यूँझनुहोस्‌!—१९९९
  • बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ५/८ पृ. ८-९

तपाईं कसरी छोड्‌न सक्नुहुन्छ

पहिलो प्रयासमै साइकल चढ्‌न नसिकिएझैं चुरोट पनि चटक्कै छोड्‌न सकिंदैन। तर छोड्‌ने अठोट गरिसक्नुभएको छ भने, सफलता हात नलागेसम्म निरन्तर कोसिस गरिरहन तपाईं तयार हुनुपर्छ। कोसिस गर्दागर्दै पनि फेरि चुरोट पिउन थाल्नुभयो भने हार नमान्‍नुहोस्‌। यसलाई एउटा पाठको रूपमा लिनुहोस्‌, सफल कार्यक्रममा आइपर्ने सानो अड्‌चनको रूपमा हेर्नुहोस्‌। अरूले फाइदाजनक पाएका केही सुझाउहरू यहाँ दिइएका छन्‌। यी तपाईंका लागि पनि फाइदाजनक हुनसक्छन्‌।

मनबाटै चुरोट छोड्‌न तयार हुनुहोस्‌

◼ सर्वप्रथम, चुरोट छोड्‌ने प्रयास गर्नु सार्थक छ भनेर तपाईं विश्‍वस्त हुनैपर्छ। चुरोट छोड्‌ने कारणहरूका साथै फाइदाहरूको एउटा सूची तयार पार्नुहोस्‌। छोड्‌नु भइसकेपछि यो सूचीलाई पुनरावलोकन गर्दा तपाईंको संकल्प अझ दृढ हुनेछ। परमेश्‍वरलाई खुसी पार्ने इच्छा, चुरोट छोड्‌ने ठूलो प्रेरणा हो। हामीले आफ्नो सम्पूर्ण मन, हृदय, प्राण अनि बलले परमेश्‍वरलाई माया गर्नुपर्छ भनी बाइबल बताउँछ। तर हामी धूम्रपानको लतमा फसेका छौं भने, त्यसो गर्न सक्दैनौं।—मर्कूस १२:३०.

◼ तपाईं किन र कहिले चुरोट पिउनुहुन्छ, विश्‍लेषण गर्नुहोस्‌। तपाईं कुन दिन, कहिले र कहाँ चुरोट पिउनुहुन्छ, त्यसको रेकर्ड लेखेर राख्नु मदतकारी हुनसक्छ। यसले चुरोट पिउन छोडिसकेपछि के कस्ता अवस्थामा तपाईंलाई चुरोट पिउन तलतल लाग्नसक्छ, निधो गर्न मदत गर्नेछ।

चुरोट छोड्‌ने मिति तोक्नुहोस्‌

◼ चुरोट छोड्‌ने मिति तोक्नुहोस्‌ र भित्तेपात्रोमा त्यो दिनमा चिह्न लगाउनुहोस्‌। अनावश्‍यक वाह्‍य दबाउमा नपर्नुहुने दिन छान्‍नु बेस हुन्छ। त्यो दिन आइपुग्दा, चट्टै अनि पूर्णतया छोड्‌नुहोस्‌।

◼ तोकिएको मिति आइपुग्नु अगावै एस्ट्रे, सलाई अनि लाइटर आदि जम्मै हटाउनुहोस्‌। चुरोटको धुँवा गन्हाउने लुगाफाटा जम्मै धोएर सफा पार्नुहोस्‌।

◼ चुरोट छोड्‌ने तपाईंको प्रयासलाई सहकर्मी, साथी र परिवारमा क-कसले मदत गर्छन्‌ त्यसको सूची बनाउनुहोस्‌। अरूलाई आफूअघि चुरोट नपिउनुहोस्‌ भनेर आग्रह गर्न नहिचकिचाउनुहोस्‌।

◼ चुरोट छोड्‌ने दिनमा के कसो गर्ने त्यसको योजना बनाउनुहोस्‌। तपाईं संग्रहालय वा रंगमञ्च जस्ता धूम्रपान निषेधित ठाउँमा जान सक्नुहुन्छ। तपाईं कसरत गर्न सक्नुहुन्छ अर्थात्‌ पौडन वा साइकल चढ्‌न अथवा लामो पैदल यात्रामा निस्कन सक्नुहुन्छ।

चट्टै चुरोट छोड्‌दा देखापर्ने लक्षणहरू सामना गर्ने

तपाईं असाध्यै चुरोट पिउने गर्नुहुन्थ्यो भने, चट्ट चुरोट छोड्‌दा अन्तिम सर्को तानेको घण्टाभरमा तपाईंमा त्यसका लक्षणहरू देखा पर्नसक्छ। यी लक्षणहरूमा चिढिने, अधीर हुने, रिसाउने, चिन्ता लाग्ने, निराश हुने, निन्द्रा नलाग्ने, छटपटी हुने, भोक लाग्ने र चुरोटको तलतल लाग्ने आदि हुन्छन्‌। यी लक्षणहरूलाई नियन्त्रणमा राख्न डाक्टरले तपाईंलाई कुनै ओखती लेखिदिन सक्छन्‌। यसको अतिरिक्‍त यो लडाइँ जित्न तपाईं आफैले पनि केही गर्न सक्नुहुन्छ।

◼ सुरुका कठिन हप्ताहरूमा क्यालोरी कम भएका खाना खानुहोस्‌ र प्रशस्त पानी पिउनुहोस्‌। गाजर वा सेलरी जस्ता काँचै खानहुने तरकारीहरू खानु पनि कसै कसैले फाइदाजनक पाएका छन्‌। कसरत गर्नुभयो भने तौललाई नियन्त्रणमा राख्न सक्नुहुनेछ र तलतल मेटाउन सक्नुहुनेछ।

◼ चुरोट पिउन तलतल लगाउने ठाउँहरू वा परिस्थितिहरूबाट टाढै बस्नुहोस्‌।

◼ चुरोट पिउन तलतल गराउने गलत तर्कहरू गर्नदेखि सतर्क रहनुहोस्‌। अक्सर चुरोट छोड्‌दा गरिने केही तर्कहरू यसप्रकार छन्‌: ‘यो तलतल मेटाउन आज मात्र एक खिल्ली तान्छु।’ ‘मेरो कमजोरी भनेको नै यही चुरोट पिउने बानी मात्र त हो!’ ‘धूम्रपान गर्नु त्यत्ति हानिकारक कहाँ छ र; चुरोट पिएको पिएकै गर्ने कतिपय व्यक्‍तिहरू ९० वर्ष बाँचेका पनि त छन्‌ नि।’ ‘जेभए पनि आखिर एक न एक दिन मर्नैपर्छ।’ ‘चुरोटबिनाको जीवन पनि के जीवन।’

◼ हार्नै लाग्नुभएको छ भने पनि ढिलासुस्ती गर्नुहोस्‌। दस मिनेट मात्र पर्खंदा पनि तपाईंलाई लागेको तलतल केही कम हुनसक्छ। कहिलेकाहीं अब कहिल्यै चुरोट पिउन पाइन्‍न भन्‍ने विचार मात्र पनि असह्‍य हुनसक्छ। तपाईंलाई त्यस्तै लाग्छ भने, आज एक दिनका लागि मात्र भए पनि छोड्‌नुपऱ्‍यो भन्‍ने सोचाइ राख्नुहोस्‌।

◼ तपाईं परमेश्‍वरको सेवा गर्न चाहनुहुन्छ भने उहाँलाई प्रार्थना गर्नुहोस्‌। हाम्रो मायालु सृष्टिकर्ताले आफ्नो जीवन उहाँको इच्छामुताबिक बिताउने प्रयास गर्नेहरूलाई “खाँचोको समयमा सहायता” दिन सक्नुहुन्छ। (हिब्रू ४:१६) तर चमत्कार हुन्छ भन्‍ने आशाचाहिं नगर्नुहोस्‌। तपाईंले आफ्नो प्रार्थनाअनुरूप काम पनि गर्नैपर्छ।

फेरि चुरोट पिउन सुरु नगर्नुहोस्‌

◼ चुरोट छोडेको पहिलो तीन महिना साह्रै गाह्रो हुन्छ तर त्यसपछि पनि सम्भव भएसम्म तपाईंलाई फेरि चुरोट पिउन तलतल गराउने मानिसहरू वा अवस्थाहरूबाट टाढै रहनुहोस्‌।

◼ चुरोट छोडेको वर्षदिन वा बढी भइसकेको छ भने पनि कहिलेकाहीं पिएर फेरि छोड्‌न सकिहाल्छु नि भन्ठान्दै आफैलाई छल्ने प्रयास नगर्नुहोस्‌।

◼ “अब यो नै अन्तिम खिल्ली हो” भन्‍ने दबाउको प्रतिरोध गर्नुहोस्‌। एक खिल्ली तान्‍ने बित्तिकै अर्को पनि स्वतः तान्‍न पुगिन्छ र चुरोट छोड्‌न तपाईंले गर्नुभएको यत्तिबिघ्न मेहनत बालुवामा पानी हालेजत्तिकै हुनेछ। तथापि, कमजोर हुनुभयो र एक खिल्ली चुरोट तानिहाल्नुभयो भने पनि यसलाई अर्को खिल्ली तान्‍ने कारण नबनाउनुहोस्‌। फेरि चुरोट तान्‍न पुग्नुभयो भने फेरि छोड्‌नुहोस्‌।

चुरोट पिउने लाखौं व्यक्‍तिहरूले सफलतासाथ चुरोट छोड्‌न सकेका छन्‌। दृढ निश्‍चयी हुनुभयो र लागिरहनु भयो भने तपाईं पनि सफल हुन सक्नुहुन्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने