प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १०/८ पृ. १२-१४
  • म किन यस्तो दुब्लो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म किन यस्तो दुब्लो?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं दुब्लो हुनुको कारण
  • व्यावहारिक सुझाउ
  • नम्र र व्यावहारिक हुने
  • मलाई आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला?
    ब्यूँझनुहोस्‌!—१९९९
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
  • मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍तहुनसक्छु?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १०/८ पृ. १२-१४

युवा जनहरू सोध्छन्‌ . . .

म किन यस्तो दुब्लो?

जस्टिन पातलो भए तापनि स्वस्थ्य छन्‌ तर तिनी आफ्नो शरीरसँग सन्तुष्ट छैनन्‌। तिनी भन्छन्‌, “म अलिकति मोटाउने कोसिस गरिरहेको छु।” त्यसकारण, तिनी अहिले दिनको पाँच छाक खान्छन्‌ र त्यसबाट तिनी जम्माजम्मी ४,००० क्यालोरी पाउँछन्‌। तथापि, तिनी सुगठित शरीर बनाउन अझ वजन बढाउन चाहन्छन्‌। त्यसैले तिनी भन्छन्‌, “म र एक जना साथी हप्ताको केही दिन बिहान सबेरै उठेर काममा जानुअघि व्यायमशालामा वेट लिफ्ट गर्न जान्छौं।”

भनिसा पनि दुब्लो वर्गमै पर्छिन्‌। तर तिनी आफ्नो वजनसँग खुसी नै छिन्‌। भनिसा भन्छिन्‌, “सानो हुँदा अरू केटाकेटीले जिस्काएर मलाई लिखुरी भन्‍ने गर्थे। तर अब मलाई पीर लाग्दैन। म जस्तो छु त्यसमै खुसी छु।”

‘आफू जस्तो हुनुहुन्छ त्यसमै खुसी हुनुहोस्‌।’ सुन्दा त राम्रै सल्लाह जस्तो लाग्छ। तर तपाईंलाई यो सल्लाह व्यवहारमा उतार्नचाहिं गाह्रो लाग्ला। किशोरावस्थामा तपाईंलाई “बैंस[ले]” छोएको हुनसक्छ। (१ कोरिन्थी ७:३६) विशेष गरी, भर्खरै जवानी लागेको बेला तपाईंको शरीरमा चाँडचाँडो परिवर्तन हुन्छन्‌। भर्खरै जवानी लाग्दा तपाईंको शरीरका अंगहरू विभिन्‍न अनुपातमा बढ्‌छन्‌। तपाईंको हातगोडा, अनुहारका भागहरूको पटक्कै अनुपात नमिलेजस्तो देखिन्छन्‌।a यसले गर्दा तपाईंलाई आफू एकदमै अनौठो र अनाकर्षक लाग्नसक्छ। अनि सबै युवाहरू एकैनाससँग बढ्‌दैनन्‌। त्यसैले तपाईंका कतिपय साथीहरू हट्टाकट्टा वा राम्री चिटिक्क परे तापनि सायद तपाईंचाहिं तुलनात्मक ढंगमा दुब्लोको दुब्लै हुनुहुन्छ होला।

वजन बढी भएको महसुस गर्ने युवाहरूलाई मदत गर्नका लागि थुप्रै कुरा लेखिएको भए तापनि आफूलाई असाध्यै दुब्लो महसुस गर्ने युवाहरूबारे भने त्यति लेखिएको पाइँदैन। यो विशेष गरी कुनै कुनै जातीय समूह र देशमा साँचो हुनसक्छ जहाँ दुब्लोपनलाई सौन्दर्यको चिह्नको रूपमा लिइन्दैन। त्यस्ता ठाउँमा केटीहरू “सिकुटी” भएकाले तिनीहरूलाई गिज्याएर हैरान पार्नसक्छ।

केटाहरूबारे के भन्‍न सकिन्छ नि? अनुसन्धानकर्ता सुजन बोर्डोका अनुसार, “सन्‌ १९८० को दशकअघि शारीरिक बनौटबारे गरिएको अध्ययनबाट केटीहरूले ऐना हेर्दा आफ्नो शरीरमा खोट सिवाय अरू केही देख्दैनथे भन्‍ने कुरा पत्ता लाग्यो।” अनि केटाहरूले नि? बोर्डो अझ यसो भन्छन्‌: “केटाहरूले ऐनामा हेर्दाचाहिं आफ्नो शरीर ठीकै वा चाहिनेभन्दा पनि राम्रो देख्थे।” तर हालका वर्षहरूमा यस्तो सोचाइमा परिवर्तन आउन थालेको छ। अचेल सौन्दर्य शल्यक्रिया गर्नेहरूमध्ये एक चौथाइ पुरुषहरू पर्छन्‌। त्यसो हुनुको कारण संयुक्‍त राज्य अमेरिका तथा अन्य पश्‍चिमी मुलुकहरूमा कट्टु र गन्जीका विज्ञापनमा देखाइने “असाध्यै छाँट परेका” पुरुषहरूको शरीरले गर्दा जवान केटाहरूमा जागेको आफ्नो शारीरिक रूप राम्रो बनाउने चाहना हो भनी बोर्डो बताउँछिन्‌। यसको असर किशोरहरूमा पनि पर्नु स्वाभाविकै हो। मोडलहरूको जस्तो सुगठित शरीर नहुँदा तिनीहरू हीन महसुस गर्छन्‌।

त्यसैले, तपाईं दुब्लो हुनुहुन्छ भने सायद यस्तो सोचिरहनुभएको होला: ‘ममा केही गडबडी पो छ कि?’ खुसीको कुरा के हो भने, तपाईंको शरीरमा केही गडबडी नहुन पनि सक्छ।

तपाईं दुब्लो हुनुको कारण

थुप्रै युवाहरूका निम्ति दुब्लो हुनु एउटा अत्यन्तै सामान्य कुरा हो। अक्सर यो किशोरावस्थामा पुग्दा हुने तीव्र परिवर्तनको नतिजा हो। किशोरावस्थामा तपाईंको शरीरले पहिलेभन्दा छिटछिटो पौष्टिक पदार्थ खर्च गर्छ। तपाईं अलि ठूलो हुनुभएपछि, यस प्रक्रियामा प्रायः सन्तुलन आउन थाल्छ। तथापि, स्वास्थ्यवर्धक भोजनको बावजूद अत्यन्तै दुब्लो हुनुहुन्छ भने मधुमेहजस्ता केही स्वास्थ्य समस्या छ कि भनेर जचाउन डाक्टर कहाँ जानु बेस हुनेछ, किनभने यस्ता शारीरिक समस्याले पनि वजन घटाउनसक्छ।

भोजन गर्ने असन्तुलित बानीका प्रख्यात विशेषज्ञ स्टिभन लेभेनक्रोनले ब्यूँझनुहोस्‌!-लाई यसो भने: “एनरोक्सिया भएको शंका लागेको एक जना अत्यन्तै पातली युवती एक चोटि मकहाँ आएकी थिइन्‌ र मलाई पनि तिनी खाना खाने असन्तुलित बानी परेको युवती जस्तै लाग्यो। तर मैले चाँडै तिनको समस्या मानसिक नभई शारीरिक नै हो भनेर पत्ता लगाएँ। तिनको परिवारिक डाक्टरले तिनलाई आन्द्रासम्बन्धी गम्भीर समस्या, क्रोन्ज रोग लागेको पत्ता लगाउन सकेनछन्‌। त्यो पत्ता लगाउन नसकेको भए त्यस केटीको ज्यानै जान सक्थ्यो।” वजन घटाउने रोग जस्तै, मधुमेह वा त्यस्तै केही रोग तपाईंलाई लागेको छ भने डाक्टरको राय लिनु बेस हुन्छ।

निस्सन्देह, कहिलेकाहीं दुब्लोपन भावनात्मक वेदनाको लक्षण पनि हुनसक्छ। डा. लेभेनक्रोन एनाटोमी अफ एनोरोक्सीया नामक आफ्नो पुस्तकमा “इन्सुलिनमा निर्भर हुनुपर्ने थुप्रै मधुमेह रोगीहरू प्रायजसो असाध्यै खानुपर्नेदेखि लिएर ब्ल्युमिया र एनोरोक्सीयाबाट पीडित हुन्छन्‌” भनी अनुसन्धानकर्ताहरूले बताएको उल्लेख गर्छन्‌। दक्ष डाक्टरले मात्र त्यस्तो भोजनसम्बन्धी असन्तुलन छ, छैन पत्ता लगाउनसक्छन्‌।b

व्यावहारिक सुझाउ

अब मानि लिनुहोस्‌, तपाईंले डाक्टरलाई भेटिसक्नुभयो र तपाईं दुब्लो भए तापनि स्वस्थ्य हुनुहुन्छ। अब के गर्ने? अय्यूब ८:११ मा बाइबल यसो भन्छ: “के सिमसार नभएको ठाउँमा काँस–नर्कट उम्रन्छन्‌? के निगालाहरू पानीविना लहलह बढ़नसक्छन्‌?” जसरी बोटहरू सही वातावरण र पोषण पाएको खण्डमा फस्टाउँछन्‌ त्यसरी नै तपाईं स्वस्थ्य अनि हृष्टपुष्ट वयस्क हुन चाहनुहुन्छ भने तपाईंलाई सन्तुलित भोजन चाहिन्छ। तपाईंको इच्छा वजन घटाउने वा बढाउने जेसुकै होस्‌, तपाईंलाई सन्तुलित भोजन चाहिन्छ।

तर, वजन बढाउने भनेर असाध्यै चिल्लो खानाचाहिं नखानुहोस्‌। सुगठित शरीर बनाउने व्यक्‍तिहरूले तालिमको बेला खाने भोजनको अध्ययन गर्दा प्रति दिन झन्डै ६,००० क्यालोरी बराबरको खाना खाने गरेको भोजनविद्‌ सुजन क्लाइनरले पाइन्‌! तर क्लाइनरका अनुसार “यस अध्ययनबाट पत्ता लागेको सबैभन्दा चिन्ताजनक कुरा के हो भने, तिनीहरूले दिनमा सरदर २०० ग्राम भन्दा बढी चिल्लो पदार्थ खाइरहेका थिए, जुन २५० ग्राम मक्खन खानु बराबर हो! छोटकरीमा भन्‍ने हो भने, मानिसलाई बिरामी बनाउन यो पर्याप्त छ। दिनदिनै जसो केही समयसम्म त्यति धेरै चिल्लो खाइरह्‍यो भने मुटुसम्बन्धी रोगहरूले समात्नसक्छ।”

सं.रा.अ.-को कृषि विभागका अनुसार (यु एस डि ए) सन्तुलित भोजनको जग कार्बोहाइड्रेट भएको खाना जस्तै, रोटी, विभिन्‍न अन्‍नबाट तयार पारिएको खाद्य वस्तु, भात र पास्टा समावेश भएको भोजन हुन्‌। त्यसपछि, महत्त्वपूर्ण कुरा तरकारी तथा फलफूलहरू हुन्‌। यु एस डि ए-ले मासु तथा अन्य दुग्ध उत्पादन ठीकै मात्रामा मात्र लिने सुझाउ दिन्छ।

तपाईंले कुन खाना कति मात्रामा खाइरहनुभएको छ भनी हेर्न तपाईंले खानाको दैनिकी राख्न सक्नुहुन्छ। एक हप्तासम्म खल्तीमै नोटबूक बोकेर हिंड्‌नुहोस्‌ र तपाईंले कहिले कति खाना खानुभयो, सबै लेख्नुहोस्‌। तपाईंले आफूले सोचे जति खाना खाइरहनुभएको रहेनछ भन्‍ने थाह पाउँदा तपाईं छक्क पर्नुहुनेछ। अझ त्यसमाथि दौडधूपको जीवन बिताइरहनुभएको छ भने झनै कम खाइरहनुभएको पाउनुहुनेछ। तपाईं चलतापुर्जा किशोर हुनुहुन्छ भने तपाईंले सजिलै प्रति दिन ३००० वा त्योभन्दा बढी क्यालोरी खर्च गर्न सक्नुहुन्छ! अनि तपाईंले आफ्नो भोजन त्यति सन्तुलित पनि नभएको पाउन सक्नुहुन्छ अर्थात्‌ बर्गर र पिज्जा जस्ता बजारी खाना धेरै तर फलफूल र सागसब्जी कम।

महँगा खाना परिपूरकहरूबारे के भन्‍न सकिन्छ नि? ती आवश्‍यक नहुनसक्छ। थुप्रै विशेषज्ञअनुसार शरीरलाई चाहिने सबै पोषक तत्त्वहरू स्वास्थकर भोजनबाट प्राप्त गर्न सकिन्छ। केही समयको लागि लाभकरजस्तो देखिने एनाबोलिक स्टेरोइड जस्ता कुराहरूबाट अलग रहनुहोस्‌। दुःखको कुरा स्टेरोइडको दुरुपयोग किशोरहरूको मात्र समस्या होइन। द न्यु योर्क टाइम्स-को रिपोर्टअनुसार: “केटीहरूले पनि [एनाबोलिक स्टेरोइड] बढी प्रयोग गर्न थालेका छन्‌, जसको कारक केही हदसम्म एनोरोक्सियाको विपरीत रूप हो भनी कोही कोही अनुसन्धानकर्ताहरू ठान्दछन्‌। अनुसन्धानअनुसार १९८० को दशकमा केटाहरूबीच जत्तिकै अहिले केटीहरूबीच पनि स्टेरोइड प्रयोग हुन थालेको छ।” संयुक्‍त राज्य अमेरिकामा १,७५,००० केटीहरूले एनाबोलिक स्टेरोइड खाने गरेको कुरा स्वीकारेको सुन्दा तपाईंलाई अचम्म लाग्ला। यस औषधीको घातक प्रतिकूल असरहरू हुनसक्छन्‌। जस्तै, अनुहारमा धेरै रौं आउने, महिनावारीमा अनियमितता हुने, महिलाहरूलाई स्तन र पुरुषहरूलाई प्रोस्ट्रेट क्यान्सर हुने, धमनीहरू बन्द हुने र पुरुष तथा स्त्री दुवैलाई कलेजोको क्यान्सर हुने आदि। चिकित्सकको सल्लाह र निरीक्षणविना कहिल्यै स्टेरोइड लिनुहुँदैन।

नम्र र व्यावहारिक हुने

“परमेश्‍वरसित नम्र भएर हिंड़नू” भनी बाइबल बताउँछ। (मीका ६:८) नम्र हुनुमा आफ्ना सीमितताहरूबारे सजग हुनु पनि समावेश छ। नम्रताले तपाईंलाई आफ्नो बाहिरी रूपबारे व्यावहारिक हुन पनि मदत गर्छ। हो, राम्रो देखिने चाहना हुनुमा कुनै खराबी छैन। तर आफ्नो बाहिरी रूपबारे अत्यन्तै चिन्तित हुँदा फेसन र भोजनसम्बन्धी व्यापारलाई बाहेक अरू कसैलाई फाइदा हुँदैन। पुरुषहरूले जस्तै राम्रो भोजन खाए तापनि वा जत्ति नै कसरत गरे तापनि साधारणतया तिनीहरूको जीनमा नै छैन भने विश्‍वस्तरको बडिबिल्डरको जस्तो शरीर हुन सक्दैन भनी व्यायाम विशेषज्ञहरू मानिलिन्छन्‌। अनि तपाईं केटी हुनुहुन्छ भने तपाईंले जत्ति नै खाए तापनि शरीर चिटिक्क हुँदैन।

चाखलाग्दो कुरा के छ भने, तपाईंलाई आफ्नो शारीरिक बनौटमा लागेको खोटलाई पहिरनद्वारा पनि कम गर्न सकिन्छ। शारीरिक खोट प्रस्ट पार्ने जस्ता लुगाहरू नलगाउनुहोस्‌। कसै कसैले गाढा रंगको लुगाले झनै दुब्लो देखिने भएकोले फिक्का रंग लगाउने सल्लाह दिन्छन्‌।

यो पनि नबिर्सनुहोस्‌, तपाईंको बाहिरी रूपभन्दा पनि महत्त्वपूर्ण तपाईंको व्यक्‍तित्व हो। पछि गएर छाँट मिलेको शरीर र लुगाले भन्दा पनि हँसिलो मुस्कान र मायालु चालचलनले तपाईंलाई आकर्षक बनाउन मदत गर्नेछ। साथीहरूले तपाईंको बाहिरी रूपरंगलाई लिएर सधैं होच्याउँछन्‌ भने तपाईंको भित्री व्यक्‍तित्व अर्थात्‌ बाइबलले भनेझैं ‘हृदयको गुप्त मानिसलाई’ मूल्यवान्‌ ठान्‍ने साथीहरू खोज्नुहोस्‌। (१ पत्रुस ३:४) अन्तमा यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।”—१ शमूएल १६:७.

[फुटनोटहरू]

a ब्यूँझनुहोस्‌! अंग्रेजी अंकको सेप्टेम्बर २२, ११९३ “युवा जनहरू सोध्छन्‌ . . .  के म ठीकैसँग हुर्किरहेको छु?” हेर्नुहोस्‌।

b मे ८, र जून ८, १९९९ अंकको “युवा जनहरू सोध्छन्‌ . . . ” लेखको “मलाई आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला?” र “मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍त हुनसक्छु?” हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको चित्र]

केही युवाहरू दुब्लो भएको कारण आफूलाई तुच्छ ठान्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने