विश्वव्यापी शैक्षिक कार्यक्रम
“शिक्षितहरू मात्र स्वतन्त्र छन्।”—इपिक्टेटस, सा.यु. १०० तिर।
उन्नाइसौं शताब्दीका दासप्रथा विरोधी कार्यकर्ता विलियम एच. सीवार्ड “मानवजातिको उन्नतिको सम्पूर्ण आशा बाइबलको बढ्दो प्रभावमा निर्भर छ” भनी विश्वास गर्थे।
यहोवाका साक्षीहरूको पनि बाइबलप्रति उच्च श्रद्धा एवम् आस्था छ। यसका सिद्धान्तहरू लागू गरेको खण्डमा उनीहरू असल पति, असल पत्नी, असल छोराछोरी अर्थात संसारकै असल मानिसहरू बन्नसक्छन् भनी विश्वस्त छन्। तसर्थ, उनीहरू येशू ख्रीष्टको यो आज्ञा पालन गर्छन्: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . [र] सिकाओ।”—मत्ती २८:१९, २०.
मानिसहरूलाई बाइबलबारे सिकाउने यो उद्देश्यअनुरूप यहोवाका साक्षीहरू मानव इतिहासकै सबैभन्दा विस्तृत शैक्षिक अभियानमा लागिरहेका छन्। यो कत्तिको व्यापक छ?
विश्वव्यापी प्रकाशन कार्य
साक्षीहरू आफ्नो जनसेवकाईमा सयौं भाषामा उपलब्ध बाइबल अनुवादहरू प्रयोग गर्छन्। तर उनीहरू आफैले पनि न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स २१ वटा भाषा र न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्चियन ग्रीक स्क्रिप्चर्स (नयाँ नियम पनि भनिन्छ) थप १६ वटा भाषामा प्रकाशित गरेका छन्। यसको अतिरिक्त, उनीहरू यस बाइबललाई थप ११ भाषामा अनुवाद गर्ने कार्यमा जुटिरहेका छन्। बाइबलप्रति मूल्यांकन बढाउने तथा यसलाई अझ राम्ररी बुझ्न मदत दिने साहित्यहरू पनि साक्षीहरूले प्रकाशन गर्छन्।
उदाहरणका लागि, यस ब्यूँझनुहोस्! पत्रिका ८२ भाषामा प्रकाशित हुन्छ र प्रत्येक अंक सरदर २,०३,८०,००० भन्दा धेरै प्रति छापिन्छन्। यसको सह-प्रकाशन प्रहरीधरहरा पत्रिकाको प्रत्येक अंक १३७ भाषाहरूमा सरदर २,२३,९८,००० प्रति छापिन्छन्। यस्ता पत्रिकाहरू कुल मिलाएर वर्षेनी एक अरबभन्दा बढी प्रति छापिन्छन्! यसबाहेक, प्रहरीधरहरा १२४ भाषाहरूमा र ब्यूँझनुहोस्! ५८ भाषाहरूमा एकै चोटि छापिन्छन्। तसर्थ, यी पत्रिकाहरूमा हुने जानकारी एकदमै व्यापक भएकाले अनेकन् भाषा बोल्ने मानिसहरूको समूहले एकै समयमा आफ्नै भाषामा पढिरहेका हुन्छन्।
यसको अतिरिक्त, हालैका दशकहरूमा यहोवाका साक्षीहरूले बाइबल अध्ययन सहायकहरूका करोडौं प्रति प्रकाशित छन्। द ट्रुथ ड्याट लिड्स टु इटरनल लाइफ पुस्तक १० करोड ७० लाखभन्दा धेरै प्रति छापिएका थिए। पछि, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक ८ करोड १० लाखभन्दा बढी प्रति छापिए र हालैको ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक १४६ भाषामा ७ करोड ५० लाखभन्दा बढी छापिइसकेका छन्। साथै, परमेश्वर हामीबाट के चाहनुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिका २४० भाषामा ११ करोड ३० लाखभन्दा धेरै प्रति छापिएका छन्।
आवश्यकताअनुसार अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन्। बच्चाहरूका लागि तयार पारिएको बाइबलका कथाहरू भएको मेरो पुस्तक-को मुद्रण संख्या ५ करोड १० लाख नाघेको छ। यर युथ—गेट्टिङ द बेस्ट आउट अफ इट र युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, नामक दुई पुस्तकहरू विशेष गरी किशोरकिशोरीहरूलाई ध्यानमा राखेर तयार पारिएका हुन् र यी दुवै मिलाएर कुल ५ करोड ३० लाखभन्दा धेरै प्रति छापिसकिए। करोडौं परिवारलाई समस्याहरूको सामना गर्न मदत गरेको पुस्तक पारिवारिक आनन्दको रहस्य ११५ भाषाहरूमा छापिसकिएका छन्।
सन् १९८५ देखि यता विशेष गरी सृष्टिकर्ता, उहाँको पुत्र अनि बाइबलप्रति विश्वास बढाउने अन्य चारवटा प्रकाशनहरू विमोचन भइसके। यी पुस्तकहरू कुल ११ करोड ७० लाखभन्दा धेरै प्रति छापिसकिएका छन्। ती हुन्: लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुशन अर बाई क्रिएशन?, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, द बाइबल—गड्स वर्ड अर म्यान्स्? र इज देर अ क्रिएटर हु क्येर्स अबाउट यू?
आज यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल आधारित प्रकाशनहरू ३५३ वटा भाषामा उपलब्ध छन्। अनि यीमध्ये केही प्रकाशनहरू थप ३८ भाषामा छिट्टै विमोचन हुनेछन्। हो, सन् १९७० देखि यता यहोवाका साक्षीहरूले २० अरबभन्दा बढी पुस्तक, सानो तथा ठूलो पुस्तिका र पत्रिकाहरू छापिसकेका छन्! यति मात्र कहाँ हो र, लगभग ६० लाख शिक्षकहरू २३० भन्दा धेरै मुलुकमा बाइबल ज्ञान फैलाउन व्यस्त छन्। तर यो कसरी सम्भव भएको छ र मानिसको जीवनमा यसले कस्तो प्रभाव परेको छ?
किन आफ्नै भाषाहरूमा
तपाईंले विचार गरिसक्नुभयो होला, गुणस्तरीय साहित्यहरू एकैसाथ सयभन्दा धेरै भाषाहरूमा उत्पादन गर्न अत्यन्त समन्वयपूर्ण संयुक्त प्रयासको आवश्यकता पर्छ। आफ्नो समय तथा दक्षता खर्च गर्न स्वयम्सेवा गर्ने अनुवाद टोलीहरूले उच्च गुणस्तर, शुद्धता अनि थोरै समयमै धेरै काम पूरा गर्नका लागि कम्प्युटर प्रणालीहरूको उपयोग गर्छन्। कुनै कुनै भाषामा अनुवादकहरू थोरै मात्र भए तापनि प्रकाशनहरू समयमै उपलब्ध गराइन्छन्। हाल १,९५० भन्दा बढी पुरुष तथा महिला यस नाफारहित विश्वव्यापी अनुवाद कार्यमा संलग्न छन्। तर किन यस्तो मेहनत गरिन्छ? कुनै एउटा भाषा बोल्नेहरूको संख्या कम र तिनीहरूले अर्को प्रमुख भाषा पनि बुझ्छन् भने के यस्तो अनुवाद कार्यको खासै महत्त्व छ र?
यहोवाका साक्षीहरूको प्रयास साँच्चै सार्थक साबित भएको छ भन्ने कुरा १६ औं शताब्दीका प्रख्यात बाइबल अनुवादक विलियम टिन्डेलको यस भनाइबाट प्रस्ट हुन्छ। उनले यस्तो लेखे: “मैले आफ्नो अनुभवबाट यो बुझेको छु कि, जबसम्म जनसाधारणले आफ्नै मातृभाषामा धर्मशास्त्र पढ्न पाउँदैन र त्यसको तात्पर्य, प्रसंग, पदको अर्थ बुझ्दैन तबसम्म तिनीहरूलाई कुनै रीतिले पनि बाइबल आधारित शिक्षाहरू बुझाउन सकिंदैन।”
हो, मानिसहरूलाई बाइबल प्रकाशनहरू सधैं आफ्नै मातृभाषामा उपलब्ध गराउनु सम्भव भएको छैन। तर उपलब्ध गराउन सकेमा बाइबल सच्चाइले तिनीहरूको हृदय छुन्छ र यसले तिनीहरूलाई अझ गहिरो प्रभाव पार्छ। बेग्लाबेग्लै मातृभाषा बोलिने जनजातिहरू रहेका भूतपूर्व सोभियत संघमा यो कुरा साँचो साबित भएको छ। गएको शताब्दीको सुरुतिर, यीमध्ये धेरैजसो मानिसहरूलाई सोभियत संघमै गाभिएको थियो र तिनीहरूलाई रूसी भाषा सिकाइन्थ्यो अनि बोल्न लगाइन्थ्यो। यसकारण, तिनीहरूले रूसी भाषा बोल्न र पढ्न सिक्नुका साथै आफ्नो मातृभाषा पनि बोल्थे।
विशेष गरी सन् १९९१ मा सोभियत संघ विघटन भएदेखि यीमध्ये धेरैजसो मानिसहरू आफ्नै मातृभाषा प्रयोग गर्न चाहन्छन्। अडगी, अल्टाई, बेलोरसियन, जर्जियन, किर्गिज, कोमी, ओसेसियन, टुभिनियन वा अन्य दर्जनौं भाषा बोल्नेहरू आफ्नै मातृभाषा प्रयोग गर्न चाहन्छन्। धेरैजसोले रूसी भाषामा कुराकानी गर्नसके तापनि रूसी भाषाका बाइबल साहित्यहरूले उनीहरूको हृदयमा त्यत्ति छिटो छाप पार्दैन। अर्कोतर्फ, उनीहरूकै स्थानीय भाषामा प्रकाशित साहित्यहरू भने तुरुन्तै स्वीकार गरिहाल्छन्। अल्टाई भाषामा बाइबल पर्चा पाउने एक जना मानिसले यस्तो टिप्पणी गरे, “तपाईंहरूले हाम्रो भाषामा साहित्यहरू उत्पादन गर्न सुरु गर्नु एकदमै सराहनीय छ।”
उदाहरणका लागि, लगभग ६०,००० मानिस बसोबास गर्ने आर्कटिक टापु ग्रीनल्याण्डलाई लिनुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका ग्रीन्लैण्डी भाषामा छापिन्छन्। यी दुवै पत्रिका तथा यहोवाका साक्षीहरूले ग्रीन्लैण्डी भाषामा छापेका अन्य प्रकाशनहरू पनि अत्यन्तै लोकप्रिय छन्। साँच्चै भन्ने हो भने, यी साहित्यहरू यस टापुका दुर्गम गाउँहरूका थुप्रै घरमा पाउन सकिन्छन्।
दक्षिण प्रशान्तमा लगभग ७,००० मानिसहरूले नौरुयन, ४,५०० मानिसहरूले टोकलाउन र १२,००० मानिसहरूले रोटुमन भाषा बोल्छन्। हाल साक्षीहरूले यी भाषाहरूमा बाइबल पर्चा तथा पुस्तिकाहरू उत्पादन गर्नुका साथै करिब ८,००० मानिसहरूले बोल्ने निऊयाली भाषा तथा ११,००० मानिसहरूले बोल्ने टुभालुअन भाषामा पनि प्रहरीधरहरा-को मासिक प्रकाशन सुरु गरेका छन्। वास्तवमा, कम प्रचलित भाषाहरूमा पत्रपत्रिका प्रकाशन गर्ने सबैभन्दा ठूलो प्रकाशक नै यहोवाका साक्षीहरू भएका छन्। जस्तै, बिसलामा, हिरी मोटु, पापियामेन्टो, मरिसीयन क्रिओल, न्यु गिनी पिजिन, शेशल्स-क्रिओल, सोलोमन टापु पिजिन तथा अन्य धेरै मानिसहरूको मातृभाषामा बाइबल साहित्यहरू प्रकाशित गरेका छन्।
कुनै भाषा बोल्ने मानिसहरूको संख्या कम छ भने तिनीहरू अरूभन्दा झनै पृथक र गरिब हुन्छन्। तर यसो भए तापनि त्यस क्षेत्रको साक्षरता दर भने बढी हुनसक्छ। स्थानीय बासिन्दाहरूको भाषामा उपलब्ध थोरै प्रकाशनहरूमध्ये बाइबल पनि एक हो। साँच्चै भन्ने हो भने, यीमध्ये कुनै कुनै भाषामा एउटा अखबार पनि छैन किनकि यसको कुनै आर्थिक फाइदा छैन।
किन प्रशंसनीय कार्य
यहोवाका साक्षीहरूले जीवनस्तर उकास्ने साहित्यहरू प्रदान गर्ने हुँदा धेरैले तिनीहरूको अनुवाद कार्यको प्रशंसा गरेका छन्। फिजी, सुभामा रहेको दक्षिण प्रशान्तको विश्वविद्यालयस्थित इन्स्टिच्युट फर प्यासिफिक स्टडिजका कर्मचारी लिन्डा क्राउलले साक्षीहरूको अनुवाद कार्य “प्रशान्त क्षेत्रमा भइरहेको सबैभन्दा रोमाञ्चकारी कार्य हो” भनिन्। प्रकाशनको गुणस्तर सर्वोत्कृष्ट भएकोले तिनी अरूलाई पनि यी प्रकाशनहरू पढ्ने सुझाउ दिन्छिन्।
त्रैमासिक रूपमा सामोआली भाषामा ब्यूँझनुहोस्! पत्रिका प्रकाशन गर्न सुरु गर्दा त्यहाँका स्थानीय अखबार तथा राष्ट्रिय टेलिभिजनले समेत यसबारे समाचार प्रसारण गऱ्यो। प्रसारणको बेला ब्यूँझनुहोस्! को आवरण पृष्ठ देखाइनुका साथै पत्रिकाको प्रत्येक लेखलाई खोलेर देखाइयो। अनि यी लेखहरू एक एक गरी प्रसारण गरिए।
उल्लेखनीय कुरा त के छ भने, कुनै कुनै मुलुकमा स्थानीय भाषा प्रतिष्ठानहरूले साक्षीहरूका प्रकाशनको अनुवादकहरूबाट व्याकरण, अक्षर विन्यास, नयाँ शब्दको चयन आदि बारे नियमित रूपमा परामर्श लिन्छन्। स्पष्टतः यहोवाका साक्षीहरूको निश्शुल्क शैक्षिक कार्यले तिनीहरूको मण्डलीका सक्रिय सदस्यहरूलाई मात्र होइन, अन्य धेरै मानिसको जीवनलाई पनि असर गरेको छ।
अघिल्लो लेखमा उल्लेख गरिएझैं अझै पनि विश्व जनसंख्याको लगभग छ भागको एक भाग अर्थात एक अरब जति प्रौढहरू निरक्षर छन्। महत्त्वपूर्ण जानकारीहरू पढेर अनि अध्ययन गरेर हुने फाइदाबाट लाभ उठाउन यस्ताहरूलाई कसरी मदत दिइएका छन्?
आधारभूत शैक्षिक आवश्यकताको पूर्ति
धेरै मुलुकहरूमा मानिसहरूलाई लेख्न अनि पढ्न सिकाउनका लागि साक्षीहरूले निश्शुल्क साक्षरता कार्यक्रमहरू सञ्चालन गरेका छन्। तिनीहरू आफैले २८ भाषाहरूमा एप्लाइ यरसेल्फ टु रिडिङ एण्ड राइटिङ नामक निर्देशन पुस्तिका प्रकाशित गरेका छन्। यस्ता कक्षाहरूद्वारा हजारौं स्त्री तथा प्रौढहरू साक्षर हुन सकेका छन्।
बुरूण्डीमा यहोवाका साक्षीहरूले सञ्चालन गरेका साक्षरता कक्षाहरूले सयौं मानिसहरूलाई पढ्न अनि लेख्न मदत गरेका छन्। यस कार्यक्रमको असल परिणामलाई पुनरावलोकन गर्दै त्यस मुलुकको राष्ट्रिय प्रौढ शिक्षा कार्यालयले सेप्टेम्बर ८, १९९९ मा अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसरमा चार जना साक्षी प्रशिक्षकहरूलाई पुरस्कृत गरे।
मोजाम्बिकमा यहोवाका साक्षीहरूका करिब ७०० मण्डलीमा आयोजित साक्षरता कक्षाबाट निम्न रिपोर्टहरू प्राप्त भए: “बितेका चार वर्षमा ५,०८९ विद्यार्थीले साक्षरता कक्षा उत्तीर्ण गरे र हाल हामीकहाँ ४,००० विद्यार्थी भर्ना भएका छन्।” एक जना विद्यार्थीले यस्तो लेखे: “म यो स्कूलप्रति हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु . . . मलाई केही पनि थाह थिएन। यस स्कूलले गर्दा म अहिले पढ्न सक्ने भएको छु। अलि अभ्यास गरें भने म लेख्न पनि सक्छु।”
सन् १९४६ देखि मेक्सिकोमा अभिलेख राख्ने काम प्रारम्भ भएदेखि यता मानिसहरूलाई पढ्न र लेख्न सिकाउन स्थापना गरिएको विशेष स्कूलमा १,४३,००० भन्दा धेरैलाई लेखपढ गर्न सिकाइएको छ। एउटी ६३ वर्षीया वृद्धाले यस्तो लेखिन्: “मलाई लेख्न अनि पढ्न सिकाउने यहोवाका साक्षीहरूप्रति म साह्रै आभारी छु। मेरो जीवन अत्यन्तै दयनीय अवस्थामा थियो। यद्यपि, अहिले म बाइबलको सल्लाह पढ्न सक्छु र यसबाट आनन्द पाएकी छु।”
दक्षिण अमेरिकी देश ब्राजिलमा पनि साक्षीहरूले हजारौंलाई लेखपढ गर्न सिकाएका छन्। एउटी ६४ वर्षीया वृद्धाले यसो भनिन्, “पढ्न जान्नु भनेको वर्षौंसम्म बाँधिएको बन्धनबाट स्वतन्त्र हुनु सरह भयो। अहिले मेरोलागि हरेक प्रकारका जानकारीहरू लिने ढोका खुलेको छ। सबै भन्दा महत्त्वपूर्ण कुरा त, बाइबल पढाइ र अध्ययनले गर्दा म झूटा शिक्षाहरूको बन्धनबाट मुक्त भएकी छु।”
यहोवाका साक्षीहरू जो बाइबलका शिक्षक पनि हुन्, तिनीहरूले आफ्ना विद्यार्थीलाई व्यक्तिगत तवरमा सिक्न अनि पढ्न मदत गर्छन्। फिलिपिन्समा साक्षीहरूले मार्टिनालाई भेट्दा तिनी ८० वर्ष पुगिसकेकी थिइन्। मार्टिना नियमित बाइबल अध्ययन गर्न चाहन्थिन् तर तिनलाई पढ्न आउँदैनथ्यो। आफ्नो बाइबल शिक्षिकाको मदत पाएर मार्टिनाले प्रगति गरिन् र स्थानीय मण्डलीबाट पाएको थप प्रशिक्षणले गर्दा तिनी अरूलाई सिकाउने काममा बाइबल प्रयोग गर्न दक्ष भइन्। आज तिनी साक्षर छिन् र पूर्ण-समय बाइबल शिक्षिका भएकी छिन्।
स्पष्ट छ, साक्षर बन्ने क्षमता सबै मानिसहरूमा हुन्छ। यद्यपि हामी यस्तो प्रश्न गरौंला, परमेश्वर तथा उहाँका उद्देश्यहरूबारे बाइबलको ज्ञानले के मानिसहरूलाई साँच्चै फाइदा पुऱ्याउँछ? यस श्रृंखलाको अन्तिम लेखले यसको जवाफ दिनेछ। (g00 12/22)
[पृष्ठ ५-मा भएको चित्र]
“न्यु वर्ल्ड ट्रान्सलेसन” ३७ वटा भाषामा १० करोडभन्दा बढी प्रति छापिइसकेको छ
[पृष्ठ ७-मा भएको चित्र]
यहोवाका साक्षीहरूको प्रकाशन अनुवाद गर्ने कार्यमा विश्वभरि झन्डै २,००० व्यक्तिहरू कार्यरत छन्। (दक्षिण अफ्रिकाको जुलू टोली, बाँया; जापानी अनुवादक, तल)
[पृष्ठ ७-मा भएको चित्र]
हरेक वर्ष लगभग एक अरबभन्दा बढी “प्रहरीधरहरा” तथा “ब्यूँझनुहोस्!” पत्रिका छापिन्छन्
[पृष्ठ ८-मा भएको चित्र]
यहोवाका साक्षीहरूले संसारभरि साक्षरता कक्षाहरू सञ्चालन गरेका छन्। (मेक्सिको, दाँया; बुरूण्डी, तल। आवरण पृष्ठमा घानाको चित्र)