प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. १८-२१
  • सुन्दर पतंग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुन्दर पतंग
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ छाला फेर्ने
  • गोलाकार कोया बुन्‍ने
  • पतंगहरूको महत्त्व प्रस्ट भयो
  • प्रेम अन्धो हुँदा
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००२
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. १८-२१

सुन्दर पतंग

एक साँझ एउटा सानदार भोजनालयमा पतंग अर्थात्‌ मथ उड्‌दै भित्र पस्यो। त्यो कीरा खाना खाइरहेकी एउटी महिलाको टेबुलनेर पुग्दा मानौं आफूलाई रोग सार्ने लामखुट्टेले टोक्न लागेको जस्तै गरी तिनले अतालिंदै त्यसलाई धपाइन्‌! त्यो कीरा अर्को टेबुलमा पुग्यो र अन्तमा एक जना मानिसको कोटमा बस्यो। त्यो मानिस र तिनकी श्रीमतीले भने बेग्लै प्रतिक्रिया देखाए। तिनीहरू यस नाजुक पतंगको सौन्दर्य अनि मित्रैलो स्वभाव देखेर मोहित भए।

“पतंगहरू मित्रैला जीव हुन्‌” भनी कनेक्टीकट बटरफ्लाइ एसोशिएसनका सह-संस्थापक जोन हिमेलम्यान वर्णन गर्छन्‌। “यिनीहरूको टोक्ने मुख हुँदैन र लुना पुतलीजस्तै कुनैकुनै हुर्किसकेका पुतलीले केही पनि खाँदैन। यिनीहरूले न रेबिज सार्छ, न त अन्य रोग नै सार्छ। यिनीहरूले चिल्न पनि चिल्दैन . . .। यी राती र दिउँसो उड्‌ने पुतली वास्तवमा उस्ताउस्तै हुन्‌ भनेर धेरै जसो मानिसहरूलाई थाहै छैन।”

सबैलाई पुतली मनपर्छ तर पतंगको सुन्दरता अनि विविधताको प्रशंसा गर्नेहरू भने थोरै छन्‌। ‘सुन्दरता?’ नाक चेप्राउँदै तपाईं सोध्नुहोला। कसैकसैले पतंग भन्‍ने बित्तिकै त्यति आकर्षक नदेखिने प्राणी हो भन्ठान्छन्‌। तैपनि, दुवैलाई एउटै वैज्ञानिक वर्गीकरण अर्थात्‌ “पत्रेदार पखेटाहरू” अर्थ लाग्ने लेपिडप्टेराअन्तर्गत राखिएको छ। यी मनोरम जीवहरूमा देखिने विविधता साँच्चै आश्‍चर्यजनक छ। दी इन्साइक्लोपीडिया अफ इन्सेक्ट्‌स-ले उल्लेख गरेअनुसार लेपिडप्टेराअन्तर्गत १,५०,००० देखि २,००,००० प्रजातिहरू पर्छन्‌। तर यी प्रजातिहरूमध्ये १० प्रतिशत मात्र पुतली हुन्‌ भने बाँकी जम्मै पतंग हुन्‌!

जाडोमा लगाउने लुगाहरू थन्काउने क्रममा पतंगले ती लुगाहरू नखाओस भनेर यसलाई भगाउन कपुरको गोली राख्ने बेलाबाहेक अरूबेला त म पनि अरू मानिसहरूले जस्तै यी पतंगहरूबारे सोच्दिनथें। पूरा हुर्किसकेका पतंगहरूले कपडा खाँदैनन्‌ भनेर मलाई थाहै थिएन। तिनीहरू लार्भा अर्थात्‌ झुसिल्कीरा छँदा मात्र यसरी खाने गर्छन्‌।a

तर पतंगप्रति मेरो दृष्टिकोण कसरी बद्‌लियो? केही समयअघि मेरो श्रीमान्‌ र म हाम्रा साथीहरू बब अनि रोन्डाकहाँ गएका थियौं। बबलाई ती पतंगबारे धेरै थाह रहेछ। तिनले मलाई एउटा सानो बट्टा देखाए र मैले सुरुमा त्यसभित्रको कीरा पुतली भन्ठानेकी थिएँ। उनले बताएअनुसार त्यो उत्तरी अमेरिकाका पतंगहरूमध्ये सबैभन्दा ठूलो सेक्रोपिया अर्थात्‌ रबिन पतंग रहेछ। पखेटा फैलाउँदा यो १५ सेन्टिमिटरसम्म लामो हुनसक्छ र यसको जीवनचक्र लगभग एक वर्षको हुन्छ। तर पूरा हुर्केको अवस्था जम्मा ७ देखि १४ दिनसम्म मात्र रहन्छ भन्‍ने थाह पाउँदा त म छक्कै परें! त्यो मनमोहक सेक्रोपियालाई नजिकबाट नियालेपछि पतंगहरूबारे रहेको पुरानो धारणा बदलियो।

बबले आफ्नो बट्टाको मुन्तिरका केही दागहरू देखाए। “ती दाग अण्डाहरू हुन्‌” भनेर बताइसकेपछि बबले भने, “म यिनीहरूलाई वयस्क बनाउन चाहन्छु।” पतंगलाई हुर्काउने? यो सुनेर त्यसप्रति मेरो पनि चासो जाग्यो। तथापि, यो योजना त्यति सजिलो रहेनछ। दुई हप्तासम्म बबले ती अण्डाबाट बच्चा काढ्‌न लगाउन प्रयास गरे तर सफल भएनन्‌। त्यसपछि, तिनले ती अण्डाहरूलाई अलि चिसो बनाउने विचार गरे। त्यस्तो चिसो ठाउँमा राखेको हप्ता दिनपछि नै २९ वटामध्ये २६ वटाले बच्चा काढ्यो। त्यसपछि बबले यी लामखुट्टे आकारका कमजोर लार्भाहरू बाहिर निस्कन नसकोस्‌ भनेर गहिरो भाँडोमा राखे।

ती अण्डाबाट निस्केका लार्भाहरूको पहिलो भोजन आफ्नै अण्डाका बोक्राहरू थिए। त्यसपछि, बबले तिनीहरूका लागि खानाको प्रबन्ध गर्नुपऱ्‍यो र त्यो अलि चुनौतीपूर्ण नै थियो। केही अनुसन्धान गरिसकेपछि तिनले फिरफिरे बोटका पातहरू खुवाउने प्रयास गरे। ती लार्भाहरू पातमाथि सल्बलाउन थाले तर पातचाहिं खाएनन्‌। तथापि, बबले पैयुँ अनि भोजपत्रका पातहरू दिंदाचाहिं मजाले खान थाले।

यी साना लार्भाहरू हुर्केर झुसिल्कीरा भएपछि बबले यिनीहरूलाई जालीले छोपिएको भाँडोमा सारे। त्यो भाँडोमा झुसिल्कीरा अनि पातहरूका लागि उपयुक्‍त हावापानी थियो। यसमा झुसिल्कीराका लागि पनि प्रशस्त ठाउँ थियो किनभने तिनीहरू घस्रन सक्ने भएपछि जतासुकै चलमलाउन थाल्छन्‌।

जम्मा २६ वटा खन्चुवा झुसिल्कीराहरूलाई खुवाउनु सोचेजस्तो सजिलो थिएन। बबले भाँडोभित्र टन्‍न पात राखिदिंदा पनि यी झुसिल्कीराले दुई दिनभित्रै ती सबै खाई सकिहाल्थे। यसैकारण तिनले आफ्नी बहिनी अनि दुई जना जवान साथीहरूलाई पनि यिनीहरूको रेखदेख गर्न र खुवाउन अह्राए।

यी झुसिल्कीराहरूले त्यत्ति थुप्रो खाना खानु वृद्धिको लागि मात्र होइन तर पूरा हुर्किसकेपछिसम्म पनि पोषणको लागि अत्यावश्‍यक हुन्छ। वयस्क सेक्रोपिया पतंगको मुखले चपाउने काम गर्दैन र यसले पटक्कै खाँदैन भने पनि हुन्छ! यिनीहरूको छोटो वयस्क अवस्थाको दौडान जीवित रहने मुख्य आधार नै लार्भा अवस्थामा खाएको भोजन हो।

नयाँ छाला फेर्ने

झुसिल्कीराहरू हुर्कंदै जाँदा यिनीहरूले आफ्नो छाला त्याग्न थाल्छन्‌ अर्थात्‌ धेरै चोटि पुरानो छाला फेर्छन्‌। छाला परिवर्तन हुने अवधिको झुसिल्कीरालाई इन्स्टार भनिन्छ।

सेक्रोपिया झुसिल्कीराको छाला बढ्‌दैन। त्यसैले, यो झुसिल्कीरा निकै ठूलो भएर छाला च्यातिन लागेपछि यसको छाला परिवर्तन हुनथाल्छ। यो समय कहिले सुरु होला भनेर बबले भन्‍नसक्थ्यो किनभने त्यो समय सुरु हुनअघि झुसिल्कीराले खान छोड्‌छ। रेसमी पाटा बुनेर त्यसमा टाँसिसकेपछि यी झुसिल्कीराहरू नयाँ छाला नबनुञ्जेलसम्म केही दिन अचल बसे। नयाँ छाला तयार भएपछि झुसिल्कीराहरू ती पाटाहरूसँगै पुरानो छालाबाट बाहिर निस्के। यी झुसिल्कीराहरू इन्स्टारको अन्तिम अवस्थामा पुगेको बेला अत्यन्तै ठूलो भएको देखेर म त छक्कै परें। यिनीहरू १२ सेन्टिमिटर लामा र मेरो चोर औंलाभन्दा पनि मोटा थिए।

गोलाकार कोया बुन्‍ने

इन्स्टारको अन्तिम अवस्थामा हरेक झुसिल्कीराले शरीरमा खैरो त्यान्द्राहरू निकालेर त्यसैमा टाँस्सिदै कोया बुन्‍न थाले। सेक्रोपियाले दुई किसिमको कोया बुन्छन्‌। एउटा एकदमै ठूलो, खुकुलो र तल्लो भाग गोलो अनि माथिल्लो भाग खुम्चिएको झोलाजस्तो आकारको हुन्छ। अर्कोचाहिं सानो, कस्सिएको अनि माथि र तल दुवै खुम्चिएको अण्डाकार हुन्छ। दुवै किसिमको कोया भित्रपट्टि कस्सिएर बुनिएका हुन्छन्‌। सेक्रोपियाका कोयाहरू साधारणतया टाटेपाटे कैलो, खैरो, फिका हरियो अथवा खरानी रंगका हुन्छन्‌। उत्तर अमेरिकाका अन्य कोयाहरूको तुलनामा सेक्रोपिया पतंगका कोयाहरू निकै ठूलो अर्थात्‌ दस सेन्टिमिटर लामो र छ सेन्टिमिटर फराकिला हुन्छन्‌। अनि यी अद्‌भुत आकृतिहरूले माइनस ३४ डिग्री सेल्सियस तापक्रममा पनि त्यस जीवलाई बचाइराख्न सक्छन्‌।

झुसिल्कीरा कोयाभित्र पसेपछि हामीले धैर्य गरेर पर्खनुबाहेक अरू केही कामै थिएन। पहिलो पटक वयस्क पुतली हात परेको दिनदेखि यता लगभग एक वर्षसम्मको कठिन परिश्रमपश्‍चात्‌ अर्को सालको वसन्तऋतुमा ती पतंगहरू कोयाबाट बाहिर निस्के। बबले कोयालाई ठाडो पारिराख्न एउटा सानो लट्ठीमा बाँधेर त्यसलाई प्लास्टिकको टुक्राभित्र राखे। केही समयपछि, कठिन परिश्रम अनि धैर्य गर्दै एउटा बाहेक सबै सेक्रोपियाहरू कोयाबाट बाहिर निस्के।

पतंगहरूको महत्त्व प्रस्ट भयो

सेक्रोपियाको उल्लेखनीय जीवनचक्र हेरिसकेपछि मलाई वत्तीको वरपर फट्‌फटाइरहेका अनि घरमा बसिरहेका यस्ता पतंगहरूप्रति मेरो बढी ध्यान जान थाल्यो। मेरो यो अनुभवले गर्दा यस्ता मनमोहक जीवहरूबारे अझ बढी कुरा पत्ता लगाउने चासो जागेको छ। उदाहरणका लागि, राती र दिउँसो उड्‌ने पुतलीहरू उड्‌नमा निकै माहिर हुन्छन्‌ र कुनैकुनै त धेरै टाढा टाढासम्म पनि उड्‌छन्‌। सानो डायमण्डब्याक मथको पखेटा साढे दुई सेन्टिमिटर मात्र फैलिएको हुन्छ तर यो समय समयमा विशाल उत्तरी समुद्र हुँदै युरोप र बेलाइतबीच पनि उड्‌छ। अनि स्फिन्कस मथ अर्थात्‌ हकपतंग भने हमिङबर्डजस्तै फूल वरपर भुनभुनाउँछन्‌।

सेक्रोपियाको जीवनचक्र हेरेको केही समयपछि मैले बिजुली बत्तीमुनिको झाडीमा एउटा पुतली देखें। मैले त्यसलाई देख्ने बित्तिकै चिनिहालें किनभने यसको पखेटाका झुस साह्रै नरम हुन्छन्‌ र पखेटामा समात्नु हुँदैन। तथापि, यसको अगाडि आफ्नो हात फैलाउनुभयो भने चाहिं यो तपाईंको औंलामा हिंड्‌न सक्छ। मैले पनि त्यसै गरें र साँच्चै त्यो आकर्षक कीरा मेरो चोर औंलामा बस्दा म रमाएँ। पछि यो उडेर रूखको टुप्पामा बस्यो। यो उडेको हेर्दा मलाई, त्यो त पुतली जस्तै देखिंदो रहेछ जस्तो लाग्यो। अर्कोपल्ट तपाईंले पनि पुतली देख्नुभयो भने फेरि एक चोटि राम्ररी हेर्नुहोस्‌। त्यो प्रायजसो दिउँसो उड्‌ने पुतली नभई सुन्दर अनि अहानिकारक पतंग अर्थात्‌ मथ हुनसक्छ।— साभार। (g01 6/8)

[फुटनोट]

a कुनैकुनै पतंगले लार्भावस्थामा छँदा बालीलाई ठूलो क्षति पुऱ्‍याउँछ।

[पृष्ठ १९-मा भएको चित्र]

१. रबिन मथ (सेक्रोपिया)

२. पोलिफेमस मथ

३. सनसेट मथ

४. एट्‌लास मथ

[स्रोत]

Natural Selection© -Bill Welch

A. Kerstitch

[पृष्ठ २०-मा भएको चित्र]

सेक्रोपिया पतंग पूर्ण विकसित हुन यी चरणहरू पार गर्नुपर्छ:

१. अण्डा

२. झुसिल्कीरा

३. वयस्क पुतली

[स्रोत]

Natural Selection© -Bill Welch

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने