बाइबलको दृष्टिकोण
के सबै धर्म परमेश्वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन्?
शास्त्रविद् मार्कस बर्गले यसो भने, “सारा ब्रह्माण्डका परमेश्वरले केवल एउटै धार्मिक संस्कारद्वारा आफूलाई चिनाउन चाहुनुहुन्छ भन्ने कुरा विश्वास गर्न मलाई साँच्चै गाह्रो लाग्छ।” नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुले यसो भने: “कुनै पनि धर्मले आफ्नो विश्वासमा कुनै त्रुटि छैन, पूर्णतया सत्य हो भनी दाबी गर्न सक्दैन।” एउटा लोकप्रिय हिन्दु दृष्टिकोण यस्तो छ, “जतो मठ, ततो पथ।” यसलाई शाब्दिक अर्थमा अनुवाद गर्दा सबै धर्म एउटै लक्ष्यमा पुऱ्याउने फरकफरक बाटा मात्र हुन्, हुन्छ। बौद्धमार्गीहरू पनि यही सिद्धान्त अवलम्बन गर्छन्। वास्तवमा, करोडौं मानिसहरू सबै धर्म परमेश्वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन् भन्ने सिद्धान्तमा विश्वास गर्छन्।
इतिहासकार जेफ्री पारिन्डरले यसो भने, “सबै धर्मको लक्ष्य एउटै हो वा सबै सिद्धान्तहरूले एउटै कुरा सिकाउँछ भनी बेलाबेलामा भन्ने गरिन्छ।” धर्महरूको उपदेश, संस्कार र देवीदेवताहरू वास्तवमा उस्ताउस्तै छन्। प्रायजसो धर्मले प्रेमबारे बताउँछ र हत्या गर्नु, चोरी गर्नु, झुटो बोल्नु गलत हो भनी सिकाउँछ। अधिकांश धार्मिक समुदायमा अरूलाई मदत गर्न निष्कपट प्रयास गर्ने व्यक्तिहरू पनि हुन्छन्। त्यसोभए, कुनै एक व्यक्ति आफ्नो विश्वासमा निष्कपट छ र सदाचार जीवन बिताउने प्रयत्न गर्दैछन् भने, के तिनले जुनै धर्म अपनाए पनि त्यो ठीकै छ भन्नु मिल्ला? अथवा के सबै धर्म परमेश्वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन्?
के निष्कपट हुनु मात्र यथेष्ट छ?
प्रथम शताब्दीका शावल नाउँ गरेका यहूदीलाई विचार गर्नुहोस्, जो पछि मसीही प्रेरित पावल नाउँले चिनिए। उनी जोसिला यहूदी धर्मावलम्बी थिए र उनलाई ख्रीष्टका अनुयायीहरूको उपासना गलत लागेकोले उनी उक्त धर्म नामेट पार्न तम्सिए। (प्रेरित ८:१-३; ९:१, २) यद्यपि, परमेश्वरको कृपाले गर्दा शावलले आफूजस्तै धर्मपरायण मानिसहरूसित परमेश्वरको सेवा गर्ने उत्कट जोस भए तापनि साँचो कुरा थाह नपाएकोले तिनीहरू गलत हुन सक्दा रहेछन् भनेर बुझे। (रोमी १०:२) शावलले परमेश्वरको इच्छा र व्यवहारलाई राम्ररी बुझेपछि आफैलाई परिवर्तन गरे अनि आफूले सताइरहेका मानिसहरू अर्थात् येशू ख्रीष्टका अनुयायीहरूसँगै उपासनामा लागे।—१ तिमोथी १:१२-१६.
के बाइबलले सयौं धर्ममध्येबाट एउटा छाने हुन्छ अनि त्यो धर्म जुनसुकै किन नहोस्, परमेश्वरलाई स्वीकार्य हुन्छ भनी बताउँछ? प्रेरित पावलले पुनरुत्थान भइसक्नुभएका येशू ख्रीष्टबाट पाएका निर्देशन उक्त धारणाको ठीक विपरीत थियो। येशूले उनलाई अन्यजातिकहाँ “तिनीहरूका आँखा उघार्नालाई र तिनीहरूलाई अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फिराउनलाई” पठाउनुभयो। (प्रेरित २६:१७, १८) स्पष्टतया, हामी कुन धर्म छान्छौं, त्यसले अवश्य फरक पार्छ। पावल ज-जसकहाँ गए, तिनीहरू सबैको आ-आफ्नै धर्म थियो। तर तिनीहरू “अन्धकार[मा]” थिए। यदि सबै धर्म अनन्त जीवन र परमेश्वरको निगाह प्राप्त गर्नेतर्फ लैजाने फरकफरक बाटा मात्र हुँदा हुन् त येशूले आफ्ना अनुयायीहरूलाई चेला बनाउने काम गर्न अह्राउनु र सिकाउनु पर्ने नै थिएन।—मत्ती २८:१९, २०.
डाँडाको प्रसिद्ध उपदेशमा येशूले यसो भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्; किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) बाइबलले स्पष्टसित यसो भन्छ, “एउटै विश्वास” छ। (एफिसी ४:५) स्पष्टतया, “फराकिलो” बाटोमा हिंड्नेहरूको पनि आफ्नै धर्म छ। तर तिनीहरूसित “एउटै विश्वास” भने छैन। उपासना गर्ने सही तरिका एउटै मात्र भएकोले यसलाई भेट्टाउन चाहनेहरूले नभेट्टाउञ्जेलसम्म यसको खोजी गरिरहनुपर्छ।
साँचो परमेश्वरको खोज
मानव इतिहासको प्रारम्भदेखि नै परमेश्वरले आफूले चाहनुहुने कुराहरू मानिसजातिलाई बताउनुभएको छ। (उत्पत्ति १:२८; २:१५-१७; ४:३-५) आज उहाँले चाहनुहुने कुराहरू बाइबलमा स्पष्टसँग व्याख्या गरिएको छ। यसले हामीलाई स्वीकार्य र अस्वीकार्य उपासनाबीचको भिन्नता छुट्याउन मदत गर्छ। (मत्ती १५:३-९) कसैकसैले आफ्नो पुर्खाको धर्म अपनाएका छन् भने अरू कतिपयचाहिं समाजमा जुन धर्मको बाहुल्यता छ, त्यही धर्म अपनाउँछन्। आफू जन्मिएको ठाउँ र समयमा जुन धर्म मानिन्थ्यो, तिनीहरू त्यही धर्म मान्छन्। यद्यपि, के तपाईं धर्मसम्बन्धी आफ्नो छनौटलाई त्यतिकै छोडिदिनुहुन्छ वा के तपाईं यस विषयमा अरूलाई नै निर्णय गर्न लाउनुहुन्छ?
धर्म छनौट गर्दा बुद्धिमान् हुनुपर्छ र होसियारीसाथ धर्मशास्त्र जाँच गर्नुपर्छ। प्रथम शताब्दीमा, केही शिक्षित वर्गले प्रेरित पावलका वचनलाई सुनेकै भरमा मात्र पत्याएनन्। तिनीहरूले ‘ती कुराहरू ठीक हुन् कि होइनन् भनेर होसियारीसाथ दिनहुँ धर्मशास्त्र खोजी गरे।’ (प्रेरित १७:११; १ यूहन्ना ४:१) तपाईंले पनि त्यसै गर्नुभए कसो होला?
बाइबलले वर्णन गरेअनुसार ब्रह्माण्डका सृष्टिकर्ता, मानिसहरूले सत्यतामा उहाँको उपासना गरेको चाहनुहुन्छ। यूहन्ना ४:२३, २४ ले बताएअनुसार येशूले यसप्रकार वर्णन गर्नुभयो: “तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” ‘परमेश्वर र पिताको सामु आफूलाई दुनियाँबाट निष्कलंक राख्ने’ उपासना नै उहाँलाई स्वीकार्य हुन्छ। (याकूब १:२७) जीवनतर्फ लैजाने साँघुरो बाटो खोज्ने लाखौंलाई परमेश्वरले आशिष् दिनुभएको छ। परमेश्वरले अन्यत्र चासो लिनेहरूलाई होइन तर उहाँले तयार पारिदिनुभएको साँघुरो बाटो खोज्न साँचो प्रयास गर्नेहरूलाई र त्यस बाटोमा हिंड्नेहरूलाई अनन्त जीवन दिनुहुनेछ।—मलाकी ३:१८. (g01 6/8)