आमाबाबुबाट त्यागिएको—परमेश्वरबाट माया गरिएको
बर्नडेट फिनको वृत्तान्तमा आधारित
तीन दिदीहरूसँगै मलाई पनि आश्रममा छोडिंदा म चार वर्ष पनि पुगेकी थिइनँ। मलाई मेरा आमाबाबुकहाँ पुऱ्याइदेऊ भनेर हप्तौंसम्म रोएकी अनि कराएकी थिएँ भन्ने कुरा उहाँहरूले अझसम्म बिर्सनुभएको छैन। त्यसबेला ब्राइडी १२ वर्ष, फिलिस ८ वर्ष अनि आनामे ७ वर्ष पुग्नुभएको थियो। हामीलाई त्यहाँ किन छोडियो ?
मेरो जन्म एउटा ठूलो क्याथोलिक परिवारमा मे २८, १९३६ का दिन भएको थियो। हामी साना केटाकेटीहरू आमाबाबुसित आयरल्याण्डको काउन्टी वेक्सफोर्डस्थित डनकर्मिकको सानो घरमा बस्थ्यौं। म आठौं सन्तान थिएँ र मलगायत अरू सात जना दाइदिदी एउटा ठूलो पलङमा सँगै सुत्थ्यौं। केही समयपछि जन्मेको भाइ र बहिनीचाहिं ड्रेसिङ टेबलको घर्रामा सुत्थे।
मेरो बुबा परिश्रमी खेताला हुनुहुन्थ्यो। उहाँको आम्दानी धेरै थिएन। त्यसैले, परिवारलाई खुवाउन धौधौ पर्थ्यो। आमाले दाइदिदीहरूलाई स्कूलमा कहिलेकाहीं मात्र दिउँसोको खाजा पठाउन सक्नुहुन्थ्यो। आयरल्याण्डको गरिबी अनि क्याथोलिक चर्चको निर्दयी शासनले गर्दा हाम्रो अवस्था त्यस्तो भएको थियो।
हाम्रो परिवारले नियमित तवरमा चर्च धाउने गरे तापनि आमालाई भने आध्यात्मिक कुराहरूमा गहिरो चासो थिएन। तथापि, चुलोमा काम गर्नुभएको बेला भने उहाँले केही धार्मिक साहित्यहरू पढिरहनुभएको दिदीहरूले सम्झनुभएको छ। आफूले पढेका कुनैकुनै कुरा उहाँले हामीलाई पनि बताउने कोसिस गर्नुहुन्थ्यो।
“आमा खोई?”
मलाई आश्रममा लगिएको दिन म कहिल्यै बिर्सन सक्दिनँ। मेरा आमाबाबु मटानमा ननसित गम्भीर मुद्रामा कुराकानी गरिरहनुभएको थियो। त्यहाँ के-कस्तो कुराकानी भइरहेको थियो मलाई थाह छैन त्यसैले म अरू सानी केटीहरूसित खेल्न थालें। एक छिनपछि मैले यताउता हेरें तर दुःखको कुरा आमा र बुबा दुवैलाई कहीं पनि देखिनँ। “आमा खोई?” भन्दै म ठूलो स्वरमा रुन थालें। लेखको सुरुमै उल्लेख गरिएझैं म हप्तौंसम्म रोएँ।
मेरी तीन जना दिदीहरूले मलाई निकै फकाउनुहुन्थ्यो। तर उहाँहरू आश्रमको अर्कै ठाउँमा बस्नु हुने भएकोले उहाँहरूसित मेरो त्यति भेटघाट हुँदैनथ्यो। उहाँहरू साना केटाकेटीहरूभन्दा दुई घण्टापछि सुत्नुहुने हुँदा उहाँहरू सुत्न नजाउञ्जेलसम्म म पनि निदाइनँ। त्यसपछि, पलङबाट सुटुक्क निस्की भऱ्याङको सबैभन्दा माथिल्लो खुड्किलोमा चढेर दिदीहरूलाई हात हल्लाउँदै बिदा गरें। म हरेक दिन त्यही क्षणको प्रतीक्षामा हुन्थें।
त्यस आश्रमले केटाकेटीलाई आमाबाबुसित हतपत भेट्न नदिने हुनाले मैले मेरो आमा र बुबालाई धेरै चोटि भेट्न पाइनँ। त्यस्तो बिच्छेदले मलाई भावनात्मक तवरमा गहिरो चोट पुग्यो। हो, एकपल्ट आमाबाबु हामीलाई भेट्न आउनुभएको मलाई याद छ तर त्यसबेला म उहाँहरूको नजिकै गइनँ र उहाँहरू पनि मेरो नजिक आउनुभएन। तर, दिदीहरूलाई भने आमाबाबुसितको दुई चारवटा भेटघाट सम्झना छ।
समय बित्दै जाँदा मैले त्यस आश्रमलाई नै आफ्नो परिवार अनि घरसंसार मान्न थालें। त्यहाँ म १२ वर्ष बसें। त्यस अवधिमा मैले दुईपल्ट मात्र बाहिर निस्कने आँट गरें। नजिकैको गाउँमा घुम्न गएको बेला असाध्यै रमाइलो भएको थियो किनभने हामीले त्यहाँ रूख अनि जनावरहरू देख्यौं। हामी केटीहरूले कार, बस अथवा पसलहरू कहिल्यै देखेका थिएनौं। अरू त के कुरा, केटा मान्छेको नाममा पादरीबाहेक अरूलाई त देखेकै थिएनौं।
आश्रमको जीवन
आश्रमको जीवनका विविध पक्षमध्ये केही सकारात्मक थिए त केही नकारात्मक। एउटी भलाद्मी ननले आफूलाई परमेश्वरबारे जे जति थाह थियो, त्यसबारे हामीलाई राम्ररी सिकाइन्। परमेश्वर मायालु पिता हुनुहुन्छ भनेर तिनले बताइन्। त्यो सुनेर म खुसी भएँ र त्यस दिनदेखि मैले परमेश्वरलाई आफ्नो पितासरह मान्ने विचार गरें। किनभने मलाई जन्म दिने बुबाभन्दा उहाँ मायालु अनि दयालु हुनुहुन्थ्यो। त्यसबेला सानो उमेरदेखि नै मैले प्रार्थना गरेर परमेश्वरसित कुरा गर्न थालें। त्यो ननले आश्रम छोडेपछि भने मलाई साह्रै न्यास्रो लाग्यो।
मैले आश्रममा पाएको राम्रो आधारभूत शिक्षाको लागि म साह्रै कृतज्ञ छु। तथापि, “दिवा केटीहरू” पनि थिए र स्कूलमा पढ्न आउँदा तिनीहरूको विशेष रेखदेख गरिन्थ्यो। तिनीहरू धनाढ्य परिवारका छोरीहरू थिए अनि तिनीहरू आउँदा हामीले कक्षा कोठा छोडिदिनुपर्थ्यो। हामी अनाथ हौं र हामीले आफ्नो हैसियत बिर्सनुहुँदैन भनेर ननहरूले हामीलाई बारम्बार भनिरहन्थे।
आश्रममा थुप्रै नियम थिए। तिनीहरूमध्ये कुनैकुनै व्यावहारिक थिए त्यसैले ती नियम बनाइनुको कारण हामी बुझ्नसक्थ्यौं। त्यहाँ बानीबेहोरा, चालचलन अनि अन्य कुराबारे पनि लाभदायी पाठहरू सिकाइन्थ्यो। मैले ती कुरा अझै बिर्सेकी छैन र त्यसबाट अहिलेसम्म फाइदा उठाइरहेकी छु। तर कुनैकुनै नियमहरू भने निर्दयी अनि अन्यायीजस्तो देखिन्थे र बाँकीचाहिं अर्थ न बर्थको अनि दिक्कलाग्दा थिए। त्यस्तै नियमहरूमध्ये एउटा राती ओछ्यानमा पिसाब गरेमा र अर्कोचाहिं राती शौचालय गएमा सजाय दिने नियम थियो।
एक दिन भऱ्याङ उक्लँदै गर्दा मैले सँगैको केटीसित कुरा गर्न थालें। एक जना ननले मलाई बोलाउनुभयो र त्यसरी कुरा गरेकोमा सजाय दिनुभयो। कस्तो प्रकारको सजाय? आयरल्याण्डको कठांग्रिने जाडो महिना समेत पातलो लुगामै बिताउनुपऱ्यो! म प्रायः बिरामी भइरहन्थें। धेरैजसो मलाई दम र टन्सिलले सताउँथ्यो। म साह्रै बिरामी परें र मलगायत अरू केटीहरूलाई क्षयरोग (टिबी) लाग्यो। छुट्टै कोठामा राखिएको भए तापनि हाम्रो राम्रो औषधोपचार गरिएन र मेरो मिल्ने साथीलगायत अरू कतिपय मरे।
सानातिना नियमहरू उल्लंघन गर्दा मात्र पनि हामीमध्ये कसैकसैले अचाक्ली कुटाइ खान्थ्यौं। एकपल्ट सबै विद्यार्थीहरू भेला भएको बेला एक जना केटीलाई ननले दुई घण्टासम्म कुटिरहेको हामीले टुलुटुलु हेरिरहनु पऱ्यो। हामी सबै रोइरहेका थियौं। हुन त, सबै ननहरू त्यस्तो छुच्ची थिएनन्। तैपनि, एक जना निस्सहाय बच्चाप्रति त्यस्तो निर्दयी व्यवहार कसरी गर्नसकेको होला भनेर मैले आजसम्म बुझ्न सकेकी छैन। खै, मैले बुझ्नै सकेकी छैन।
पछि, ब्राइडी र फिलिस आश्रमबाट गए अनि त्यहाँ म र आनामे मात्र बाँकी भयौं। हामीलाई दुई जना भए अरू कोही नचाहिने भयो। हाम्रा आमाबाबु एक दिन आउनुहुनेछ र यहाँबाट धेरै टाढा ननहरूले हामीलाई भेट्टाउनै नसक्ने ठाउँमा लैजानुहुनेछ भन्ने कथाहरू सुनाउनुभएर आनामे दिदीले मलाई फकाउनुहुन्थ्यो। तर जब उहाँले पनि आश्रम छोडेर जानुपऱ्यो, त्यतिबेला मेरो मुटु छियाछिया भयो। त्यसपछि अर्को तीन वर्ष मैले आश्रममै बिताएँ।
आश्रमबाहिर बाँच्न सिक्दै
आश्रम छोडेर बाहिर जीवन बिताउनु पर्दा म सोह्र वर्षकी थिएँ तर म त्यो जीवन बिताउन भने पटक्कै सक्षम थिइनँ। मलाई आश्रमबाहिरको संसारबारे केही थाह थिएन र के गर्ने, कसो गर्ने, अलमल्लमा परें। बस चढ्दा मसित भाडा मागियो तर भाडा भनेको के हो, मलाई थाहै थिएन। मसित एक पैसा पनि नभएकोले मलाई बसबाट ओह्रालियो र मैले आफ्नो गन्तव्यस्थानसम्म हिंडेरै जानुपऱ्यो। अर्को चोटि चाहिं म बस चढ्न चाहन्थें तर एउटै बस आएन। बस चढ्न बस बिसौनीमा जानुपर्छ भनेर मलाई के थाह।
तथापि, पछि केही साहस, बल अनि आँट बटुलेर मैले बिस्तारै के गर्नुपर्ने हो बुझ्न थालें। मैले सानोतिनो जागिर खाएँ र केही महिना काम गरिसकेपछि आमालाई भेट्न जाने निर्णय गरें। त्यहीं मैले मेरा साना भाइबहिनीहरूलाई पहिलो पटक देखें। त्यतिबेलासम्ममा मेरा १४ जना दाजुभाइ दिदीबहिनी भइसकेका थिए। त्यहाँ बस्न मेरोलागि कोठा नभएको कारण आमाबाबुले मलाई दिदी आनामेसितै वेल्समा बस्ने प्रबन्ध मिलाइदिनुभयो। बुबा मलाई त्यहाँसम्म पुऱ्याएर तुरुन्तै फर्किहाल्नुभयो।
म निकै बेहाल अवस्थामा भए तापनि जसोतसो जीविका चलाइ रहेकी थिएँ। पछि, १९५३ मा बेलाइतको लण्डनमा बसाइँ सरें र रोमन क्याथोलिक कल्याणकारी संगठनकै भ्रातृ संस्था लिजन अफ मेरीमा सहभागी भएँ। यद्यपि, तिनीहरूसित काम गर्दा मलाई त्यति चित्त बुझेन किनभने मैले यो आध्यात्मिक कुरासित सम्बन्धित होला भन्ने आशा राखेकी थिएँ। म आध्यात्मिक विषयमा कुरा गर्न रुचाउँथें तर लिजन अफ मेरीसित काम गर्दा आध्यात्मिक कुराबारे पटक्कै छलफल नहुने हुँदा मलाई दिक्क लाग्न थाल्यो।
लण्डनमा छँदा दाजुहरूको साथी प्याट्रिकसित मेरो भेटघाट भयो। हामीबीच मायाप्रीति बस्यो र १९६१ मा विवाह बन्धनमा बाँधियौं। हाम्रो पहिलो र दोस्रो सन्तान, एन्जेला र स्टेफेन त्यहीं जन्मिए। पछि, १९६७ मा हामी अस्ट्रेलिया सरेपछि हाम्रो तेस्रो सन्तान, एन्ड्रियु जन्म्यो। हामी न्यु साउथ वेल्सको ग्रामीण इलाका बम्बालामा बसाइँ सऱ्यौं।
बल्ल आध्यात्मिक भोजन
हामी अस्ट्रेलिया पुगेको केही समयपछि नै बम्बालामा बिल लोयड भन्ने युवक हामीकहाँ बाइबलको कुरा गर्न आए। मेरा प्रश्नहरूको जवाफ बाइबलबाटै पाउँदा म हर्षले गदगद् भएँ। बिलले भनिरहेका कुराहरू सत्य हुन् भनी थाह पाइसकेपछि पनि बाइबलबाट अझ थुप्रै स्पष्टीकरण पाउन धेरै वादविवाद गरेर उसलाई अलमलाई रहन्थें। पछि, बिलले मलाई बाइबल र केही पत्रिका पढ्नको लागि ल्याइदिए।
ती पत्रिकाहरू पढ्दा एकदमै रमाइलो लाग्यो तर ती पत्रिका छाप्ने मानिसहरू त्रिएकमा विश्वास गर्दैनन् भन्ने कुरा थाह पाउँदा म छक्कै परें। त्यसैले, यी पत्रिकाहरूले प्याट्रिकको विश्वासलाई भ्रष्ट बनाउलान् भन्ठानेर ती लुकाएँ। अर्को पटक बिल आउँदा ती पत्रिकाहरू फर्काइदिने अठोट गरें तर अर्को पटक जब तिनी आए तिनले तीन जना व्यक्ति मिलेर एउटा परमेश्वर बन्छ भन्ने सिद्धान्त बाइबलको शिक्षासित मेल खाँदैन भनेर देखाए। येशू परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँलाई आफ्नो पिता यहोवा परमेश्वरले सृष्टि गर्नुभएको हुनाले उहाँको सुरुआत छ अनि पिता येशूभन्दा महान् हुनुहुन्छ भनेर मैले चाँडै स्पष्टसित बुझें।—मत्ती १६:१६; यूहन्ना १४:२८; कलस्सी १:१५; प्रकाश ३:१४.
क्याथोलिक हुँदा सिकाइएका अरू कुराहरू पनि गलत रहेछन् भनेर बुझ्न मलाई धेरै समय लागेन। उदाहरणका लागि, मानिसको आत्मा अमर हुन्छ वा शासना दिइने अग्नि कुण्ड हुन्छ भनेर बाइबलले सिकाउँदैन। (उपदेशक ९:५, १०; इजकिएल १८:४) त्यो कुरा सिक्न पाउँदा मलाई साँच्चै साह्रै ढुक्क लाग्यो! मैले सधैंभरि माया गरेको तर कहिल्यै नचिनेको बुबा भेट्टाएकोमा हर्षविभोर भएर एक दिन भान्छा कोठामा एक्लै नाचें। मेरो आध्यात्मिक भोक मेटिन थाल्यो। अझ आनन्दको कुरा, प्याट्रिकले पनि यी नयाँ कुराहरूप्रति त्यस्तै उत्साह महसुस गर्नुहुँदो रहेछ।
बिलले हामीलाई अर्कै शहर टेमोरामा हुने यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित हुन निमन्त्रणा दिए। यो शहर धेरै टाढा भए तापनि हामीले त्यो निमन्त्रणा स्वीकाऱ्यौं र शुक्रबार साँझै हामी टेमोरा पुग्यौं। शनिबार बिहान अधिवेशन भवनमा थुप्रै समूह घरघरको प्रचार कार्यमा भाग लिनको निम्ति भेला भए। प्याट्रिक र म पनि यस कार्यमा भाग लिन निकै उत्सुक थियौं किनभने हामीले पहिल्यैदेखि यसो गर्न खोजिरहेका थियौं। तथापि, हामी दुवैले धूम्रपान गर्न नछोडेको कारण यस प्रचार कार्यमा भाग लिन मिल्दैन भनेर बिलले बताए। तैपनि, बिल गएपछि हामी अर्को समूहमा गयौं। तिनीहरूले हामीलाई पनि साक्षीहरू नै हुन् भन्ठानेर सँगै लगे।
हामीले राज्यको सुसमाचार प्रचार गर्ने कार्यमा भाग लिन योग्य हुनुअघि केही आध्यात्मिक आवश्यकता पूरा गर्नुपर्ने रहेछ भनेर सिक्यौं। (मत्ती २४:१४) अन्ततः धुम्रपान गर्न छाड्यौं र प्याट्रिक अनि मैले अक्टोबर १९६८ मा पानीको बप्तिस्माद्वारा यहोवा परमेश्वरप्रतिको आफ्नो समर्पण जाहेर गऱ्यौं।
हाम्रो विश्वासको जाँच
बाइबलको ज्ञान अनि यहोवासितको हाम्रो सम्बन्धमा बढ्दै जाँदा परमेश्वरका प्रतिज्ञाहरूप्रतिको हाम्रो विश्वास झन् बलियो भयो। केही समयपछि प्याट्रिक अस्ट्रेलियाको राजधानीस्थित यहोवाका साक्षीहरूको मण्डलीको प्राचीन नियुक्त भए। हामीले किशोरकिशोरीलाई हुर्काउँदा आइपर्ने सबै किसिमका चुनौतीहरूको सामना गर्दै आफ्ना छोराछोरीलाई यहोवाको शिक्षामा पालनपोषण गर्न यथासक्दो प्रयास गऱ्यौं।—एफिसी ६:४.
दुःखको कुरा, १८ वर्षको उमेरमा हाम्रो छोरो स्टेफेनको कार दुर्घटनामा मृत्यु भयो। स्टेफेन यहोवाको उपासक भइसकेको कारण हामीले दुःखको बावजूद केही साँचो सान्त्वना पायौं। यहोवाले आफ्नो सम्झनामा भएका सबैलाई पुनरुत्थान गर्नुहुँदा हामी उसलाई भेट्ने आशा गर्छौं। (यूहन्ना ५:२८, २९) छोराको मृत्यु भएको एक वर्षपछि, १९८३ मा मैले छोरी एन्जेलासित पूर्णसमय सेवकाईमा भाग लिएँ र त्यसबेलादेखि यस सेवकाईमा निरन्तर लागिरहेकी छु। हाम्रो बाइबल आधारित आशा अरूलाई बताउँन पाउँदा मैले जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मदत पाएकी छु र यसले मेरो मनमा भएको पीडा हटाउन धेरै योगदान पुऱ्याएको छ। मेरी दिदी आनामेले पनि वेल्समा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभयो रे भन्ने कुरा थाह पाएपछि त मेरो मन आनन्दले झनै गदगद् भएको छ।
सन् १९८४ मा प्याट्रिकलाई एउटा रहस्यमय रोग लाग्यो। पछि त्यो क्रोनिक फेटिग सिनड्रम हो भन्ने पत्ता लाग्यो। अन्ततः उहाँले आफ्नो जागिर छोड्नुपऱ्यो र मसीही प्राचीनको हैसियतमा गरिरहनुभएको सेवाबाट पनि राजीनामा दिनुपऱ्यो। खुसीको कुरा, अहिले उहाँलाई अलि सन्चो भएको छ र मण्डलीमा नियुक्त सेवकको हैसियतमा फेरि सेवा गर्दै हुनुहुन्छ।
मेरो बाल्यकालले मलाई अनुशासित र आत्मत्यागी हुन अनि सरल जीवन बिताउँदै थोरै कुरामा सन्तुष्ट हुन सिकायो। तर किन हामी ४ जना दिदीबहिनी मात्र आश्रममा छोडिएका तर बाँकी ११ जना घरैमा हुर्केका होलान्, मैले अझैसम्म बुझ्न सकेकी छैन। मैले बुझ्न नसके तापनि वर्षौंअघि बित्नुभएको मेरा आमाबाबुले कठिन परिस्थितिमा पनि यथासक्दो गर्नुभएको थियो भन्ने सोचेर आफूलाई सान्त्वना दिएकी छु। त्यतिबेला परिस्थिति सजिलो थिएन र कठिन निर्णयहरू गर्नुपर्थ्यो। यसको बावजूद पनि मलाई जीवन दिनुभएकोमा अनि आफ्नो क्षमताले भ्याएसम्म राम्रो हेरविचार गर्नुभएको लागि म मेरा आमाबाबुप्रति कृतज्ञ छु। अनि बुबाले जस्तै स्याहारसुसार गर्नुभएकोमा सबैभन्दा धेरै धन्यवाद म यहोवालाई दिन्छु। (g01 6/22)
[पृष्ठ १६-मा भएको चित्र]
विवाह गरेको केही समयपछि
[पृष्ठ १७-मा भएको चित्र]
हाम्रा छोराछोरी सानै छँदा
[पृष्ठ १७-मा भएको चित्र]
आज प्याट्रिकसित