प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ३/८ pp. ५-७
  • किन शिक्षक हुने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन शिक्षक हुने?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शिक्षकलाई कुन कुराले उत्प्रेरित गर्छ?
  • शिक्षण पेसा त्याग तथा जोखिमहरू
    ब्यूँझनुहोस्‌!—२००२
  • शिक्षकको कुरै चित्त बुझ्दैन, के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • शिक्षकहरूहामीलाई किन तिनीहरूको आवश्‍यकता छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • शिक्षण पेसा—सन्तुष्टि अनि आनन्द
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००२
g०२ ३/८ pp. ५-७

किन शिक्षक हुने?

“धेरैले शिक्षण पेसा अपनाउँछन्‌ किनकि यस पेसाले अरूलाई मदत पुऱ्‍याउँछ। [शिक्षण पेसा] भनेको बच्चाहरूको जीवनमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता हो।”—टिचर्स, स्कूल्स, एण्ड सोसाइटी।

केही शिक्षकहरूलाई हेर्दा यो पेसा सजिलो जस्तो देखिए तापनि यो धेरै अवरोधहरू पार गर्नुपर्ने लामो दौड हुन सक्छ। जस्तै: कक्षाको क्षमताभन्दा बढी विद्यार्थीहरूको संख्या, अचाक्ली कागजी काम, रोब जमाउने कर्मचारीतन्त्र, गैरजिम्मेवार विद्यार्थीहरू अनि थोरै पारिश्रमिकजस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। स्पेनको म्याड्रिडका पेद्रो नाउँ गरेका शिक्षक यसो भन्छन्‌, “शिक्षक हुनु पटक्कै सजिलो छैन। यस पेसामा अत्यन्तै आत्मत्याग गर्नुपर्छ। यद्यपि, यी सबै कठिनाइहरूको बावजूद, व्यापारजगत्‌का अन्य पेसाहरूको तुलनामा शिक्षण पेसा नै मलाई धेरै इनामदायी लाग्छ।”

अधिकांश देशका ठूल-ठूला स्कूलहरूमा यो चुनौती झनै तीव्र हुन सक्छ। लागू पदार्थ, अपराध, खस्किएको नैतिकता र कहिलेकाहीं अभिभावकहरूको भावशून्यताले स्कूलको वातावरण अनि अनुशासनमा गम्भीर असर गर्छ। विद्रोही आचरण त झनै सामान्य भइसकेको छ। त्यसोभए किन त्यति धेरै दक्ष व्यक्‍तिहरूले शिक्षण पेसा नै रोज्छन्‌ त?

लिमारिज र डायना न्यु योर्क शहरमा शिक्षिकाको काम गर्ने गर्छन्‌। तिनीहरू शिशु पाठशालामा दस वर्षमुनिका बच्चाहरूलाई सिकाउने गर्छन्‌। दुवै जना दुइटा भाषा (अंग्रेजी-स्प्यानिस) बोल्न सक्छन्‌ र विशेष गरी उनीहरूले स्प्यानिस बोल्ने बच्चाहरूलाई पढाउने गर्छन्‌। हाम्रो प्रश्‍न यस्तो थियो . . .

शिक्षकलाई कुन कुराले उत्प्रेरित गर्छ?

लिमारिजले यसो भनिन्‌: “मलाई कुन कुराले उत्प्रेरित गर्छ? बच्चाहरूप्रतिको प्रेमले। मलाई थाह छ, कुनै-कुनै बच्चाहरूलाई सहयोग दिने मबाहेक अरू कोही छैन।”

डायनाले यसो भनिन्‌: “मैले आफ्नो आठ वर्षीय भतिजालाई पढाएकी थिएँ किनभने उसलाई विशेष गरी फरर्र पढ्‌न गाह्रो भइरहेको थियो। उसले अनि अरू विद्यार्थीहरूले यस समस्यालाई हटाउन सकेको देख्न पाउँदा ठूलो सन्तुष्टि महसुस भयो! त्यसैकारण मैले बैंकको जागिर छोडेर शिक्षण पेसामा लाग्ने निर्णय गरें।”

ब्यूँझनुहोस्‌!-ले विभिन्‍न देशका शिक्षकहरूलाई पनि सोही प्रश्‍न राखे र प्राप्त केही जवाफहरू तल दिइएका छन्‌।

चालीस वर्ष नाघेका जुलियानो नाउँ गरेका एक इटालेलीले यसो भने: “मैले यो पेसा रोज्नुको कारण म विद्यार्थी (दायाँ भागमा) छँदादेखि नै यस पेसाप्रति म आकर्षित भएको थिएँ। यो पेसा सृजनात्मक हुनुका साथै यस पेसामा अरूलाई प्रोत्साहन दिने धरै अवसरहरू पाइन्छ जस्तो लाग्थ्यो। सुरुको जोसले गर्दा बीचमा आइपरेका कठिनाइहरू पार गर्न सकें।”

न्यु साउथ वेल्स, अस्ट्रेलियाबाट नीक नाउँ गरेका शिक्षकले यसो भने: “मैले अध्ययन गरेको रासायनिक अनुसन्धान क्षेत्रमा जागिर पाउने सम्भावना धेरै कम थियो तर शिक्षा क्षेत्रमा भने धेरै अवसरहरू थिए। शिक्षण पेसामा लागेदेखि मलाई यो काम रमाइलो लाग्न थाल्यो र विद्यार्थीहरूलाई पनि मेरो शिक्षणशैली चित्त बुझेको जस्तो लाग्छ।”

शिक्षण पेसालाई अँगाल्नुमा अक्सर आमाबाबुको पनि प्रमुख भूमिका हुन्छ। केन्याका विलियमले हाम्रो प्रश्‍नको जवाफ यसरी दिए: “धेरै हदसम्म बुबाबाट प्रभावित भएरै शिक्षण पेसाप्रति मेरो चाह बढ्यो र उहाँ सन्‌ १९५२ तिर शिक्षक हुनुहुन्थ्यो। म युवाहरूको जीवनमा राम्रो परिवर्तन ल्याउने काम गर्दैछु भन्‍ने कुराको ज्ञान नै मलाई यस पेसामा लागिरहन उत्प्रेरित गर्ने तत्त्व हो।”

केन्याकै रोजमेरी नाउँ गरेकी शिक्षिकाले यसो भनिन्‌: “समाजका विपन्‍न मानिसहरूलाई सहयोग गर्ने मेरो धोको थियो। त्यसैकारण मैले नर्स बन्‍ने कि शिक्षक बन्‍ने भनेर छान्‍नुपर्ने थियो। सबैभन्दा पहिले सिकाउने प्रस्ताव आयो। म एक जना आमा पनि भएकीले यस पेसाप्रति मेरो प्रेम झनै बढेको छ।”

जर्मनीको ड्युरेनका बरटोल्ट भने अर्कै कारणले गर्दा शिक्षण पेसामा लागेका थिए: “म एउटा राम्रो शिक्षक बन्‍नेछु भन्‍ने कुरामा मेरी पत्नीले मलाई विश्‍वस्त गराइन्‌।” अनि उसले भनेको कुरा साँचो साबित पनि भयो। तिनले यसो भने: “अहिले मेरो पेसाले मलाई ठूलो आनन्द दिइरहेको छ। जबसम्म शिक्षकले शिक्षाको महत्त्वलाई बुझ्दैन अनि युवाजनहरूप्रति चासो देखाउँदैन तबसम्म ऊ एक असल, उत्प्रेरणादायी अनि सफल शिक्षक बन्‍न सक्दैन।”

नाकासु शहरका एक जना जापानी शिक्षक, मासाहिरोले यसो भने: “निम्न माध्यामिक स्कूलको पहिलो वर्षमा पढ्‌दा एक जना निकै दक्ष शिक्षक पाएको कारण नै म शिक्षक बन्‍न उत्प्रेरित भएँ। उहाँले हामीलाई साँचो समर्पणको भावसहित सिकाउनुहुन्थ्यो। अनि म आफ्नो पेसामा लागिरहनुको प्रमुख कारण हो, मलाई बच्चाहरू मन पर्छ।”

हाल ५४ वर्ष पुगेका योशिया पनि जापानकै हुन्‌, उनको मुनाफादायी कारखानाको जागिर थियो तर आफ्नो काम अनि हरेक दिन घरबाट कारखानासम्म ओहोरदोहोर गर्नुपर्दा उनले आफू त्यसको दास भइरहेको महसुस गरे। “एक दिन मैले सोचें, ‘मैले कतिञ्जेल यस्तो जीवनशैली बिताउने?’ मैले वस्तुभन्दा मानिसहरूसित सम्बन्धित जागिर खाने निधो गरें। शिक्षण पेसालाई अरू कुनै पेसासित तुलना गर्न सकिंदैन। जवान व्यक्‍तिहरूसित काम गर्ने मौका मिल्छ। यो दयालु कार्य हो।”

रूस, सेन्ट पिटर्सबर्गका भ्यालेटिनाले पनि शिक्षक हुनुको यस पक्षलाई कदर गरे। तिनले यसो भनिन्‌: “शिक्षण पेसा मैले रोजेको पेसा हो। मैले प्राथमिक स्कूलमा शिक्षिकाको रूपमा काम गरेको ३७ वर्ष भइसक्यो। मलाई केटाकेटीहरूसित अझ विशेष गरी सा-साना बच्चाहरूसित समय बिताउन पाउँदा साह्रै आनन्द लाग्छ। मलाई आफ्नो काम प्यारो लाग्छ, त्यसैले होला मैले अहिलेसम्म अवकाश लिएकी छैन।”

विलियम एयर्स आफै पनि शिक्षक हुन्‌, उनले यस्तो लेखे: “मानिसहरूले शिक्षण पेसा रोज्छन्‌ किनभने तिनीहरूलाई बच्चा र युवावस्था मन पर्छ अथवा उनीहरूसित काम गर्न मन पराउँछन्‌, उनीहरू हुर्कंदै गएर संसारकै योग्य, अझ दक्ष र शक्‍तिशाली व्यक्‍ति बनेको हेर्न मन पराउँछन्‌। . . . मानिसहरूले एउटा उपहारस्वरूप . . . अरूलाई सिकाउँछन्‌। म संसारलाई अझ राम्रो ठाउँ बनाउने आशामा सिकाउने गर्छु।”

हो, कठिनाइ र बाधाबिघ्नहरूको बावजूद, हजारौं समर्पित पुरुष तथा महिलाहरू शिक्षण पेसातिर आकर्षित भएका छन्‌। तिनीहरूले सामना गर्ने केही प्रमुख समस्याहरू के-के हुन्‌? अर्को लेखले यस प्रश्‍नबारे चर्चा गर्नेछ। (g02 3/8)

[पृष्ठ ६-मा भएको पेटी]

शिक्षक-अभिभावकबीच खुलस्त कुराकानीका लागि सुझाउहरू

✔ अभिभावकहरूलाई चिन्‍नुहोस्‌। यसो गर्नु समय खेर फाल्नु होइन। यसो गर्नु दुवै पक्षको लागि फाइदा हुने समयको लगानी हो। यसो गर्नु भनेको पछि गएर तपाईंको उत्तम सहयोगी बन्‍न सक्ने व्यक्‍तिसित राम्रो सम्बन्ध स्थापना गर्ने अवसर हो।

✔ अभिभावकको स्तरमा कुरा गर्नुहोस्‌—बडप्पन देखाउने वा खसालेर कुरा गर्ने नगर्नुहोस्‌। शिक्षकले मात्र बुझ्ने गाह्रो भाषामा कुरा नगर्नुहोस्‌।

✔ बच्चाबारे कुरा गर्दा तिनीहरूको सकारात्मक पक्षलाई जोड दिनुहोस्‌। निन्दाभन्दा प्रशंसा गर्दा राम्रो परिणाम प्राप्त हुन्छ। बच्चाको सफलताको लागि अभिभावकले के गर्न सक्छन्‌, बताउनुहोस्‌।

✔ अभिभावकहरूलाई बोल्न दिनुहोस्‌ र उनीहरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

✔ बच्चाको घरको वातावरण बुझ्ने कोसिस गर्नुहोस्‌। सम्भव भए, विद्यार्थीको घरमा जानुहोस्‌।

✔ अर्को छलफलको लागि मिति तोक्नुहोस्‌। सम्बन्ध बढाउन तोकेको मितिमा फेरि भेट्‌न जानु महत्त्वपूर्ण छ। यसले तपाईंको चासो निष्कपट हो भन्‍ने कुरालाई देखाउँछ।—टिचिङ इन अमेरिका-मा आधारित।

[पृष्ठ ६-मा भएको चित्र]

‘मेरो बुबा पनि एक शिक्षक हुनुहुन्थ्यो।’—विलियम, केन्या

[पृष्ठ ७-मा भएको चित्र]

“म बच्चाहरूसित काम गर्दा आनन्दित हुन्छु।”—भ्यालेन्टिना, रूस

[पृष्ठ ७-मा भएको चित्र]

“शिक्षण पेसालाई अरू कुनै पेसासित तुलना गर्न सकिंदैन। जवान व्यक्‍तिहरूसित काम गर्ने मौका मिल्छ।”—योशिया, जापान

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने