युवा जनहरू सोध्छन् . . .
म कसरी अझ आकर्षक देखिन सक्छु होला?
“केटीहरूसित कुरा गर्दा कस्तो कस्तो लाग्थ्यो। तिनीहरू के सोच्छन् र कस्तो महसुस गर्छन् र कुनै पनि कुरालाई कुन ढंगमा लिन्छन् भन्नेबारे मलाई केही पनि थाहै थिएन।”—टाइलर।
के टीहरूलाई केटाहरूको कस्ता गुणहरू सबैभन्दा बढी मन पर्छ? “आत्मविश्वास,” भनेर एमेली नाउँकी युवती बताउँछिन्। रोबेन नाउँ गरेकी अर्की किशोरी आफ्नो सूचीमा ठट्टा गर्नुलाई प्राथमिकता दिन्छिन्। अनि केटाहरूले चाहिं केटीहरूमा कस्ता गुणहरू खोज्छन्? एउटा सर्वेक्षणले देखाएअनुसार तिनीहरूले केटीहरूको रूपरंगलाई नै बढी महत्त्व दिए र यो कुनै नौलो कुरा होइन। समान चासो तथा मूल्यमान्यताहरू छैठौं स्थानमा पऱ्यो।
जवानहरूलाई ध्यानमा राखेर तयार पारिने पत्रिकाहरूमा प्रायजसो युवायुवतीहरूको सम्बन्धबारे छलफल गरिने लेख तथा सर्वेक्षणहरू पाउन सकिन्छ। स्पष्टतया, थुप्रै जवानहरू आफ्ना विपरीत लिंगका व्यक्तिहरूले आफूबारे कस्तो सोच्छन् भनेर विचार गर्ने र कहिलेकाहीं चिन्तासमेत गर्ने गर्छन्। सायद तपाईंलाई पनि कहिलेकाहीं आफ्नो रूपरंगबारे चिन्ता लाग्छ होला। यसको मतलब तपाईंको विवाह गर्ने समय भइसक्यो भनेको होइन। केवल कोही पनि अरूको अगाडि नराम्रो वा अप्रिय व्यक्ति हुन चाहँदैनन्! टाइलरले यस्तो टिप्पणी गरे: “जवान छँदा तपाईंमा हरबखत आकर्षक देखिने चाह हुन्छ। तपाईं आफ्ना पुरुष तथा महिला साथीहरूको अगाडि प्रिय बन्न चाहनुहुन्छ।” साथै, तपाईंलाई कुनै दिन विवाहको लागि राम्रो जोडी खोज्नुपर्छ जस्तो पनि लाग्न सक्छ। त्यस्तो समय आउँदा तपाईं पक्कै पनि त्यस व्यक्तिलाई आकर्षित पार्न चाहनुहुनेछ।
तथापि, जवान मसीही भएकोले विपरीत लिंगका व्यक्तिहरूसित कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा तपाईंसँग त्यत्ति अनुभव नहोला। त्यसबाहेक शारीरिक तवरमा आकर्षक देखिन आफ्ना साथीहरूबाट दबाब महसुस गर्नुहोला। त्यस्तै गरी टिभी र पत्रिकामा उत्कृष्ट मोडेल तथा मसलदार व्यक्तिहरूको प्रदर्शनहरू हेर्दा-हेर्दा आफूलाई अरूले मन पराउँदैनन् र आफ्नो जीउडाल हुनुपर्ने जस्तो भएको छैन भन्ने महसुस हुनु स्वाभाविकै हो! उसोभए अरू मानिसहरूका साथै विपरीत लिंगका व्यक्तिहरूसामु प्रिय हुने उचित अनि सन्तुलित तरिका के हो?
कथित “सुन्दर” शरीर बनाउने धुन
मनोरञ्जनजगत्को प्रभावले गर्दा थुप्रै जवान मानिसहरू “खानै नखाई नखाई, वेट लिफ्टिङ अनि एरोबिक व्यायाम गरेर आफ्नो जीउ राम्रो बनाउने कोसिस गर्छन्” भनेर क्लिनिकल मनोचिकित्सक विलियम एस. पोलाक बताउँछन्। कोही-कोही त त्यो “सुन्दर” शरीर बनाउने धुनमा केही नखाने जस्तो खतरनाक हदसम्मै पुगेका छन्। यद्यपि, सोसियल इस्युज रिसर्च सेन्टर यसो भन्छ: “हाल सञ्चार माध्यमहरूमा देखाइने आइमाईहरूको आदर्श सुन्दरता कुल महिला जनसंख्याको ५% भन्दा कम महिलाहरूले मात्र हासिल गर्न सकेका छन् र त्यो पनि रूप र आकारमा मात्र। तपाईं अझ आदर्श आकृति र अनुहार आदि कुराहरू मिलेकै हेर्न चाहनुहुन्छ भने सायद १% मात्र पाउनुहुनेछ।”
यसर्थ रोमी १२:२ मा दिइएको बाइबलको सल्लाह व्यावहारिक छ: “यस संसारको ढाँचामा नचल।” (नयाँ संशोधित संस्करण) यद्यपि, यसको अर्थ तपाईंले आफ्नो रूपरंगमा पटक्कै ध्यान दिनु हुँदैन भनेको होइन। यसको अर्थ हो, तपाईंले उपयुक्त व्यायाम तथा सन्तुलित आहार लिएर व्यावहारिक ढंगमा आफ्नो शरीरको हेरचाह गर्नुपर्छ। (रोमी १२:१; १ तिमोथी ४:८) आवश्यक मात्रामा आराम गर्ने र सुत्ने गर्नाले पनि तपाईंमा निक्खार आउन सक्छ। त्यसबाहेक आफ्नो सरसफाइ र कोरीबाटीमा पनि ध्यान दिनुहोस्। डेविड नाउँ गरेका एक जना बेलाइती युवा यसो भन्छन्: “मैले चिनेको एक जना केटी राम्री भए तापनि असाध्यै गन्हाउँछिन् यसले गर्दा मानिसहरू तिनीसामु जानै रूचाउँदैनन्।” त्यसैले नुहाउने गर्नुहोस्। सफा हात, केश र नङले पनि तपाईंको सुन्दरता बढाउन सक्छ।
बाइबलले आफ्नो पहिरनमा अचाक्ली ध्यान दिन प्रोत्साहित नगरे तापनि मसीहीहरूलाई “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्” भनी सल्लाह दिएको छ। (१ तिमोथी २:९) तपाईंको सुन्दरतालाई बढाउने खालका लुगाहरू लगाउनुहोस् तर ती उत्ताउलो वा अभद्र खालका नहोस्।a आफ्नो रूपरंगप्रति ठिक्क मात्रामा ध्यान दिने गर्नाले पनि तपाईंमा आत्मविश्वास बढ्न सक्छ। यसबारे पल नाउँ गरेका युवा यसो भन्छन्: “तपाईंको रूपरंग एकदमै राम्रो नहोला तर तपाईं आफ्नो रूपलाई नै राम्रो देखिने तरिकाहरू अपनाउन सक्नुहुन्छ।”
भित्री गुणहरू
राम्रो मुहार तथा जीउडालले मानिसहरूलाई आकर्षित गर्न सके तापनि पछि गएर त्यो “सुन्दरता उडिजाने हुन्छ।” (हितोपदेश ३१:३०) सुन्दरता क्षणिक हुन्छ र यसले आकर्षक व्यक्तिगत गुणहरूको ठाउँ लिन सक्दैन। (हितोपदेश ११:२२) यो कुरा पनि नबिर्सनुहोस् कि “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार” गर्नुहुन्छ। (१ शमूएल १६:७) त्यसैले तपाईं आफ्नै रूपरंगमा अचाक्ली ध्यान दिनुको सट्टा आफूलाई “नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस” बनाउने प्रयास गर्नुहोस् “जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ।” (१ पत्रुस ३:३, ४; एफिसी ४:२४) साँच्चै आजको संसारमा थुप्रै जवानहरू प्रशंसायोग्य व्यक्तित्वहरूलाई कम मूल्यका ठान्ने खालका छन् र आध्यात्मिक गुणहरूलाई त झनै महत्त्व नै दिंदैनन्।b तर ईश्वरीय मूल्य मान्यताहरू भएका मानिसहरू तिनीहरूको मूल्यांकन गर्छन् र तिनीहरूप्रति आकर्षित हुन्छन्!
उसोभए आध्यात्मिक झुकाउ भएका पुरुष तथा स्त्रीहरूसामु तपाईं प्रिय व्यक्ति बन्न चाहनुहुन्छ भने तपाईंसित पनि आध्यात्मिक झुकाउहरू हुनु अत्यावश्यक छ। प्रार्थना, बाइबलको व्यक्तिगत अध्ययन र मसीही सभाहरूमा उपस्थित भएर तपाईं आफ्नो आध्यात्मिकता खेती गर्नुहोस्। (भजन १:१-३) त्यसबाहेक तपाईंले विकास गर्न सक्नुहुने अन्य उपयोगी सीप तथा बानीहरू पनि छन्। यी बानीहरू विकास गर्न तपाईं कसैसित डेटिङमा जानु वा रोमान्टिक सम्बन्ध गाँस्नु आवश्यक छैन। बरु, तपाईंले ती कुराहरूको अभ्यास दिनहुँ अरूसित गर्ने व्यवहारमा गर्न सक्नुहुन्छ।
उदाहरणको लागि, के तपाईंलाई विपरीत लिंगका व्यक्तिहरूसित कुरा गर्दा अप्ठ्यारो र लाज लाग्छ? पल नाउँ गरेका युवा यसो भन्छन्: “केटीहरू वरपर हुँदा वा कुरा गर्दा मलाई कहिलेकाहीं अप्ठ्यारो लाग्छ किनभने म केटीहरूलाई केटाहरूलाई जस्तो बुझ्नै सक्दिनँ। म आफूलाई अप्ठ्यारो परिस्थितिमा पार्न चाहन्नँ।” तपाईंले अरूलाई अप्ठ्यारो नलागोस् भनेर कसरी आत्मविश्वास र निर्धक्कता विकास गर्न सक्नुहुन्छ? मसीही मण्डलीमा पाइने थरीथरी संगतिहरूको फाइदा उठाएर ती गुणहरू विकास गर्न सक्नुहुन्छ। सभामा अरू व्यक्तिहरू अर्थात् आफ्नै उमेरका विपरीत लिंगका सदस्यहरूसित मात्र नभई साना, ठूला तथा वृद्ध सबैप्रति चासो देखाउनुहोस्। (फिलिप्पी २:४) ती भिन्नाभिन्नै प्रकारका व्यक्तित्वहरूसित व्यवहार गर्न सिक्दा तपाईंले आत्मविश्वास बढाउन मदत पाउनुहुनेछ।
यद्यपि, होसियार रहनुहोस्। येशूले यसो भन्नुभयो: “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर्नू।” (मत्ती १९:१९) तपाईंको आफूप्रति सकारात्मक धारणा छ भने अरूको सामु बेढंगी हुने र अप्ठ्यारो महसुस गर्ने सम्भावना कम हुन्छ।c तथापि, केही मात्रामा आत्मसम्मान हुनु उचितै भए तापनि अचाक्ली नगर्नुहोस्। प्रेरित पावलले यसो भने, “तिमीहरूमध्ये हरेकलाई म भन्दछु जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ।”—रोमी १२:३.
तपाईंको आफ्नो आनीबानी तथा सामाजिक व्यवहारलाई पनि राम्ररी नियाल्नुहोस्। बेलाइतकी एक युवती लिडिया यस्तो टिप्पणी गर्छिन्: “मेरो स्कूलमा केटीहरूमाझ प्रख्यात एक जना केटो छ। तर तिनीहरूले उसलाई राम्ररी चिनेपछि उसलाई मनपराउनै छोडे किनभने ऊ असाध्यै अशिष्ट र जे पायो त्यही प्याच्च बोल्छ।” मानिसहरू त्यस्ता व्यक्तिहरूप्रति आकर्षित हुन्छन् जो दयालु भई चतुऱ्याइँसाथ बोल्छन् र अरूको ख्याल राख्ने गर्छन्। (एफिसी ४:२९, ३२; ५:३, ४) “हँसिला आचरणहरू प्रवेश पत्रजस्तै हुन् जसले अरू मानिसहरू भित्र पस्ने स्वतन्त्रता दिन्छ” भनेर डा. टी. बेरी ब्राजेलटन बताउँछन्। आचरणहरू “अरूको सामु प्रिय हुन अत्यावश्यक छन्।”
शिष्टाचारसम्बन्धी नीतिनियमहरू ठाउँअनुसार फरक फरक हुन्छन्। त्यसैले तपाईं परिपक्व मसीही पुरुष तथा स्त्रीहरू एकअर्कासित कसरी व्यवहार गर्छन् भन्ने कुरा नियाल्न सक्नुहुन्छ। उदाहरणका लागि, के तपाईंको देशमा पुरुषले स्त्रीको लागि ढोका खोलिदिने चलन छ? चलन छ भने यस्तो शिष्टाचार गर्न सिक्दा तपाईंले सन्तुलित र शिष्ट व्यक्ति भनेर नाउँ कमाउनुहुनेछ।
अन्तमा, सन्तुलित मात्रामा ठट्यौलो मिजास खेती गर्नुपनि मदतकारी हुन सक्छ। बाइबल भन्छ, “हाँस्ने एउटा समय” छ र त्यस्तो ठट्यौलो मिजास भएका मानिसहरूले तुरुन्तै साथी बनाउन सक्छन्।—उपदेशक ३:१, ४.
प्रेमलीला गर्ने नभई मित्रैलो हुने
एउटा “डेटिङ गर्न सफल हुने मार्गदर्शन” भनाउँदो पुस्तकले विपरीत लिंगका व्यक्तिहरूलाई आकर्षित गर्ने रहस्य भनेकै प्रेमलीला गर्नु हो भन्ने सल्लाह दियो। यसले पाठकहरूलाई मुसुक्क मुस्काउने, आँखा जुधाउने अनि ‘कुराको थालनी’ एकदम राम्रोसित गर्ने अभ्यास गर्न भनेको थियो। त्यस्तो सल्लाह पावलले तिमोथीलाई विपरीत लिंगका व्यक्तिहरूसित “पवित्रतासाथ” व्यवहार गर्नुपर्छ भनी दिएको सुझाउभन्दा ठीक उल्टो छ।—१ तिमोथी ५:२.
प्रेमलीला गर्दा आफ्नो अहम् भाव बढे तापनि यो अरूको भलो नचाहने र बदनियतपूर्ण हुन्छ। चाखलाग्दो कुराकानी गर्न तपाईंले प्रेमलीला गर्नु वा जिस्काउँदै शिष्ट भएको भान पार्नु आवश्यक छैन। नता विपरीत लिंगका व्यक्तिले कस्तो महसुस गर्छन् र सोच्छन् भन्ने कुरा जान्न तिनलाई विचल्लीमा पार्ने खालका वा अनुपयुक्त प्रश्नहरू सोध्नु नै आवश्यक छ। ‘चोखो, असल अनि मनपर्दा’ कुराहरू मात्र गर्नुहोस् र यसरी तपाईंले आफू आध्यात्मिक झुकाउ भएका पुरुष वा स्त्रीको रूपमा परिपक्वता हासिल गर्दै हुनुहुन्छ भनी देखाउनुहुनेछ। (फिलिप्पी ४:८) ईश्वरीय सिद्धान्तहरूप्रति तपाईंको आज्ञाकारीताले तपाईंलाई विपरीत लिंगका व्यक्तिहरूसामु मात्र नभई परमेश्वरसामु समेत आकर्षक बनाउनेछ।d—हितोपदेश १:७-९. (g02 7/22)
[फुटनोटहरू]
a अक्टोबर ८, १९८९ को अंग्रेजी अंकमा छापिएको “युवा जनहरू सोध्छन् . . . सुहाउँदो लुगा छान्ने रहस्य के हो?” हेर्नुहोस्।
b एउटा सर्वेक्षणअनुसार बुद्धिमान् युवाहरू प्रायजसो आफूमा भएको सीपको कारण नै गिल्लाको पात्र हुन्छन् भनेर अध्ययनहरूले देखाउँछ। केही युवाहरूले त्यसको प्रतिक्रियामा आफ्ना योग्यताहरूलाई लुकाउँछन्।
c यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकको अध्याय १२ मा आत्मविश्वास विकास गर्न थुप्रै व्यावहारिक सल्लाहहरू दिइएका छन्।
d तपाईंको विवाह गर्ने उमेर भएको छैन भने विपरीत लिंगका व्यक्तिहरूसित सामूहिक जमघटहरूमा मात्र समय बिताउनु बेस हुनेछ। फेब्रुअरी ८, २००१ अंकको ब्यूँझनुहोस्!-मा छापिएको “युवा जनहरू सोध्छन् . . . आमाबुबा भन्नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?” विषयको लेख हेर्नुहोस्।
[पृष्ठ २७-मा भएको चित्र]
आफ्नो रूपरंगलाई मात्र ध्यान दिनुको सट्टा आध्यात्मिक गुणहरू विकास गर्ने कोसिस गर्नुहोस्
[पृष्ठ २७-मा भएको चित्र]
विभिन्न मानिसहरूको समूहमा घुलमिल हुन सिक्नुहोस्