प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ pp. १६-१७
  • भौतिकवाद भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भौतिकवाद भनेको के हो?
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूसित धनसम्पत्ति र महिमा थियो
  • पैसाको प्रेम
  • आत्म-परीक्षण गर्नुपर्छ
  • साँचो समृद्धि ईश्‍वरीय नयाँ संसारमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के धनसम्पत्तिले सुखी बनाउनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ pp. १६-१७

बाइबलको दृष्टिकोण

भौतिकवाद भनेको के हो?

मानिसहरूमा जन्मजातै आध्यात्मिकताप्रति झुकाव र परमेश्‍वरको उपासना गर्ने चाहना हुन्छ। तैपनि, मानिसलाई सृष्टि गर्न भौतिक तत्त्वहरू प्रयोग गरिएको हुँदा मानिसका भौतिक आवश्‍यकताहरू हुनुका साथै ती भौतिक कुराहरूको आनन्द उठाउने क्षमता छ। कोही-कोही मसीहीहरूसित प्रशस्त मात्रामा भौतिक धनसम्पत्ति छ। के यसैको आधारमा तिनीहरू भौतिकवादी हुन्‌ र तिनीहरूमा आध्यात्मिकताको कमी छ भन्‍न सकिन्छ? यसको विपरीत, के गरिबहरू भौतिकवादी नहुने र आध्यात्मिक झुकाव राख्ने हुन्छन्‌ भन्‍न मिल्छ?

भौतिकवाद भनेको प्रशस्त मात्रामा धन वा सरसम्पत्ति हुनु मात्र होइन भन्‍ने कुरामा सायद तपाईं सहमत हुनुहुन्छ होला। भौतिकवाद भनेको के हो र यसले आध्यात्मिकतामा पार्ने खतराबाट बच्न के गर्न सकिन्छ भनी बुझ्न निम्न बाइबलका उदाहरणहरू विचार गर्नुहोस्‌।

तिनीहरूसित धनसम्पत्ति र महिमा थियो

परमेश्‍वरका बाइबलकालीन विश्‍वासी सेवकहरूमध्ये कोही-कोहीसित धनसम्पत्ति र मान थियो। उदाहरणका लागि, अब्राहामसित “पाल्तु-पशु, सुन र चाँदी भएकोले” अति धनाढ्य थिए। (उत्पत्ति १३:२) अय्यूब, “पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा महान्‌” भनेर चिनिन्थे किनभने तिनीसित थुप्रै गाईवस्तु र प्रशस्त नोकरचाकरहरू थिए। (अय्यूब १:३) दाऊद र सुलेमानजस्ता इस्राएलका राजाहरूसित पनि अत्यधिक धनसम्पत्ति थियो।—१ इतिहास २९:१-५; २ इतिहास १:११, १२; उपदेशक २:४-९.

प्रथम शताब्दीको मण्डलीमा पनि धनी मसीहीहरू थिए। (१ तिमोथी ६:१७) लिडियालाई “थाइआटीरा शहरको बैजनी लुगा बेच्ने . . . ईश्‍वर-भक्‍त स्त्री” भनिन्छ। (प्रेरित १६:१४) बैजनी रङ र यसले रङ्‌गाइएका कपडाहरू महँगा हुनुका साथै उच्च ओहदा वा धनाढ्यका लागि अलग्गै छुट्याइन्थ्यो। त्यसकारण लिडिया आफै पनि धनी हुनुपर्छ।

यसको विपरीत, यहोवाका बाइबलकालीन कोही-कोही विश्‍वासी उपासकहरू असाध्यै गरिब थिए। प्राकृतिक प्रकोप, दुर्घटना र मृत्युको कारण तिनीहरूको परिवार गरिबीमा धकेलिएको थियो। (उपदेशक ९:११, १२) खाँचोमा परेकाहरूलाई अरूले धनसम्पत्ति र भौतिक सुखसुविधाको आनन्द उठाइरहेको हेर्न कति गाह्रो भयो होला! तैपनि, तिनीहरूले ती धनी व्यक्‍तिहरूलाई भौतिकवादी भन्‍नु वा धनसम्पत्ति नभएकाहरूले परमेश्‍वरको अझ बढी सेवा गरिरहेका छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुने थियो। किन? भौतिकवादको मूल जरा के हो, विचार गर्नुहोस्‌।

पैसाको प्रेम

एउटा शब्दकोशले भौतिकवादलाई “बौद्धिक वा आध्यात्मिक कुराभन्दा भौतिक कुरामा चिन्तित वा बढी जोड दिनु” भनेर परिभाषित गरेको छ। तसर्थ, भौतिकवाद हाम्रो इच्छा, प्राथमिकता र जीवनको मूल उद्देश्‍यमा केन्द्रित हुन्छ। निम्न दुइटा बाइबल उदाहरणबाट यो कुरा प्रस्ट हुन्छ।

अगमवक्‍ता यर्मियाको सचिवको हैसियतमा सेवारत बारूकलाई यहोवाले कडा सल्लाह दिनुभयो। यरूशलेमको अवस्था र अलोकप्रिय यर्मियासितको घनिष्ठ सम्बन्धले गर्दा बारूक गरिब थिए होलान्‌। तैपनि यहोवाले यस्तो टिप्पणी गर्नुभयो: “के तँ चाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छन्‌? ती नखोज्‌।” बारूकले अरूको सरसम्पत्ति वा भौतिक सुरक्षाबारे बढ्‌तै सोचेर तिनको पनि भौतिकवादी कुराहरूतर्फ झुकाव बढ्‌न थालेको हुन सक्छ। यहोवाले बारूकलाई यरूशलेममाथि आउँदै गरेको विनाशबाट बचाउनुहुने तर तिनको धनसम्पत्तिलाई नजोगाउनुहुने कुरा सम्झाउनुभयो।—यर्मिया ४५:४, ५.

भौतिक कुराहरूमा मात्र औधी चिन्तित भएका मानिसबारे येशूले एउटा दृष्टान्त बताउनुभयो। यस मानिसले आफूसँग भएको कुराले परमेश्‍वरको सेवा विस्तार गर्न नभई धनसम्पत्ति अझ बढाउने कुरामा मात्र ध्यान दिए। धनी मानिसले यसो भने: “म आफ्ना भकारीहरू भत्काएर झन्‌ ठूला ठूला बनाउनेछु . . . औ म आफ्नो प्राणलाई भन्‍नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने धेरै सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। आरामीसित बस्‌, खा, पी, र आनन्द गर्‌।” त्यसपछि येशूले यसो भन्‍नुभयो: “तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, यही रात तँबाट तेरो प्राण फिर्ता चाहिएको छ, र जे कुराहरू तैंले तयार गरेको छस्‌ ती कसको होला?’ तर परमेश्‍वरतर्फ धनी नभईकन आफ्नो निम्ति मात्र धन जम्मा गर्ने यस्तै हुन्छ।”—लूका १२:१६-२१.

यी दुइटा विवरणले भन्‍न खोजेको बुँदा के हो? त्यसबाट के बुझ्न सक्छौं भने, आफूसँग कति छ त्यसले गर्दा होइन तर भौतिक सम्पत्तिलाई कत्तिको महत्त्वपूर्ण ठान्छ, त्यसबाट मानिस भौतिकवादी हो कि होइन भनी थाह हुन्छ। प्रेरित पावलले यसो भने: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।” (१ तिमोथी ६:९, १०) धनी हुने इच्छा र भौतिक कुराहरूप्रतिको प्रेमले समस्या सृजना गर्छ।

आत्म-परीक्षण गर्नुपर्छ

आफ्नो आर्थिक अवस्थाको बावजुद भौतिकवादको पासोमा नफस्न मसीहीहरू होसियार छन्‌। धनसम्पत्तिको शक्‍ति भ्रामक हुन्छ र यसले आध्यात्मिकतालाई निसासिने पार्न सक्छ। (मत्ती १३:२२) आफूले चालै नपाई आध्यात्मिक कुराहरूभन्दा भौतिक कुराहरूलाई महत्त्वपूर्ण ठान्‍न थाल्न सक्छौं र यसका दुःखद परिणामहरू हुन सक्छन्‌।—हितोपदेश २८:२०; उपदेशक ५:१०.

यसर्थ, मसीहीहरूले आफ्नो जीवनको प्राथमिकता र मूल लक्ष्यलाई केलाउनु बेस हो। आफूसित भौतिक सम्पत्ति धेरै होस्‌ वा थोरै, आध्यात्मिक झुकाव भएका मानिसहरू पावलको सल्लाह बमोजिम “अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै” आशा राख्ने प्रयास गर्छन्‌।—१ तिमोथी ६:१७-१९. (g03 4/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने