मधुमेह रोगीहरूलाई बाइबलले कसरी मदत गर्न सक्छ
आत्म संयम र सकारात्मक मनोवृत्ति खास गरी मधुमेह रोगीहरूको स्वास्थ्य तथा कल्याणको लागि अत्यावश्यक हुन्छ। तर त्यस्ता गुणहरू खेती गर्न बिरामीलाई निरन्तर सहयोग चाहिन्छ। त्यसकारण परिवारका सदस्य तथा साथीहरूले मधुमेह रोगीलाई अस्वास्थ्यकर भोजन खान यसरी लोभमा पार्नु उचित हुँदैन, ‘एक चोटि खाएर केही हुँदैन।’ मुटु रोगी तथा टाइप २ मधुमेह भएका ह्यारी यसो भन्छन्: “मेरी श्रीमतीले मलाई एकदमै साथ दिन्छिन्। मैले खान नहुने खाना घरमा ल्याउँदिनन्। तर अरू कसै-कसैले यो कुरा बुझ्दैनन् अनि खाना देखेपछि रोक्न कति गाह्रो हुन्छ भनेर उनीहरूलाई थाह छैन।”
मधुमेह रोगीसित सधैंजसो तपाईंको भेटघाट भइरहन्छ भने बाइबलमा दिइएको यी दुइटा सुन्दर सिद्धान्तलाई नबिर्सनुहोस्: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज,” र “प्रेमले . . . आफ्नै भलाइ खोज्दैन।”—१ कोरिन्थी १०:२४; १३:४, ५.
मधुमेह रोगी होस् या नहोस्, आफ्नो स्वास्थ्यबारे चिन्तित हुने सबै नै भोजनको मामिलामा संयम हुनुपर्छ। यस सन्दर्भमा बाइबलले मदत गर्छ किनभने हामी सबैले आत्म-संयम विकास गर्नुपर्ने खाँचोबारे यसले बताउँछ। के तपाईंले आफ्नो जीवनमा यो गुण खेती गर्ने संकल्प गर्नुभएको छ? (गलाती ५:२२, २३) बाइबलमा उल्लिखित मसीही प्रेरित पावलजस्ता व्यक्तिहरूको उदाहरणबाट हामी थप मदत पाउन सक्छौं। एक जना मधुमेह रोगी यसो भन्छिन्: “पावलले आफ्नो शरीरमा एक किसिमको छेस्को सधैं सहनुपर्थ्यो। तर तिनले विश्वासी भई अन्तसम्म परमेश्वरको सेवा गरे। त्यसैले म पनि गर्न सक्छु!”
हो, पावलले जुन कुरा परिवर्तन गर्न सक्दैनथे, त्यसलाई स्वीकारे अनि मिसनरीको हैसियतमा ठूलो सफलता हासिल गरे। (२ कोरिन्थी १२:७-९) अठाह्र वर्षीय जस्टिन जन्मैदेखि अन्धा छन् र १२ वर्षदेखि मधुमेहबाट पीडित छन्। तिनी यस्तो लेख्छन्: “यो संसारमा सबै कुरा आफूले चाहेजस्तै पाएको व्यक्ति कोही पनि छैन। म मधुमेहमुक्त जीवन बिताउन सक्ने परमेश्वरको नयाँ संसारको तिर्सना गर्छु। मेरो लागि यो क्षणिक कुरा मात्र हो। यो रुघाखोकीभन्दा लामो समयसम्म रहिरला तर एक न एक दिन अवश्य यसको अन्त हुनेछ।”
उक्त कुरा व्यक्त गर्दा डस्टिनले परमेश्वरको राज्यअन्तर्गत पार्थिव प्रमोदवनमा सिद्ध स्वास्थ्य पाउने बाइबल आधारित आशाबारे सोचिरहेका थिए। (प्रकाश २१:३, ४) त्यस्तो ईश्वरीय शासनमा हुने अवस्थाबारे परमेश्वरको वचनले यस्तो प्रतिज्ञा गर्छ, “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४; मत्ती ६:९, १०) के तपाईं यो बाइबल आधारित आशाबारे अझ बढी जान्न चाहनुहुन्छ? स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस् वा पृष्ठ ५ मा दिइएको ठेगानामा यस पत्रिकाको प्रकाशकहरूसित पत्राचार गर्नुहोस्। (g03 5/08)
[पृष्ठ १२-मा भएको चित्र]
आत्म-संयम र सकारात्मक मनोवृत्ति अत्यावश्यक छ