प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ५/८ pp. २६-२७
  • के खराब बानीहरूलाई जित्न सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के खराब बानीहरूलाई जित्न सकिन्छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • लालसा विरुद्ध कदम चाल्नु
  • परिवर्तन सम्भव छ
  • तपाईंको बानीले तपाईंलाई फाइदा गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • १ व्यावहारिक हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१६
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१६
  • तपाईं कसरी खराब इच्छाहरूको प्रतिरोध गर्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ५/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

के खराब बानीहरूलाई जित्न सकिन्छ?

ले खक मार्क ट्‌वेनले एक पटक व्यङ्‌ग्य गर्दै यसो भने: “संसारमा चुरोट छोड्‌नु जत्तिको सजिलो कुरा अरू केही छैन। मलाई यो राम्ररी थाह छ किनभने मैले धेरै पटक चुरोट छोडेको छु।” निस्सन्देह, आफ्नो अपूरो धोकोबारे ट्‌वेनले गरेको यस टिप्पणीले धेरैको मनको भाव प्रकट गर्छ। कुनै खास आनीबानी नैतिक रूपमा गलत हुनुका साथै हानिकारक छ भनेर तिनीहरूले राम्ररी बुझेको हुन सक्ने भए तापनि त्यस्ता बानीहरूको प्रतिरोध गर्नु अनि त्यसलाई जित्नु बेग्लै कुरा हो भनेर पनि तिनीहरूले बुझेका हुन्छन्‌। वर्षौंको दौडान बानीहरूले गहिरो जरा गाडेर बसेका हुन्छन्‌ अनि यसलाई परिवर्तन गर्न निकै प्रयत्न गर्नुपर्ने हुन सक्छ। यस्ता लालसाहरूलाई वशमा राख्नु साह्रै कठिन अनि पीडादायी समेत हुन सक्छ।

जेलमा कार्यरत एक जना चिकित्सक एन्थोनी डेनिएल्सको भनाइअनुसार दोषीहरू अक्सर आफ्ना अम्मल अनि पतित लालसाहरूबाट उम्कने आशै नहुने गरी चुर्लुम्म डुबेको दाबी गर्छन्‌। मानिस एक पटक कुनै कुराको अम्मलमा परिसकेपछि “ऊ यस्तो भयावह विवशतामा फस्छ जसको प्रतिरोध गर्न ऊ शक्‍तिहीन भइसकेको हुन्छ” भनी तिनीहरू तर्क गर्छन्‌। यदि यस्ता तर्कहरू सही हुँदा हुन्‌ त विवशताहरूको वशमा पर्दा हामीले आफूलाई जवाफदेही ठहराउनुपर्ने थिएन होला। त्यसोभए, के हामी आफ्ना अभिलाषा तथा लालसाहरूको लाचार सिकार हौं भन्‍ने कुरा सही हो त? अथवा के खराब बानीहरूलाई साँच्चै जित्न सकिन्छ? आधिकारिक जवाफको लागि बाइबलले के भन्छ, आउनुहोस्‌ जाँचौं।

लालसा विरुद्ध कदम चाल्नु

हाम्रा कामहरूको लागि परमेश्‍वरले हामीलाई जवाफदेही ठहराउनुहुन्छ भनी बाइबलले स्पष्ट पार्छ। (रोमी १४:१२) साथै हामीले उहाँका धार्मिक स्तरहरू अनुरूप जीवन बिताएको उहाँ चाहनुहुन्छ। (१ पत्रुस १:१५) सृष्टिकर्ता हुनुभएकोले हाम्रो लागि सर्वोत्तम कुरा के हो, सो उहाँ जान्‍नुहुन्छ अनि यस संसारलाई सामान्य लाग्ने धेरै बानीहरूलाई उहाँका सिद्धान्तहरूले भर्त्सना गर्छ। (१ कोरिन्थी ६:९, १०; गलाती ५:१९-२१) यद्यपि, असिद्ध मानिसहरूबाट अपेक्षा गर्ने कुराहरूमा उहाँ व्यावहारिक अनि दयालु पनि हुनुहुन्छ।—भजन ७८:३८; भजन १०३:१३, १४.

त्यसैले, भजन रचयिताले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र?” (भजन १३०:३) हो, “मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ” भनेर यहोवालाई राम्ररी थाह छ। (उत्पत्ति ८:२१) हाम्रो वंशाणुगत सम्पदा, जन्मजात कमजोरी अनि विगतका अनुभवहरूले गर्दा हामी सबै प्रकारका पतित विचार तथा लालसाहरूलाई हटाउन सक्दैनौं। त्यसैले, मायालु हुँदै यहोवा हामीबाट सिद्धताको माग गर्नुहुन्‍न।—व्यवस्था १०:१२; १ यूहन्‍ना ५:३.

यद्यपि, परमेश्‍वरले हामीमाथि देखाउनुभएको यस्तो उदारताले खराब लालसाहरूलाई वशमा राख्ने जिम्मेवारीबाट हामीलाई मुक्‍त गर्दैन। खराब लालसाहरू विरुद्ध आफैंले सङ्‌घर्ष गरेको कुरा मानिलिए तापनि प्रेरित पावलले लत्तो छाडेनन्‌। (रोमी ७:२१-२४) उनले यसो भने, “तर म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु।” कुन हदसम्म? “नत्रता . . .म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरिन्थी ९:२७) हाम्रा गलत झुकाव तथा बानीहरू विरुद्ध सङ्‌घर्ष गर्न अनि अन्ततः त्यसलाई जित्न आत्मसंयम नभई हुँदैन।

परिवर्तन सम्भव छ

मानिसहरूको स्वभावहरूबारे अध्ययन गर्ने वैज्ञानिकहरू खराब बानी जस्तै असल बानीहरू पनि सिकिने अनि वर्षौंको दौडान विकास गरिने कुरा हो भनी मानिलिन्छन्‌। यदि यो कुरा सत्य हो भने, पक्कै पनि खराब बानीलाई हटाउन सकिन्छ। तर कसरी? तनावलाई ठीक अवस्थामा राख्नेबारे लेखिएको एक पुस्तकका लेखक यसो भन्छन्‌, “पुराना आनीबानी त्याग्दा हुने लाभहरूमाथि विचार गर्नुहोस्‌।” त्यसपछि, “व्यवहारमा परिवर्तन ल्याउँदा जीवनमा उन्‍नति ल्याउन सकिने कुराहरूको एउटा सूची बनाउनुहोस्‌।” हो, नकारात्मक आनीबानीहरूमा परिवर्तन ल्याउँदा प्राप्त हुने लाभहरूमा ध्यान केन्द्रित गर्दा हामी परिवर्तन गर्न उत्प्रेरित हुन्छौं।

‘आफ्नो मनको आत्मामा नयाँ हुने’ प्रेरित पावलको सल्लाहलाई विचार गर्नुहोस्‌। (एफिसी ४:२२, २३) यहाँ बताइएको आत्मा हाम्रो प्रबल मानसिक झुकाव हो। यहोवासित नजिक भएर अनि उहाँका स्तरहरूप्रति मूल्याङ्‌कन खेती गरेर तपाईं त्यो आत्मालाई परिवर्तन गर्न सक्नुहुन्छ। आफूले यहोवालाई प्रसन्‍न तुल्याइरहेछु भनी थाह पाउँदा त्यसले तपाईंलाई आवश्‍यक परिवर्तन गर्न प्रोत्साहित गर्नेछ।—भजन ६९:३०-३३; हितोपदेश २७:११; कलस्सी १:९, १०.

निस्सन्देह, वर्षौंसम्म आफ्नो जीवनमाथि आधिपत्य जमाएर बसेका खराब बानीहरूबाट मुक्‍त हुन सजिलो हुनेछैन। अर्कोतिर, आफूले सामना गर्नुपर्ने सङ्‌घर्षलाई हल्कासित पनि लिनु हुँदैन। अवश्‍य, पुरानो आनीबानी बल्झन सक्छ अनि हामी चुक्न पनि सक्छौं। तर ढुक्क हुनुहोस्‌, प्रायः समयले परिस्थितिलाई सजिलो बनाउँदै लान्छ। तपाईंले जति मेहनत गर्नुभयो, नयाँ आनीबानी त्यत्ति नै तपाईंको जीवनको अभिन्‍न हिस्सा बन्‍नेछ।

परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍ति उहाँको मदत तथा आशिष्‌हरू पाइने कुरामा पनि ढुक्क हुन सक्छन्‌। पावल यस्तो प्रतिज्ञा गर्छन्‌, “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर . . . उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) अब छिट्टै यहोवाले यस दुष्ट रीतिरिवाज अनि यसका पतित प्रलोभन, लालसा र तृष्णाहरूको नामोनिशान मेटाइदिनुहुनेछ। (२ पत्रुस ३:९-१३; १ यूहन्‍ना २:१६, १७) यस घटनाबाट बच्ने सबै असिद्ध मानिसहरूले अन्ततः शारीरिक, मानसिक तथा भावनात्मक कष्टहरूबाट पूर्णतया अनि सधैंका लागि मुक्‍ति पाउन सक्छन्‌। परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ, “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशैया ६५:१७) निस्सन्देह, यी “अघिअघिका कुराहरू[मा]” हामीलाई समस्यामा पार्ने अभिलाषा तथा लालसाहरू हुनेछैनन्‌। के यो हाम्रो लागि आज खराब बानीहरू विरुद्ध लड्‌न अनि त्यसको प्रतिरोध गर्न यथाशक्य गर्ने सर्वोकृष्ट कारण होइन र? (g04 4/8)

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

खराब बानीहरू त्याग्ने

१. खराब बानीहरू चिन्‍नुहोस्‌ र स्वीकार्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌, ‘के यो बानीले साँच्चै मलाई लाभ पुऱ्‍याउँछ? के यो बानीले अरूलाई रिस उठाउँछ? के यसले मेरो शरीर, आर्थिक अवस्था, सुस्वास्थ्य, परिवार अनि मनोशान्तिलाई असर गर्छ? यो बानीलाई त्यागेमा मेरो जीवनमा के कस्ता प्रगतिहरू हुनेछन्‌?

२. खराब बानीहरूलाई असल बानीहरूले विस्थापित गर्नुहोस्‌। उदाहरणको लागि, के तपाईं अस्वस्थ्यकर कुराहरू हेरेर इन्टरनेटमा धेरै समय बिताउनु हुन्छ? त्यसो भए उक्‍त समयलाई कुनै लाभदायक पढाइ, अध्ययन अथवा व्यायाम गर्न छुट्याउनुहोस्‌।

३. आफ्नो प्रगतिलाई नियाल्नुहोस्‌। हरेक दिन केही समय आफूले गरेका प्रगतिहरूबारे विचार गर्नुहोस्‌। यदि चुक्नुभएको छ भने के कस्ता परिस्थितिहरूले गर्दा चुक्नुभयो, सो खुट्याउनुहोस्‌।

४. अरूको मदत लिनुहोस्‌। आफू कुनै बानी छोड्‌न प्रयासरत रहेको कुरा आफ्ना साथी र परिवारहरूलाई बताउनुहोस्‌ अनि आफू चुक्ने बिन्दुमा पुग्न लाग्दा झकझकाउन आग्रह गर्नुहोस्‌। यस्ता बानीहरूलाई जित्न सफल भएका व्यक्‍तिहरूसित कुराकानी गर्नुहोस्‌।—हितोपदेश ११:१४.

५. सन्तुलित तथा व्यावहारिक हुनुहोस्‌। रातारात सफलता हात लाग्ने आशा नगर्नुहोस्‌। धेरै वर्ष लागेर विकास भएका कुनै-कुनै बानीहरू परिवर्तन गर्न गाह्रो हुन सक्छ।

६. परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। परमेश्‍वरको मदत पाएर तपाईंले जस्तासुकै खराब बानीहरू पनि हटाउन सक्नुहुन्छ।—भजन ५५:२२; लूका १८:२७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने