वर्तमान समयका एक असल सामरी
मेक्सिकोका ब्यूँझनुहोस्! लेखकद्वारा
हामीमध्ये धेरैले अक्सर असल सामरी नाउँले चिनिने एक उपकारी व्यक्तिबारे बाइबलमा बताइएको कथा त सुनेकै हौंला। (लूका १०:२९-३७) यस नीतिकथामा आवश्यक परेको बेला एक सामरी पुरुष आफ्नो छिमेकीलाई प्रेम देखाउन कति असाधारण हदसम्म गए भनी येशूले देखाउनुभयो। के आज पनि यस्तो असल सामरी कतै छ? मेक्सिकोबाट प्राप्त निम्न विवरणलाई ध्यान दिनुहोस्:
यात्राबाट फर्कने क्रममा बतुएल र उनको परिवार घर पुग्नै लाग्दा राजमार्गमा उनीहरूले एउटा डरलाग्दो मोटर दुर्घटना देखे। मदत गर्न उनीहरू रोकिए। दुर्घटनामा परेका चालकहरूमा एक जना डाक्टर थिए र तिनले आफ्नी गर्भवती पत्नी र दुई छोरीहरूलाई नजिकैको अस्पतालमा उपचारको लागि लगिदिन उनीहरूलाई बिन्ती गरे। उनीहरूले त्यसै गरे, त्यसपछि अझै मदत गर्न सकिन्छ कि भनेर बतुएल फेरि दुर्घटनास्थलमा फर्किए।
बतुएल यसो भन्छन्, “राजमार्ग गस्ती आइपुग्यो र डाक्टरलाई अनुसन्धानको लागि हिरासतमा लिइयो किनकि दुर्घटनामा कसैले ज्यान गुमाएका थिए। यसरी मदत गर्नुको कारण डाक्टरले मलाई सोध्दा हामी यहोवाका साक्षीहरू हौं र आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर हामीले बाइबलबाट सिकेका छौं भनी मैले तिनलाई बताएँ। मैले तिनलाई तिनकी पत्नी र छोरीहरूको चिन्ता नलिनु भनें किनकि तिनीहरूको हेरचाह हामी गर्ने थियौं। कृतज्ञ भएर गहभरि आँसु पार्दै तिनले आफ्ना बहुमूल्य वस्तुहरू सुरक्षाको लागि हामीलाई सुम्पे।”
बतुएल र उनको परिवारले ती मानिसको परिवारलाई सँगै घर लिएर गए अनि तिनीहरूको हेरविचार गरे। बतुएलले तिनीहरूसित बाइबल अध्ययन सुरु गर्ने मौका पाए। डाक्टर जेलबाट रिहा भएपछि तिनले यहोवाका साक्षीहरूको प्रंशसा गरे अनि कृतज्ञता व्यक्त गरे। घर पुगेपछि तिनले बाइबल अध्ययन थाल्ने वाचा गरे र आफ्नी पत्नीले छोरो जन्माइन् भने तिनको नाउँ बतुएल राख्ने बताए। बतुएल अझै यसो भन्छन्: “दुई वर्षपछि तिनीहरूलाई फेरि भेट्ने मौका जुऱ्यो। म त छक्कै परें, तिनीहरूले बाइबल अध्ययन गर्दै थिए अनि तिनीहरूको सानो छोराको नाउँ चाहिं बतुएल थियो।” (g04 8/8)
[पृष्ठ २५-मा भएको चित्र]
बतुएल