प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १०/८ pp. ८-११
  • पूर्वाग्रहको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्वाग्रहको अन्त
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पूर्वाग्रहमाथि विजयी हुने प्रेरणा
  • आज पूर्वाग्रहमाथि विजयी हुने
  • पूर्वाग्रह विरुद्ध लड्‌ने साधन
  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • पूर्वाग्रहका मूल कारणहरू
    ब्यूँझनुहोस्‌!—२००४
  • पूर्वाग्रहको के तपाईं शिकार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १०/८ pp. ८-११

पूर्वाग्रहको अन्त

आफूसित पूर्वाग्रही झुकाव छ कि छैन भनेर के हामी चिन्‍न सक्छौं? उदाहरणका लागि, के हामी मानिसको छालाको रङ, राष्ट्रियता, जातीय समूह वा मूलको आधारमा आफ्नै निष्कर्ष निकाल्छौं जबकी हामीले त्यस मानिसलाई चिनेकै छैनौं? अथवा के हामी प्रत्येक व्यक्‍तिको अनुपम गुणहरूको आधारमा तिनको मूल्याङ्‌कन गर्न सक्छौं?

येशूको समयमा यहूदिया र गालीलमा बस्ने मानिसहरूले सामान्यतया “सामरीहरूसँग . . . केही सम्बन्ध” राख्दैन थिए। (यूहन्‍ना ४:९) ताल्मुदमा लिपिबद्ध एउटा भनाइले पक्कै पनि थुप्रै यहूदीहरूको भावना व्यक्‍त गऱ्‍यो: “मेरो आँखा एउटा सामरीमा कहिल्यै नपरोस्‌।”

येशूका प्रेरितहरूले समेत सामरीहरूप्रति केही हदसम्म पूर्वाग्रह राखेका हुन सक्छन्‌। एक चोटि तिनीहरूलाई सामरीहरूको गाउँमा न्यानो स्वागत गरिएन। याकूब र यूहन्‍नाले तिनीहरूको कुरा नसुन्‍ने मानिसहरूलाई स्वर्गबाट आगो वर्षाएर भस्म पारौं कि भनेर येशूलाई सोधेका थिए। येशूको हप्काउनुभएको कुराबाट थाह हुन्छ कि तिनीहरूको मनोवृत्ति उचित थिएन।—लूका ९:५२-५६.

पछि, येशूले एक जना बटुवाको दृष्टान्त बताउनुभयो जसलाई यरूशलेमबाट यरीहोतिर जाँदा डाँकुहरूले लुटेका थिए। त्यो बाटो भएर जाने दुई जना धर्मपरायण बटुवाहरू त्यस मानिसलाई सहयोग गर्न इच्छुक थिएनन्‌। तथापि, एक जना सामरीले भने त्यहाँ रोकिएर त्यस मानिसको घाउमा मलमपट्टी लगाइदियो। त्यसपछि त्यो मानिसको चोटपटक निको नहोउन्जेल हेरचाह गर्ने प्रबन्ध मिलायो। त्यो सामरी साँचो छिमेकी साबित भयो। (लूका १०:२९-३७) तिनीहरूको पूर्वाग्रहले गर्दा अरू मानिसहरूका राम्रा गुणहरू हेर्न नसकेको कुरा बुझ्न येशूको दृष्टान्तले श्रोताहरूलाई मदत गरेको हुनुपर्छ। केही वर्षपछि यूहन्‍ना सामरिया फर्के अनि त्यहाँका थुप्रै गाउँहरूमा प्रचार गरे र सायद पहिले भस्म पार्न चाहेको गाउँमा पनि प्रचार गरे।—प्रेरित ८:१४-१७, २५.

एउटा स्वर्गदूतले प्रेरित पत्रुसलाई रोमी कप्तान कर्नीलियससित कुरा गर्न जाने निर्देशन दिंदा तिनले पनि निष्पक्ष व्यवहार गर्नुपरेको थियो। गैरयहूदीहरूसित सरसंगत गर्ने पत्रुसको बानी थिएन र प्रायजसो यहूदीहरूको मनमा रोमी सिपाहीहरूप्रति कुनै दया माया थिएन। (प्रेरित १०:२८) तर पत्रुसले अन्यजातिहरूको विषयमा परमेश्‍वरको निर्देशन बुझेपछि यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

पूर्वाग्रहमाथि विजयी हुने प्रेरणा

पूर्वाग्रह राख्दा येशूले सिकाउनुभएको एउटा आधारभूत सिद्धान्तलाई यसले उल्लङ्‌घन गर्छ: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) आफ्नो जन्मथलो, छालाको रङ वा पृष्ठभूमिको आधारमा घृणा गरिएको कसलाई पो मन पर्छ र? पूर्वाग्रहले निष्पक्षतासम्बन्धी परमेश्‍वरको स्तरलाई पनि उल्लङ्‌घन गर्छ। यहोवाले “पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो” भनी बाइबलले सिकाउँछ। (प्रेरित १७:२६) त्यसैले सबै मानिसहरू भाइ-भाइ हुन्‌।

यसबाहेक, परमेश्‍वरले हरेकलाई व्यक्‍तिगत तवरमा न्याय गर्नुहुन्छ। कुनै व्यक्‍तिको आमाबाबु वा पूर्वजले गरेका कामहरूको लागि उहाँले त्यस व्यक्‍तिलाई दोषी ठहराउनुहुन्‍न। (इजकिएल १८:२०; रोमी २:६) कुनै राष्ट्रले अत्याचार गर्दैमा त्यस राष्ट्रका व्यक्‍तिहरूप्रति घृणा गर्न मिल्दैन जसको सायद अन्यायको लागि कुनै व्यक्‍तिगत जिम्मेवारी छैन। येशूले आफ्ना अनुयायीहरूलाई ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, खेदो गर्नेहरूका निम्ति प्रार्थना गर’ भनेर सिकाउनुभयो।—मत्ती ५:४४, ४५,

यस्ता शिक्षाहरूले गर्दा प्रथम शताब्दीका मसीहीहरूले पूर्वाग्रह हटाउन सके अनि अद्वितीय अन्तरराष्ट्रिय भ्रातृत्व बन्‍न सके। तिनीहरू विभिन्‍न सांस्कृतिक पृष्ठभूमिको भए तापनि एक-अर्कालाई भाइ र बहिनी भनेर सम्बोधन गर्थे र आफूलाई पनि त्यस्तै सम्झन्थे। (कलस्सी ३:९-११; याकूब २:५; ४:११) यस्ता परिवर्तनहरू गराउन सक्ने सिद्धान्तहरूले आज पनि त्यस्तै लाभहरू ल्याउन सक्छ।

आज पूर्वाग्रहमाथि विजयी हुने

हामी प्रायः सबैसित अपूरो जानकारीमा आधारित आ-आफ्नै धारणाहरू छन्‌ तर यसो हुँदैमा पूर्वाग्रह राख्नुपर्ने कारण छैन। “नयाँ ज्ञान प्राप्त गरिसकेपछि पनि पूर्वसोचलाई यथावत्‌ नै राख्यो भने त्यसले पूर्वाग्रहको रूप लिन्छ” भनी द नेचर अफ प्रेजुडिस भन्‍ने पुस्तक बताउँछ। अक्सर, मानिसहरूले एकअर्कालाई राम्ररी चिनेपछि पूर्वाग्रह हटाउन सकिन्छ। तथापि, त्यही पुस्तक यसो भन्छ, “मानिसहरूलाई सँगै काम गर्न लगाउने सम्बन्धले गर्दा मात्र पनि मनोवृत्तिमा परिवर्तन आउन सक्छ।”

इबो जातिका नाइजेरियाली पुरुष जोनले हौसा मानिसहरूप्रति आफ्नो पूर्वाग्रह त्यसरी नै हटाउन सके। तिनी भन्छन्‌, “विश्‍वविद्यालयमा छँदा केही हौसा विद्यार्थीहरूलाई मैले साथी बनाएँ अनि तिनीहरू राम्रा सिद्धान्तहरूअनुसार चल्ने मानिसहरू रहेछन्‌ भनेर थाह पाएँ। एउटा संयुक्‍त कार्यमा मैले एक जना हौसा विद्यार्थीसँगै मिलेर काम गरें अनि हामीबीच एकदमै राम्रो सम्बन्ध थियो जबकी मेरो पुरानो साथी, जो इबो जातिको थियो उसले भने आफ्नो भागको काम राम्ररी पूरा गर्दैनथ्यो।”

पूर्वाग्रह विरुद्ध लड्‌ने साधन

युनेस्को अगेन्स्ट रेसिजम्‌ भन्‍ने रिपोर्टअनुसार “जातिवाद, भेदभाव र बहिष्कारको नयाँ रूप विरुद्ध लड्‌ने सङ्‌घर्षमा शिक्षा एउटा अनमोल साधन साबित हुन सक्छ।” यस सन्दर्भमा बाइबल शिक्षा सर्वोत्तम हो भन्‍ने कुरामा यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। (यशैया ४८:१७, १८) मानिसहरूले यसका सिद्धान्तहरू व्यवहारमा उतार्दा शङ्‌काको ठाउँ आदरले लिन्छ अनि घृणाको ज्वालालाई प्रेमले निभाउँछ।

पूर्वाग्रह हटाउन बाइबलले मदत गरेको यहोवाका साक्षीहरूले अनुभव गरेका छन्‌। निस्सन्देह, बाइबलले तिनीहरूलाई बेग्लै संस्कृति तथा जनजातीय मूलका मानिसहरूसित विभिन्‍न गतिविधिहरूमा भाग लिने उत्प्रेरणा तथा मौका दिन्छ। यस शृङ्‌खलाको पहिलो लेखमा उल्लिखित क्रिस्टिना एक जना यहोवाको साक्षी हुन्‌। उनी भन्छिन्‌, “राज्यभवनमा हुने हाम्रा सभाहरूले मेरो आत्मविश्‍वास बढाउँछ। म त्यहाँ सुरक्षित महसुस गर्छु किनभने त्यहाँ कसैले मप्रति पूर्वाग्रह राखेको जस्तो लाग्दैन।”

जास्मिन पनि एक जना साक्षी हुन्‌ र उनी नौ वर्षको उमेरमा पहिलो चोटि जातिवादको सिकार भएको सम्झन्छिन्‌। उनी भन्छिन्‌: “हप्ताभरिमा बिहीबारको दिन मलाई सबैभन्दा सजिलो लाग्छ किनभने त्यस साँझ म राज्यभवनमा हुन्छु। त्यहाँ मानिसहरूले मलाई माया गर्छन्‌। तिनीहरूले मलाई घृणा होइन तर विशेष मूल्याङ्‌कन गरेको महसुस गर्छु।”

यहोवाका साक्षीहरूले आयोजना गरेका स्वयम्‌सेवक परियोजनाहरूले पनि विभिन्‍न पृष्ठभूमिका मानिसहरूलाई एकै ठाउँमा भेला गर्छ। साइमनको परिवार क्यारेबियनबाट आएको भए तापनि तिनको जन्म भने बेलाइतमा भयो। सांसारिक निर्माण कम्पनीहरूमा डकर्मीको काम गर्दा तिनले पूर्वाग्रही व्यवहार निकै सामना गरेका छन्‌। तर एउटै विश्‍वास राख्ने भाइहरूसित स्वयम्‌सेवा परियोजनाहरूमा काम गर्दा भने यस्तो अवस्था सामना गर्नु परेन। साइमन बताउँछन्‌, “मैले विभिन्‍न मुलुकका सँगी साक्षीहरूसित काम गरिसकें र हामीले एकअर्कासित मिलेर काम गर्न सिक्यौं। मेरो एकदमै नजिकका साथीहरू अर्कै देश अनि बेग्लै पृष्ठभूमिका थिए।”

निस्सन्देह, यहोवाका साक्षीहरू असिद्ध मानिसहरू हुन्‌। त्यसैले पूर्वाग्रहको झुकाव विरुद्ध तिनीहरूले सङ्‌घर्ष गरिरहनुपर्ने हुन सक्छ। तर परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न भनेर थाह पाउँदा तिनीहरूले त्यसो गरिरहने उत्प्रेरणा पाउँछन्‌।—एफिसी ५:१, २.

पूर्वाग्रह विरुद्ध लड्‌दा थुप्रै इनाम पाइन्छ। अरू पृष्ठभूमिका मानिसहरूसित घुलमिल गर्दा हाम्रो जीवन अझ अर्थपूर्ण हुन्छ। यसबाहेक, परमेश्‍वरले आफ्नो राज्यमार्फत धार्मिकताले बास गर्ने मानव समाज चाँडै स्थापना गर्नुहुनेछ। (२ पत्रुस ३:१३) त्यतिबेला पूर्वाग्रहमाथि सदाको लागि विजय प्राप्त हुनेछ। (g04 9/8)

[पृष्ठ ११-मा भएको पेटी]

के म पूर्वाग्रह राख्छु?

आफूले चालै नपाई कुनै किसिमको पूर्वाग्रह राखिरहेको छु कि भनेर केलाउन आफैलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

१. के मलाई कुनै जनजातीय समूह, क्षेत्र वा राष्ट्रका मानिसहरूसित मूर्ख्याइँ, अल्छीपना वा लोभजस्ता गुणहरू हुन्छन्‌ जस्तो लाग्छ? (यस्तो प्रकारको पूर्वाग्रहले गर्दा थुप्रै ख्यालठट्टा गरिन्छ।)

२. के म आफ्नो आर्थिक वा सामाजिक समस्याको लागि आप्रवासी वा बेग्लै जातीय समूहमाथि दोष थोपर्ने गर्छु?

३. के अर्को राष्ट्रप्रति आफ्नो देशको ऐतिहासिक दुस्मनीले गर्दा त्यस राष्ट्रका मानिसहरूप्रति म दुस्मनी महसुस गर्छु?

४. के म अर्को व्यक्‍तिको छालाको रङ, संस्कृति वा जातीय पृष्ठभूमि जस्तोसुकै भए तापनि तिनलाई एक जना व्यक्‍तिविशेषको रूपमा हेर्न सक्छु?

५. के म आफ्नोभन्दा बेग्लै पृष्ठभूमिको मानिसलाई चिन्‍ने मौकाको स्वागत गर्छु? के म त्यसो गर्ने प्रयास गर्छु?

[पृष्ठ ८-मा भएको चित्र]

असल सामरीको दृष्टान्तमा येशूले पूर्वाग्रह कसरी हटाउने भनेर हामीलाई सिकाउनुभयो

[पृष्ठ ८-मा भएको चित्र]

कर्नीलियसको घरमा पत्रुसले यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न”

[पृष्ठ ९-मा भएको चित्र]

बाइबलका शिक्षाहरूले विभिन्‍न पृष्ठभूमिका मानिसहरूलाई एकतामा बाँध्छ

[पृष्ठ ९-मा भएको चित्र]

यहोवाका साक्षीहरू आफूले सिकेको कुरा व्यवहारमा उतार्छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

क्रिस्टिना—“राज्यभवनमा हुने सभाहरूले मेरो आत्मविश्‍वास बढाउँछ”

[पृष्ठ १०-मा भएको चित्र]

जास्मिन—“मानिसहरूले मलाई माया गर्छन्‌। तिनीहरूले मलाई घृणा होइन तर मेरो विशेष मूल्याङ्‌कन गरेको महसुस गर्छु”

[पृष्ठ १०-मा भएको चित्र]

साइमन, निर्माण स्वयम्‌सेवक—“हामीले एकअर्कासित मिलेर काम गर्न सिक्यौं”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने