बाइबलको दृष्टिकोण
के सम्बन्ध विच्छेद नै समाधान हो त?
बेलाइतमा एक जना पादरी एउटा समारोहमा उपस्थित सबैलाई स्वागत गर्छन्। तिनको सामु एक दम्पती खडा छन् र तिनीहरूको साथमा आफ्ना घनिष्ठ साथी तथा बच्चाहरू पनि छन्। के तिनीहरू सबै एउटा अर्को सुखी विवाहको लागि त्यहाँ उपस्थित भएका हुन्? होइनन्! उक्त समारोह तिनीहरूको विवाहको अन्त्य गर्न आयोजना गरिएको हो। हो, सम्बन्ध विच्छेद यति सामान्य भइसक्यो कि कुनै-कुनै चर्चहरूले सम्बन्ध विच्छेदको समारोहलाई नै मान्यता दिइसकेका छन्!
के तपाईं सम्बन्ध विच्छेद गर्नेबारे सोच्दै हुनुहुन्छ? यदि सोच्दै हुनुहुन्छ भने के आफ्नो विवाहको अन्त्यले तपाईंको जीवनलाई साँच्चै आनन्दित बनाउनेछ? आफ्नो जोडीसित आनन्दित हुन के तपाईंले चाल्न सक्ने केही व्यावहारिक कदमहरू छन्?
“तिनीहरू एउटै जीउ हुन्छन्”
प्रथम मानव जोडीहरूको विवाह हुँदा परमेश्वरले भन्नुभयो, “[मानिस] आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२४) तसर्थ, विवाह एउटा स्थायी बन्धन हुनु पर्थ्यो। त्यसैले त पछि येशूले नयाँ विवाह गर्ने सम्भाव्यतासहित सम्बन्ध विच्छेद गर्ने एउटै धर्मशास्त्रीय आधार “व्यभिचार” हो भन्नुभयो।—मत्ती १९:३-९.a
यसले विवाहमा वचनबद्धताको आवश्यकतालाई जोड दिन्छ। तर तपाईंको विवाहमा समस्याहरू धेरै गम्भीर छन् भने चाहिं के गर्ने नि?
के सम्बन्ध विच्छेद बुद्धिमानी उपाय हो?
येशूले यसो भन्दै एउटा सिद्धान्त दिनुभयो जसद्वारा हामी आफूले चाल्ने कदमको लेखाजोखा गर्न सक्छौं: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” (मत्ती ११:१९) कुनै ठोस आधारै विना ह्वात्तै बढिरहेको सम्बन्ध विच्छेदको परिणाम के भएको छ?
वैवाहिक जीवन सुखी नभएकाहरूको अध्ययन गरेका विज्ञहरूको नेतृत्व गरेकी युनिभर्सिटी अफ शिकागोका समाजशास्त्रकी प्राध्यापक लिन्डा यसो भन्छिन्, “सम्बन्ध विच्छेदको फाइदालाई बढाइचढाइ गरिएको छ।” त्यसरी नै ११ वर्षसम्म हजारौं मानिसहरूका प्रतिक्रियाहरूलाई विश्लेषण गरेपछि अक्सफोर्डका प्राध्यापक माइकल आर्गिलले पत्ता लगाएको कुरा यस्तो थियो, “समाजका सबैभन्दा दुःखी व्यक्तिहरू सम्बन्ध विच्छेद गर्नेहरू अनि अलग्गै छुट्टिएर बस्नेहरू नै हुन्।” यो कसरी हुन सक्छ?
सम्बन्ध विच्छेदले केही समस्याहरू हटाउन सक्ने भए तापनि यसले एकपछि अर्का पीडादायी अवस्थाहरू निम्त्याउन सक्छ जुन हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छ। वास्तवमा, सम्बन्ध विच्छेदले अक्सर डिप्रेशन अर्थात् उदासिनताका लक्षणहरू कम गर्ने अथवा आत्म-सम्मान बढाउने गर्दैन भनी अनुसन्धानहरूले देखाउँछ।
तपाईंको “विवाह आदर्श” नभए तापनि आफ्नो दम्पतीसितै बस्नुका लाभहरू हुन सक्छन्। यसो गर्न कटिबद्ध हुनेहरू आनन्दित भएका छन्। प्राध्यापक वाट यसो भन्छन्: “धेरै समस्याहरू समयसँगै समाधान हुँदै जान्छन् अनि विवाहित व्यक्तिहरू आनन्दित हुँदै जान्छन्।” वास्तवमा, एउटा अध्ययनले देखाएअनुसार १० जनामा ८ जना पहिले आफ्नो विवाहलाई लिएर “धेरै दुःखी” भए तापनि सम्बन्ध विच्छेद नगर्दा पाँच वर्षपछि तिनीहरूले आफ्नो “विवाह सुखी” भएको पाए। समस्या गम्भीरै भए तापनि दम्पतीहरूलाई सम्बन्ध विच्छेद नगर्ने सल्लाह दिइन्छ।
व्यावहारिक कदमहरू
सम्बन्ध विच्छेद गरूँ कि भनेर सोचिरहेकाहरूले विवाहबारे आफ्ना अपेक्षाहरू व्यावहारिक छन् कि छैनन् भन्ने प्रश्न आफैलाई सोध्नुपर्छ। सञ्चारजगत्ले एकदमै रोमान्टिक सम्बन्धहरू भव्य विवाह समारोहमा परिणत भएको र अन्ततः सुखद परिणाम हासिल भएको देखाउँछ। विवाहपछि एकदमै ठूल-ठूला कुराहरू आशा गरेको र ती पूरा नहुँदा त्यसबाट उत्पन्न हुने नैराश्यले झगडा चर्काउन सक्छ। अनि एउटा यस्तो अवस्था सृजना हुन्छ जहाँ तनाव बढ्दै जाँदा चित्त दुख्छ। प्रेम सेलाउँछ र समयमा रिस र घृणाले त्यसको ठाउँ लिन्छ। यस्तो परिस्थितिमा कसै-कसैले यसको एक मात्र समाधान सम्बन्ध विच्छेद नै हो भनी सोच्न सक्छन्।—हितोपदेश १३:१२.
आफ्ना दृष्टिकोणहरूलाई नकारात्मक भावनाहरूले असर पार्न दिनुभन्दा विवाहबारे बलियो वचनबद्धता हुनेहरूसित संगत गर्नुहोस्। मसीहीहरूलाई “एउटाले अर्कोलाई सान्त्वना देऊ, र एउटाले अर्कोलाई सुधार गर,” भन्ने आग्रह गरिएको छ। (१ थिस्सलोनिकी ५:११) स्पष्टतः समस्याग्रस्त विवाहमा फसेकाहरूलाई सँगी विश्वासीहरूबाट प्रोत्साहन चाहिन्छ।
ईश्वरीय गुणहरूका महत्त्वहरू
प्रेरित पावल हामीलाई यस्तो सल्लाह दिन्छन्, “यसकारण परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) ईश्वरीय गुणहरूले विवाह सङ्कटमा पर्दा समेत पनि वैवाहिक एकताको सुरक्षा दिन सक्छ।
उदाहरणको लागि प्रेरित पावलले यस्तो लेखे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कलस्सी ३:१३) युनिभर्सिटी अफ मिसिगनका मनोवैज्ञानिक क्रिस्टोफर पिटरसन यसो भन्छन्: “क्षमा त्यस्तो गुण हो, जसको आनन्दसित नजिकको सम्बन्ध हुन्छ।”
दया, कोमलता अनि क्षमाले प्रेमतर्फ डोऱ्याउँछ जुन “सिद्धताको गाँठो” हो। हो, कुनै समय तपाईंहरूबीच प्रेम थियो भन्ने कुरालाई कसैले इन्कार गर्न सक्दैन। तर के त्यो प्रेमलाई फेरि जगाउन सकिन्छ? जस्तोसुकै परिस्थिति भए तापनि साहसी हुनुहोस्। आशा अझै मरेको छैन। साँच्चै भन्ने हो भने तपाईंहरू सँगै बस्दा अनि बाइबलका सिद्धान्तहरूलाई व्यवहारमा उतार्दा तपाईंले कल्पना गरेभन्दा कता हो कता आनन्द उठाउन सक्नुहुन्छ। तपाईंले यस क्षेत्रमा गर्नुभएको प्रयत्नले विवाहको रचनाकार यहोवा परमेश्वरलाई निश्चय नै आनन्दित तुल्याउनेछ।—हितोपदेश १५:२०. (g04 9/8)
[फुटनोट]
a यहोवाका साक्षीहरूको मसीही मण्डलीले निर्दोष जोडीले कुनै व्यभिचारी पति वा पत्नीलाई सम्बन्ध विच्छेद गर्ने वा नगर्ने भन्ने सन्दर्भमा उसको अधिकारको कदर गर्छ। अवेक! अप्रिल २२, १९९९, को पृष्ठ ५-९ हेर्नुहोस्।